एकै चालकले हजार किलाेमिटर

एकै चालकले हजार किलाेमिटर

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

डडेलधुरा । ‘दुई जना चालक छन् ?’ भीमदत्त राजमार्गको बुडर सडक खण्डको धारापानी नजिक गस्तीमा रहेका ट्राफिक प्रहरीले सोधेपछि बसका सहायकले दुईवटा लाइसेन्सको बीचमा ५ सयको नोट च्यापेर दिए । मुसुक्क हाँसेर ट्राफिकले इन्ट्री गरे ।

गाडीका कागजपत्र र लाइसेन्ससमेत नहेरिकन फर्काए । त्यसपछि सुरु भयो दार्चुलादेखि राजधानीसम्मको करिब एक हजार किलोमिटरको बस यात्रा ।

केहीअघि डडेलधुराको स्याउले ट्राफिक पोस्टमा इन्ट्री गर्दा २२ यात्रुमात्र रहेको बताइयो । त्यहाँबाट ३ किलोमिटर दूरीमा रहेको सल्लाघारीमा दुर्घटना भयो । उद्धारका क्रममा ५३ यात्रु भेटिए । अझ यात्रुभन्दा बढी व्यापारिक सामानको भारी भेटियो । धनगढीबाट अछामका लागि हिँडेको उक्त बसले स्याउलेबाहेक अन्य ६ वटा ट्रफिक पोस्ट पार गरिसकेको थियो ।

बुधबार डडेलधुराको साहुखर्कमा ६ जनाको ज्यान जाने गरी दुर्घटना भएको यात्रुवाहक बसले पनि ५ वटा ट्राफिक प्रहरी पोस्ट पार गरेको थियो । ३२ यात्रु बोक्ने क्षमता भएको उक्त बसमा पनि ५० भन्दा बढी यात्रु र ८० क्विन्टलभन्दा बढी व्यापारिक सामानको लोड थियो । शुक्रबार महेन्द्रनगरदेखि बैतडीका लागि छुटेको यात्रुवाहक बस डोटीको रूपसकाँडामा दुर्घटना भयो । १३ जना घाइते भए ।

उक्त बसमा पनि क्षमताभन्दा निकै बढी सामान र यात्रु रहेको प्रहरीले जनाएको छ । महेन्द्रनगरबाट शुक्रबार बिहान छुटेको उक्त बसले दुर्घटनास्थल पुग्नुअघि ९ वटा ट्राफिक पोस्ट र ७ वटा प्रहरी चेकपोस्ट पार गरेको थियो । नियमनकारी निकाय, यातायात व्यवसायी र सवारी साधन सञ्चालन गर्ने कर्मचारीको लापरबाहीका कारण भीमदत्त राजमार्गमा औसतमा दैनिक २ वटा दुर्घटना हुने गरेका छन् । पछिल्लो तथ्यांकअनुसार प्रदेशमा हरेक साता औसत ५ जनाको मृत्यु हुनुका साथै १२ जनाभन्दा बढी घाइते हुने गरेका छन् ।

यो सिलसिला लामो समयदेखि चल्दै आएको छ । धनगढी–डडेलधुराको १ सय ४० किलोमिटर लामो यो राजमार्गमा सबैभन्दा बढी दुर्घटना हुने गरेको छ । कैलाली कञ्चनपुरबाहेक ७ पहाडी जिल्लामा पछिल्लो समय दुर्घटनामा निकै बढेका छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।