एयर ओमानले लिएको मेरो हुर्मत

एयर ओमानले लिएको मेरो हुर्मत

जया राई  |  साहित्य  |  जेठ १५, २०७८

मेरो दोस्रो कथा सङ्ग्रह बेकर स्ट्रीटका दुई आँखा विमोचनको विशेष कार्यक्रम मे ४  २०११  मा हुने भएकाले म मातृभूमि नेपाल गएकी थिएँ । तीन हप्ताको मेरो होलीडे तीन दिन जस्तै गरी बित्यो । पारिवारिक र साहित्यिक भेटघाट अति राम्रो भयो । वृद्ध अवस्थाका बाबा, आमा र बिमारी सासू तथा पारिवारका अन्य सम्पूर्ण सदस्यहरू, साथीहरू र आफन्तहरूसँगको भेटघाटमा व्यस्त रहँदा समय चिप्लेको थाहै भएन । देशको माया मुटुभरि उनेर अहिले म कर्मथलो लन्डन फकर्ने क्रममा छु । 

भोलि बिहानै हिँड्नुपर्ने, तर बेलुका सुत्न अबेर भएको छ । तीन दिनअगाडि नै हङकङ जाने प्रतापको मेरै कारणले गर्दा एयरपोर्ट पुगेर पनि प्लेन छुट्यो । बाहिरको मनिटरमा प्लेनको सेड्युअल हेरेर गफ गर्दै पालो पर्खेर बसिरह्यौँ । करिब एक घन्टापछि भित्र पसेर कर्मचारीसँग हङकङ जाने प्लेन सोधेको त बोर्डिङ्ग भइ नै सक्यो, प्लेन उड्न लाग्यो, अब हुँदैन भनेर सामान जोखाउन नै दिएनन् ।

'बाहिरको मनिटरमा त समय अझै भएको छैन त ?'

'ए त्यो त हिजो को हो, त्यसको भर परेर हुन्छ । भित्र सोध्नु पर्दैन ?' 

अर्को कर्मचारीको ओठे जबाफ पाएर प्रताप र म छक्क मात्र परेनौँ रन्थनिनसम्म रन्थनियौँ । देशको इन्टरनेसनल एयरपोर्टको मनिटरमा देखाइएको प्लेनहरूको उडानतालिका पनि सही नदेखाइँदा अरू कति धेरै यात्रुहरूको उडान यसरी नै छुट्यो होला । यसको जिम्मा कसले लिने ?

मेरो वालेटमा बैङ्क कार्ड र केही पाउन्ड थियो । त्यसको केही चिन्ता भएन, बैङ्क कार्ड नयाँ बनाउन सकिन्छ । मेरो होस उठ्यो, विश्वासले पठाएका सुनका गहना उतै छुटेछन् । एयर ओमानमा भएको सास्तीको कहानी भन्ने हो भने पनि मेरी साथीले विश्वास गर्ने छैनन् । म उनको नजरमा झुटो हुने भएँ । 

मलाई आफ्नो देशको एकमात्र अन्तरराष्ट्रिय विमानस्थलको अवस्था देखेर ज्यादै चिन्ता लाग्यो । के नै पो गर्न सक्थेँ र ! अब ऊ, मभन्दा तीन दिन पछि फकंर्ने टिकट मिलाएको छ । 

अमेरिका मेरिल्यान्डबाट आउनु भएकी मेरी जेठी दिदी उषा पनि आजै बिहानको दश बजे फर्कंदै हुनुहुन्छ । छोरी नीरा सानो रेजिनल्डलाई लिएर थाइल्यान्डबाट आएकी छ । ऊ पनि आज एक बजेको थाई एरवेजबाट फर्किंदै छे । 

घरमा आमा बाबा र बहिनीहरू बिजू, पूर्णिमा, भाइ सन्तोष, बुहारी शोभा भदै आरेनलाई हामी तीन हप्ताको लागि आएकाहरूले बिथोलेर फर्कंदै छौँ । आउँदा सबैको मनमा हर्ष थियो । अहिले बिछोडको पीडा छ ।

घरमा बस्नेहरूले पटक पटक विछोडको पीडा सहनु नपरोस् भनेर हामी तीन तिर फर्कने साइत एकै दिनको जुराएको थियौँ । यसरी मिलाउँदा मिलाउँदै पनि प्रताप हामी भन्दा तीन दिनपछि परेको छ । हामी तीनतिर जानेले छाडेर हिँडेको चिसो वातावरणलाई केही न्यानो पारिदिने छ, ठीकै पनि लाग्यो । 

बेलुकै सबै सामानको भारी मिलाएर बिहान पाँच बजे एयरपोर्ट जानको लागि ट्याक्सी बोलाएको छ । सुत्न भ्याएको छैन, कति चाँडो उठ्ने समय भइसकेछ । आमाले सगुन तयार पारिसक्नु भएछ । सन्तोष भाइ र प्रतापले सामान तल झारे । हामीलाई बिदा गर्न वृद्ध बाबा आमा पनि तल झर्नु भयो । दिदी र म बेलुका ठीक पारेको सामान बोकेर बाबा–आमा, भाइ बुहारी बैनीहरूसँग बिदा भएर बाटो लागि पनि हाल्यौँ । बिहान नौ बजेको प्लेन छ, एयरपोर्ट टायम बिहानको पाँच बजे । 

हामी छोरीहरू परदेश लागेको धेरै वर्ष नै भइसक्यो । बा आमाको आशीर्वादको झोला बोकेर फेरि जाँदैछौँ । आनी गुम्बा वरिपरिको कपन रस्तीबस्तीमा हामी चढेको ट्याक्सीको आवाजले सुतिरहेका मानिसहरूको निद्रा खलबल्याएको हुनुपर्छ । पूर्वमा कुन शिखरले छेलेको होला, घामको लालिमा हामीसम्म अझै आइपुगेको छैन । बिजुली बत्तीको उज्यालोले देखिएको बाटो खाली र सुनसान छ । कार, टयाक्सी, बस, ट्याक्टर केही चलेका छैनन् । पैदल यात्री पनि छैनन् ।सुट्केस र झोला हालेको टयाक्सीमा दिदी र निरा बस्नु भएको छ । म, प्रताप र सन्तोष अर्कोमा छौँ । हिजो नै रिर्जभ गरेको कारण दुवै ट्याक्सी बिहान साढे चार बजे घरमा आइपुगेका थिए । जे होस्, बिहानको काठमाडौंको यात्रा निरापद लाग्छ, तर मन भने आफन्तसँगको विछोडको पीडाले रन्थनिएको रन्थनियै छ । हिजोसम्म टेकेको धरती आज छाडेर परदेश लाग्दै छौँ ।

बिहान काठमाडौंको सडकमा थोरै गुडेका सवारी साधनसँग हामी चढेको ट्याक्सीले प्रतिस्पर्धा गर्नु परेन, न त ट्राफिक जाममा नै फस्न पर्‍यो । त्यही झमेलाबाट उम्कन हामी बिहान सबेरै एयरपोर्ट गएका थियौँ । त्यति मात्र कहाँ हो र प्रतापको प्लेन छुटे जस्तो हाम्रो हबिगत नहोस् भनेर नै बिहानै पुगेका छौँ । तर त्यहाँ पुग्दा हामीभन्दा अगाडि नै धेरै मानिसहरू आफ्ना आफन्तहरूसँग पुगिसकेका र बिदाईका हात हल्लाइरहेका देखिए ।  

नेपालगन्जमा हुने साहित्य सम्मेलनमा भाग लिन काठमाडौंलाई नै रित्तो पारेरे हिजो धेरै साहित्यकारहरू हिँडिसकेका छन् । ट्याक्सीबाट झरेर भित्र लाइनमा बस्नुभन्दा पहिले डा. गोविन्दराज भट्टराई,  प्रो.सुषमा आचार्य दिदीलाई फोन गर्छु । 

घरैबाट ह्यान्डक्यारी, लगेज र सधैँ बोक्ने सानो झोलामा सामान कोचेकी थिएँ । तीन दिनअघि विमोचन भएकोे कथा सङ्ग्रह बेकर स्ट्रीटका दुई आँखा पनि लगेजमा कोचीकोची लादेकी छु । चारवटा साहित्यिक कार्यक्रममा भेट हुदाँ अग्रज साहित्यकारहरूबाट उपहार पाएका र केही मन परेका पुस्तकहरू पनि किनेर बोकेकी थिएँ । त्यति धेरै किताबको भारी त पहाड जस्तै लाग्छ । अति नै प्रेमले आमाले आफ्नै हातले बनाएको बारीको रायोको गुन्द्रुक, मुलाको सिन्की, मस्यौरा, किनिमाको भारी पनि मरिकुच्चे नै छ ।

बिहानै भएकाले घरबाट सगुनमात्र पिएर  निस्केका थियौँ । उषा दिदीको अमेरिका लाने एमानकोे भारी पनि त्यस्तै गरौँ थियो । हामी डिपाचर हलभित्र नछिरुन्जेल कुनै सामान बढी भएमा प्रताप, सन्तोष फर्काएर लैजान हामीसँगै आएका छन् । उनीहरू बाहिर पर्खेर बसेका छन् । 

बोर्डिङका लागि लाइनमा बसेँ । अमेरिका जाने उषा दिदीको बोर्डिङ समय दश बजे मात्र रहेछ । भाइहरूले झन् पर्खनुपर्ने भयो । दिदी अलि परको सीटमा सामानसँगै बस्नु भएको छ । बोर्डिङ पास लिएर सामान पठाइसकेपछि दिदीसँग औपचारिक बिदा मागौँला भनेर म सामान जोखाउन लाइनमा बसेँ । 

लगेज र ह्यान्डक्यारी मात्रै काउन्टरमा लगेँ । काउन्टरको लाइनमा यात्रुहरूको घुइँचो छ । सामान जचाउने लाइनमा उभिरहेको बेला एक जना एयरपोर्ट कर्मचारी आएर मेरो लगेज र ह्यान्डक्यारी उचालेर हेर्‍यो र सोध्यो,

'यो सामान त धेरै हुन्छ होला, म जोखिदिऊ ?'  

मलाई पनि शङ्का लागिरहेको थियो । किताबको भारी धेरै बोकेको छु, घरमा जोखे पनि यहाँ एयरपोर्टमा जोखे कति होला भनेर काउन्टरमा पुग्नुअगाडि नै जोखिदिने मानिस भेटियो । लौ जोखौँ न त, जोख्ने ठाउँ पो कता छ भनेर उसलाई सोधेँ । उसले अलि पर देखायो ।

पछि पछि गएँ र उसलाई दुबै भारी जोखाउन दिएँ । ह्यान्ड क्यारीको ओजन त पन्द्र केजी भएछ । त्यति धेरै नदेला कि भनेर लन्डन लाने किताब अमेरिका जाने दिदीको झोलामा सारें । लगेजमा जम्मा ३३ केजी भएछ । ल त्यति त मिल्ला कि भनेर फेरि लाइनमा आएर उभिएँ । 

मानिसहरूको भिड अझ बढ्दै थियो । मेरो सामान जाँच्ने र बोर्डिङ पास लिने पालो आयो । सामान जोख्दा छ केजी बढी देखियो । बढी भएको सामान छुट गरिदिए, तर मनमा डर भने छँदै थियो अर्को ठाउँमा बढी भयो भनेर सामान निकालिदेलान् कि ! सामान जोखाउँदा एयर ओमानका एक जना जवान कर्मचारी भन्दै थिए, 'यो भन्दा बढी सामान लान पाइन्न नि !'

मैले पनि दह्रो मुटु गरेर भनेँ, 'छैन ।'

आफ्नो ह्यानक्यारी भन्दा अर्को हाते झोलामा दश केजी भन्दा बढी किताबको भारी दिदीकहाँ थियो । ल सामान गयो भनेर अघि लाइनमा उभिँदाको मेरो लगेज नाप्न लाने सुइखुट्टे स्टाफ आएर चिया खाने खर्च मागेर हैरानी गर्न थाल्यो । मैले वालेटमा हेरेँ चानचुन पैसा थिएन । उसले त्यहाँ क्याफे छ, म साटेर ल्याउँछु भन्यो । म आफैँ गएँ र कफी मागेँ ।

ए.... एक कप कफीको मोल अढाई सय रहेछ । ल ठीकै छ भनरे हजारको नोट दिएँ । बिहानै चेन पैसा छैन भनेर आनाकानी गर्दै पैसा साटिदियो । किनेको कफी र आएको चेन पैसा लिएर पाँच सयको नोट दिएँ र त्यो लुतोबाट पार पाएँ । उसैको सल्लाहले मेरो हाते ब्याग दिदीकहाँ छाडेको थिँए । 

उषा दिदी अलि पर बसिरहनु भएको थियो । मलाई भने बोर्डिङ हुन ढिलो हुँदै थियो । सामान बढी नभएको थाहा पाएर बाहिर पर्खने सन्तोष, प्रताप, निराहरू घर फर्किए । 

मेरो झोला र आफ्नो बोर्डिङको पालो कुरेर पर बस्नु भएकी दिदीसँग बिदा माग्न गएँ । बेलुका पनि ढिलो सुतेको, बिहान पनि चाडैँ उठेको र वृद्ध बाबा आमा छाडरे हिँडेको । पीडा मनभरि छ । करिब पन्द्र घण्टाको दिक्क लाग्दो यात्रा बाँकी छँदै छ । 

यी नै के के कुराले होला दिदीको अनुहार  निन्याउरो छ । अब म विरहको कुरा गरेर उहाँसँग बसिरहने समय छैन । बिदा मागेँ, बिदाईमा आँखाबाट आँसु आउन छाडेको धेरै भैसकेको छ । अघिदेखि रखबारी गरिरहनु भएको मेरो हाते झोला बोकेँ र दिदीसँग छुट्टिएँ । 

डिपाचरको लागि लाइनमा लागेँ । विदेश विशेष गरी मिडलइस्ट जाने नवजानहरूको भिडले नेपालको अन्तर्राष्ट्रिय विमान स्थलमा खुट्टा राख्ने ठाउँ छैन । डिपाचरको चेकिङ पोइन्टमा पुग्न एक घन्टा लाग्छ । लाइन पनि फन्फनी घुमेको छ । धेरै जसो नवजनाहरू निधारमा रातो शुभसाइतको टिका, फूलको माला र खादाले सजिएका छन् ।

देशको उत्पादनशील जनशक्ति रोजगारीको लागि परदेश लाग्दै छ । यो हाम्रो देशको मात्र रोग होइन विश्वका कम विकसित देश र विकासोन्मख देशका सबैको व्यथा यस्तै छ । बेटर लाइफको पाइप लाइन खोज्दै हिँड्ने मानव सभ्यताको चलन नै त हो । 

मेरो अघि पछि तिनै जवानहरू छन् । मेरो अघि उभिएका एक जना यात्रुले भने सोधे- 'कता लाग्नु भएको मेडम ?'

लन्डन जाने मेरो जबाफले उनी नजिक भए । म जाने फ्लाइटमा नै जाँदै रहेछन् । उनी अब मसँग पुरानो मित्रझैँ बोल्न थाले । उनी पुलिसको जागिर छाडेर ओमान हिँडेका रहेछन् । उनको जेठा छोरा पढ्नको लागि बेलायत गएका छन् रे ! उनी मलाई बेलायत पुगेपछि उनको छोरालाई फोन गरेर सम्झाइ दिन आग्रह गर्छन् । उनले छोराको नाम र फोन नम्बर लेखेर दिए । 

उनकी श्रीमतीले बिदाइको फोन गरिन् । कुरा गर्न थाले । उनले पत्नीलाई भने- हेर हाम्रो छोरो पढ्दै गरेको बेलायत जान लाग्नु भएकी दिदीसँग कुरा गरन । मलाई उनले फोन मतिर बढाए । 

मैले उनको स्वर सुनेँ, 'नमस्कार, लौ तपाईंको श्रीमानसँग भेट भयो । परदेश लाग्नु भएको रहेछ, पीर नगर्नु होला । राम्ररी बस्नु होला है ।' उनीसँग बिदा मागेँ । काठमाडौँको नजिकैको पुर्खौली घर भएका ती व्यक्ति प्रहरी जागिरबाट असन्तुष्ट भएर विदेश लागेका रह छन् । 

हाम्रो गफ भइरहेछ । मेरो बोकिरहको झोला र तानिरहेको ह्यान्डक्यारी देखेर होला भने, 'खै म सघाउँला तान्न' उनी सहयोगी देखिए । उनलाई मैले तान्दै गरेको दिएँ । त्यसमा बाह्र केजीभन्दा बढी किताब र अरू कसैको लागि लगिदिनुपर्ने छड्के तिलहरी तथा अर्को एक जनाका अरू गरगहना थिए ।

हामी अझै कुरा गर्दै छौँ । इमिग्रेसनमा पुग्नको लागि उभिएको लाइन फनफन घुम्दै छ । निक्कै बेरपछि लाइन छोडेर उनी र म अर्कै लाइनमा बाँडियौँ । उनले मलाई सहयोग गर्नको लागि लगेको सानो पुन्टे सुटकेस पनि उनीसँगै गयो । 

उनको र मेरो भेट इमिग्रेसनको चेक पास गरिसकेपछि मात्रै हुने भयो । क्षणभरको मित्रता फेरि छोडियो । मेरा साथी पर देखिए । घर परिवार छाडेको पीडा अहिलेको यो लामो लाममा धमिलो हुन लागेको छ ।

मलाई सहयोग गर्न भनेर लगेको त्यो सुटकेसले उनलाई चेकपोस्टमा अप्ठेरो पार्ला कि भन्ने लाग्यो । मेरो छेउमा बसेको साथीलाई मेरो ठाउँमा फर्केर आउँछु भनेर सुटकेस लिन गएँ । त्यसमा महिलाका गहना र पुस्तकहरू भएकाले उनलाई असुविधा हुन सक्थ्यो । विभिन्न प्रश्न सोधिन सक्थे अथवा उनलाई त्यहीँ रोक्न पनि सक्थे भनेर डर लाग्यो । आफैले चेकपोस्टमा सामान देखाउँला भनेर सुटकेस ल्याएँ । 

 चेकपोस्टमा पुग्नु अगाडि नै ती मेरा मित्र  इमिग्रेसन पार गरे । 

मेरो पनि पालो आयो । मेरो सानो सुट्केस र हाते झोलामा भएको सबै सामान पास, वेटिङ्ग हलमा पुगेँ । 

सबै यात्रुहरूको अनुहारमा उत्साह र विस्मातको विम्ब.देखिन्थ्यो । सम्भवतः उनीहरूको आधा मन स्वदेशमा छाडिएका आफन्तसँग र आधा परदेश कर्मथलोमा वेग मार्दै होला मेरो जस्तै । 

डिपाचर हलको लामो वेटिङ्ग एरियनमा सबै यात्रुहरू अब केही क्षणमा नै हुने आफ्नो उडान पर्खेर बसेका छन् । आघा घण्टाको पर्खाइपछि एयरलायन्सको टिपर आएर यात्रुहरूलाई प्लेनमा धमाधम ओसार्न थाल्यो ।

जब मेरो पालो आयो तल बोर्डिङ पास दिने र सामान जोख्ने बेलाको जवान कर्मचारी त्यहाँ गेटमा रहेछन् । 'तपाईंले बोक्ने सामान दुइटा कसरी भयो ? एउटा मात्रै लान पाउनु हुन्छ । अघि काउन्टरमा एउटा मात्र छ भन्नु भएको होइन ।'

यसो भनेर मलाई भित्र जान दिएनन् । 

मैले ‘होइन’ भनेर प्रतिवाद गर्ने विषय पनि पाइनँ, तर केही भन्नैपर्ने भयो । गल्ती त भएकै छ ।

'यसमा मैले इलिगल सामान लगेको छैन, किताबहरू मात्र छन्, के चाहिँ रोक्नु हुन्छ ?' मैले झोला देखाएँ । 

उनी अझ जङ्गिँदै मलाई अपराधीलाई झैै हकार्न र रोक्न थाले । वकीटकीबाट उनको अर्को हाकीमलाई बोलाए । ऊ आउनु अगाडि एक जना महिला स्टाफ आएर मलाई हर्कान लागिन् । 

'किन यतिका सामान लगेको ? आज जान पाउनु  हुन्न ।' 

उनको व्यवहारले मलाई झनक्क रिस उठायो । भएको दुईटा झोला जसरी भए पनि एउटा बनाउनुपर्ने भयो । दुइटा झोला हुनु भएन रे ! मिलाउनुपर्ने भयो । 

ह्यान्डक्यारीमा र मेरो सानो हाते झोलामा दुबै ठाउँमा किताब भएकाले एकै ठाउँमा सामान मिलाउन सकिनँ । जसरी गर्दा पनि किताबको आयतनले खुम्चन नमानेर मैले एउटा बोकेको झोला छाड्नुपर्ने भयो । 

सामान मिलाउनको लागि भुइँमा बसेर अत्यावश्यक सामानका साथै आफन्तका सुनका गहना नछुटुन् भनेर छुट्याउन थालेँ । मैले हतारमा मेरो देवर प्रेमकुमार राईलाई फोन गरेँ । उनी मन्त्रालयामा उपसचिव छन् । मलाई यहाँ एयरपोर्टमा भएकोे आपत्तिको खबर हतारमा भनेँ । 

सबै सामान भुइँमा असरल्ल छन् । मेरो त्यो बिजोग हेर्ने बाँकी अरू यात्रुहरूलाई बसमा ओसारेर सकिन आँटेको छ । म भने हतारमा सामानहरू छुट्याउँदै र मिलाउँदै छु । त्यही बेलामा एयरलाइन्सको हाकिम हुन् कि के हुन् आएर मलाई कुनै अपराधीलाई झैँ गाली गर्न थाले । यिनलाई जान नदिनु भन्दै मलाई रोक्न खोजे ।

 तिनको गाली चुपोलागेर सहनेवाला थिइनँ । मैले पनि उनलाई उत्तर दिनु थियो । ‘म तपाईंको कस्टमर हुँ बुझ्नु भो, कुनै अपराधी होइनँ, मैले कुनै इलिगल सामान बोकेको पनि छैन । तपाईँले पनि जागिर खाएको हो । यति क्रूर हुनु आवश्यक छैन ।’ मैले पनि आफ्नो बचाउ गरेँ !  

उनी मेरो आजको यात्रालाई रोक्न चाहिरहेका थिए । बोल्नेको पिठो पनि बिक्छ भने झैँ बढी भएको सामान एउटा झोलामा फट्टाफट् छुट्याएर कपनको घरको नम्बर र प्रेमकुमारको फोन नम्बर लेखेर अरू सामान लिएर बाहिर मलाई नै कुरिरहेको कनेक्सन बसमा दर्गुदै पसेँ । 

बसभित्र यात्रा गर्ने त म एक्लो रहेछु ।

मे महिनाको बिहान भए पनि घामको तातोले काठमाडौँ रन्किसकेको थियो । एयर ओमानका कर्मचारीहरूको रूखो व्यवहार र बोलिले अझ मलाई रन्कायो । प्रेमकुमार बाबुले बढी भएको सामानको बारेमा म कसैलाई लिन पठाउँला भनेकाले मनको घाउमा केही मलम लागेको छ । 

एयर ओमानको सिँढीसम्म छाडेर बस गयो । प्लेनको भर्‍याङको अन्तिम खुड्किलामा पुगेर एक पटक देशको मुहार फर्केर हेरेँ । सिर्सिर चलेको बतासमा देशको माटोको हरहर सुवास आइरहेको थियो । 

आफ्नो सिट खोज्दै प्लेनभित्र छिरेँ। यात्रुले खचाखच एयर ओमानका प्रायः सबै यात्रुहरूले मेरो बिजोग देखेका थिए । उनीहरू धेरैले मेरोबारेमा खासखुस कुरा गरेको सुनेँ । 

बोर्डिङको लागि पालो पर्खेर लाइनमा उभिएको बेला मेरो सानो सुटकेस तान्न सघाउने साथी पनि त्यतै कतै बसेको हुनुपर्छ । उनी अहिले देखिएनन् । मेरो सिट मध्यभागमा झ्यालपट्टि परेको रहेछ । पश्चिम तराईका दुई जना युवाहरू रोजगारीको लागि ओमान जाँदै रहेछन् । उनीहरूसँग आजको यात्रा गर्ने भयौँ । 

मेरो सानो ह्यान्डक्यारी माथि राख्नको लागि उचालेँ । किताब भारी भएर चढाउन सकिनँ । तिनै एक जनाले चढाउन सहयोग गरे । 

केही समय अगाडिका दृश्य फनफन घुम्न थाले । अघि भर्खर छाडेको झोला लिन प्रेमकुमारले पठाएका मानिसहरूलाई एयर ओमानका रूखा कर्मचारीले हात लाउलान् कि नलाउलान् ?

हतारमा छानेर छाडेका सामानहरूमा मलाई चाहिने अत्यावश्यक सामान र अरूका पार्सल त छुटेनन् भनेर मनमा प्रश्न उठ्न थाले । सिटमा बसिसकेको भए पनि भर्खरै सकिनसकी राखेको सुटकेस फेरि झार्नुपर्ने भयो । 

सुटकेस झार्न सक्ने आँट त छैन तर पनि नझारी भएन । ती दुई भाइले केही मिनट अगाडि मात्रै चढाउन सहयोग गरेका छन् । फेरि झार्नको लागि सहयोग माग्न अप्ठेरो लाग्यो । आफै बिस्तारै तानेँ ।  सुटकेस गुटमुटिँदै सिटमा पछारियो ।

खोलेर हेरेँ । अहिले थाहा भयो, जा है ! मेरो वालेट नै छुटेछ । अनि साथीको लागि उनकी बैनीले पठाएको नवरत्न जडित सुनको कान, घाटीँ, औँठीको सेट पनि उतै छुटेछन् । 

मेरो वालेटमा बैङ्क कार्ड र केही पाउन्ड थियो । त्यसको केही चिन्ता भएन, बैङ्क कार्ड नयाँ बनाउन सकिन्छ । मेरो होस उठ्यो, विश्वासले पठाएका सुनका गहना उतै छुटेछन् । एयर ओमानमा भएको सास्तीको कहानी भन्ने हो भने पनि मेरी साथीले विश्वास गर्ने छैनन् । म उनको नजरमा झुटो हुने भएँ । 

मानिसको पीर लुकाउने ठाउँ हुँदैन भनेको साँच्चै नै हो रहेछ । मनमा सङ्काका भेलबाडीहरू तँछाड मछाड गर्दै मडारिन थाले ।  प्लेन अझै पनि उडेको छैन, तयारी गर्दै छ । प्लेनका कर्मचारीहरूको रूखो व्यवहार यहाँ पनि देखियो । एक जना परिचारीका आएर 'फोन नर्गनुस्, राख्नुस्' कराउन थालिन् ।

तैपनि मैले प्रेमकुमारलाई फेरि फोन गरेँ, 'म प्लेनभित्र पसिसकेँ । अहिले मसँग भएका सामान हेरेको मेरो वालेट र साथीको सुनको गहनाको सेट छुटेछ ।' 

उनले भने, 'पीर नर्गनुस् भाउजू, मैले सामान लिनको लागि मानिस पठाइसकेको छ । केहि हुन्न ।' उनको कुराले अब भने मलाई धेरै राहात मिल्यो । तैपनि सङ्गीतालाई फोन गरेर जानकारी गराएँ । मैले केही सुस्ताउन नपाउँदै प्लेनका कर्मचारीहरू सिटबेल्ट बाँध्ने सूचना दिन थाले । 

बिस्तारै प्लेन धावन मार्गमा गुड्न थाल्यो । केही क्षणमा नै प्लेनले भुइँ छाडेको आवाज आयो । सबै जना यात्रुहरूले ताली बजाए सायद खुसीले होला । हुन त अस्ति नेपाल पुग्दा पनि यसरी नै ताली बजेको थियो । 

क्रुमेम्बरहरू आफ्नो काममा व्यस्त छन् । प्लेन उडेको केहीबेर तल काठमाडौँका घरैघर, खेत, सडकमा कुदेका सबारी साधन देखिँदा देखिँदै बिलाए । तराईको समथर भाग देखिन थाल्यो । हुँदा हुँदै इन्डियाका सहर जग्गा जमिन देखिन थाले । अहिलेसम्म देशको माटो हेर्दाहेर्दै आँखा, पराई भूमिमा कुद्न थाले । 

मेरा छेउका दुई साथीहरू आफ्नै गफमा मस्त छन् । म आफ्नै बुद्धिले पाएको दुःख मनमनै केलाउँदै छु । एयरपोर्टको त्यो सहयोगी बन्ने कर्मचारीले म जस्ता यात्रुलाई कति ठगेको होला । उसैको सल्लाह अनुसार त्यो अर्को झोला दिदीकहाँ लुकाउन लगायो । त्यो झोलामा भएको सामानले हो त्यति धेरै दुःख पाएको पनि । मैले दिदीलाई दिएर पठाउँदा हुने थियो । उनको अमेरिका जाने फ्लाइटमा ६० केजीको पाउँदरमा आधा पनि भएको थिएन । मनमा तानाबाना बुनिरहेँ । 

मस्कट कति चाँडै आइपुगेछ । डेढ घन्टाको ट्रान्जिट छ । प्लेनबाट ओर्लंदा चर्को घामको रापले तन्दुरी भित्रको रोटी जस्तै बनायो । 

जीवनको नयाँ क्षितिज खोज्न अघिसँगै आएका मेरा साथीहरूले मलाई छाडेर गए । उनीहरूसँगै सयौँ युवाहरू रोजीरोटीको लागि नयाँ मुलुकतिर पाइला चाल्दै छन् । यो मानव जीवनको विकासको निरन्तरता नै हो भन्ने ठान्दछु ।

डिउटी फ्री सपमा गएर डुल्दै समय कटाउन मन लागेन । अरू केही यात्रुहरू वेटिङरुममा गएर सुस्ताएका छन् । त्यही बगालमा गएर म पनि सुस्ताएँ । प्लेनमा गाली खाँदै बन्द गरेको मेरो स्मार्ट फोन खोलेँ । ओमानको टेलीकमसँग कनेक्सन भएछ । भट्टाभट मेसेजहरू आउन थाले । फेरि प्रेमकुमारलाई फोन गरेँ । चार घण्टाको अवधिमा मैले छोडेका एयरपोर्टका सामान लिएर गइसकेछन् । साथीका गहना सहिसलामत रहेछन् । मनमा ढुक्क भयो । 

अझै आठ घण्टाको यात्रा गर्दा मात्रै लन्डन पुगिन्छ । डेढ घन्टाको समय फस्सै बित्यो । मस्कटको सुकटी सेकाउने घामको रापमा कमी आएकै थिएन, अझ चर्किंदै थियो । लन्डनको चिसो हावा पानीको तिर्सना हर्हर लागेको आयो । 

भर्खर देश छाड्दा पोलेको अर्को घाउले उति नै सताइ रहेको छ  ।

जीवनमा गरेका गल्तीले पाएको हन्डरको यो पनि एउटा नबिर्सने घाउ हो ।  जति पटक त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्यो, तिनै सुइखुुट्टे कर्मचारी र एयर ओमानको टोपी ओढेका कर्मचारीको मुखुन्डोले लखेट्ने गर्छ । 

बेलायत