स्वरोजगारको नमुना धर्मे बुढा क्षेत्री: खाजा घर सात हजारको ठेलादेखि लाखौँको सटरसम्म

 म धर्मे बुढा क्षेत्री । वर्ष ४८। स्थायी बासिन्दा खजुरा गाउँ पालिका वडा नं ४ बाँके । अध्ययन सात कक्षा ।

जीवन जीउने र रोजगारीको खोजीमा करिब २३ वर्षसम्म भारतको राजधानी नयाँ दिल्लीमा बिताए । दिल्ली बसाइको क्रममा मैले विभिन्न व्यवसायमा संलग्न रहेँ । केही कमाउने उद्देश्यले भारत गएको म सुरु सुरुमा होटेल/रेस्टुरेन्ट र मेडिकल पसलहरूमा काम गरेँ । त्यसबाट भएको केही आयआर्जनबाट दिल्लीका विभिन्न एक दर्जन ठाउँमा होटेल/रेस्टुरेन्ट सञ्चालन गरे । त्यसबाट केही पनि बचाउन सकिन । त्यसबाट केही आम्दानी पनि भयो । तर केही बचत गरेर नेपाल ल्याउन सकिन । अथवा भनौँ नेपाल म खाली हातै फर्किए । 

जीवनका करिब २३ वर्ष खेर फाल्दै नेपाल फर्किएँ । केही समय खाली नै समय बिताएँ । घरमा बसेको समयमा बुवा सहित परिवारका सदस्यहरूले विदेश जान सल्लाह र दबाब दिनु भयो । उहाँहरूको भनाइ थियो–विदेश जानु राम्रो कमाइ हुन्छ । 

तर दुई दशक भन्दा बढी विदेश बसेको म परिवारको सल्लाह मान्ने कुरै भएन मैले मानिन । बरु सानोतिनो ब्यावसाय गर्ने सोच पलायो । एक दिन बुबा र आमालाई सानोतिनो काम गर्ने सोचका साथ सात हजार रुपियाँ मागेर नेपालगन्ज उपमहानगरपालिका वडा नं ९ बाँके गाउँमा ठेला गाडामा पृथ्वी म:म सेन्टर ‘ननभेज’ नास्ता पसल सञ्चालन गर्न थाले । सुरुमा त चलने । निकै गाह्रो भयो । त्यो पसल सञ्चालन नहुने अवस्थामा नै पुग्यो । तर दिल्लीमा सिकेको खाजा नास्ता बनाउने कला र सिपले भने केही काम गरिरहेको थियो । छ महिना पछि बिस्तारै खर्च धान्न थालेँ । बिस्तारै खाजा पसलको चर्चा पनि हुन थाल्यो । केही कार्यालय र विद्यालयबाट पनि खाजाको ‘अर्डर’ आउन थाल्यो । 

एक दिन एक जना ग्राहक बनेर मेरो नस्ता पसलमा सामान्य परिचित नितेश शर्मा आउनु भयो । केही खाजा ‘अर्डर’ गर्नु भयो । मैले समयमा दिन सकिन । उहाँले कामदार राखेर सेवा दिन सल्लाह दिनु भयो । मानिस राखेर काम गर्नु आफूसँग पुँजी नभएको बताएँ । काम बिस्तार गर्ने हो भनी पुँजी खोज्न सहयोग गर्ने आश्वासन दिनु भयो ।   

नभन्दै केही दिनमा नै नेपालगन्ज स्थित ग्लोबल बचत तथा ऋण सहकारी संस्था लि‌मिटेडको विशाल श्रेष्ठसँग भेटघाटको चाँजो मिलाउनु भयो । युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कर्जा असुली सहजकर्ता नितेश शर्माको प्रयास सहकारी संस्थाले दुई लाख रुपियाँ कर्जा उपलब्ध गरायो । कर्जा पाउन साथ  शुद्ध शाकाहारी शान्ति  मःम चाउमिन सेन्टरको ‘भेज’ खाजा घर सञ्चालनमा ल्याएँ । सुरुमा ३,४ जना मानिसलाई रोजगारी दिन थाले । २०६९ वैशाखदेखि २०७७ चैत्र मसान्तसम्ममा नौ वर्षमा १० जना मानिसलाई रोजगारी दिएको छु । अहिले पनि १० जना मानिसहरू कार्यरत नै छन् ।  अहिले ठेलाका साथसाथै सटरमा पनि मेरो पसल सञ्चालनमा छ । मेरो १० जना परिवारको प्रमुख आम्दानीको स्रोत यही पसल बनेको छ भने ४० लाख बराबरीको अचल सम्पत्ति पनि जोड्न सफल भएको छु ।

कति सम्म भने मेरो छोरो मेरो अनुमति बेगर मलेसिया गएर आयो । उ जाने भिसा र टिकट समेत लिएर आएको थियो । मैले अहिले उसको भिसा र टिकट रद्द गराइ आफैसँग काम गर्न भनेको छु । उसले मलेसियामा कमाउने ४० हजार यही स्वदेशमा नै कमाउन सकिन्छ भनेर  भनेको छु  । 

विदेशमा गएर हण्डर र ठक्कर खानु भन्दा स्वदेशमा युवाहरूलाई सिपसहितको जाँगर देखाउन सक्यो भने विदेश भन्दा स्वदेशमा नै स्वरोजगारी मात्र होइन विदेश भन्दा बढी कमाउन सकिन्छ भन्ने सल्लाह  दिन चाहन्छु ।