प्रितिजा रेग्मी | साहित्य | जेठ १४, २०७८
बिहान छिट्टै उठ्नुपर्ने बाध्यता छैन
न त काममा जानुपर्ने हतार छ, न त पढनै पर्ने विवशता छ
तर पनि मन खुसी छैन
न त सावर्जनिक गाडीमा कोच्चिनु पर्दाको पीडा छ
न त पेट्रोलको लाइनमा बस्नुपर्ने झन्झट छ
तर पनि मन खुसी छैन,
पहिले परिवारको लागि समय थिएन
अहिले समय नै समय छ
न कसैलाई भेट्न जानैपर्ने बाध्यता छ
न त नचाहेका पाहुना बेहोर्नुपर्ने अवस्था छ
तर पनि मन खुसी छैन,
भोलीको दिन कहाँ जाने, के गर्ने भन्ने सोँच्नुपरेको छैन
बिनायोजना बस्न पाइएको छ, अबेरसम्म सुत्न पाइएकै छ
कसैप्रति केही गुनासो पनि छैन
तर पनि मन खुसी छैन,
जीवनभर आफ्नै खुसीको लागि मात्र सोँचिएछ
आफ्नै खुसीको लागि मात्र लागिएछ
बल्ल पो महसुस भयो
एक्लै खुसी हुन त असम्भव पो रहेछ
खुसी दिएपछि मात्र खुसी पाइने रहेछ
खुसीको त परिभाषा नै बेग्लै रहेछ !
२०७८ जेष्ठ १० गते (बन्दाबन्दीको समय)