म त्यस्तो देशको महान् नागरिक !

म त्यस्तो देशको महान् नागरिक !

कुमार बाबु बस्नेत  |  साहित्य  |  जेठ २१, २०७८

म त्यस्तो देशको महान् नागरिक ! 
जहाँ जता-ततै हरियाली नै हरियाली छ !
 तर मानिसहरू अक्सिजन नपाएर मर्नु पर्दछ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ पानी नै पानीको स्रोत छ !
तर पिउने पानी लिन जाँदा  अकालमै मर्नुपर्दछ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ यत्रतत्र जडीबुटी नै जडीबुटी छ
तर सिटामोल नपाएर मर्नुपर्दछ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ नागरिक स्वतन्त्र छन् !
तर नागरिकतामा स्वतन्त्रता (एकरूपता) छैन।

म त्यस्तो देशको महान् नागरिक ! 
जहाँ नारी-पुरुष बराबर छ भन्छौ !
तर दोष र घृणाको पात्र  चाही नारी मात्रै बन्नुपर्दछ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ विकासै हुन दिइन्न !
तर विकासै भएन भन्दै सडक तताइन्छ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ जनताको सरकार छ भनिन्छ !
तर खोइ सरकार भन्दै फेसबुक रङ्गाइन्छ।

 म त्यस्तो देशको महान् नागरिक !
जहाँ कानुनी सर्वोच्चता छ भनिन्छ !
 तर निर्दोषलाई जेलमा नै सडाइन्छ ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ तेस्रो अङ्गका प्रमुखलाई बिदा बस्न आदेश गरिन्छ !
तर एउटा व्यक्ति आफ्नो परिचय दिइँदैन।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ २७५ जनाको हाउसमा ३०२ को हिसाब देखाइन्छ !
तर टाउको गन्दा १३८ पुर्‍याइँदैन।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ विकासको माग गरिन्छ !
तर विकास बजेट ल्याउँदा जनता मारा भन्दै विरोध गरिन्छ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ डाक्टरलाई साक्षात् भगवान् मानिन्छ!
तर अस्पताल गएर तिनै डाक्टरलाई  कुटिन्छ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ बिरामीलाई डाक्टरले अन्नदाता मान्दछन् !
तर सिक्ने-सिकाउने नाममा उल्टै त्यही बिरामी नै मारिन्छ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ भत्केको भौतिक संरचना कहिल्यै बन्दैन !
 तर जब बन्छ नाम राख्ने होडबाजीमा विरोधका लागि विरोध गरिन्छ।

म त्यस्तो देशको महान् नागरिक!
जहाँ ८२ प्रतिशत हिन्दु बस्छन् !
तर अरूलाई  सम्मान गर्दै मन्दिरमा पूजा गर्दा धर्मको विरोध गरिन्छ।

म त्यस्तो देशको महान् नागरिक !
जहाँ शान्तिका अग्रदूत गौतमबद्धको जन्मस्थल छ ।
तर उनको जन्मोत्सवमै बलि चढाउने होडबाजी गरिन्छ।