रेजिना आपगाईँ | साहित्य | जेठ २२, २०७८
छन्द : शार्दूलविक्रीडित
पुर्खाले रगतै दिए अनि दिए सम्मान यो देशको
सारा विश्व डराउने अमरता देखिन्छ नेपालको
मेरो धड्कनमा छ रक्तकण जो आफ्नै बुबाको सरि
मेरो माथ छ उच्च यो शिखर झैँ झुक्दैन कस्तै गरी
।।१।।
छोरी हो बलभद्रको रगत हो मेरो नशामा छ जो
एकाएक चढेर ताप मुटुमा खप्नै नसक्ने भयो
त्यो टिस्टा अनि लिम्पिया दशगजा खाएछ लौ काँगडा
आजै जान्छु म कत्ति गर्दिन ढिलो बोकेर भाला खुँडा
।।२।।
आयो शत्रु बनेर सर्पसरिको फैलाउदै त्यो फणा
गोर्खाली पनि आज छौँ गरुड झैँ रक्षार्थ सीमा खडा
हो दुख्दैन सिरै लगे बरु यहाँ माटो लगे दुख्दछ
हाम्रै रक्त लगे दुखेन मुटु जो पानी लगे दुख्दछ
।।३।।
तेरा कान दुई वटा नजिक ले भन्दैछु सुन् ध्यानले
पाजी भारत चोर झैँ मति गरिस् धिक्कार्छ संसारले
सानो देश अदम्य साहस छ यो साक्षी छ हाम्रो धरा
तेरो दुष्टपना सुधार नगरे मै रोप्छु भाला छुरा
।।४।।
तेरो तेल सकिन्न साट्न जलमा चाहिन्न तेरो नुन
स्वार्थैले सहयोगको चटक भो तातेर आयो खुन
गर्दै नाटक फूलको अनि यता गोली बनेको किन
छिट्टै ल्याउँछु शान्ति ,शान्त घरमा हाँसेर बाँच्ने दिन
।।५।।
तेह्रथुम ।