आफ्नाे पकेटबाट अन्तराष्ट्रिय स्तरकाे रेस्लिङ प्रतियोगिता आयोजना  गर्न बाध्य छाै‌ं

आफ्नाे पकेटबाट  अन्तराष्ट्रिय स्तरकाे रेस्लिङ प्रतियोगिता आयोजना  गर्न बाध्य छाै‌ं

लोकसंवाद संवाददाता  |  अन्तर्मन्थन  |  बैशाख १६, २०७६

सुवर्ण श्रेष्ठ

सुवर्ण श्रेष्ठ रिङ रेस्लिङ एसोसियसनको महासचिव हुनुहुन्छ । रेस्लिङ खेलको विकास र प्रवद्र्धनको लागि स्थापना भएको रेस्लिङ एसोसियसनले हरेक वर्ष राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गरिरहेको छ । एसोसियसनले यस वर्ष पनि प्रतियोगिता आयोजना गर्न लागेको छ । 

एसोसियसनले २०७६ वैशाख २८ गते दशरथ रंगशालामा ‘बेल्टेन रोड च्याम्पिनसिप’आयोजना गर्दैछ । उपराष्ट्रपतिले उद्घाटन गर्ने भनिएको उक्त प्रतियोगितामा चीन, अमेरिका, रुस लगायतका आठ देशका रेस्लरले भाग लिने निश्चित भइसकेको छ । उक्त प्रतियोगिताको तयारी, नेपालमा रेस्लिङ खेलको लगायत विषयमा केन्द्रित रहेर पर्यटन व्यावसायी, बैदेशिक रोजगार संघकी पुर्व सचिव, नेपाल उद्योग व्यावसाय महासंघकी केन्द्रीय सदस्य तथा   एसोसियसन महासचिव सुवर्ण श्रेष्ठसँग लोकसंवाद डट कमले अन्तर्मन्थन गरेको थियो । प्रस्तुत छ उक्त अन्तर्मन्थनको मूल अंशः

रिङ रेस्लिङ एसोसियसन अहिले के गरिरहेको छ ?

एसोसियसनले स्थापनाकालदेखि नै नेपालमा रेस्लिङको विकासका लागि विभिन्न गतिविधि, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन गरिरहेको छ । जसअन्तर्गत २०७६ वैशाख २८ गते दशरथ रंगशालामा ‘बेल्टेन रोड च्याम्पियनसिप’ आयोजना गरिँदैछ । 

प्रतियोगितामा कति देशका खेलाडीको सहभागिता हुँदैछन् ?

प्रतियोगितामा आठ देशका खेलाडी सहभागी हुने निश्चित देखिएको छ । प्रतियोगितामा चीनसँगै अमेरिका, रसिया, मलेसिया, सिंगापुर लगायत ८ देशका खेलाडी सहभागी हुँदैछन् । नेपालका ८ रेस्लर पनि प्रतियोगितामा सहभागी हुने निश्चित भइसकेको छ । 

प्रतियोगितामा कति खेलाडी सहभागी हुँदैछन् त ? 

प्रतियोगितामा २२ खेलाडीको सहभागिता हुनेछ । 

प्रतियोगिताको तयारीका लागि के–के गरिरहनुभएको छ ? 

प्रतियोगिताका लागि आवश्यक सबै तयारी गरिरहेका छौं । यसका साथै नेपाली खेलाडीलाई नियमित प्रशिक्षण दिइरहेका छौं । प्रशिक्षणका लागि विदेशी प्रशिक्षक आएका छन् । 
नेपालमा पनि राम्रा रेस्लर छन् भन्ने चिनाउन प्रतियोगिता गरिरहेका छौं । 

रिङ रेस्लिङ खेलको हिसावले हामी कुन ठाउँमा छौ ?

अहिलेसम्म हामी प्रारम्भिक चरणमा छौं भन्दा पनि हुन्छ । अबचाहिँ दोस्रो चरणमा प्रवेश गर्दैछौं । एसोसियसन स्थापना गर्दा हामीसँग खेलाडी पनि थिएनन् । खेलबारे जनताले बुझेका थिएनन् । अहिले खेलबारे जनताले बुझेका छन् । र, खेलप्रति आकर्षण पनि बढेको छ । 

नेपालमा रेस्लिङको सम्भावना कस्तो छ ?

एकदमै सम्भावना छ । किनकि यसको सम्बन्ध पर्यटन व्यवसायसँग छ । 

हामीले हरेक वर्ष अन्तर्राष्ट्रिय स्तरको च्याम्पियनसिप गरिरहेका छौं । त्यसमा ८–१५ देशका खेलाडी सहभागी हुन्छन् । त्यहाँका खेलाडी नेपाल आउँदा यहाँका पर्यटकीय स्थल पुग्छन् । यसले केही हदसम्म भए पनि

नेपाललाई चिनाएको मद्दत पुर्याएको छ जस्तो लाग्छ । 

नेपालमा रेस्लिङ खेलाडीको संख्या कति छ ? 

अहिले नेपालमा १७ खेलाडी छन्, जुन निकै थोरै हुन् । 

यसर्थ हामीले खेलाडी उत्पादन गर्न एकेडेमी सञ्चालन गरेका छौं ।  नेपालमा रेस्लिङलाई व्यावसायिक रूपमा अघि बढाउन सकिएको छैन । यो खेल खेलेर जिविकोपार्जन गर्न सकिने अवस्था छैन । तर, पनि पछिल्लो समय यो खेलमा आकर्षण बढेको छ । 

भर्खरै सम्पन्न आठौं खेलकुद प्रतियोगितामा यसलाई समावेश गराउने पहल गरेका थियौं । तर, हामी असफल भयौं । हाम्रो पहुँच पुगेन ।  खेलकुदमा राजनीति हावी छ । परिषद्का पदाधिकारीका निकट मान्छेका संघले विभिन्न मौका पाउने तर अरुले अवसर नपाउने देखिएको छ

खेल खेलेरै जिविकोपार्जन गर्न सक्ने बनाउन एसोसियसनले के गर्दैछ ? 

जुनसुकै काम गर्न पनि बजेटको नै आवश्यकता हुन्छ । यो खेलको लागि सरकारले बजेट छुट्याएको अवस्था छैन । हालसम्म एसोसियसनका पदाधिकारीहरुकाे पकेटकाे पैसाबाट कार्यक्रम आयोजना गरिरहेको छाै‌ । अहिले एउटा खेल आयोजना गर्न पनि अप्ठेरो भइरहेको अवस्था छ । 

नियमित खेल खेलिरहेकालाई उचित पारिश्रमिक दिन सकिरहेका छैनौं । रेस्लिङका खेलाडीले यो खेल खेलेर अन्य काम गर्न नपरोस् भनेर कोशिश गरिरहेका छौं । 

रेस्लिङलाई राष्ट्रिय खेलकुद परिषद् वा सरकारले मान्यता दिएको छ कि छैन ?

छ, हाम्रो एसोसियसन राष्ट्रिय खेलकुद परिषद्मा पनि आवद्ध छ । 

हामी आफ्नै पहलमा तीन वर्ष प्रतियोगिता गर्दै आएका छौं । यसपटकको कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदको हामीले सहयोगको अपेक्षा राखका छौं ।  

हालसम्म परिषद्ले कुनै सहयोग उपलब्ध गराएको छ कि छैन ?

गत महिनामात्र हामीले राष्ट्रिय स्तरको च्याम्पियनसिप गरेका थियौं । त्यसमा राष्ट्रिय खेलकुद परिषद्ले पनि केही सहयोग उपलब्ध गराएको थियो । 

हरेक वर्ष एसोसियसनलाई एक लाख रूपैयाँ दिने भनिएको छ । तर, हालसम्म उक्त रकम दिइएको छैन । 

राष्ट्रिय खेलकुद प्रतियोगितामा यो खेल समावेश नहुनुको कारण के हो ? 

भर्खरै सम्पन्न आठौं खेलकुद प्रतियोगितामा यसलाई समावेश गराउने पहल गरेका थियौं । तर, हामी असफल भयौं । हाम्रो पहुँच पुगेन । 

खेलकुदमा राजनीति हावी छ । परिषद्का पदाधिकारीका निकट मान्छेका संघले विभिन्न मौका पाउने तर अरुले अवसर नपाउने देखिएको छ । 

राजनीतिक पहुँच नपुगेकाले नै यो खेल समावेश नभएको हो त ?

हो, पपुलर नभएको र हामीभन्दा पछि आएका संघले मौका पाइरहेका छन् । तर, रेस्लिङले यो मौका पाएको छैन । यद्यपि, अन्य खेलको तुलनामा रेस्लिङमा दर्शक पनि बढी छन् । नेपालमा यसको पहिलो प्रतियोगितामा पाँच हजार दर्शक आएको इतिहास छ । तर, यसलाई राज्यले नजरअन्दाज गरेको छ । 

यो खेलको पर्यटन व्यवसायसँग कस्तो सम्बन्ध छ ? 

कुनै पनि प्रतियोगितामा २०–२२ देशका खेलाडी नेपाल आउनु भनेको नेपालको भौगोलिक सुन्दरतासँग परिचित हुनु हो । यहाँ आउने खेलाडी आफ्नो देशमा गएपछि खेलाडी यहाँको भौगोलिक सुन्दरताबारे बताउँछन्, यसले पर्यटन प्रवद्र्धनमा टेवा पुग्छ । 

यो खेलले पर्यटन व्यवसायलाई कसरी सहयोग पुर्याउन सक्छ, अथवा रेस्लिङले नेपालले मनाउन लागेको पर्यटन वर्ष २०२० लाई कसरी सहयोग गर्छ ?

यस पटक हामीले प्रतियोगिताको नाम ‘बेल्टेन रोड च्याम्पियनसिप’ राखेका छौं । नेपाल–चीनबीच ‘बेल्टेन रोड इनिसियटिभ’को कुरा चलिरहेको छ । त्यसकारण यो प्रतियोगिताले नेपाल र चीनबीच मित्रता बढाउँछ भन्ने हामीलाई लागेको छ । त्यति मात्र होइन, चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउन पनि मद्दत गर्नेछ भन्ने हाम्रो विश्वास छ । 

यस्तै, पर्यटन वर्ष २०२० सफल पार्न पनि महत्वपूर्ण भूमिका खेल्नेमा हामी विश्वस्त छौं । 

रेस्लिङलाई समृद्ध बनाउन गर्नुपर्ने तीन कुरा के–के हुन् ? 

पहिलो, खेलाडीको संरक्षण । हामीले कति खेलाडीलाई संरक्षण गर्न सकेका छौं ? यही खेल खेलेर जीविकोपार्जन गर्न सकिन्छ भनेर कतिलाई विश्वास दिलाउन सकेका छौं त ? यो गम्भीर प्रश्न हो । 
तर, हाम्रा खेलाडीले जीविकोपार्जनका लागि काम गर्नुपर्ने अवस्था छ । त्यसकारण खेलमा धेरै समय दिन सकिरहनुभएको छैन । यसले खेलको गुणस्तरीयता बढ्न सकेको छैन । तर, विदेशमा भने रेस्लिङ व्यावसायिक बनाइएको छ । 

दोस्रो, प्रशिक्षण । यहाँका खेलाडीले पर्याप्त प्रशिक्षण पनि पाएका छैनन् । जसका कारण क्षमता अनुसारको प्रदर्शन गर्न सकेका छैनन् । सरकारबाट बजेट पाउने हो भने विदेशका अब्बल प्रशिक्षकलाई नेपालमा ल्याउन सकिन्छ । 

तेस्रो, तालिम केन्द्रको व्यावस्थापन । परिषदले एकेडेमी सञ्चालनका लागि ठाउँ र तालिम हल उपलब्ध गराउने हो भने यो खेल समृद्ध हुन्छ । 

यी कुरालाई सरकारले ध्यान दिने हो भने नेपाललाई रेस्लिङबाट विश्वमा चिनाउन सकिन्छ ।