सडकले नास्यो ट्रेकिङ रुट

सडकले नास्यो ट्रेकिङ रुट

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

पोखरा । ट्रेकिङको भर्जिन गन्तव्य क्व्होंलासोथरमा मोटर बाटो पुग्दै छ । गुरुङ जातिको यो आदिम थलोमा संघीय सांसदकै पहलमा डोजर चल्दै छ । सांसद खगराज अधिकारीका भनाइमा अबका केेही वर्षभित्रै क्व्होंलासोथरमा मोटर चढेर पर्यटक पुग्नेछन् । 

मोटर बाटो लैजान स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमबाट उनैले ७० लाख रुपैयाँ छुट्याए । कास्कीको मादी गाउँपालिकामा रहेको ताङतिङमाथि मानव बस्ती छैन । पदयात्रा पर्यटनको सम्भावना बोकेको ठाउँमा ट्र्याक खोल्ने कार्यको उनैले शिलान्यास गरे । अन्नपूर्ण क्षेत्रमा मोटर बाटोले ट्रेकिङ रुट मासेको गुनासो बढेपछि वैकल्पिक पदमार्गको खोजी भइरहेको छ ।

क्व्होंलासोथरमा भने पदमार्गको साटो मोटर बाटो पुर्‍याउन जनप्रतिनिधि नै अघि सरेका छन् । सांसद अधिकारी ताङतिङबाट क्व्होंलासोथर जोड्ने बाटोलाई सम्पदा मार्गका रूपमा विकास गर्न खोजेको बताउँछन् । ‘पर्यटक हिँडेर त्यहाँसम्म पुगेनन्,’ उनी भन्छन्, ‘त्यसैले मोटर बाटो पुर्‍याउन लागिएको हो ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।