स्थानीय तहका प्रमुखद्वारा सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कार

स्थानीय तहका प्रमुखद्वारा सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कार

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ १९, २०७८

नवलपरासी । नवलपरासी ९बर्दघाट सुस्ता पश्चिम०को एक स्थानीय तहका प्रमुखले आफूले पाउँदै आएको सुविधावापतको रकमबाट कर्मचारीलाई पुरस्कृत गरेका छन् । जिल्लाको पाल्हीनन्दन गाउँपालिकाका अध्यक्ष वैजुप्रसाद गुप्ता९दीपक०ले आफूले पाउँदै आएको सुविधावापतको रकम मध्ये ५० हजार ५०० बाट गाउँपालिकामै कार्यरत एक कर्मचारीलाई पुरस्कृत गर्नुभएको हो। 

पुरस्कृत हुनेमा गाउँपालिकामा विगत तीन वर्षदेखि विपद् व्यवस्थापन शाखामा सम्पर्क व्यक्तिका रूपमा कार्यरत प्रदीपकुमार तिवारी रहनुभएको छ । गाउँपालिका अध्यक्ष गुप्ताले आज उहाँलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गर्दै तिवारीको कार्यसम्पादनबाट प्रभावित भएर आफूले व्यक्तिगतरूपमा पुरस्कृत गरेको राससलाई बताउनुभयो । 

सार्वजनिक विदामा तथा जुनसुकै समयमा पनि सेवामा निरन्तर खटिएर कार्यसम्पादन गरेकाले थप प्रोत्साहनका लागि पुरस्कृत गरेको अध्यक्ष गुप्ताले बताउनुभयो । अधिकांश समय कार्यक्षेत्रमै खटिएर जस्तोसुकै परिस्थितिमा पनि गाउँपालिका र जनताको सेवालाई पहिलो प्राथमिकता दिएर कार्यसम्पादन गरेकाले उक्त कार्यको उच्च मूल्याङ्कन गरेको उहाँले बताउनुभयो । 

अहिलेको कोरोना महामारीको सङ्कटमा पनि तिवारीको कार्यसम्पादन उत्कृष्ट रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले बताउनुभयो । गत वर्ष पनि अध्यक्ष गुप्ताले उहाँलाई एक थान मोबाइल सेट आफ्नो तर्फबाट प्रदान गर्नुभएको थियो । 

गाउँपालिका अध्यक्ष गुप्ताले आफूले पाउँदै आएको सुविधावापतको रकम विभिन्न सामाजिक कार्यमा सहयोग गर्दै आउनुभएको छ । पुरस्कृत कर्मचारी तिवारीले पुरस्कृत हुन पाएकोमा आफूले गर्व महसुस गरेको र अझ जिम्मेवारी थपिएको बताउनुभयो । 

नागरिकलाई विपद्बाट जोगाउन, विपद्मा परेका नागरिक र क्षतिको तथ्याङ्क सङ्कलनलगायत गाउँपालिकाका अन्य कामहरू पनि बिदासमेत नभनी निरन्तर सम्पादन गर्दै आएको उहाँले बताउनुभयो ।