बजेटमा किन राखिएन चुनावी खर्च ?

बजेटमा किन राखिएन चुनावी खर्च ?

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ १७, २०७८

काठमाडौं । सरकारले संसद् विघटन गरी २८ कात्तिक र ३ मंसिरका लागि निर्वाचन मिति घोषणा गरे पनि त्यसका लागि बजेटको व्यवस्था गरेको छैन । बजेटमा चुनावी खर्चको स्पष्ट अंक नभए पनि निर्वाचन आयोगका लागि भनेर विगतमा झैं ५५ करोड ४४ लाख रुपैयाँ मात्र विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको बजेटमा ‘निर्वाचनका लागि आवश्यक बजेटको व्यवस्था गरिएको मात्र उल्लेख गरिएको छ । तर, आयव्ययको पूर्ण विवरणमा पनि चुनावी बजेटको कतै उल्लेख गरिएको छैन । अर्थमन्त्री पौडेलले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सरकार निर्वाचन गराउन प्रतिबद्ध रहेको बताउनुभयो तर,निर्वाचन खर्च स्पष्ट रूपमा भन्नुभएन  ।  

निर्वाचन लोकतन्त्रको प्राण भएको जिकिर गर्दै उनले निर्वाचनका निम्ति आवश्यक बजेट छुट्याएको र निष्पक्ष तवरले चुनाव हुुने बताउनुभयो । अर्थसचिव शिशिर ढुंगानाले सरकारले चुनाव घोषणा गरिसकेकाले आवश्यक रकमको कमी हुन नदिने बताउनुभयो । महामारीका कारण अर्थतन्त्र कमजोर भएको बेला चुनावलाई अर्बौं रुपैयाँ बजेटको व्यवस्था गर्दा जनतामा सरकारप्रति थप नकारात्मक सन्देश जान सक्ने भन्दै बजेटको व्यवस्था नगरेको बताइएको समाचार राजधानी दैनिकले छापेको छ ।