डा.उर्मिला कार्की : हतियार बोक्ने सैनिक जवानदेखि कप्तान हुँदै स्थापित गाइनोकोलोजिष्टसम्म
जेठ १५, २०७८

सैनिक पारिवारिक पृष्ठभूमिबाट आउनु भएको डा.उर्मिला कार्की केवल पारिवारिक पृष्ठभूमि अनि अवसरका कारण  मेडिकल क्षेत्रमा स्थापित नाम बनेको होइन । एक प्रकारको पेसा प्रतिको समर्पण, लगाव अनि निरन्तरताको परिणाम स्वरूप नै उहाँलाई सफलताको शिखर चढाइरहेको छ । 

कुनै बिना हाई फाई र बिना प्रचार नियमित आफ्नो कर्तव्यलाई प्रमुख ठान्नु  डा.उर्मिला कार्की अर्को विशेषता हो । परिस्थितिवश आउने  वाधा र अवरोधलाई सामना गरिरहेका  सामान्य मानिसका लागि यो सफलताको एउटा उत्कृष्ट पठनीय सामग्री हुनेछ । 

पारिवारिक अवस्था

उहाँको परिवार सैनिक पृष्ठभूमिको हो । उहाँको हजुरबा पनि सैनिक पृष्ठभूमिको । बुवा नेपाल आर्मीको कर्णेलबाट 'रिटायर्ड' । तर, हाल भने बुवाको निधन भैसकेको छ । उहाँको दुई जना भाइहरू पनि नेपाल आर्मीको जनरलबाट 'रिटायर्ड' हुनुभएको छ। आमा भने गृहिणी । 

जन्म र बाल्यकाल

उहाँको जन्म २०१४ सालमा भएको हो । काठमाडौँको चोभार स्थित भूतखेल । त्यसबेलाको गाउँ पञ्चायत । उहाँको दुई भाइ अनि एक बहिनी । उहाँ भने जेठी छोरी बुवा आमाको । 

अरु केटाकेटी जस्तै उहाँको बाल्यकाल पनि खेल्दै हाँस्दै र रमाउँदै बितेको हो । खेलमा भन्दा पनि उहाँको रुचि भने पढाइमा नै बढी थियो ।  खेलका हकमा पनि उहाँले फुटबल भलिबल,  बास्केटबल,  टेबुल टेनिस,  रनिङदेखि साइक्लिङ, सुइमिङ सबै खेलमा सहभागी हुनु भएकाे छ उहाँ ।  उहाँ स्काउटमा पनि सम्लग्न हुनुहुन्थ्यो त्यसकारण पनि यी सबै 'आउटडोर'देखि 'इनडोर' खेलमा उहाँको सहभागिता रह्यो । 

प्रारम्भिक शिक्षा

उहाँको प्रारम्भिक शिक्षा ल्याबोरोटरी माविबाट गर्नुभएको हो । उहाँको घर चोभार अनि ल्याबोरोटरी स्कुल भने बल्खुमा थियो । उहाँको घरबाट नजिकको दूरीमा रहेको हुनाले पनि ल्याबोरोटरी स्कुल प्राथमिकतामा परेको हो । साथै ल्याबोरोटरी स्कुल त्यसबेलाको नाम चलेको स्कुलमा गनिन्थ्यो । 

उहाँको प्रारम्भिक मात्र नभएर विद्यालय तहका प्राथमिक, निम्न माध्यमिक देखि माध्यमिक तहसम्मका सबै शिक्षा ल्याबोरोटरी स्कुलमा भएको हो । कक्षामा उक्त समयमा करिब चालिस जना विद्यार्थी हुने गर्थे । जसमा छात्राहरुको सहभागिता भने करिब एक तिहाइ हुने गर्थ्यो । एक तिहाइ महिलाको सहभागिता भनेको त्यसबेला राम्रै मानिन्थ्यो ।

उहाँ मेधावी विद्यार्थी । उहाँ कहिल्यै दोस्रो हुनुभएन। उहाँको बसाइ पनि पहिलो बेन्चमा नै हुने गर्थ्यो । उहाँ स्कुलमा हुने खेलकुदमा सबैमा सहभागी हुनुहुन्थ्यो । तर, घरमा भने उहाँको जोड खेल्नमा भन्दा पढ्नमै हुन्थ्यो । 

उहाँ आफ्नो पढाइ अब्बल हुनुमा आफ्नो मेहनत त छँदै छ त्यसदेखि बाहेक हजुरबाको योगदानलाई पनि महत्त्वपूर्ण मान्नुहुन्छ । कारण हजुरबाले पढाइका बारेमा असाध्यै चासो राख्नुहुन्थ्यो । 

नेपाल आएपछि उहाँले नेपाल आर्मीमा नै मेडिकल अफिसरको रुपमा कामको शुरुवात गर्नुभयो ।  तर, उहाँले अन्य सैनिक जवान सरह हतियार नै बोकेर छ महिना तालिम समेत गर्नुभयो । उहाँको यो नै पहिलो जागिर थियो । त्यसबेला उहाँले पहिलो कमाइ अनि पहिलो तलबका रुपमा पन्ध्र सय पचास पाउनु भएको थियो ।

त्यसबेला अहिले जस्तो अभिभावक तथा शिक्षकबिच अन्तरक्रिया तथा बैठक हुने गर्दैनथ्यो । तर, उहाँको हजुरबा स्कुलको शुल्क तिर्न स्कुल गएका बेला शिक्षकहरूसँग उहाँको पढाइका बारेमा सोधपुछ गर्नुहुन्थ्यो । 

ल्याबोरोटरी स्कुल त्यसबेला अमेरिकन सहयोगमा सञ्चालित भएका कारण मासिक शुल्क तिर्नु पर्दैनथ्यो । तर, क्यान्टिनमा खाने खाजा तथा बसको पैसा भने तिर्नुपर्थ्यो । खाजाको मासिक सात रुपैयाँ तथा बसको आठ रुपैयाँ गरेर पन्ध्र रुपैयाँ मासिक भुक्तानी गर्नुपर्थ्यो, उहाँ भन्नुहुन्छ । 

उहाँले २०३० सालमा एसएलसी दिनुभएको हो । त्यसबेला उहाँको ब्याचमा झन्डै चालीस/बयालिस जनाले एसएलसी दिएका थिए । उहाँको भने फस्ट डिभिजन आयो । 

अमृत साइन्स कलेज  

एसएलसीमाफस्ट डिभिजन आएको मान्छे, त्यो पनि २०३० सालमा त्यसको शान नै बेग्लै थियो । अब फस्ट डिभिजन आएपछि त्यसबेला साइन्स बाहेक अरु पढ्ने कुरो पनि भएन, उहाँ भन्नुहुन्छ ।  फेरि उहाँलाई डाक्टर बन्छु भन्ने एक प्रकारको हुटहुटी नै थियो । डाक्टरको हुटहुटी पूरा गर्न पनि साइन्स त पढ्नै पर्‍यो, उहाँ भन्नुहुन्छ । 

उहाँले अमृत साइन्स कलेज अर्थात् अस्कल 'ज्वाइन' गर्नुभयो । उहाँले आइएस्सी तथा बिएस्सी पनि स्कलरसीपमै गर्नु भएको हो । दुई वर्षमा आइएस्सी सकाउनु भयो । त्यो पनि फस्ट डिभिजन मै । त्यसपछि उहाँको चाहनाको बाटो खुल्यो डाक्टर बन्ने । 

उक्त समयमा महिलाले फस्ट डिभिजन ल्याउनु त्यो पनि आइएस्सीमा भनेको विरलै मानिन्थ्यो । शायद उहाँले कोलम्बो प्लानका लागि 'ट्राई' गरेको भए सजिलै प्राप्त गर्न सक्नुहुन्थ्यो होला । 

तर, उहाँ आर्मीको पृष्ठभूमिबाट आएको हुनाले आर्मीबाट नै डाक्टर पढ्न जाने तयारी गर्नुभयो । आर्मीको पनि आफ्नै विधि, प्रक्रिया अनि 'रोलक्रम' हुने हुँदा उहाँको छ महिना ढिलो भयो । कारण त्यसबेला उहाँको बुवा मेजर मात्र हुनुहुन्थ्यो । 

केही ढिलो भएका कारण यही बिचमा उहाँले बिएस्सी पनि 'ज्वाइन' गर्नुभयो । करिब छ महिना बिएस्सी पनि पढ्न भ्याउनु भयो । 

डाक्टरी पढाइ 

छ महिना बिएस्सी पढेपछि मात्र उहाँको सानै देखिको रहर बल्ल पूरा हुन पुग्यो डाक्टर बन्ने । उहाँको उद्देश्य नै डाक्टर बन्छु भन्ने रहेछ सानैदेखि । उहाँलाई सानैदेखि औषधि उपचार गर्ने जस्ता कुरामा रमाइलो पनि लाग्दो रहेछ । 

हुन त् त्यसबेला पढेलेखेको छोरी बिहे गर्नुपर्छ भनेर हजुरआमाले नभनेको होइन ।तर, आमाबुवा तथा हजुरबाले पढ्नु पर्छ भनेका कारण उहाँको पढाइ तथा डाक्टरी सहज बनेको रहेछ । 

साथै बुवाले तँ गाइनोकोलोजिस्ट बन्ने होइन भनेर उहाँलाई गाई ब्याएको पनि हेर्न बोलाउनु हुँदो रहेछ, यसले पनि उहाँको डाक्टर बन्ने चाहनालाई थप ऊर्जा मिलेको रहेछ ।  उहाँ एमबिबिएस अध्ययनका लागि बङ्गलादेशको ढाका मेडिकल कलेजमा जानुभयो । त्यसबेला नेपालीहरू करिब पन्ध्र सोह्र जना अध्ययन गर्दै थिए ढाकामा । 

सिनियरहरुले पनि सहयोग गर्ने तथा बङ्गाली साथीहरूले पनि सहयोग गरेका कारण खास गाह्रो भएन, उहाँ भन्नुहुन्छ । भाषाले केही समस्या पार्छ कि भन्ने लागेको रहेछ उहाँलाई तर, बङ्गाली र नेपाली धेरै शब्दहरू मिल्ने कारणले पनि खास अप्ठेरो भएन, उहाँ भन्नुहुन्छ । 

पाँच वर्षको कोर्स तथा एक वर्षको इन्टर्नसिप थियो एमबिबिएसमा । तर, समय भने केही बढी लाग्यो उहाँलाई । कारण थियो बङ्गलादेशमा हुने बन्द, हडताल जस्ता राजनीतिक आन्दोलन । 

डाक्टरी पछि

उहाँले धेरै काम गरेको भनेकै इन्टर्नसिप गर्दा हो भन्नुहुन्छ उहाँ । त्यसबेला ढाकामा बन्द, हडताल हुने कारणले अरूले सेवा नदिँदा पनि उहाँले दिन रात नभनी अस्पतालमा काम गर्नुभएको रहेछ । होस्टेल र कलेजसँगै भएका कारण पनि यो सम्भव भएको हो, उहाँ भन्नुहुन्छ । 

अनि त्यसबेला ढाकाको पत्रिकाले पनि उहाँ लगायत अन्य विदेशी डाक्टरले काम गरेको देखेर त्यसको प्रशंसा गर्दै समाचार नै प्रकाशित भएका  थिए  । एमबिबिएस सकाएपछि उहाँ फर्केर नेपाल आउनुभयो । सन् १९८६ मा ।

नेपाल आएपछि उहाँले नेपाल आर्मीमा नै मेडिकल अफिसरको रुपमा कामको शुरुवात गर्नुभयो ।  तर, उहाँले अन्य सैनिक जवान सरह हतियार नै बोकेर छ महिना तालिम समेत गर्नुभयो । उहाँको यो नै पहिलो जागिर थियो । त्यसबेला उहाँले पहिलो कमाइ अनि पहिलो तलबका रुपमा पन्ध्र सय पचास पाउनु भएको थियो । त्यसबेला सुनको भाउ आठ सय थियो तोलाको, उहाँ भन्नुहुन्छ । 

त्यो पैसा थपक्क लगेर उहाँले आमालाई दिनुभयो । आमाले उहाँलाई तँ नै राख भनेर नभन्नु भएको होइन । तर, उहाँका अन्य सबै आवश्यकता आमाबुवाले नै पुरा गरिदिनु भएको थियो । साथै खर्च गर्ने ठाउँ तथा त्यस्ता अन्य आवश्यकताका कुरा नै थिएनन्, उहाँ भन्नुहुन्छ । 

२०४६ सालको जनआन्दोलनको समयमा भएको कर्फ्युमा आर्मीको एम्बुलेन्समा गएर घाइते तथा मृतकको उद्धार गर्नुपर्दा उहाँलाई कता कता डर बाबजुत पनि असल काममा लागेको छु भन्ने एक किसिमको गौरव पनि महसुस भएको बताउँनु हुन्छ ।

उहाँले  नेपाल आर्मीमा करिब सात वर्ष काम गर्नुभयो । उहाँ कप्तानसम्म हुनुभएको थियो आर्मीमा । पछि मेजरको प्रमोसन हुने समयमा भने उहाँलाई इरान जानुपर्ने भयो । जहाँ उहाँको श्रीमान् कार्यरत हुनुहुन्थ्यो । तर, लामो समयको छुट्टी नमिलेका कारण उहाँले राजीनामा नै दिएर जानुभयो इरानमा । इरानमा उहाँ करिब तीन वर्ष बस्नुभयो । 

विवाह 

उहाँको विवाह भएको हो, प्रेम विवाह । उहाँको श्रीमान् पनि डाक्टर नै हुनुहुन्छ । कार्डियोलजिस्ट । उहाँको एक छोरा तथा एक छोरी । छोरा भने अमेरिकामा आइटी इन्जिनियर । छोरी भने अस्ट्रेलियामा होटेल म्यानेजमेन्टमा मास्टर गर्दै हुनुहुन्छ । 

पढाइ, तालिम तथा काम

विवाह भएर छोराछोरी भए पश्चात् उहाँ फेरि पढ्न ढाका जानुभयो । 'डिप्लोमा इन गाइनोकोलोजिष्ट'का लागि । तर, यसपटकको मेडिकल कलेज भने फरक थियो । आइपिजिएमआर । हाल भने आइपिजिएमआरको नाम परिवर्तन भएर बंगबन्धु भएको छ । 

उहाँले त्यहाँ एक वर्ष पढाई तथा एक वर्ष तालिम । बङ्गलादेशबाट फर्किए पछि उहाँ प्रसूति गृहमा काम गर्न थाल्नुभयो । प्रसूति गृहमा उहाँले पाँच वर्ष काम गर्नुभयो । त्यसपछि भने उहाँले काठमाडौँ मेडिकल कलेजमा काम गर्न थाल्नु भयो । र, हालसम्म पनि उहाँ काठमाडौँ मेडिकल कलेजमा नै कार्यरत हुनुहुन्छ । उहाँले काठमाण्डौं मेडिकल कलेजमा काम गरेको नै बिस वर्ष पूरा भएर एक्काइस वर्ष लाग्दै रहेछ । 

उहाँले काम गर्नु भएको झन्डै पैँतिस वर्ष पुगेछ । पैँतिस वर्षको दौरान कति अपरेसन भए त्यति हेक्का भने छैन उहाँ भन्नुहुन्छ । काम गरेको त पैँतिस वर्ष भयो भने अपरेसन कति भयो होला अन्दाज गर्नु, उहाँले यसलाई पन्छाइदिनु भयो । 

तर, कामका दौरानका दुई चार घटना भने उहाँको स्मृतिमा बसेका रहेछन् । उहाँले एकपल्ट अपरेसन गरेर तीन वटा बच्चा निकाल्नु भएको रहेछ भने एक पटक चार वटा बच्चा पनि निकाल्नु भएको रहेछ । 

काममा व्यस्त भएका कारण उहाँको सङ्घसंस्थामा त्यतिको सहभागिता रहेको पाइँदैन । माइती नेपालको भने उहाँ सल्लाहकार हुनुहुँदो रहेछ । 

पुरस्कार तथा सम्मानको कुरा गर्दा आफू त्यस्ता कुरामा नलाग्ने बताउनुहुन्छ उहाँ । एक पटक महिला मन्त्री चित्रलेखा यादवद्वारा नारी सम्मान पुरस्कार प्राप्त गरेको बताउनु भयो उहाँले । 

उहाँलाई साहित्यमा पनि रुचि छ । कथा, कविता लगायतका साहित्य पढ्ने गर्नुहुन्छ । पहिले पहिले कथा पनि लेख्ने गर्नुहुन्थ्यो । तर, हाल भने व्यस्त भएका कारण त्यतातिर समय दिन नभ्याएको बताउनुहुन्छ ।

कामका केही स्मरण

हुन त डाक्टरी पेसामा सधैँ ताली मात्र हुन्छ भन्ने छैन । तर, तुलनात्मक रुपमा प्रसूति अवस्था भने अन्य विधा भन्दा कम अपजस व्यहोर्नु पर्ने विधा मानिन्छ । 

एउटा दुःखद घटना । एक पटकको कुरा हो । उहाँको छिमेकी एक जना महिला गर्भवती भएर देखाउन आउनु भयो । तर, छोरी ठुलो (करिब नौ वर्ष कि) भएका कारण उहाँलाई बच्चा राख्न मन रहेनछ । तर, उहाँले ठिकै छ राख्दा पनि हुन्छ भन्नुभयो । उहाँले नै नौ महिनासम्म परीक्षण गर्नु भयो । उक्त महिला व्यथा लागेर अस्पताल आउनु भयो । उहाँको ड्युटी थिएन । तर, उहाँलाई फोन गरेको हुनाले उहाँ जानु भयो । तर, उहाँ गएर ती महिलाको हात मात्र के समात्नु भएको थियो, महिलाले प्राण त्याग गरिन् । त्यो घटनाले उहाँको मनलाई अहिले पनि केही विचलित भने बनाउँदो रहेछ । 

यस्तै अर्को सुखद घटना । एक जना छिमेकी महिलाको बाह्रौं पटक सम्म गर्भ खेर गएको रहेछ । तर, तेह्रौं पटक भने उहाँले ती महिलालाई केही हुँदैन म हेर्छु भन्नु भएछ । उहाँले नै नौ महिनासम्म  हेर्नुभयो । नभन्दै उक्त महिलाको गर्भ सफल भएर उहाँले नै अपरेसनको माध्यमबाट बच्चा जन्मियो । बच्चा ठुलो भएर इन्जिनियर भएर हालै विवाह सम्पन्न समेत भएछ । यस घटनाले भने उहाँलाई हर्षित बनाएको रहेछ । 

पैँतिस वर्ष लामो करिअरमा यस्ता अनेकौँ सुखद घटना छन् जसको उल्लेख गरी साध्य छैन, उहाँ भन्नुहुन्छ । आफ्नो काममा निरन्तर लागिरहने अनि सधैँ अरूको राम्रोका लागि कामना गरेपछि सधैँ राम्रो नै हुने उहाँको मान्यता रहेको छ । यसै मान्यताले उहाँलाई एक वरिष्ठ र सफल गाइनोकोलोजिष्टका रुपमा स्थापित  बनाएको छ ।