‘सेनिटरी प्याड’ आफैँ बनाउँछन् ओखलढुङ्गाका महिला

‘सेनिटरी प्याड’ आफैँ बनाउँछन् ओखलढुङ्गाका महिला

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १६, २०७८

ओखलढुङ्गा । ओखलढुङ्गाका महिलाले आफूले प्रयोग गर्ने प्याड आफैँ बनाउन थालेका छन् । जिल्लाका विभिन्न उमेर समूहका महिलाहरुले विभिन्न माध्यमबाट प्याड बनाउन सिकेको सीपलाई व्यवहारमा उतार्दै आफूलाई चाहिने सेनिटरी प्याड आफैँ बनाउन थालेका हुन् । 

प्रत्येक वर्ष मे २८ का दिन मनाइने सुरक्षित महिनावारी दिवसका अवसरमा किशोरी समूहको अगुवाइमा दुई वर्षअघि प्याड बनाउने तालीम आयोजना गरिएको थियो । उक्त तालीममा सिकेको सीप प्रयोग गरेर आफूलाई आवश्यकपर्ने सेनिटरी प्याड आफैँ बनाउने गरिएको सिद्धिचरण नगरपालिका– ९ की लक्ष्मी बानियाँले बताउनुभयो । यसरी आफैँले बनाएको सेनिटरी प्याड प्रयोग गर्दा सहज भएको र बजारको प्याड किन्नु नपर्दा त्यो पैसासमेत बचत हुने उहाँको भनाइ छ । 

“पहिला प्याड नहुँदा साह्रै समस्या हुन्थ्यो । चाहेका बेला बजारमा गएर किन्नुपर्ने हुन्थ्यो”, उहाँले भन्नुभयो, “अहिले आफैँले प्याड बनाउन सिकेपछि साह्रै सहज भएको छ । नियमित प्याड किन्दा खर्च हुने पैसासमेत बचत हुन थालेको छ ।” किशोरीहरुका लागि आयोजना गरिएको रुपान्तरणको तालीमले प्याड बनाउन सिकाएदेखि आफैँले आफू र आफ्ना नजिकका साथीलाई समेत आवश्यक पर्ने प्याड बनाइदिने गरेको उहाँको भनाइ छ । 

सिद्धिचरण नगरपालिकाका किशोरीले पुनः प्रयोग गर्न मिल्ने प्याड बनाउन थालेका छन् । महिनावारी भएको बेला एकपटक प्रयोग गरेपछि त्यसलाई धोएर फेरि लगाउन मिल्ने प्याड बनाउँदा बढी प्रभावकारी भएको सिद्धिचरण नगरपालिका– ११ की किशोरी वसन्ता खत्रीको भनाई छ । खत्रीले आफूले सिकेको प्याड बनाउने सीप समुदायका अरु किशोरीहरुलाई पनि सिकाइरहनु भएको छ । “पहिला म पनि बजारमा पाइने प्याड किनेर प्रयोग गर्थे, अहिले आफैँले बनाउँछु । मलाई जस्तै अरुलाई पनि सहज होस् भनेर साथीहरुलाई पनि सिकाउने गरेको छु’’ खत्रीले भन्नुभयो । 

प्याड बनाउन सिकेपछि किशोरीहरुको विद्यालयमा उपस्थिति समेत बढेको किशोरी अभियान्ता सरस्वती बानियाकोे भनाई छ । विगतमा रजश्वला हुँदा महिनामा चार दिन विद्यालयमा गयल हुने किशोरीहरु अहिले आफैँले बनाएको प्याड प्रयोग गरेर नियमित विद्यालय जाने गरेको उहाँको भनाई छ । ‘‘रजश्वला सामान्य प्रक्रिया हो तर यसले महिलाको जीवनमा निकै ठूलो प्रभाव पर्दछ । यहाँसम्मकी रजश्वला हुँदा विद्यालय जान नसक्ने अवस्था हुन्थ्यो’’ बानियाले भन्नुभयो, ‘‘प्याड नपाउँदा महिनामा ४–५ दिन गयल हुने छात्राहरु अहिले आफुले प्याड बनाउन सिकेपछि नियमित विद्यालय जानथालेका छन् ।’’ 

महिनावारी हुनु एउटा प्राकृतिक प्रक्रिया भएपनि यसलाई समाजमा एउटा सरल जैविक प्रक्रिया नभई जटिल सामाजिक र सांस्कृतिक वर्गीकरणको कारण बनाउने गरेको उहाँ बताउनुहुन्छ । महिनावारीसँग जोडिएको सामाजिक लाञ्छनाले गर्दा रजस्वलाको बेला प्रयोग गरिने प्याडको प्रयोगका बारेमा छलफल गर्न लजाउने किशोरीहरुले अहिले आफैँले प्याड बनाएर आफु र आफ्ना साथीभाइको आवश्यकता पूर्ति गर्न थालेको उहाँको भनाई छ । बानियाकै नेतृत्वमा जिल्लामा सबैभन्दा पहिला स्थानीय किशोरीहरुलाई प्याड बनाउने सीप सिकाइएको थियो ।

जिल्लाको सिद्धिचरण नगरपालिकाले पनि स्थानीय महिलाहरुका लागि प्याड बनाउने तालिम दिएको छ । नगरपालिकाबाट तालिम पाएपछि विगतमा पुराना तथा फाटेका कपडाका टालोले काम चलाउने महिलाहरु प्याड प्रयोग गर्न थालेका छन् । तालिम पाएपछि आफूले प्रयोग गर्ने प्याड आफैँले बनाउन थालेको सिद्धिचरण नगरपालिका– ११ की विष्णुमाया तामाङले बताउनुभयो । ‘‘हामी महिलालाई रजश्वला लुकाउन साह्रै कष्ट हुन्छ । पहिला पहिला त प्याड भन्ने पनि थाहा थिएन । यस्तो हुन्छ रे भन्ने सुनेको मात्रै हो’’ उहाँले भन्नुभयो, ‘‘अहिले हामी आफैँ बनाएर प्रयोग गर्छौं । लगाउन सजिलो हुने स्वास्थ्यका हिसाबले पनि निकै राम्रो हुँदो रहेछ ।’’ आफैँले बनाएर प्रयोग गर्ने प्याड निकै लाभदायक हुने भएकाले सबै महिलाहरुले यो सीप सिक्नुपर्ने उहाँको भनाई छ ।