प्रधनामन्त्री ओलीलाई बेलायतबाट खुलापत्र: 'सोह्रै आना अस्वीकार्य छ '

प्रधनामन्त्री ओलीलाई बेलायतबाट खुलापत्र:  'सोह्रै आना अस्वीकार्य छ '

लोकसंवाद संवाददाता  |  दृष्टिकोण  |  जेठ २०, २०७८

सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओलीज्यू,

सेवारो । नमस्कार ।

मेरो स्थायी ठेगाना ताप्लेजुङको इखाबु हो । म हाल कामको सिलसिलामा बेलायतको अक्सफोर्डमा अस्थायी रूपमा बस्दै आएकी छु । पेसाले म एक स्वास्थ्यकर्मी हुँ र नेपाली साहित्यका कविता, गीत, कथा, संस्मरण, निबन्ध, नियात्राका साथै उपन्यास विधामा कलम चलाउँदै आएको छु । मौलिक नेपाली संस्कृतिको सरक्षण र संवर्धनमा चासो राख्छु । आफ्नो गच्छेले भ्याएसम्म यस क्षेत्रमा योगदान पनि दिँदै आएकी छु । रोजगारीको सिलसिलामा आफ्नो जन्मभूमिबाट बेलायत बस्नु मेरो रहर नभएर बाध्यता हो । तर मेरो मन र मष्तिष्क भने सदैव मातृभूमि नेपालमै रहेको छ । सुदूर पहाड ताप्लेजुङको इखाबुमै छ । तमोर खोलाका सुसुेलीहरूसँगै छ । म हरपल नेपालको समृद्धिको सपना देखिरहेकी नै हुन्छु । 

सम्माननीय प्रधानमन्त्रीज्यू,

तपाईंको सरकारका अर्थमन्त्री माननीय विष्णुप्रसाद पौडेलद्वारा यही जेठ १५ गते प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७८/२०८९ को बजेट भाषण अनलाइन माध्यमबाट हेर्न र सुन्न पाइयो । बजेट वास्तवमै जनमुखी लाग्यो । चौतर्फी घेराबन्दी गरिएको सरकारबाट यस्तो जनमुखी बजेट आउनु कम्ता राम्रो कुरा होइन । तर यति हुँदाहुँदै पनि एउटा कुराले भने मेरो मन नराम्ररी खिन्न बनायो । मन दुखायो । यो कुराले मजस्ता धेरैको मन दुखेको कुरा सञ्चारमाध्यम र सामाजिक सञ्जालहरूमा आइरहेको सम्माननीयज्यूलाई पक्कै जानकारी नै हुनुपर्छ । 

साहित्य, कला तथा संस्कृति क्षेत्रमा आवद्ध हामीले तपाईंबाट एउटाको पहिचान स्थापित गर्न अर्कोको पहिचान मेट्ने निर्देशन हुन्छ भनी कल्पना पनि गर्न सक्दैनौँ । तर माननीय अर्थमन्त्रीज्यूको घोषणाले हामी ताप्लेजुङवासीको भावनामा चोट पुगेको छ । यो कुरा सोह्रै आना अस्वीकार्य छ । 

मन दुखेको कुरा हो, ताप्लेजुङको सुकेटार विमानस्थलको नाम परिवर्तन गरी पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्री स्व. रवीन्द्र अधिकारीको स्मृतिमा/सम्मानमा ‘रवीन्द्र अधिकारी विमानस्थल’ नामाकरण गरिने घोषणाले । रवीन्द्र अधिकारी एक जना सम्भावना बोकेका असल नेता हुनुहुन्थ्यो । आफ्नो कर्तव्य पालनका सिलसिलामा ताप्लेजुङको पाथीभरा नजिकै दुःखद दुर्घटनामा परी उहाँको निधन भयो । उहाँको निधनले राष्ट्रलाई अपूरणीय क्षति अवश्य पुगेको छ । हामी गहिरो दुःख व्यक्त गर्दछौँ । उहाँप्रति सदैव हाम्रो सम्मान छ । तर उहाँको नाममा सुकेटार विमानस्थलको नाम नामेट गर्नु बिल्कुलै न्यायोचित कुरा होइन । यो घोषणाले हामी समस्त ताप्लेजुङवासीको भावनामा गहिरो चोट पुगेको छ । 

सम्माननीय प्रधानमन्त्रीज्यू, 

तपाईं आफैँ भाषा, साहित्य, कला, संस्कृति, सम्पदा, इतिहास, दर्शन लगायतका विधाका ज्ञाता हुनुहुन्छ, मर्मज्ञ हुनुहुन्छ । यी विधामा अधिक चासो राख्ने, गहन ज्ञान हुने नेता नेपाली राजनीतिमा मैले अरु देखेको छैन । तसर्थ, साहित्य, कला तथा संस्कृति क्षेत्रमा आवद्ध हामीले तपाईंबाट एउटाको पहिचान स्थापित गर्न अर्कोको पहिचान मेट्ने निर्देशन हुन्छ भनी कल्पना पनि गर्न सक्दैनौँ । तर माननीय अर्थमन्त्रीज्यूको घोषणाले हामी ताप्लेजुङवासीको भावनामा चोट पुगेको छ । यो कुरा सोह्रै आना अस्वीकार्य छ । 

लिम्बू जातिको अनुपम कला, संस्कार र संस्कृतिले सुसज्जित उक्त क्षेत्रको आफ्नै पहिचान छ । आफैँमा बलियो इतिहास बोकेर बाँचेको क्षेत्र हो यो । सुकेटार विमानस्थल हाम्रा पुर्खाहरूले भोकैतिर्खै रगत र पसिना बगाएर निर्माण गरेको विमानस्थल हो । यस विमानस्थलसँग हाम्रो पुर्खाको हंश बसेको छ । हाम्रो संस्कृतिको साइनो छ । भावनात्मक सम्बन्ध जोडिएको छ ।

तसर्थ, म सम्माननीयज्यूसमक्ष सादर अनुरोध गर्दछु कि कृपया, बजेट भाषण मार्फत घोषणा गरिएको यो निर्णय तुरुन्त सच्याइयोस् ।  स्व. अधिकारीको सम्मानमा अन्तै उहाँकै क्षेत्र आसपासको स्थानमा नामाकरण गरियोस् तर सुकेटारको परिचय नखोसियोस् । कृपया, सुकेटारलाई आफ्नै परिचयमा रहन दिइयोस् । धन्यवाद । 
 


जानु काम्बाङ लिम्बू
ताप्लेजुङ, नेपाल । हालः अक्फोर्ड,  बेलायत ।