बेगुसरायमा गिरीराजको कमल फुल्ला कि कन्हैयाको जादू चल्ला ?

बेगुसरायमा गिरीराजको कमल फुल्ला कि कन्हैयाको जादू चल्ला ?

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १६, २०७६

भारतमा भइरहेको लोकसभा चुनावको चौथो चरणअन्तर्गत सोमबार मतदान भइरहेको छ ।

विहार राज्यअन्तर्गत चौथो चरणको चुनावमा ‘हट सिट’ मानिएको बेगुसरायको चुनावमा भाजपाका फायरब्रान्ड नेता मानिने केन्द्रीय मन्त्री गिरीराज सिंह तथा जवारलाल नेहहरू विश्वविद्यालय (जेएनयु)को विद्यार्थी संघका पूर्वअध्यक्ष तथा भारतीय कम्युनिस्ट पार्टी (भाकपा)का नेता कन्हैया कुमार मैदानमा छन् । 

आम मानिसको चासो छ– यो सिटमा गिरीराजको कमल फुल्ला कि कन्हैयाको जादू चल्ला ? 

बाहिरी हल्ला जे भए पनि यहाँ त्रिकोणीय प्रतिष्पर्धा हुने मानिएको छ । कन्हैया कुमार, गिरीराज सिंह र महागठबन्धनका तर्फबाट राष्ट्रिय जनता दल (राजद)का तनवीर हसनबीच मुख्य प्रतिष्पर्धा हुने आँकलन गरिएको छ । 

हसन सन् २०१४ को लोकसभा निर्वाचनमा पनि यहाँबाट उम्मेद्वार बनेका थिए । उक्त निर्वाचनमा उनी भाजपाका उम्मेदवार भोला सिंहसँग ५८ हजार मतले पराजित भएका थिए । 
यसकारण पनि भाजपा यो सिटमा जित हुनेमा विश्वस्त देखिन्छ ।  

बेगुसरायमा भूमिहार समुदायको बाहुल्यता छ । यसकारण यहाँ भूमिहारको मत निर्णायक मानिएको छ । हालका दुबै उम्मेद्वार भाकपाका कन्हैया कुमार तथा भाजपाका गिरीराज भूमिहार समुदायका हुन् । प्रधानमन्त्री नरेन्द्र मोदी तथा भाजपाको चर्काे आलोचना गरेर विरोधी ‘आइकन’ बनेका कन्हैया कुमारले आफ्नो राजनीतिक यात्रा बेगुसरायबाट सुरु गर्दैछन् ।  कन्हैया बेगुसरायका मूल निवासी पनि हुन् । त्यसकारण पनि उनी चुनाव जित्नेमा धेरै आशावादी देखिएका हुन सक्छन् । 

सन् २००९ को लोकसभा निर्वाचनलाई छाड्ने हो भने बेगुसरायबाट अहिलेसम्म भूमिहार समुदायका व्यक्ति नै सांसद्मा निर्वाचित भएका छन् । उक्त निर्वाचनमा मोनाजिर हसनले चुनाव जितेका थिए । 

भाजपा विरोधी आइकनको छवि बनाएका कन्हैया कुमारलाई भाजपा विरोधी मत पाइने विश्वास छ भने हसनलाई परम्परागत मुस्लिम तथा यादवको मत पाइने भनिएको छ । यहाँ मुस्लिम तथा यादवको मत निर्णायक हुन सक्छ । 

बेगुसरायबाट पछिल्लो पटक निर्वाचित भाजपाका सांसद् डा. भोला सिंहको देहान्त भएको कारण भाजपाले यस पटक गिरीराज सिंहलाई उम्मेदवार बनाएको हो । उनी २०१४ को लोकसभामा नवादाबाट सांसद् निर्वाचित भएका हुन् । यसकारण उनलाई बेगुसरायमा ‘घुमन्ते’ उम्मेदवारका रूपमा प्रचार गरिएको छ । कन्हैयाले यसलाई चुनावी मुद्दा बनाएका छन् । उनले ‘घरका बेटा बनाम बाहिरी’ चुनावी नारा समेत बनाएका छन् । यसले कन्हैयालाई केही सहयोग पुग्ने आँकलन गरिएको छ । 

भाजपाका गिरीराजले भने राष्ट्रवादलाई प्रमुख नारा बनाएका छन् । कन्हैया कुमारलाई लागेको देशद्रोहको आरोपलाई उनले उठाइरहेका छन् । 

गत चुनावमा यहाँ ६०.६ प्रतिशत मतदान भएको थियो । मौसम अनुकूल रहेमा यस पटक पनि राम्रै अनुपातमा मतदान हुने देखिएको छ । अब यहाँका जनताको ध्यान मतदानपछिको परिणाममा केन्द्रित हुन थालेको छ । 

सन् २०१४ तथा २००९ को मत परिणाम यस्तो रहेको छ । 

सन् २०१४ लोकसभा परिणाम
डा. भोला सिंह (भाजपा) –४२८२२७ (विजयी)
डा. तनवीर हसन (राजद) – ३६९८९२ 
राजेन्द्र प्रसाद सिंह (भाकपा) – १९३६३९ सन् 

२००९ लोकसभा परिणाम 
डा. मोनाजिर हसन (जदयु) २०५६८०(विजयी) 
शत्रुहन प्रसाद सिंह (भाकपा) – १६४८४३ 
अनिल चौधरी (लोजपा) – १२१७८६