'छापामार युवतीको डायरी’ को रोयल्टी भ्रम र वास्तविकता: कोही बरबाद नहोस् !
जेठ १५, २०७८

पहिल्यै भनौं, ८ जेठ २०७८ शनिवारका दिन , ‘नागरिक दैनिक पत्रिका’ मा ‘कोही किन बरबाद होस्’ शीर्षकमा तारा राई ‘अनमोल’द्वारा लेख मार्फत लगाएइको एकलौटी आरोप प्रकाशित भएपछि नेपाली साहित्यका आम शुभचिन्तकहरूमा गलत सूचना र आसय उत्पन्न नहोस भन्ने हेतुले  यो आलेख तयार गरिएको छ ।

आधार ‘फियरलेस वरिवर’  

एक्काईस वर्षको उमेरमा ब्रिटिश आर्मीमा प्रवेश गरेर १२ वर्ष सैनिक जीवन व्यतित गरी अवकाशप्राप्त जीवन बिताइरहेको व्यक्ति हुँ म । स्कूले जीवनबाटै जानअन्जान साहित्य सिर्जनामा लाग्दै आएको हुँ । मेरो पल्टने जीवनमा पनि उब्रेको समय साहित्य सिर्जनामै व्यतित भयो । अवकाशपछि नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्द्धन गर्ने असल उद्देश्यसहितका विभिन्न साहित्यिक, सांस्कृतिक अभियानहरूमा संलग्न हुँदै आएको छु । नेपाली भाषामा लेखिएका कृतिहरूलाई अङ्ग्रेजी भाषाको माध्यमबाट विश्व साहित्यमा विस्तृत गर्ने असल उद्देश्य अनुसार केही काम गर्ने प्रयासहरू गरियो र गरिरहेको छ ।

मेरो आफ्नै पुस्तक ‘फियरले वरिवर’ बेलायतको कुनै प्रकाशन गृहबाट प्रकाशन गर्ने महत्वाकांक्षा पालियो । म जस्तो तेस्रो मुलुकको, त्यो पनि सामान्य लेखकले बेलायतको प्रकाशन गृहसँग जोडिनु पाउनु सगरमाथा चढ्नु जतिकै महसुस रहेछ, गरियो । कसरी पुस्तक छाप्नुपर्ने हो, कुनै ज्ञान थिएन । पहिलो काम ‘एजेन्ट’हरूकहाँ पठाउनुपर्ने रहेछ । एजेन्टहरूको सम्पर्क नम्बर र इमेल खोजेर बल्लतल्ल पठाइयो । एजेन्टहरूले लामो समयसम्म रेस्पोन्स गरेनन् । जसोतसो केही एजेन्टहरूले रेसपोन्स गरे ।

प्रकाशन ‘हाउस’मा पठाएका छौं, केही समय पर्खिनू भनेर इमेल र फोन मार्फत जानकारी दिन्थे । एक प्रकारले मनमा कौतुहल भइरहन्थो । निकै लामो प्रतीक्षापछि ‘ओलम्पिया पब्लिकेसन’ले ‘फियरलेस वरिवर’ सम्पादन गरेर मात्र लिने जानकारी दियो । सम्पादनको लागि दुई हजार पाँच सय पाउण्ड (नेपाली रुपैयाँ चार लाख) दिनुपर्ने भयो । निकै महँगो लाग्यो । के गर्ने भनेर दोधारमा परेँ । अन्तमा म तयार भएँ । सम्पादन र प्रकाशनको लागि प्रकाशन हाउससँग सहमति गरियो । सायद यो निर्णय ‘नेम’ र ‘फेम’को लागि गरेँ कि भन्ने लाग्छ । र पुस्तक  प्रकाशन भयो ।

समय बित्दै गयो । ‘एमाजन डटकम’ र ‘ईबे’ मा पुस्तक कति बिक्री भयो भनेर दिनहुँ हेर्न थालेँ । वाटरस्टोनस, डब्लु एच स्मित, युज्ड कमिक, द वर्क आदि पुस्तक पसलहरूमा पनि हेर्न जान थालेँ । तर आफ्नो पुस्तक कुनै पनि पुस्तक पसलहरूमा देख्न पाइनँ । एक दिन वाटरस्टोनस् पुस्तक पसलमा गएर ‘फियरलेस वरिवर’को फेटो देखाउँदै त्यहाँको स्टाफलाई ‘यो बुक यहाँ पाइन्छ’ भनेर सोधेँ । उसले भन्यो, ‘कहिले प्रकाशन भएको हो ?’ मैले मिति भनेँ । उसले भन्यो, ‘पहिले अनलाइनमा बिक्रीमा राख्छ त्यसपछि अडर अनुसार प्रिन्ट गर्छ । अनलाइनमा राम्रो बिक्री हुन थालेपछि मात्र बुक सोपहरूमा पठाउँछ ।’ मैले आफै लेखक भएको बताएँ । उसले मलाई मज्जाले नियालेर हेर्‍यो र ‘फिङगर क्रस’ गर्दै ‘गुडलक फियरलेस वरिवर’ भन्यो ।

कुन साल ‘गुरिल्ला गर्ल’ विश्वको उत्कृष्ट सयमा पर्न गएको हो भन्ने समाचार र लिङ्कहरू तारा बहिनी वा कसैले नै पनि सार्वजनिक गरिदिनु भए म/हामी असाध्यै आभारी हुने थियौँ । र त्यसबाट रोयल्टी ठगिएको र सर्वाधिकार (कपिराइट)को सहमति (एग्रिमेन्ट) वेलायतको नियम भन्दा फरक गरिएको भन्ने पुष्टि भए जस्तोसुकै सजाए भोग्न पनि म/हामी तयार छौं ।

समय बित्दै गयो । ‘किन्डल्स’सहित अनलाइनमा एकतीस प्रति बिक्री भएको र १९ जनाले प्रतिक्रिया दिएका रहेछन् । धेरै जसो त चिनेका नेपालीहरूले नै । म आफैले आफ्नो पुस्तक प्रकाशन गृहबाट ४० प्रतिशत डिस्काउण्टमा ४५ प्रति किनेँ र चिने जानेकाहरूलाई ‘पुस सेलिङ’ गरेँ । सोचे जस्तो पुस्तक बिक्री भएन । ‘फियरलेस वरिवर’को अनुवाद र सम्पादन गराउँदा नेपाली रुपैयाँ सात लाख खर्च भयो । तर पनि नेपाली साहित्यलाई विश्व साहित्यमा पुर्‍याउने कोशिस जारी राखियो । हिम्मत हारेन ।

छापामार युवतीको डायरी

सन् २०१२ को कुरो हो । वागबजारको एउटा पुस्तक पसलमा अन्य पुस्तकहरूसँगै तारा राई ‘अनमोल’द्वारा लिखित ‘छापामार युवतीको डायरी’ पनि किनेँ । बेलायतमा लगेर पढेँ । लाग्यो–नेपाली बाल छापामारको कथा विश्वका पाठकहरूका लागि आवश्यक छ । यसपछि अप्जसे कान्छासँग कुरा भयो । उनले पनि पुस्तक पढे । त्यसपछि तारा राई ‘अनमोल’ बहिनीको सम्पर्क नम्बर खोज्न लागियो । फोन नम्बर पाएपछि कुराकानीहरू हुन थाले ।

म नेपाल गएँ । तारा बहिनीलाई भेट्न विर्तामोड पुगेँ । बाहिनीसँग पुस्तक प्रकाशन र सम्पादनको बारे बाचचित भयो । कसैको पुस्तक अनुवाद, सम्पादन वा प्रकाशन गर्दा/गराउँदा मौखिक सहमतिले मात्र हुँदैन, लिखित सहमति गर्नुपर्छ भन्ने कुरा मेरो एउटा कविता ‘हिरोज् बुक’मा प्रकाशन हुँदा नै थाहा पाएको थिएँ । ‘हिरोज’ का सम्पादक ‘जोन जेफकक’लाई केही वर्षको लागि सर्वाधिकार ‘कपिराइट’ दिनु पर्‍यो । बेलायतको कानुन नै यस्तो छ ।

विलियम शेक्सपियरको कविता सङ्ग्रह ‘शेक्स्पियर’को सर्वाधिकार ‘कपिराइट’ ईभ्र्रिमेन लाइबे्ररीलाई दिइएको छ । नोबेल पुरस्कार विजेता माललाको बुक ‘आई एम मालला’को सर्वाधिकार (कपिराइट) ‘सलारजाई लिमिटेड’सँग छ । सन् २०१९ मा ‘बुकर प्राइज’को ‘सर्टलिष्ट’मा पर्न सफल पुस्तक ‘द टेष्टामेन्टस्’को सर्वाधिकार ‘ओ. डब्लु टोड एलटिडी’लाई दिइएको छ । उक्त पुस्तक विश्वको उत्कृष्ट ७९८ नम्बरमा रहेको छ । रिभ्यू मात्र २४,६५३ जनाले गरेको तथ्य पाइन्छ । यस्तै कैलाश लिम्बूको चर्चित पुस्तक ‘गोर्खा’को सर्वाधिकार ए.आर. नरमानलाई दिइएको छ । कृष्टोफर बुलकद्वारा लिखित पुस्तक ‘ब्रिटेन गोर्खाज्’को सर्वाधिकार ‘द गोर्खा म्युजियम’लाई दिइएको छ ।

तब ‘छापामार युवतीको डायरी (गुरिल्ला गर्ल)’को सम्पादन र प्रकाशनका लागि म काङमाङ नरेश राई र अप्जसे कान्छाले लेखक तारा राई ‘अनमोल’बाट ११ अप्रिल सन् २०१४ मा लिखित सम्झौता गरी सर्वाधिकार (कपिराइट) लिएका हौं । अङ्ग्रेजीमा सम्पादन र प्रकाशन गर्नको लागि मात्र म स्वयम्, तारा राई र अप्जसे कान्छा बिच सहमति भएको हो । जहाँ ‘रोयल्टी’को सर्वाधिकार (कपिराइट)को विषयमा केही पनि उल्लेख गरिएको थिएन र छैन । यो सहमति गर्दा पचास हजार रुपैयाँ बहिनीलाई हातमा थमाइदिएको हुँ । प्रकाशन गृहले नलिइदिएको भए त ‘गुरिल्ला गर्ल’ बुक बजारमा आउने नै थिएन । हामीले त्यो पचास हजार ‘रोयल्टी’ नभएर लेखकको सम्मानका लागि मात्र दिएका थियौं । प्रकाशन गृहले नलिएको भए हामी आफै पुस्तक छपाउनेमा तयार थिएनौं ।

करिब तीन वर्षमा हामीले अनुवाद र सम्पादनको काम सकायौं । यी कार्य गर्दा नेपाली ६,५०,०००/– (अक्षरेपी छ लाख पचास हजार) खर्च भयो । त्यसपछि मात्र ‘कन् राड  प्रेस’ले  प्रकाशनको जिम्मा लियो ।

रोयल्टीको कुरा

तारा राई ‘अनमोल’ बेलायतमा बसोबास नगर्ने भएको, बेलायतमा लेखकको बैंक एकाउण्ट नभएको र ‘कन्राड प्रेस’को नेपालमा शाखा नभएका कारण ‘थर्ड पार्टी एग्रिमेन्ट’ गर्नुपर्ने भयो । ‘थर्ड पार्टी एग्रिमेन्ट’ गर्नुको कारण पुस्तक बिक्री भएपछि आएको ‘रोयल्टी (पाउण्ड)’ जम्मा गर्नको लागि गरिएको हो । त्यही कारण रोयल्टी पाउने सर्वाधिकार अप्जसे कान्छाले लिएको र तारा राई ‘अनमोल’ले दिएको हो । ‘एग्रिमेन्ट’को कागज बनाउँदा बेलायतको ‘सिस्टम’ र चलिआएको नियम अनुसार नै बनाइएको हो । बेलायतमा सामान्य कार इन्सुरेन्न्स, फोन कन्ट्याक्टक गर्दा पनि कतिपय अवस्थामा ‘थर्ड पार्टी एग्रिमेन्ट’ गर्नुपर्ने हुन्छ । यदि विश्वास नलागे बेलायतको कानुनका विज्ञहरूसँग परमर्श लिन वा बुझ्न सकिन्छ ।

उहाँलाई ‘एग्रिमेन्ट (सम्झौता)’ कागजमा हस्ताक्षर गराउनु अगाडि कागजमा के लेखिएको छ भनेर मैले पढेर सुनाएकै हो । ‘तपाईं हस्ताक्षर गर्न तयार हुनुहुन्छ’ भनेर सोधेको पनि हुँ । ‘म खुसी छु दाजु’ भनेर तारा बहिनीले हस्ताक्षर गर्नुभएको हो । अङ्ग्रेजी भाषामा प्रकाशन गर्नुपर्ने भएकोले अङ्ग्रेजी भाषामा सर्वाधिकार (कपिराइट)को सहमति (एग्रिमेन्ट) गरिएको हो । बेलायतमा बिक्री भएको पुस्तकको ट्याक्स तिर्नु अनिवार्य हुन्छ । त्यसैले अप्जसे कान्छाले सर्वाधिकार (कपिराइट) लिँदा थोरै ट्याक्स तिर्न मिल्ने भएकोले अप्जसेसँग सहमति गरिएको हो । अप्जसे कान्छा बेलायतमा भएको कारण कागज मैले ल्याएर विर्तामोडको सूर्योदय टेलिभिजन अगाडिको चियापसलमा सहमति (एग्रिमेन्ट) गरिएको हो । सहमति गराउँदा उहाँको भाइ र मेरो श्रीमतीको पनि उपस्थिति रहेको थियो । अप्जसे कान्छा र तारा बहिनी बिचको ‘रोयल्टी सम्बन्धी’ सहमति पत्र नबनाई ‘कन्राड प्रेस’ले बुक प्रकाशन गर्न नसक्ने भएकोले उक्त ‘थर्ड पार्टी एग्रिमेन्ट’ बेलायतको नियम अनुसार गरिएको हो ।

तारा राईको ‘छापामार युवतीको डायरी’ ‘कन्राड प्रेस’ले सन् २०१७ मा ‘गुरिल्ला गर्ल’ को नामबाट प्रकाशन गरी बजारमा ल्यायो । हामीलाई प्रकाशन हाउसकाका प्रमुख जेम्स् इजिङ्गरले भनेका थिए, ‘फिल्म बन्ने खाल्को छ । एउटा डाइरेक्टरसँग कुरो हुँदै छ तर 'नट कन्फर्म' । फिल्म बन्ने भयो भने तारा राई बेलायत आउन सक्छ ?’ मैले उनलाई भनेको थिएँ, ‘यदि तपाईं 'स्पोन्सर' गर्न सक्नु हुन्छ र भिषा लागे अवश्य । लजिङ फुडिङको व्यवस्था हामी गर्छौं ।’ जेम्स्सँग भएको सबै कुरा तारा राई ‘अनमोल’ बहिनीलाई मैले सुनाएँ ।

जेम्स्ले भनेको कुरो सूर्योदय टेलीभिजनको ‘सुसेली’ कार्यक्रममा मैले बोलेको पनि छु । पुस्तकको बिक्रीबाट आएको २० प्रतिशत ‘रोयल्टी’ प्रेसले दिने र उक्त रोयल्टीबाट ४० प्रतिशत तारा राई ‘अनमोल’ बहिनीलाई दिने हाम्रो सहमति भएको हो । मैले यो कुरा सूर्योदय टिभीको सुसेली कार्यक्रममा प्रस्टसँग भनेको छु । यहाँ स्मरण रहोस् कि जुन दिन तारा राई ‘अनमोल’ र मैले सूर्योदय टेलीभिजनको ‘सुसेली’ कार्यक्रममा अन्तरवार्ता दियौं, त्यही दिन सूर्योदय टेलीभिजन अगाडिको चिया पसलमा सर्वाधिकार (कपिराइट)को सहमति (एग्रिमेन्ट) गरिएको हो ।

हालसम्म ‘गुरिल्ला गर्ल’को बिक्रीबाट दुई पटक गरी रोयल्टी आएको छ । १ जुलाई सन् २०१७ देखि ३१ डिसेम्बर २०१७ सम्म ३ वटा बुकको ८ पाउण्ड ५१ पेन्स र १ जनवरी सन् २०१९ देखि ३० जुन २०१९ सम्म ४ वटा पेपर बुक र १२ वटा ईबुकको ३० पाउण्ड ७९ पेन्स गरी जम्मा ३९ पाउण्ड ३० पेन्स । जसको नेपाली रुपैयाँ ६,२०९.४०/– (अक्षरेपि छ हजार दुई सय नौ रुपैयाँ चालीस पैसा मात्र) हिसाब हुन आउँछ । यसपछि कुनै पनि पुस्तक बिक्री भएको छैन । सन् २०२० सम्म मात्र सर्वाधिकार (कपिराइट) अप्जसे कान्छासँग भएकाले अहिले पुस्तक कहींकतै पनि किन्न पाइँदैन । सबै रोयल्टीको स्टेटमेन्ट तारा राई ‘अनमोल’ बहिनीलाई  १३ फेव्रवरी २०२१ मा मैले पठाइसकेकै छु ।

उत्कृष्ट सयको कुरा

सोचे जस्तो पुस्तक बिक्री नभएको बारे हामीले तारा राई ‘अनमोल’लाई जानकारी गराइरहेकै थियौं । सन् २०२१ फेब्रुअरीसम्म हाम्रो निरन्तर संवाद भइरहेकै थियो । के के संवादहरू भएका थिए, हुन्थे, तारा राई ‘अनमोल’ बहिनीलाई थाहा छँदै छ । ‘गुरिल्ला गर्ल' बिक्रीका आधारमा विश्वको उत्कृष्ट सयमा परेको समाचार सुनेँ, लिङ्कहरू पाएँ, मन खुसीले गदगद भयो’ भनेर तारा राई ‘अनमोल’ले नागरिकमा लेख्नुभएको छ । एमाजन डटकमले विश्वमा बेचेका किताबहरूमध्ये यो आलेख तयार पार्दासम्मको अपडेटमा ४१,६७,४८३ (एकचालीस लाख सटसाठी हजार चार सय त्रियासी)पछि ‘गुरिल्ला गर्ल’को र्‍याङक/स्थान रहेको छ ।

ब्राकेटमा टर्कवाइज् (turquoise)कलरमा ‘सि टप वान हन्ड्रेड ईन बुक्स’ भनेर लेखेकै छ । त्यहाँ क्लिक गर्दा ‘गुरिल्ला गर्ल’ अटेको छ त ? छैन । त्यसभन्दा मुनि टर्कवाइज् (turquoise)कलरमा लेखेको छ कि ‘९९,९९० इन हिस्टोरिकल वायोग्राफिज् बुक ।’ त्यहाँ तारा राईको पुस्तकको स्थान ‘९९,९९०’औं रहेको छ । बरु प्रस्टै देख्न सकिन्छ कि ‘गुरिल्ला गर्ल’ माथि तीन जना नेपालीहरूले प्रतिक्रिया गरेका छन् । टप एक सयमा परेको पुस्तकको ‘रिभ्यू’ सरदर नै पनि २० हजारले गरेको भेटिन्छ । यस हिसाबले त कम्तिमा पनि नेपाली करोड रुपैयाँ कमिनु पर्छ । एकपल्ट उत्कृष्ट सयमा परेको पुस्तकको रोयल्टी वर्षौं आइरहन्छ नै । कुन साल ‘गुरिल्ला गर्ल’ विश्वको उत्कृष्ट सयमा पर्न गएको हो भन्ने समाचार र लिङ्कहरू तारा बहिनी वा कसैले नै पनि सार्वजनिक गरिदिनु भए म/हामी असाध्यै आभारी हुने थियौँ । र त्यसबाट रोयल्टी ठगिएको र सर्वाधिकार (कपिराइट)को सहमति (एग्रिमेन्ट) वेलायतको नियम भन्दा फरक गरिएको भन्ने पुष्टि भए जस्तोसुकै सजाए भोग्न पनि म/हामी तयार छौं ।

८ जेठ २०७८ शनिवार नागरिक दैनिक पत्रिकामा लेख  ‘कोही किन बरबाद होस्’ शीर्षकमा तारा राई ‘अनमोल’द्वारा लगाएइको एकलौटी आरोप, गलत सूचना र आसयसहितको लेख प्रकाशित गरी हाम्रो मान प्रतिष्ठामा पर्न गएको चोटप्रति को जिम्मेवार हुने ? नागरिक दैनिक हुने कि नहुने ? तारा राई बहिनीको लेखको विषयमा मैले/ हामीले प्रष्ट पार्नको लागि  पत्रिकामा ‘कोही बरबाद नहोस्’ शीर्षकमा लेखेर पठाएको थिएँ/ थियौँ । तर मेरो/हाम्रो लेख र यथार्थलाई कुनै स्थान प्रतिष्ठित पत्रिकाले आम समुदायमा पारेको भ्रमलाई कसरी निराकरण गर्ने ? यस विषयमा लेख छाप्ने  दैनिक पत्रिका र सबैलाई गम्भीर भइदिनु हुन अनुरोध पनि गर्दछौं ।

अन्तमा, तारा बहिनी, १३ फेब्रुअरी २०२१ सम्म तपाईं हाम्रो संवाद भएकै थियो । पुस्तकको विषयमा लेखेर र बोलेर सबै डिटेल्स भनेकै छु, हुँ । ‘कन्राड प्रेस’कै फोन नम्बर पनि उपल्ब्ध  गराएकै हुँ । पुस्तकमार्फत रोयल्टी आएको कुरा हेर्न चाहनु हुन्छ भने पनि अप्जसे कान्छाको बैंक स्टेटमेन्ट सन् २०१७ देखि २०२० सम्मको सबै उपलब्ध गराउन हामी तयार छौं । तर सन् २०२० मै ‘कपिराइट’को ‘एग्रिमेन्ट (सहमति)’ सकिएपछि अकल्पनीय शब्दहरू पढ्नु पर्दा निको लागेन । तपाईंलाई कुन शब्दले सही भन्न सकूँ ? बरू पाठकहरूका सामु तपाईँले नयाँ पुस्तक नल्याउनु भएको पनि अब त ११ वर्ष पुरा भइसक्यो । म तपाईंको एक दाजु मात्रै हैन, एक असल पाठक हुँ । तपाईंको नयाँ कृति पढ्न आतुर छु । अरु पाठकहरू पनि अवश्य आतुर होलान् । नयाँ कृतिका लागि दाजुको तर्फबाट सधैं हार्दिक शुभकामना !