अब एकदिवसीय विश्वकपमा १४ र टी-२० मा २० टिम हुने

अब एकदिवसीय विश्वकपमा १४ र टी-२० मा २० टिम हुने
cricket cricket

लोकसंवाद संवाददाता  |  खेलकुद  |  जेठ १९, २०७८

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी)ले एकदिवसीय र टि२० विश्वकप क्रिकेटमा सहभागी टिमको संख्या बढाउने भएको छ ।

आईसीसीले मंगलबार एकदिवसीय विश्वकपमा टिमको संख्या बढाएर १४ बनाउने र टि२० विश्वकपको संख्या २० बनाउने निर्णय गरेको हो । आगामी साइकल अन्तर्गत सन् २०२७ र २०३१ को एकदिवसीय विश्वकप क्रिकेटमा १४ टिमले प्रतिस्पर्धा गर्ने भएको छ  । 

हालसम्म प्रतिस्पर्धात्मक बनाउन विश्वकपमा १० टिमलाई मात्र सहभागि गराइएको थियो । सन् २०२३ मा हुने एकदिवसीय विश्वकपमा पनि १० टिमले मात्र खेल्ने तय छ । अब हुने १४ टोलीको सहभागीतामा एसोसियट टोलीलाई विश्वकप खेल्न सहज हुनेछ ।

यस्तै, यस्तै सन् २०२४ को संस्करण देखि टि२० विश्वकपमा २० प्रतिस्पर्धा गर्ने छन् । यसले नेपाललाई टि२० विश्वकप खेल्न अझ सहज बनाउने छ । यसअघि टि२० विश्वकपमा १६ देशले प्रतिस्पर्धा गर्दै आएका थिए ।  च्याम्पियन्स ट्रफी पुनः हुने भएको छ । ८ टिम सहभागि हुने च्याम्पियन्स ट्रफी २०२५ र २०२९ मा हुनेछ । टेष्ट च्याम्पियनशिप फाइनल २०२५, २०२७, २०२९ र २०३१ मा हुने छ ।  

नेपालले सन् २०१४ मा पहिलो पटक टी२० विश्वकप खेलेको थियो । तर त्यसयता टी२० विश्वकपमा छनोट हुन सकेको छैन । एकदिवसीय विश्वकपमा भने नेपाल हालसम्म छनोट भएको छैन । सन् २०२२ को टी२० विश्वकपका लागि नेपाल सिधै ग्लोबल क्वालिफायरमा छनोट भइसकेको छ भने एकदिवसिय विश्वकप छनोटका लागि नेपालले आइसिसी विश्वकप लिग–२ खेलिरहेको छ । विश्वकप लिग २ मा ७ टोलीबीच २०२३ सम्म प्रतिस्पर्धा हुँदा शीर्ष तीनमा पर्न सके ग्लोबल क्वालिफायरमा सिधैं मौका पाउने छ ।