ता नै ता

ता नै ता

तारक धिताल  |  साहित्य  |  जेठ १६, २०७८

हामी ‘स्वाभिमानी’ रे जनता
चुन्छौं घुमीफिरी तिनै यिनै नेता
हराउने आशमा यो अस्थिरता
भोग्दै जाँदा  न यता न उता !

आश थियो भविष्यको सुनिश्चितता 
तर भयो निरन्तर अराजकता
ठान्छन् आँफूमात्रै हुँ राजनीतिवेत्ता
देखिन्छन् अदृश्य जुवाडेका तासका पत्ता

ता ता धिन धिन ता ता 
बजाउने को हो ?  छ कता ?
नाच्ने मात्रै भेटीन्छन् यता
खै कस्तो हो देशप्रतिको ममता !

जहाँतहीँ खोक्नु नै हो रे वौद्धिकता
खोजौं कहाँ अब नैतिकता
विश्श्वास त भई गयो वेपत्ता
जसरी नि ढाल्नु जोगाउनु नै छ रे सत्ता ?

हराए सब भूईमान्छेका आवश्यकता
फटाह मध्येकै फटाह छान्नु पर्ने वाध्यता
खै कहाँ कहिले भेटीएलान् र राजनेता 
लौ न कसरी अपनाउने हो अब सतर्कता ?