कोरोना संक्रमण निर्मुलीकरणका लागि जनकपुरधाममा धार्मिक अनुष्ठान

कोरोना संक्रमण निर्मुलीकरणका लागि जनकपुरधाममा धार्मिक अनुष्ठान

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ १७, २०७८

जनकपुर । कोरोना महामारी नियन्त्रणभन्दा बाहिर गइ हजारौंको मृत्यु भएको भन्दै विश्व कल्याणार्थमा आइतबार जनकपुरधाममा महामृत्युञ्जय मन्त्र जाप अनुष्ठान सम्पन्न भएको छ । कोरोना संक्रमण पहिलो र दोश्रो चरण नसकिँदै तेस्रो चरणमा प्रवेश गर्न लागेकाले यसको रोकथाम तथा नियन्त्रण सरकारीस्तरबाट पनि ठोस ढङ्गले नभइरहेको बेला कोरोनाबाट मुक्ति दिलाउन एवं समाज कल्याणार्थ जनकपुरधाम वडा नम्बर ७ स्थित कैथबनिया कुट्टीमा जेठ ६ गते बिहीबारदेखि सवा करोड महादेवको पूजा गर्दै महामृत्युञ्जय मन्त्र जाप हवनसङ्गै समापन भएको छ ।

कुट्टीका महन्थ सुरज बाबाको आयोजना र वडा नम्बर ७ का वडा अध्यक्ष जानकीराम साहको संयोजनमा श्रीङ्गार कुञ्ज कैथबनिया कुट्टीमा विश्वव्यापी महामारी कोभिड–१९ को संक्रमणबाट मुक्ति मिलोस् भन्ने कामना सहित महामृत्युञ्जय मन्त्र जाप आरम्भ गरिएको थियो । सोही अनुष्ठानको आज ११ औं दिन समापन गरिएको हो । समग्र विश्व कोरोना संक्रमणको चपेटामा परेको र हजारौंको मृत्यु भएपनि सरकार आमजनतालाई स्वास्थ्य राख्न सक्षम नभएकोले धार्मिक अनुष्ठानको आयोजना गरिएको कार्यक्रम संयोजक वडाध्यक्ष साहले बताउनुभयो ।

अनुष्ठानमा सामाजिक दुरी कायम गर्दै मास्क लगाएर स्वास्थ्यका मापदण्डहरु पालना गरि श्रद्धालु दर्शन गर्न आएको उहाँले बताउनुभयो । आराध्य देव भगवान महादेवको विशेष पूजा अर्चनाद्वारा सबैको स्वास्थ्य लाभको कामना सहित शान्ति स्थापनाको उद्देश्यले सवा करोड महामृत्युञ्जय मन्त्र जाप अनुष्ठानको आयोजना गरिएको उहाँले बताउनुभयो ।