महामारी फैलिएको २० दिनपछि डाक्टर र औषधि बोकेर हुम्ला पुग्यो हेलिकोप्टर

महामारी फैलिएको २० दिनपछि डाक्टर र औषधि बोकेर हुम्ला पुग्यो हेलिकोप्टर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

काठमाडाैं । हुम्लाको ताँजाकोट गाउँपालिकामा रुघाखोकीको प्रकोप रोक्न चिकित्सक र औषधिको टोली पुगेको छ । प्रकोप फैलिएको २० दिनपछि आइतबार सेनाको हेलिकोप्टरबाट चिकित्सक टोली ताँजाकोट पुगेको हो । हालसम्म रुघाखोकीबाट नौजनाले ज्यान गुमाइसकेका छन् । ताँजाकोटमा रुघाखोकीबाट दुई सयभन्दा बढी बिरामी परेका छन् । यहाँ औषधिको चरम अभाव भएको थियो । सदरमुकामबाट ४५ कोस टाढाको यस गाउँमा १९ दिनसम्म कुनै सरकारले डाक्टर र औषधि पठाउन सकेको थिएन । सदरमुकामबाट ताँजाकोटसम्म पैदल पुग्न तीन दिन लाग्छ । 

प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल र कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलको आग्रहपछि गृह मन्त्रालयले हेलिकोप्टर पठाएको हो । ‘गृह मन्त्रालयले हेलिकोप्टर उपलब्ध गराएपछि विशेषज्ञ टोली सामाजिक विकास मन्त्रालयले पठाएको हो,’ मन्त्री रावलले भने । औषधि उपकरण र स्वास्थ्यकर्मी लैजान हेलिकोप्टरले सुर्खेतदेखि ताँजाकोटसम्म दुईपटक उडान भरेको थियो । 

आइतबार प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतबाट डा. तेजराज भट्टराई नेतृत्वको टोली ताँजकोट पुगेको हो । टोलीमा चार जना डाक्टरसहित ल्याब टेक्निसियन र स्वास्थ्यकर्मी छन् । डा. भट्टराई, डा. केएन पौडेल, डा. केशव अधिकारी र डा. मनोज तिमिल्सिना तथा हेल्थ असिस्टेन्ट बलभद्र यादव, ल्याब असिस्टेन्ट धर्म अधिकारीसहितको टोलीले प्रकोपस्थल पुगेलगत्तै उपचार सुरु गरेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखा प्रमुख वृषबहादुर शाहीले बताए । आजको नयाँ पत्रिका दैनिकमा खबर छ।