आनन्दानुभूतिको पराकाष्टा: आईफेल टावरबाट पेरिसको सौन्दर्यपनले सम्मोहित हुँदा !

आनन्दानुभूतिको पराकाष्टा: आईफेल टावरबाट पेरिसको सौन्दर्यपनले सम्मोहित हुँदा !

डा. सदानन्द कडेल  |  साहित्य  |  जेठ २१, २०७८

नेदरल्याण्डको समय अनुसार बिहानको ६:२० बजेको छ । आमस्टरडाम एरपोर्ट टर्मिनल, अन्डरग्राउन्डमा रहेको प्लेटफर्म नं. ३ को बेन्चमा बसेर रेल कुरिरहको थिँए ।  बिहान ६ बजेको रेल छुटीहालेछ ।  युरो ५:२० तिरेर एरपोर्टबाट आमस्टरडाम सेन्ट्रल पुग्न र फर्किनको लागि टिकट लिएको छु ।  अब ६:३८ बजे अर्को रेल आउँछ भनिएको छ । जम्मा १८ मिनेटको पर्खाईलाई सदुपयोग गर्न झोलाबाट डायरी झिकेर आफ्ना मनोभावना तथा कौतुहलतालाई लिपिबद्ध गर्दैछु । बिहान एकछिन भने पनि आफु नपुगेको देश नेदरल्याण्डको आमस्टरडाम शहर घुम्न पाउने कुराले रोमान्चित नहुने कुरै भएन । अर्कोतिर ११:२५ बजे नै पेरिस उड्नु पर्ने हुँदा कुनै कारणबाट ढिलाई भएमा फ्लाइट छुट्न सक्ने कुराले झस्किइ पनि  रहेको थिँए  । 

आमस्टरडाम एरपोर्टमा पाँच घण्टा ट्रान्जिटमा बसेर पेरिस तिर उड्नु पर्ने भएकोले मैले केही घण्टा बाहिर निस्केर शहर घुम्दै ‘मौकामा चौका हान्ने’ योजना बनाएको थिएँ नेपाल नछोड्दै । काठमाडौ‍ँबाट शारजाहसम्म चार घण्टा र त्यहाँबाट पौने सात घण्टा उडेर बिहान ५:५५ बजे आमस्टरडाम एरपोर्टमा उत्रिएपछि म हतार हतार बाहिर निस्कन लागें । इमिग्रेसनमा खासै सोधपुछ गरेन । सेन्जेन भिसा भएकोले नेदरल्याण्ड प्रवेशको लागि खाशै समस्या थिएन । 

भनिएकै समयमा आइपुगेकोले दङ्ग परेर म रेल चढ्छु र सिटमा बस्छु । जब रेल दौडन्छ, आँखाहरू बाहिरका दृश्यहरूलाई कैद गर्न आतुर हुन्छन् भने मनभित्र जिज्ञासा र कौतुहलताको बाढी नै उर्लन्छ  । १७ किलोमिटरको दुरी पार गर्दै २० मिनेटमा पुगियो आमस्टरडाम सेन्ट्रल । 

सबेरै भएकोले शहरमा खाशै चहल पहल देखिदैन । त्यसैले हिड्न सजिलो पनि भएको छ मलाई । सफा र सुन्दर शहरमा साइकलको लागि छुट्टै लेन रहेछ । रेल स्टेशन नजिकैको साइकल स्ट्याण्डमा अशंख्य साइकलहरू देखिन्छन् । 

यसैबिच मलाई २०३७-०३८ साल तिर काठमाण्डौको चक्रपथमा भाडाको साइकल चलाएको सम्झना आयो । चक्रपथमा अहले जस्तो गाडीको भिडभाड हुँदैनथ्यो । सानेपाको ओरालोमा खुट्टा नचलाई, कुनै कुनै बेला त हातले पनि नसमातिकन साइकल चलाउँदै विष्णुमती पूलसम्म पुग्दा निकै मज्जा आउँथ्यो । सुनसान सडक छेउका खेतका गराहरूमा धानका बालाहरू झुलिरहेका हुन्थे । त्यस्तै, एरपोर्टदेखि तिलगंगा तिरको ओरालो तथा गौशाला देखि धुम्बाराहीतर्फ जाने ओरालोमा पनि त्यत्तिकै मज्जा हुन्थ्यो साइकल चलाउन । 

‘युरोपमा यति धेरै साइकल प्रयोगमा हुने तर काठमाडौँमा चाहीँ किन साइकल लोप हुन लागेको होला ?’ यो प्रश्नले मलाई सोचमग्न बनायो । लाग्यो, ‘काठमाडौँलाई पनि साइकल यात्रीको शहर बनाउन सके कत्ति राम्रो हुन्थ्यो होला ?’

दुई घण्टा शहरमा हिडेको हिड्यै अनि हेरेको हेर्यै गरेर रेल स्टेशनमा फर्कें । शहरको बिच बिचमा क्यानलहरू प्रशस्तै रहेछन् । क्यानलमा डुंगाहरू पनि चल्ने रहेछन् । डुंगा चढेर सयर गर्ने इरादा अधुरै छोडेर फेरी रेल चढेर स्किफल एरपोर्ट फर्कें म । समयमै टर्मिनलमा पुगिसकेकोले ढुक्क भएँ । केवल दुई घण्टामात्र भने पनि युरोपको एउटा नयाँ मुलुकमा अवलोकन गर्न समर्थ भएकोमा हर्ष बिभोर  थिएँ म ।      

पूर्वनिर्धारित समय भन्दा १२ मिनेट ढिला डच एरलाइन्स KLM को विमानमा आमस्टरडामबाट उडेको ५० मिनेटमै फ्रान्सको पेरिस एरपोर्टमा अवतरण गर्‍यो । काठमाडौँबाट नेपालगञ्ज उडे जत्तिकै दुरी रहेछ समयको हिसाबले । हवाईजहाजको गतिको हिसावले मात्रै फरक । 

पेरिस एरपोर्टको टर्मिनल अचम्मको रहेछ । निकै आकर्षक ढंगको गोलाकार भवनको बिचमा खुला आकाश मुनि अनगिन्ति उत्तोलकहरू (एलिभेटरहरू) रहेछन् । सामान आउने चालु बेल्ट पनि छड्के परेको देखिने । भूमिगत मार्गबाट नै बाहिर निस्किनु पर्ने रहेछ ।  

गेट नं. २० मा पालो पर्खिएर लाइनमा बसीरहेको एउटा ट्याक्सी मेरो नजिक आयो । ड्राइभर दाइले अंग्रेजी पटक्कै नबुझ्ने रहेछन् । ‘होटेल लिबर्टेल औटेल’ लेखिएको देखाउँदा उनले बुझेनन् । ‘रुई फ्यालिसियन डेभिड’ लेखिएको देखाउँदा ‘ठिक छ’ भन्ने संकेत गरेर कागजमा युरो ४० लेखिएको देखाए । स्वीकार गर्दै डिकीमा समान राखेर म ट्याक्सीमा बसें ।

ट्याक्सी अगाडी बढ्यो । बिछट्टै सुन्दर शहर पेरिसको अवलोकन गर्न म तल्लिन रहेंने नै भए ।  ट्याक्सी तीब्र गतिमा कुद्न थाल्यो । घरी अन्डरग्राउण्ड, घरी ओभरग्राउण्ड हुँदै रफ्तारमा कुदिरहेको ट्याक्सीबाट अत्यन्त सफा र चौडा सडक,  छेउछाउमा हरिया रुखहरू, सुन्दर फूल फुलिरहेका बगैचाहरू र अत्यन्तै व्यवस्थित शहर देखिन्छ ।  

‘सदान्, तिमि कता हरायौ ? बोल्नै पो छोड्यौ त ?’ अलिक लम्केर मेरो बाटो नै छेकुंला जस्तो गर्दै टोनीले भने । ‘सरी साथी ! म त यो नदी देखेर काठमाडौँमा बग्ने फोहोर नदी विष्णुमतीलाई कसरी सफा बनाउने होला ? भनेर सोच्न पो थालेछु ।’ उनको प्रश्न भुँईमा खस्न नपाउँदै मैले प्रत्युत्तर दिएँ ।

यसैबिच ट्याक्सीले टनेलमा झन् खतरनाक गति लियो । मिटर हेर्दा १९० पुगेको देखियो । मिटरमा अधिकतम २६० सम्म लेखिएको रहेछ । मेरो मानस पटलमा सन् १९९७ मा पेरिसकै टनेलमा भएको कार दुर्घटनाको स्मरण हुनगयो । जुन दुर्घटनामा बेलायतकी सुन्दरी राजकुमारी डायनाको मृत्यु भएको थियो । नभन्दै एकैछिनमा टनेलको दाहिने साइडमा डायनाको कार दुर्घटना भएको ठाउँ भनेर भित्तामा लेखिएको देख्दा म त झसङ्ग भएँ । कता कता नरमाइलो लागेर आयो  । 

गह्रुङ्गो मनले पुराना यादहरू ताजा बनाउन थालें । आखिर सुरुङ मार्ग भएकोले बाहिरको दृश्य अवलोकन गर्ने कुरा पनि त थिएन । सन् १९९३ मा राजकुमारी डायनाले नेपाल भ्रमण गरेकी थिइन् । उनको भ्रमणले नेपालका युवराज दिपेन्द्रको पनि सम्झना दिलायो किनकी दिपेन्द्रले डायनालाई स्वागत गरेका थिए । त्यसपछि मैले स्वदेशी तथा बिदेशी अखबारहरू तथा टेलीभिजनमा डायनाका समाचारहरूलाई पछ्याउन थालेको थिएँ । डायना आफ्नो प्रेमी साउदी अरबका धनाढ्य डोडी फायदसँगै कारमा थिइन् । त्यो देखेर हाइ प्रोफाइलका व्यक्तिहरूको फोटो खिच्ने स्वतन्त्र फोटोग्राफरहरूले (पापराजी) पिछा गरे । त्यसलाई छल्न चालकले तीब्र गतिमा गाडी चलाएका थिए । गाडी अनियन्त्रित भएर दुर्घटनाग्रस्त भएको थियो । युवराज दिपेन्द्रको मृत्यु कसरी भयो जगजाहेर छंदैछ । संयोगनै भनौं,  दुबैको मृत्युको प्रारम्भिक कारण चाही प्रेम प्रसङ्ग नै थिए ।  प्रसङ्ग जे जस्तो होस्, कसैको पनि दुर्घटनामा ज्यान जानु चाही अत्यन्तै नराम्रो कुरा हो ।   

आधा घण्टामै होटेल अगाडी पुगियो । मैले पैसा दिएर ‘थ्यांक यु (धन्यबाद) भनें । ड्राइभरले पनि बिल दिएर फ्रेन्च भाषामा भने, ‘मेसी’ (धन्यबाद) ्र मलाई लाग्यो, ‘फ्रेन्च भाषाका केही शब्दहरू चाही सिक्ने पर्ने भयो अब ।’ 

होटेलको रिसेप्सनमा पुग्न नभ्याउदै परैबाट एउटा महिला स्वर मेरो कानमा आएर ठोक्कियो, ‘नमस्ते सदान्, वेलकम् टु पेरिस !’ पेरिसमा कसैले ‘नमस्ते’ भनेर स्वागत गर्दा असाध्यै रमाइलो लाग्यो । उनी दौडिदै म तिर आइन् । फिलिपिन्सकी सिकाई सल्लाहकार, मर्सी । मैले भने, ‘मागान्डाङ हापोन् मर्सी ! थ्यांक यु भेरी मच (दिउसोको नमस्ते मर्सी ! धेरै धन्यबाद !) यस अघी हाम्रो इन्डोनेशियामा एउटा कार्यशाला गोष्ठीमा भेट भएको थियो । त्यहीबेला हामीले एक अर्काका भाषाका केही शब्दहरू सिकेका थियौं । तालिममा सहभागी हुनको लागि आएकी मर्सी भर्खर होटेलमा पुगेकी रहिछन् । 

आज २०५९ साल बैशाख १ गते आइतबार (अप्रिल १४,२००२) संसारकै सुन्दर मध्येको एक शहर पेरिसमा छु म । भोली मात्रै UNESCO International Institute for Educational Planning (IIEP)  मा शैक्षिक योजना सम्बन्धी छोटो कोर्ष र तालिम सञ्चालन हुन गइरहेकोले आज फुर्सद नै छ । यही फुर्सदलाई सदुपयोग गर्दै आज अघिल्लो सालको समिक्षा र नयाँ बर्ष २०५९ को पारिवारिक विकास योजना बनाउने विचारमा छु । आइफेल टावरमा चढेर पेरिसलाई अवलोकन पनि गर्नु छ । जीवनमै पहिलो पटक पेरिसको भूमिगत मेट्रो संजालको अवलोकन तथा यात्रा गरेर मज्जा लिनु छ । तालिमका लागि विभिन्न देशबाट आएका साथीहरूसंग चिनापर्ची गर्नु त छंदैछ । UNESCO IIEP UNESCO  हेडक्वार्टरको भ्रमण गर्ने विचार पनि छ ।  आजको कार्यतालिकाले मलाई उधुमसँग फुर्क्याइरहेकोछ  । जुन शब्दमा बर्णन गर्नै सकिन्न ।   
हाम्रै अफिसको चीनमा काम गर्ने सिकाई सल्लाहकार झाँगजुन (टोनी) मेरो साथमा छन् । उनी पहिला नै ब्याङ्ककमा भेट भइसकेका परिचित र मिल्ने साथी थिए ।  आधा घण्टाको हिडाईमा पुगिने कुरा थाहा भएकोले हामी दुवै हिड्न तयार भएर यात्रा सुरु गर्दैछौं । 

अलिकति हिड्ने बित्तिकै रेडियो फ्रान्सको गोलाकार भब्य भवन देखा पर्छ । त्यसलाई पृष्ठभुमिमा राखेर टोनीको क्यामेराले नै मैले उनको फोटो खिचीदिएँ। उनले पनि मेरै क्यामेराले मेरो फोटो खिचिदिए । जथाभावी फोटो खिच्ने छुट थिएन हामीलाई । फोटोको रिल पनि त बचाउनु पर्यो नि ! 

‘टोनी, रेडियो फ्रान्स भवन होटेल नजिकै भएकोले सजिलो हुने भयो, बुझ्यौ ? ट्याक्सीमा होटेल फर्किन खोज्दा ड्राइभरलाई लोकेसन थाहा नभएमा रेडियो फ्रान्स भवन नजिकै भन्दा हुने भो ।’ मैले भनें- सही थाप्दै उनले भने, ‘ठिक भन्यौ सदान् ।’ बिदेशीलाई नाम भन्न अप्ठेरो हुने हुँदा  झाँगजुनले आफ्नो सजिलो नाम ‘टोनी’ राखेका छन् भने मैले मेरो नाम छोट्याएर ‘सदान्’ । 

सेन नदीको किनारमा दुबैपट्टी हराभरा, चौडा, सफा सुन्दर सडकहरू छन् । त्यसमाथि रंगीचंगी गाडीहरू हुइँकिरहेका । कन्चन सफा पानी भएको नदीमा डुंगाहरू तथा साना जहाजहरू देखिन्छन् । ठाउँ ठाउँमा नदी माथि पुलहरू, पुलमाथि गाडीहरू, कुनै पुलमाथि ट्रेन दौडीरहेछन् । सुनेको थिएँ, ‘पेरिस भित्र सेन नदीमा ३७ वटा पुलहरू छन् ।’ शहरमा हरियाली, ठुला ठुला रुखहरूमा फुलेका सुन्दर फूलहरू । आहा...कत्ति सुन्दर एबं मनोरम छ पेरिस !

शहरको बिचबाट बग्ने सफा नदी देखेर मलाई बिष्णुमतीको सम्झना झल्झली आउन थाल्छ । महेन्द्ररत्न क्याम्पस ताहाचलमा अंग्रेजी शिक्षक हुँदा म क्याम्पस नजिकै बिष्णुमतीको किनारमा डेरा गरेर बस्थें । हिउँदमा कोठा खोज्दा दुर्गन्धको चालै पाइएन । बर्खालागे पछि बिष्णुमतीको दुर्गन्धले गर्दा झ्याल थुन्नुपर्ने तथा नाकै थुन्नुपर्ने अवस्था सिर्जना हुँदा ज्यादै दिक्क लाग्थ्यो । ‘हाम्रो बिष्णुमती र बागमतीको दुवै किनारमा बाटो बनाएर, छेउमा बिरुवा लगाएर, सफा बनाएर, पानी तल्याएर मनोरन्जनका लागि स-साना डुंगा चलाउन सके कत्ति सुन्दर देखिन्थ्यो होला काठमाण्डौ पनि ?’ आफु काठमाडौँको मेयर बन्न पाए त्यसो गर्ने र साइकलको लागि आमस्टरडामको जस्तो छुट्टै लेन पक्कै बनाउथें भन्ने सोच मनमा आयो । ‘कुनै दलको साधारण सदस्य पनि नभएको व्यक्तिलाई कसले टिकट दिनु र ? कसरी चुनाव जित्नु र ?’ हैट ! के के पो सोच्न पुगेछु मैले पनि !   

‘सदान्, तिमि कता हरायौ ? बोल्नै पो छोड्यौ त ?’ अलिक लम्केर मेरो बाटो नै छेकुंला जस्तो गर्दै टोनीले भने । ‘सरी साथी ! म त यो नदी देखेर काठमाडौँमा बग्ने फोहोर नदी विष्णुमतीलाई कसरी सफा बनाउने होला ? भनेर सोच्न पो थालेछु ।’ उनको प्रश्न भुँईमा खस्न नपाउँदै मैले प्रत्युत्तर दिएँ ।

‘आहा.....क्या राम्रो देखियो आइफेल टावर !’ परैबाट देखाउँदै मैले भनें । मेरो चिनिया साथी पनि दंगै परे । तत्कालै पहिले जस्तै गरी एक अर्काको फोटो पनि खिच्यौं । 

‘टोनी, निकै पो हिडियो त ? तिम्ले र मैले लंगमार्च नै गर्ने भयौं नि पेरिसमा !’ मेरो यो भनाई सुनेपछि उनले एकछिन खै के के सोचे जस्तो गरेर भने, ‘सदान्, मेरो बुवाले पनि लंगमार्च गर्नु भएको हो नि माओत्सेतुंगसंगै ।’ 

‘बाफ्रे, तिमि त खाट्टी कम्युनिष्ट होलाऊ नि हगी ?’ भन्दै लंगमार्च बारे आफुले पनि केही पढेको कुरा सुनाएँ । केही नेताहरूको नाम फरर भन्देको त उनी छक्कै परे । गम्भीर हुँदै उनले भने, ‘आइ रेस्पेक्ट माओत्सेतुंग बट आइ डन्ट लाइक कम्युनिष्ट पार्टी (म माओत्सेतुंगलाइ आदर गर्छु तर कम्युनिष्ट पार्टीलाई मनपराउँदिन ) ।  मेरो अनुरोधमा कारण बारे स्पष्ट गर्दै उनले भने ‘चीनमा विकास भएको छ, समृद्धि छ तर स्वतन्त्रता छैन । अरु मुलुकमा जाँदा बिबिसी, सीएनएन लगायत थुप्रै च्यानलहरू हेर्न पाइन्छ । चीनमा त्यो छुट छैन ।मलाई त्यो मन पर्दैन ।’   

पेरिसको च्याम्प डी मार्समा चार खुट्टा टेकेर ठिङ्ग उभिएको आइफेल टावरको तल पुग्दा हामी दुवै फुरुङ भयौं । चारवटै पिलरको तल लामो लाइन छ टिकट किन्नेहरूको । 

लोभिएका आँखा, जिज्ञासु दिमाग र प्रफुल्लित मनका साथ टावरको पहिलो र दोस्रो लेवल (तला) सम्म पुगियो । माथि नै रेष्टुरेन्ट, रेस्ट रुम, सैलुन आदि रहेछन् । साइडबाट चारैतिर घुम्न सकिने रहेछ । छेउ छेउमा बाइनाकुलरबाट पेरिसको सुन्दरताको स्वाद लिन पाइने । क्या गज्जब ! 

मेरो चिनिया साथीसँगै भएकोले फोटो खिच्न समस्या भएन । बाइनाकुलरबाट दृश्यावलोकन गर्दै गरेको फोटो खिचियो । बसेर डायरी लेख्दै गरेको फोटो पनि क्यामेरामा कैद गरियो । रेष्टुरेन्टको आगाडि तथा शहरी दृश्यलाई पृष्ठभुमिमा राखेर पनि खिचियो । 

लिफ्टबाट टुप्पोको (टप लेवल) गोलाकार खण्डमा पुगेपछि अद्भुत दृश्य देखियो । सेता बादलका थुङ्गाहरू निर्मल आकाश नापिरहेका । तुवाँलोको त सातोपुत्लो गएजस्तो छ, कतै नाम निशान नै छैन । हावाको झोक्काले गालामा चुम्बन दिएर गए जस्तो भान हुँदैछ । अलिक चिसो हावाले दिमागलाई स्फूर्ति दिए जस्तो अनुभूति पनि । माथिबाट हेर्दा चौडा सडकको दुवै तर्फ हरियाली, सडकमा गाडीको लर्कन, नदीमा स्टिमर तथा स-साना जहाज पनि । निलो आकाशलाई चुनौती दिने हैसियत राख्ने सेन नदीको निर्मल पानी ।अत्यन्त मिलेका घरहरूका ताँती । कतै गगनचुम्बी महल त कतै पुराना कलात्मक भवनहरू । ठुला ठुला वृक्षका हरियाली तथा फूलका बगैचाले सजीसजाउ गरिएका मनमोहक पार्कहरू । पेरिसको सौन्दर्यपानले म सम्मोहित भएको छु । त्यसै त्यसै लट्ठ परेका छन् आँखाहरू । प्रफुल्लताको विमान चढेर मन आकाशिएको छ । आनन्दानुभुतिले पराकाष्टा नाघेको छ । यो मिठासलाई बर्णन गर्नै नसक्ने सावित भएको छ मेरो दिल-दिमागको शब्दकोश ! यतिबेला इनु, अनु र अजु पनि साथमै भइदिएको भए कत्ति रमाइलो हुन्थ्यो होला ! 
ओर्लिंदा तल हेर्नु पर्ने भएकोले कुनै बेला कहाली लागेजस्तो पनि भयो । आफ्नै देशको धरहरा चढेर छेउको बारबाट तल हेर्दा कहाली लागेको स्मरण भयो । 

फलाम तथा स्टीलका पाताले नै १०६३ फीट अग्लो आश्चर्यजनक टावर डिजाइन गर्ने र २५ महिना १७ दिनमा निर्माण कार्य सम्पन्न गर्ने इन्जिनियर गुस्ताव आइफेल र उनको कम्पनीलाई मुरी मुरी साधुबाद ! ११३ बर्ष पूरा गरिसकेको भएपनि अझै नौवजवान झैँ देखिन्छ आइफेल टावर !

‘आइफेल टावर चढ्दाको बेजोड आनन्द त यस्तो रह्यो । अब जमिन मुनी चल्ने मेट्रो संजाल, लुभ्र म्युजियम, शहरका अन्य चर्चित ठाउँहरू, युनेस्को अफिस र हाम्रो तालिम कस्तो होला त ? ’ भन्ने कौतुहलता मिसिएको प्रश्न बारे भलाकुसारी गर्दै टोनी र म फर्कियौं होटेल तिर ।