निषेधाज्ञाका बीच  सुरक्षित प्रसूति सेवा लिनेहरुको कमी छैन लमजुङमा

निषेधाज्ञाका बीच  सुरक्षित प्रसूति सेवा लिनेहरुको कमी छैन लमजुङमा

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ १८, २०७८

लमजुङ । निषेधाज्ञा र कोरोना सङ्क्रमण फैलिरहेको बेला लमजुङमा सुरक्षित प्रसूति सेवा लिनेहरुमा भने कुनै कमी आएको छैन । जिल्लामा निषेधाज्ञा जारी भएयता करीब २० दिनको अवधिमा जिल्ला अस्पतालमा हालसम्म ४५ जनाले सुरक्षित प्रसूति सेवा लिएको अस्पतालले जनाएको छ । 

अस्पताल प्रमुख हेमन्त श्रेष्ठका अनुसार सुरक्षित प्रसूति सेवा लिनेमध्ये एक जनाको जटिल किसिमको प्रसूति सेवा, आठ जनाको शल्यक्रिया र ३७ जनाको सामान्य प्रसुति सेवा लिएका थिए । सङ्क्रमणको जोखिम बढिरहेका बेला समेत यहाँ प्रसूति सेवा लिन आउनेको भने कुनै कमी नआएको अस्पताल प्रमुख श्रेष्ठको भनाइ छ । 

उहाँले भन्नुभयो, “यहाँ दैनिकजसो दुई÷तीन जना महिला सुरक्षित प्रसूति सेवा लिन आइरहेका छन् । यस अस्पतालमै कोरोना सङ्क्रमितहरु राखिँदै आएतापनि सङ्क्रमणको डर नमानी उनीहरु सुरक्षित प्रसूति सेवाकै लागि अस्तालसम्म आउने गरेका छन् ।” सङ्क्रमणका कारण निषेधाज्ञा जारी भएयता अस्पतालको बहिरङ्ग र अन्तरङ्ग सेवामा भने कमी आएको अस्पतालले जनाएको छ । अस्पतालका अनुसार अन्य जटिल शल्यक्रिया २३, मध्यम दुई र सामान्य ४१ जनाले सेवा लिएका छन् ।