आधुनिक दासको बकपत्र : उज्जल दाइ, 'मैले सोमबार होइन, बिहीबार नै भन्नुपर्छ !'

उज्जल दाइ, आज भेटघाट भएको भए नमस्कार/नमो नमः भन्थेँ होला !  युवाका, देशका, विकासका, शिक्षाका, स्वास्थ्यका ...बातहरू मारिन्थ्यो होला तर हुन सकेन । मैले चाहिँन, मजस्ता लाखौँले चाहेनन् तर काललाई/यमराज, ज्यमराजले तपाईंलाई मन पराए । हामीसँग कहिल्यै भेट हुन नदिने गरी खोसेर लगे, जुन कसैको चाहना थियो होला !

तपाईं देउता होइन, महामानव पनि होइन । यतिचाहिँ हो, वर्तमान हो, आशा र विश्वासको दियो हो, भविष्य पनि हो । मान्छे उमेरले भन्दा पनि कर्मले बाँच्छ । कति वर्ष बाँच्यो भन्दा पनि के गर्‍यो, कस्तो गर्‍यो, कति गर्‍यो । त्यसै भनिएको होइनः

भरजन्म घाँसतिर मन दिई धन कमायो, 
नाम क्यैं रहोस पछि भनेर कुवा खनायो । 
घाँसी दरिद्र घरको तर बुद्धि कस्तो ?
म भानुभक्त धनी भइकन आज यस्तो !

भलै भानुभक्तको नेपाली साहित्यमा आफ्नै पहिचान छ र उनी मृत्युपछि पनि देशविदेशमा बाँचेका छन् र बाँचिरहने छन् । पद धेरैले कुम्लाउँछन् तर धान्दैनन् । आजको नेतृत्वमा हिजो इमान, जमान, नैतिकता थियो, सत्ता थिएन । आज सत्ता छ, बाँकी सबै खुइलिएको अवस्था छ । सायद यसैलाई भन्छन् : अविश्वास महंगो वस्तु हो  । उमेरमात्र होइन, दुरदृष्टिसमेत हराइसकेका राजनीतिका अग्रजलाई हेरे पुग्छः सबै छ, पद छ, पैसा छ, शक्ति छ तर धान्न सक्ने क्षमता देखिएन । बोकाको मुखमा कुभिण्डो बन्न पुग्यो । उहाँहरूको योग्यता, क्षमता ध्वस्त पार्छन्, स्वाहा पार्छन्, देश र जनताको भविष्यलाई अधोगतिको खाडलमा जाक्छन् भन्ने विश्वास छ । 

अहिलेसम्मका हरेक परिवर्तनको आधार गालीतन्त्र !  राणा खत्तम, प्रजातन्त्र उत्तम ! प्रजातन्त्र खराब, पञ्चायत गज्जब ! पञ्चायत कुरूप, लोकतन्त्र सुन्दर ! राजतन्त्र स्वाहा, गणतन्त्र आहा ! आदिआदि । जो बढी गाली गर्नमा माहिर मानिन्छ, गाली शिरोमणिको हैसियत राख्दछ, उसलाई अब्बल भन्नुपर्ने अवस्था छ । मानौँ, चाहिने भनेकै विपक्षीलाई सकेसम्म ताछ्नु, खुइल्याउनु ! अग्लोमा चढेर तलकालाई देखाउँदै कठै कति होचा, विचराहरूको जिन्दगी !

अर्को त्यो भन्दा पीरलाग्दो र डरलाग्दो पक्ष हो- म जस्ता युवाहरू राजनीतिको मियोमा छन् तर विडम्बना चित्र विचित्र छ । धेरैको हविगत दयनीय छ, उही घुमिफिरी पदमा छन्, पैसा र शक्तिमा मैमत्त छन्,  छोइसक्नु छैनन् । विवेक बन्धकी राखेका छन् । नेतृत्वले सोमबारलाई विहीबारको दर्जा दिइसक्दा पनि त्यसैलाई तामेली गर्छन् । सोमबार त परै जाओस्, मङ्गलबारसम्म भन्ने हैसियत राख्दैनन् । यस्तो लाग्छ-यी चन्द्र शमशेरले हटाउन बाँकी रहेका दास हुन् ! यहाँभन्दा कुरूप चित्र के हुन सक्छ ! सम्माननीय, माननीयको आधार जनताबाट उम्रेको श्रद्धा होइन, संविधान र कानुनमा आफैँ लेखेर मख्ख पर्नुपरेको स्थिति छ । 

पद एउटा कुरा हो । खुबी, क्षमता, योग्यता अर्को कुरा हो । अहिलेको नेतृत्वले पुष्टि गरेको पनि यही हो । ठाउँ छ, क्षमता छैन । राम्रो होइन हाम्रो, जनताको होइन गुटको ! यस्तैको राइँदाइ छ, त्यसैले नतिजा छैन । आफूले भनेबमोजिम भएमा विधि, पद्धति वा कानुनी राज, नभएमा हुल्लडबाज ! संविधान, कानुन, विधि, पद्धतिले होइन, जङ्गबहादुरकै सनक जिवितै छ । त्यसैले सनक अघिअघि, संविधान पछिपछि कुदिरहेछ । व्यवहार बोल्छ-केवल पात्रहरूको नाम जङ्गबहादुर, चन्द्र शमशेर, जुद्ध शमशेरबाट प्रसाद, बहादुर, कमल...मा रूपान्तरित भएको हो ।

यसको असली कारण हो-अहिलेसम्मका हरेक परिवर्तनको आधार गालीतन्त्र !  राणा खत्तम, प्रजातन्त्र उत्तम ! प्रजातन्त्र खराब, पञ्चायत गज्जब ! पञ्चायत कुरूप, लोकतन्त्र सुन्दर ! राजतन्त्र स्वाहा, गणतन्त्र आहा ! आदिआदि । जो बढी गाली गर्नमा माहिर मानिन्छ, गाली शिरोमणिको हैसियत राख्दछ, उसलाई अब्बल भन्नुपर्ने अवस्था छ । मानौँ, चाहिने भनेकै विपक्षीलाई सकेसम्म ताछ्नु, खुइल्याउनु ! अग्लोमा चढेर तलकालाई देखाउँदै कठै कति होचा, विचराहरूको जिन्दगी ! भनेर दासहरूको माझ दास पुराण वाचन गर्नु, दासज्यूहरूले ल्याप्चे लगाउनु वा अनुमोदन गर्नु ।

ऋषिमुनिहरूलाई कुनै पद चाहिएन तर आज पनि सम्मानित बनेका छन् । सिङ्गो मानव जगतलाई संस्कार, सभ्यता दिएका छन् । अरूलाई सुहायो, आज तिनै मन्त्रलाई टेकेर अल्वर्ट आइन्सटाइनले भने-धन्य छ, पूर्विय ऋषिमुनिहरू, जसको कारण आज पश्चिम् यहाँ छ । हामी शिक्षित बन्यौ तर संस्कारी बन्न सकेनौँ । समस्या यही हो । शिक्षित प्लाष्टिकको फूल हो, हेर्दा गज्जब छ, सुन्दर छ, नभएको उही सुगन्ध र कार्बनडाइअक्साइडमात्र हो । सायद संस्कारी भइदिएका भए सुन्दर, सुगन्धित, प्राकृतिक हुन्थ्यौँ, कार्बनडाइअक्साइड त जन्मजात गुण नै भइगो !  

इतिहास सीमित पात्रहरूको जुलुस हो, जहाँ धेरै ठुला र कम असल मानिसहरू छन् । ठुलाहरू दुर्गन्धित छन्, असल सुगन्धित छन्, अहिले पनि अन्तरहृदयमा बाँचिरहेका छन् । सायद मृत्युको पनि भविष्य हुन्छ भनेको यही हो । नबुझ्नु, नजान्नु, थाहा नपाउनु एउटा कुरा हो तर बुझ पचाउनु, स्वाङ पार्नु अर्को कुरा हो । स्वाङ पार्नेहरू अहिले नसामा छन्, आफूबाहेक सिङ्गो जगत मिथ्या भन्ने सूत्रमा उहीहरू बाँचेका छन् । सायद नसा त केही समयपछि उत्रिएला तर समय गुज्रिसकेको हुनेछ । शाहरेजा पल्लवीले भनेजस्तो भयो, हुन्छ र हुनेछ- जतिखेर म इरानमा थिएँ, इरानलाई चिन्न सकिनँ । अहिले मैले इरान चिने विडम्बना म अहिले इरानमा छैन  । 

दाइ ! माने पनि नमाने पनि यी सत्य हुन् । यसमा अरू पनि थपिन सक्छन् । सायद तपाईंको मुलुकप्रतिको सपना यी र यस्तै यथार्थको वरिपरि हुनुपर्छ । म तपाईंजस्तै युवा हुँ, जानीनजानी तपाईंको शुभेच्छुक पनि हुँ । तपाईंका यी मुर्छित सपनालाई व्यहारको कसीमा उतार्नु तपाईंप्रति सच्चा श्रद्धाञ्जलि हो भन्ने मलाई राम्ररी थाहा छ ।  माफ गर्नुहोस् दाइ, अनि भ्रममुक्त पनि किनिक पहिलो कुरा यी कुरा म बाहिर ओकल्न सक्दिनँ । अनि ओकली हाले पनि गोडमेल गर्न सक्दिनँ । दाइलाई थाहा हुनुपर्छ, म उही चन्द्र शमशेरले मुक्त नगरेको आधुनिक दास हुँ । अतः मैले सोमबार होइन, विहीबार नै भन्नुपर्छ, ...फेरो नै समात्नै  पर्छ !