आँखी झ्यालबाट अतीतलाई चियाउँदा: झलझली सिर्जनाले इतिहासलाई सम्झाउँदा !

फर्केलान् र ती दिनहरू

आँखी झ्यालबाट अतीतलाई चियाउँदा:  झलझली सिर्जनाले इतिहासलाई सम्झाउँदा !

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ २२, २०७८

पञ्चतन्त्रको एउटा कथाबाट सुरु गरौँ । पञ्चतन्त्रलाई पूर्वीय शिक्षा विकासको क्रममा कोसे ढुङ्गो मानिन्छ । एउटा राजाका मूर्ख छोराहरूलाई विष्णु शर्माले यही पञ्चतन्त्रमार्फत शिक्षा दिएर राज्य गर्न लायक बनाएका थिए भन्ने भनाइ छ । धेरै कथाहरुमार्फत् उदाहरण दिँदै सम्झाइएको छ । त्यसमध्ये एउटा कथा यस्तो छ-

 एउटा सिंह आफ्नी सुत्केरी श्रीमतीका लागि आहारा खोज्न निस्केको थियो तर त्यो दिन कुनै सिकार पाएन र फर्कँदै थियो रित्तो हात । अनि बाटोमा देख्यो एउटा भर्खरै  जन्मेको स्यालको बच्चा र त्यही भए पनि आहारा त हुन्छ भनेर लिएर आयो । सिंहिनीलाई त्यो सानो बच्चा खान मन लागेन र आफ्नो बच्चाका लागि साथी हुन्छ भनेर पाल्ने विचार गरी । नभन्दै त्यो स्याल र सिंहको बच्चा सँगै हुर्कँदै थिए । सिंहिनीले उनीहरूका बिचमा मनमुटाब नहोस् भनेर सधैँ स्यालले भनेको मान्नु भनेर सिकाएकी थिई , मानौँ स्याल सिंहको ठुलो बच्चो हो र साना सिंहहरुले उसका आदेश मान्नै पर्ने भन्ने शिक्षा दिइएको थियो । सँगै हिँड्दा स्यालले स्यालको बानी देखाउँथ्यो र सिंहका बच्चाले सिंहको जस्तो बानी देखाउनु स्वाभाविकै थियो । ती सँगै हुर्किए र ठुला हुँदै गए । सिंहको बच्चामा सिंहका गुणहरू आउन थाले र स्यालका बच्चामा स्यालका गुणहरू । एक दिन बाटामा हात्ती देखाप¥यो र सिंहका बच्चाले त्योसँग लड्ने विचार गर्‍यो तर स्यालको बच्चाले भाइको रुपमा व्यवहार गर्दै आएको सिंहका बच्चालाई भन्यो - भाइ, हात्ती बलियो हुन्छ, यसले हामीलाई मार्छ , त्यसैले भागौँ । सिंहको बच्चालाई लड्ने मन थियो तर दाजुको आदेश मन नपरी नपरी मान्यो । घरमा गएर स्यालले भाइ भनेको नमान्ने गर्न थाल्यो भन्यो भने सिंहको बच्चाले पनि आज हात्तीसँग अपमानित हुनुपरेको कुरा आमालाई गुनासो गर्‍यो । सिंहिनीले अब बुझी सिंह र स्यालका बिचमा आफ्ना आफ्ना गुणहरू विकसित हुन थाले । त्यो बेलासम्म एक अर्कालाई चिनेका थिएनन् स्यालका रुपमा र सिंहका रुपमा । पक्कै सिंहले स्यालको परिचय पायो भने मार्ने छ । अनि सिंहिनीले सोची - स्याललाई यो कुरा भन्नु नै उचित हुनेछ । र स्याललाई बोलाएर भनी- बाबु, तिमी राम्रा पनि छौ, सुरा पनि छौ,बुझ्झकी पनि छौ तर के कुरा थाहा पाई राख भने तिमी स्याल हौ, तिमी जुन कुलमा जन्मेका हौ, त्यो कुलमा हात्ती सिकार गरिँदैन, हात्तीसँग लडभिड हुँदैन । त्यसैले मेरो छोराले आफ्नो असली परिचय पाउनु भन्दा पहिले नै तिमी भागेर ज्यान जोगाऊ।

कथा यत्ति हो तर यसले दिने शिक्षा भनेको के हो भने जसले जे शिक्षा लिएर र जुन दर्शन लिएर वा स्वतः प्राप्त हुने गुणहरू लिएर जीवन सुरु गरेको हुन्छ , त्योभन्दा बाहिर गएर र उदार भएर काम गर्न सक्दैन । अहिले नेपालको राजनीतिले पनि त्यही कुराको प्रमाणित गरेको छ । साम्यवादी दर्शनमा प्रजातन्त्रको दर्शनले कुनै पनि हालतमा मिलान हुन सक्ने रहेनछ । दुई तिहाइको संसदीय गणित लिएर प्रजातान्त्रिक प्रक्रियाबाट देश चलाउने जिम्मा पाएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको जुन पछि गएर नेपाल कम्युनिस्ट पार्टी( नेकपा) भयो र २०७७ साल फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलाले फेरि पुरानै दलहरूको अवस्थामा फर्कियो । त्यसबाट सिर्जित अवस्थाले मुलुक अस्थिर राजनीतिको दावानलमा जलिरहेको छ ।

त्यसैले अहिलेको राजनीतिक अवस्था जुन नेपालमा छ, त्यसले दुःखका साथ भन्नु पर्छ , प्रजातन्त्रको दर्शन अनुसार मुलुक चलाउन नसक्दा आजको अस्थिरता देखिएको हो । या त सरकारले प्रजातान्त्रिक प्रक्रियासँग मुलुक चलाउन सकिन भनेर आत्मसमर्पण गर्नुपर्‍यो र राष्ट्रिय सरकार बनाएर नयाँ जनदेशतर्फ लाग्नु पर्‍यो या मुलुक फेरि प्रजातन्त्रका पक्षमा आन्दोलित हुनुपर्‍यो । तर सरकारमा बस्नेलाई आफ्नो असली अनुहार थाहा हुनुपर्‍यो या सिंहिनीले परिचय दिएजस्तै सशक्त हस्तक्षेपकारी शक्ति बनाएर असली परिचय दिन सक्नुपर्‍यो । एकातिर राष्ट्रिय सरकारको कुरा गर्ने अनि आफैँले नेतृत्व गरेको ठाउँमा आउन सबैलाई घोप्टाएर ल्याउन खोज्ने ? सरकार अल्पमतमा छ । विश्वासका मत लिन सक्ने अवस्था छैन । त्यसैले होला, एक पटक विघटनबाट पुनर्स्थापित भएको प्रतिनिधि सभा फेरि विघटन गरेर गरिएको छ । स्मरणीय छ—२०७७ साल पुस ५ गते विघटन गरिएको प्रतिनिधि सभालाई मुद्दा परेपछि संवैधानिक इजलासले फागुन ११ गते विघटन बदर गरेको थियो भने प्रधानमन्त्री केपी शर्मा ओलीले फेरि पनि विश्वासका मत लिन नसकेपछि जेठ ७ गते मध्यरातमा विघटन गरिएको छ जसको पुनर्स्थापनाका लागि मुद्दा परेर सर्वोच्च अदालतको संवैधानिक अदालतमा विचाराधीन छ । 

निरङ्कुशतातर्फ बढेको शासनले आफ्ना काम कुराहरूको पक्षमा जे पनि कुतर्क र गलत प्रमाण प्रस्तुत गर्छ र आफू मात्र ठिक ठान्नेकुराहरुको प्रचार गर्छ । आफूबाहेक अरु सबै विरोधीहरूलाई राष्ट्रवादीको बिल्ला भिराउँछ जस्तो कि प्रजातान्त्रिक प्रक्रियाबाट चुनिएको भए पनि विश्वमै आफ्नो शासन चलाउने महत्त्वाकाङ्क्षी विचारले आफ्ना विरोधीहरूलाई राष्ट्र द्रोहीको सबै दोस्रो विश्वयुद्धका कारक जर्मनीको चान्सलर हिटरमा अभिमान चुलिएको थियो । उसको पतन प्रजातान्त्रिक प्रक्रियाअनुसार यस कारणले हुन सकेन कि ऊ प्रजातन्त्रलाई देखाउने नकाबका रुपमा प्रयोग गथ्र्यो र आफ्ना निहित स्वार्थहरूलाई त्यसैको जलपमा राखेर हाक्कहुक्क निरङ्कुशता थोपर्थ्यो । अनि उसको पतन अस्वाभाविक तर नियतिको मारमा परेर भयो ।

हिट्लर यहुदीहरुको महान् शत्रु थियो । खोइ किन हो उसले यहुदीहरूलाई लखेटी लखेटी पक्रेर श्रम शिविर या जेलमा राख्थ्यो र अगेनामा राखेर आलु पोलेजस्तै गरी बाहिरबाट आगो लगाएर डढाउँथ्यो । त्यसका लागि धेरै थिए होलान् उसका मतियार तर गोयबेल्स भन्ने सल्लाहकारका कुरालाई उसले बढी मन पराउँथ्यो किनभने उसले कुप्रचारद्वारा कसरी जनतालाई दिग्भ्रमित पार्ने र दिग्भ्रमित पारेको जनतालाई कसरी तह लगाउने भन्ने पनि  उसले रणनीति तयार गरेको हुन्थ्यो । त्यसको उदाहरणका लागि एउटा कथा भनिन्थ्यो -

उसको निरङ्कुशता कस्तो थियो रे भने एक पटक बर्लिन् पूर्वको कुनै गाउँमा राती मेला लागेको रहेछ । नाजीको जगजगी थियो र नाजीहरू त्यस्तो जात्रा-मात्रामा सादा पोसाकमा जान्थे र जनताका कुरा सुन्थे अनि यहुदीहरूका बारेमा चियो चर्चो गर्थे । कति त उस्तै गोरा हुनाले यस्तै सांस्कृतिक भेलाहरूमा मात्र कुन समूहको हो ? कुन धर्मको हो ? र कुन सम्प्रदायको हो ? भन्ने थाहा हुने हुनाले ती नाजीका सादा भेषका पात्रहरू त्यही पत्ता लगाउन घुमिरहेका हुन्थे जसको सम्पर्क गोयबेल्ससँग सिधै हुन्थ्यो रे ! त्यो जात्रामा नजिकको  जङ्गलबाट एउटा बाघ गाउँमा पसेछ । जात्रामा हो हल्ला सुरु भयो र थाहा भयो कुनै बाघ हुलमा पसेको रहेछ । सबै तितर बितर भएर भागाभाग भएछ । त्यसमध्ये जात्रामा आएका त्यही गाउँका दस जना युवकहरूले बाघलाई घेरेर कुटी कुटी मारेछन् । अनि भोलिपटक बिहानको नाजीको मुख पत्रमा भांगेराटाउके अक्षरमा लेखियो मुख्य समाचार- बहादुर जर्मनहरू, जसले हिंस्रक बाघलाई कुटाकुटी मारे र हजारौँ मानिसहरूलाई हताहत हुनबाट जोगाए । तर त्यही दिन दिउँसो एउटा अर्को कुरा पनि पत्ता लाग्यो र भोलिपल्ट सोही मुख पत्रमा भूल सुधारसहित अर्को समाचार आयो भांगेरा टउके अक्षरमा- निर्दयी र अपराधी  यहुदीहरू जसले दस दस जना भएर बिचरा एउटा बाघलाई कुटाकुटी मारे । घटना त्यही हो तर अघिल्लो दिन त्यसमा बनावटीपन थिएन तर भोलिपल्ट भने सत्ता उन्माद र सत्ता स्वार्थको लेपन लाग्यो र अघिल्ला दिन बहादुर मानिएका युवकहरू भोलिपल्टै निर्दयी र  अपराधी घोषित गरिए । स्पष्ट नै छ ,बाघ मारेबापत ती युवकहरूले श्रम शिविरमा बस्नु पर्‍यो र फेरि तिनलाई कसैले पनि देखेनन् यो  संसारमा ।

हाम्रो पूर्वीय दर्शनमा भनिन्छ- यदि न्याय कसैगरी पनि पाइएन र अधर्म अनि अन्यायको बोलवाला भयो भने त्यसको छिनोफानो गर्नका लागि नदेखिने तर सर्वशक्तिमान् ईश्वर छन् र उनले न्याय दिनेछन् जसलाई हामी दैवी न्यायका रुपमा मान्ने गरेका छौँ । 

तर प्रजातान्त्रिक प्रक्रियाले र स्थापित प्रणालीअनुसार काम गरेको बेलामा भने मुस्किल हुने रहेछ । हालै अमेरिकामा भएको राष्ट्रपति पदको निर्वाचनलाई आफैँ राष्ट्रपतिको पदमा रहेका अनि राष्ट्रपतिको उम्मेदवारसमेत रहेका डोनाल्ड ट्रम्पले बिथोल्न खोज्दा र गुन्डा लगाएर संसद् भवनमा नै सशस्त्र आक्रमण गराउँदा पनि, संसद् भवनमा रहेका मत विभाजनद्वारा राष्ट्रपतिका  लागि प्राप्त मतलाई आधिकारिकता दिन खोज्दा भौतिकरुपमा आक्रमण गर्दा पनि त्यो प्रक्रिया रोकिएन ।  जर्मनी नाजी शासक आफ्नै कारणले बङ्करमा बसेर आत्महत्या गर्न बाध्य भए भने डोनाल्ड ट्रम्पले जान्न जान्न भन्दाभन्दै पनि प्रणालीले सेतो घरबाट उनकै निजी घरमा बस्न बाध्य पारेको थियो । यही हो प्रणालीले गर्ने र निरंकुशताले गर्नेमा फरक । विश्वासको मत नहुँदा पनि आफू नै प्रधानमन्त्री रहेको अनि संसद्मा मत विभाजन होला भनेर संसद् नै विघटन गरेको ताजा उदाहरण अहिले नेपालमा छ । संवैधानिक आयोगहरूका अध्यक्ष तथा सदस्यहरूको चयन गर्ने त्यो पनि मनपरी अध्यादेश थोपरेर अनि संसदीय सुनुवाइ गर्नुपर्दा संसद् नै विघटन गरेर कानुनको छिद्रबाट पसेर स्वतः नियुक्ति दिलाउने चलनलाई प्रजातान्त्रिक मान्यता मान्ने कि नमान्ने ? संसदीय सुुनुवाई भएको मान्ने कि नमान्ने ? विधिको शासन मान्ने कि नमान्ने ? यसो हेर्दा विधिको पालना गरेको जस्तो पनि अनि विधिको जुन अर्थ हो , त्यसको मर्ममाथि प्रहार भएको पनि ठाडै देखिएको ।  

न्यायको, सामाजिक न्यायको एउटा जनमानसले मानेको सर्वमान्य सिद्धान्त हुन्छ, यदि न्यायले त्यसको उपचार दिन सकेन भने कोही छ अदृश्यरुपमा जसले सबैलाई न्याय दिन्छ, दैवी न्याय । जसलाई भौतिकवादीहरूले नियमित आकस्मिकता मान्छन् त आध्यात्मिक वादी वा ईश्वरवादीहरूले त्यही सर्वशक्तिमान् ईश्वरीय सत्ताले मात्र सही न्याय दिन सक्छ भन्ने मान्यता छ । जस्तो कि हिटरको अत्याचार अनि करोडौँ करोडौँ निरपराध जर्मनहरूको हत्यापछि तह लगाउने भने त्यस्तो परिस्थिति उत्पन्न भयो जसका कारणले हिट्लरजस्तो ढिठ व्यक्तिले आफैँलाई कन्चटमा गोली हानेर मर्नुपर्ने बाध्यता आयो । अनि निकट अतीतका अमेरिकी राष्ट्रपतिलाई कानुनको शाले हेलिकप्टर चढेर सेतोघर छोड्न बाध्यपार्‍यो । शिखरको चुचुरामा बसेर ढुङ्गा हानेर कोही पनि मलाई भेट्न सक्दैनन् भन्नेहरूसँग एक दिन त्यहाँ डुङ्गा पनि सिद्धिने छन् या हात गलेर डुङ्गा हान्न पनि नसक्ने बेला आउने छ । यो कुरा संसारमा निरङ्कुशता लाद्नका लागि कानुनको झिनो सहारा लिएर अटेर गर्ने सबैमा लागू हुन्छ किनभने संसार गोलो छ , छेउको सियो माझैमा कुबेला । 

अहिले कोरोनाका विभिन्न स्वरूप र छालले संसारमा त्यस्तै लीला देखाउन थालेको छ । हामी सबैलाई अरूका परिवार मा वा आफूले नचिनेका व्यक्तिहरूका बारेमा उपदेश दिएर भन्न सक्छौँ, यो संसार यस्तै हो , एक दिन आएपछि कुनै पनि दिन जानै पर्छ । तर आफ्नो मन पर्ने, परिवारको मान्छे अनि आफूलाई साह्रै माया गर्ने र सम्मान गर्ने अनि समाजका लागि बाँच्न चाहने असल मानिसको निधनले मन उद्वेलित हुने रहेछ ।

एउटा राज्य कसरी असफल हुन्छ ? कसरी असफल बनाउने तारतम्ये बन्दो रहेछ भन्ने कुराको लागि नेपाल प्रयोगशालाको रुपमा ठिङ्ग उभिएको छ । अहिलेको राजनीतिक उतारचढाव भनेको नै एउटाको प्रजातान्त्रिक दर्शनमाथि अर्को प्रजातन्त्रप्रति आस्था र विश्वास नहुनेले हाली मुहाली पाएको अवस्था छ जनकुरालाई उनीहरूले पचाउन सकेनन् या त्यो प्रजातान्त्रिक प्रक्रियालाई आफ्नो दर्शनअनुसार सञ्चालन गर्न खोजे । एउटा सिद्धान्त अनि अर्कोको प्रयोग यस्तै हुन्छ क्या रे ?

नेपालको अहिलेका राजनीतिक अवस्थाले देखाउँछ- प्रजातन्त्र स्थापना, पुनर्स्थापना र बारम्बार गुमेको प्रजातन्त्र बहाली गर्नुभन्दा त्यसको संरक्षण गर्न कति गाह्रो रहेछ । यसै पनि प्रजातान्त्रिक व्यवस्था संवेदनशील र खुला वातावरणमा र जनताको प्रत्यक्ष निगरानीमा चलाइने शासन व्यवस्था हो । यो पङ्क्तिकार यत्ति बेर मिश्रका ती युवा संगीतज्ञ, गायक तथा युवा प्रजातन्त्रवादी अभियन्ता रामी एस्समलाई सम्झिरहेको छ जसले राजनीतिज्ञहरूको आह्वान नमानेको बेला मिश्रको तहरिर चोकमा होस् नि मुबारकको निरंकुश शासनका विरुद्ध डेमोक्रेसी गीत गाएर लाखौँ मिश्रेली जनतालाई प्रजातन्त्रको पक्षका उराल्यो र २०११ मा आन्दोलन सफल पनि भयो जसले होस् नि मुबारकको शासन ढाल्यो । प्रजातन्त्र आयो । प्रजातन्त्रका सामान्य प्रक्रियाहरू सक्रिय भए तर राजनीतिज्ञहरूले त्यसलाई बचाउन सकेनन् । मिश्रमा फेरि प्रजातन्त्रका नाममा अर्द्ध सैनिक व्यवस्था चलेको छ र रामी जस्ता प्रजातन्त्रका अभियन्ता राष्ट्र विरोधीको आरोपमा युरोप निर्वासनमा बस्नु परेको छ ।

  मैले उनलाई चेक रिपब्लिकका संस्थापक राष्ट्रपति बास्लाभ हाभेलको नामबाट स्थापित पुरस्कारबाट अभिनन्दित हुनका लागि ओस्लो फ्रिडम फोरमले २०१९को मेमा गरेको कार्यक्रममा ओस्लोमा भेटेको थिएँ । उनका ती प्रजातन्त्र गीतहरूले  अहिले पनि अरबी  भाषा र अङ्ग्रेजी भाषामा रोमाञ्चकता ल्याउँछन् । हिजोका दिनमा रामीले गाउने प्रजातन्त्र गीतले जनताको जोस बढेर होस् नि मुबारकविरुद्ध आन्दोलनमा उठ्न मिश्रेलीहरु जाराक जुरुक्क उठेका थिए भने अहिले त्यही गीत गाउँदा श्रोताको आँखामा झलझली त्यही तहरिर चोकको लाखौँको उपस्थिति आउँछ तर  उनी रुँदै रुँदै त्यही गीत हामीलाई सुनाइरहेका थिए र उनले आफ्नो अभिनन्दन भाषणमा भने-अब मेरो देशमा फेरि कहिले प्रजातन्त्रको उज्यालो आउने हो, थाहा छैन तर मेरो जीवनको उद्देश्य प्रजातन्त्रका पक्षमा चेतना जगाउने नै भएको छ जबकि म एउटा सङ्गीतको साधक हुँ र राजनीतिक नेतृत्वप्रतिको अविश्वासले मेरा गीतहरूले झञ्झावात ल्याएका थिए र मेरा देशवासीहरू प्रजातन्त्रका पक्षमा तरङ्गित भएका थिए । आज पनि उनका ती गीतहरू युट्युबमा हेर्न र सुन्न पाइन्छ जसले मिश्रमा एउटा प्रजातान्त्रिक तरङ्ग ल्याएको थियो र प्रजातन्त्र प्राप्तिका लागि सहादत दिन मिस्रेलीहरूलाई प्रेरणा दिएको थियो । 

असफल मुलुक भनेको कस्तो हुन्छ ? एउटा जिज्ञासा मनमा उठ्थ्यो र फेरि लाग्थ्यो नेपाल त कुनै पनि हालतमा असफल मुलुक हुने छैन । एउटा मुलुक असफल हुनका लागि त्यहाँको माटोको दोष हुँदैन, त्यहाँको पानीको, हावाको, चराको, पशुपन्छीको,  आकाशको , पहाडको , समुद्रको, नदीको र अझ ती निरपराध जनताको पनि दोष हुँदैन तर दोष त तिनको हुन्छ जसले मुलुकको साँचो हातमा लिएर बसेका हुन्छन् । मुलुकमा गर्नु पर्ने काम नगरी नगर्नुपर्ने कामहरू गरिरहने ती सत्तामा रहेका वा उत्तरदायित्व लिएका व्यक्तिहरूको कारणले मुलुकले असफल हुनु परेको हुन्छ । अझ जुन दर्शनप्रति विश्वास छैन, त्यही दर्शनअनुसार राज्य सञ्चालन गर्न तम्सिएका हुन्छन् जस्तो कि नेपालमा भयो । 

प्रजातन्त्र आफैँ केही पनि होइन । यसका संस्थाहरू हुन्छन् जसलाई सरकारको रुपमा ग्रहण गरिन्छ । व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका सँगै अरु जनताका आवश्यकता पूरा गर्नका लागि न्यायिक तथा अर्द्ध न्यायिक संस्थाहरूको व्यवस्था गरिएको हुन्छ । ती  सबै संस्थाहरू जनविश्वासका साथ सक्रिय हुनु नै प्रजातन्त्रको  सफलता हो । प्रजातान्त्रिक या लोकतान्त्रिक व्यवस्था हो जसमा जनताको अविश्वासलाई कसैले पनि पचाउनु हुँदैन र बेवास्ता पनि गर्नु हुँदैन । जब ती संस्थाहरूलाई संविधानको गलत व्याख्या गरेर कब्जा गर्न थालिन्छ, त्यहीँनेर प्रजातन्त्रले हार मानेको हुन्छ । यदि प्रजातान्त्रिक अवयवहरू अक्षम भए भने मुलुक एकाङ्गी हुनेछ र बिस्तारै बिस्तारै मुलुक असफलतातिर उन्मुख हुनेछ । 

आफू पनि केही गर्न सक्दैनन् अनि अरूका लागि गजधम्म बाटो रोकेर बसेका हुन्छन् । ती  आफूसँग केही पनि क्षमता छैन भन्ने कुरामा विश्वास गर्दैनन् तर  आफूलाई नै  यो विश्वको सबैभन्दा जान्ने ठान्दछन् । मुलुकलाई एउटा गलत बाटोबाट अर्को गलत बाटोमा यसरी घिसार्दै लैजान्छन् कि मुलुक फेरि कतैबाट फर्कन पनि सक्दैन । भीरको  मुखमा लगेर ती आफू सके भाग्छन्, नसके आफूसँग मुलुकलाई नै भीरबाट  लडाउँछन् जस्तो कि कुनै गाडी चालकले मध्यरातमा भीरबाट गाडी खसाउँछ । कहिले ऊ बाँच्छ या सबै यात्रुहरूलाई आफूसँगै मार्छ । 

कुनै पनि सिर्जनाले इतिहासलाई झलझली सम्झाउँछ भन्छन् । प्रकृतिको अदृश्य मारमा अहिले संसार हुँडलिएको छ र अहिलेका सृजनामा कोरोना कहरको छाप परेकै हुन्छ । त्यसैले भन्छन् नि, साहित्य समाज हेर्ने आँखीझ्याल हो । साँच्चै साहित्य वा सिर्जनाले समाजको त्यही भाषा बोल्छ जुन समाजमा व्याप्त हुन्छ । पानीले छताछुल्ल भएको बेलाम , बाढीको कुरूप नाटक प्रकृतिले खेलेको बेलामा त्यसैका प्रतिविम्ब आउँछ सिर्जनामा अनि खडेरीले व्याप्त भएर पृथ्वीको आफू बसेको  भाग  आफैँ काकाकुल भएको बेलामा खडेरीले नै सिर्जनामा छाप छोड्छ । भनिन्छ नि, जो समयको बहावभन्दा भिन्न रहन्छ तर समयलाई बदल्न सक्छ , परिवर्तन गर्न सक्छ ।  आफूलाई एउटै अवस्थामा स्थिर राख्न सक्छ, त्यसैलाई श्रीकृष्णले महाभारतमा स्थितप्रज्ञ भनेको होला । दुःख, सुख, पिर, चिन्ता, आनन्द, मोज मस्ती भन्दा एकदम पर, जीवनलाई जस्तो अवस्थामा छ त्यस्तै राख्न र  जीवनलाई सुखी बनाउने सूत्रहरू खोज्दै अरूको चिन्तामा मात्र मग्न व्यक्ति नै स्थितप्रज्ञ वा  सिद्धान्तवादी मानिएको होला । हामी सामान्य मानिसहरूले सामान्य संवेगलाई न त छेक्न सक्छौँ, न रोक्न सक्छौँ न त कुनै घटना घट्नबाट रोक्न नै सक्छौँ । 

यो डेढ वर्षदेखि सम्पूर्ण मानव जाति नै कोरोना कहरको मारमा परेका छौँ मानसिकरुपमा हामी कोरोना भाइरसका दास भएका छौँ । हामी भगवान् बुद्धको त्यो भनाइसँग अब साक्षात्कार गर्न पुगेका छौँ । जस्तो कि एक जना माता रुँदै कराउँदै भगवान् बुद्धको शरणमा आफ्नो मरेको सानो बच्चा लिएर आएकी रहिछन् र उनले भनिछन् -

भगवान्, मेरो छोरो बचाई दिनुस् भगवान् । कसरी मेरो छोरो अकालमा नै मर्न सक्छ र ? सबै चेलाहरूका बिचमा भगवान् बुद्ध पनि त्यही मातासँग बिलौना गर्न थाल्नुभयो किनभने एउटी आमाको चीत्कारले त्यहाँको  वातावरण विषादपूर्ण भएको थियो । तर भगवान् बुद्धका लागि त्यो समय पनि, त्यो घटनाले पनि शिक्षा प्रदान गर्नु थियो । अनि भगवान्ले कालका बारेमा बताउनु भयो तर आमाको मन न हो, आफ्ना अघिल्तिर मरेको बच्चा छ र उनी भगवान्का अघिल्तिर बच्चा बचाउने भिक्षा माग्दै थिइन् ।

अनि भगवान ले पनि उनीसँगै बिलौना गर्दै , सम्झाउँदै र बचाउने वचन दिँदै भन्नुभयो-यदि कुनै पनि मानिस नमरेको घरबाट एक मुठी तोरी लिएर आएमा म यो बच्चालाई बचाउने छु । चेलाहरू अदम्भमा त परे तर केही पनि जबाफ फर्र्र्र्काएनन् तर भगवानप्रति अविश्वासको दृष्टिले मनमनै सुर्ता गर्दै थिए- हे भगवान्, यदि यो बच्चा बाँचेन भने भगवान्को सम्मानमा कस्तो प्रभाव पर्ला ? के भगवान् यो कालकलवित बच्चालाई बचाउन सक्नुहोला ? तर गुरुको आदेश पाएपछि ती महिला र चेलाहरू गाउँमा गएर कहिले पनि कोही नमरेको परिबार खोज्दे हिँडे एक मुठी तोरीका लागि । कुनै त्यस्तो परिबार भेटिएन जसको घरमा सबै बाँचेका हुन् ।  दिउँसोभर घुमेर लखतरान भएर ती महिला , उनका परिवारका सदस्यहरू र ती बुद्धका चेलाहरू साँझमा फर्किए बुद्धको  उपदेश दिने ठाउँमा र भने- त्यस्तो कुनै पनि घर भेटिएन जहाँ कोही पनि नमरेका हुन् ।

अनि  भगवान् बुद्धले सम्झाउँदै भन्नुभयो ती चिन्तित मातालाई- हेर्नुस् माताजी, संसारमा कोही पनि बाँचिरहन सक्दैन , फरक यत्ति हो कोही चाँडै मर्छन् या कोही ढिलो मर्छन् तर मर्छन् । त्यसैले तपाईँले पनि अब चिन्ता नगर्नुस् ।  जब कालले लान्छ, मेरो पनि केही लाग्दैन र हामी सबै एक दिन मर्नु नै पर्छ । यो संवेगमा आएकी माताको उदाहरणले संसारका बारेमा कति राम्रो उपदेश दिनु भएको थियो भगवान् बुद्धले । अहिले कोरोनाका विभिन्न स्वरूप र छालले संसारमा त्यस्तै लीला देखाउन थालेको छ । हामी सबैलाई अरूका परिवार मा वा आफूले नचिनेका व्यक्तिहरूका बारेमा उपदेश दिएर भन्न सक्छौँ, यो संसार यस्तै हो , एक दिन आएपछि कुनै पनि दिन जानै पर्छ । तर आफ्नो मन पर्ने, परिवारको मान्छे अनि आफूलाई साह्रै माया गर्ने र सम्मान गर्ने अनि समाजका लागि बाँच्न चाहने असल मानिसको निधनले मन उद्वेलित हुने रहेछ ।

करिब तीन हप्ता पहिले भाइ जीवन चन्द्र कोइरालाको निधनले एउटा रिक्तता समाज सेवाको क्षेत्रमा र मेरोलागि एउटा मायालु, आज्ञापालक तथा  सहयोग भाइ गुमाएको थिएँ भने  अहिले भर्खर जेठ १८ गते राती बहिनी रश्मि खनाल अधिकारीको कोरोनाकै कारणले असामयिक निधन भएको समाचारले मलाई पीडा भएको छ । हामी अधिकारीका सन्तान थियौँ, बहिनी लमजुङका सभ्य पण्डित परिवारकी अनि पिताजी एउटा शिक्षक अनि समाजका उदाहरणीय व्यक्तित्व । मैले त उनलाई चिनेको त २०३७ सालमा लेबोरेटरी स्कुलमा शिक्षक भएर उनी आए पछि मात्र हो तर मेरोलागि उनको छाप साँच्चै आफ्नै आमाले सहोदर बहिनीका रुपमा पाएको जस्तै भयो जबसम्म उनी त्यो विद्यालयमा रहिन् । बहिनी कर्मशील थिइन् । दिउँसोभरि पढाउँदै उनले नेपाली विषयमा स्नातकोत्तर गरिन् र विद्यालयको सानो घेराबाट बाहिर  जानका लागि क्याम्पसको शिक्षणतिर लागिन्  । सुरुमा त उनले सानोठिमी क्याम्पसमा पढाइन् आंशिक शिक्षकको रुपमा ।

आम शिक्षक जस्तै उनलाई पनि लाग्यो स्नातक तहमा पढाउँदा त कति मज्जा आउला ? तर थियो आंशिक शिक्षकको स्थान । बिहान सानोठिमी क्याम्पस, दिउँसो ल्याब स्कुल, बसाइ गोङ्गबु, जानुपर्ने सानो ठिमी अनि दौडँदै  आउनु पर्ने कीर्तिपुर । सायद त्यही बेलामा साथीहरूसँग मिलेर उनले एउटा विद्यालयको स्थापना गरेकी थिइन् सायद नाम थियो थर्ड आइ । अर्थात् शिवजीको तेस्रो आँखा । पछि उनले मनमोहन मेमोरियल क्याम्पस, सोह्र खुट्टेमा पढाउन थालिन् र बहिनीको सम्झनामा भाइ शिक्षक नेता (तथा हाल युनेस्को –शिक्षा मन्त्रालयका उपमहामन्त्री सायद) डाक्टर बाबुराम अधिकारीले लेखेको थिए-दिदी रश्मि (मनमोहन मेमोरियल क्याम्पसको सञ्चालक )को असामयिक निधन भयो र दिदीलाई बचाउन सकिएन । 

हुन त मैले यो कुरा १९ गते जेठको दिउँसो छोरी अरुणाले ( जो रश्मिकी विद्यार्थी पनि हो ल्याबमा) भनेर थाहा पाएको थिएँ- रश्मि मिसको असामयिक निधन भएछ नि बाबा, म त दिक्क भएर बसेकी छु । उसलाई लागेको थियो होला मलाई थाहा भइसक्यो । तर थाहा थिएन । ममा ल्याबमा उनीसँगका स्मृति ताजा भएर आएका छन् ।  उनको दृढता, उनको प्रजातन्त्रप्रतिको सिद्धान्तमा अडिग रहने , नेपाल शिक्षक सङ्घको पहिलो तदर्थ समितिको सदस्य भएर साङ्गठनिक क्षमता देखाउन निर्वाह गरेको भूमिका अनि विद्यालयमा उनले देखाउने निःस्वार्थ सेवा । 

भान्जी दीपा खनाल र मेरी छोरी करुणा एउटै कक्षामा थिए ।  उनले मेरा छोराछोरीहरूलाई आफ्नै भाइ बहिनी जस्तै गरेर माया गरेको कुराले मेरा छोराछोरीहरू द्रवित भए । भर्खरै जस्तो क्यानडामा हाल अध्ययनरत तथा बसोबास गर्दै गरेकी छोरी शर्मिला रानाभाट बास्कोटाले नेदरल्यान्ड्समा अध्ययनका फोटाहरू राखेर श्रद्धाञ्जली दिएकी रहिछन् । 

त्यही दिन नै विवेकशील साझा पार्टीका संस्थापकमध्येका एक जना प्रभावी र वैकल्पिक शक्तिका रुपमा राजनीतिमार्फत समाज परिवर्तन गर्न कस्सिएका  युवा उज्ज्वल थापाको निधनले एउटा आशालाग्दो भविष्यको अस्त भएको देखिन्थ्यो । यस्ता कति अमूल्य सामाजिक रत्नहरू कोरोनाले आफ्नो लपेटामा लिने हो, कहिले यो कोरोनाको कहरले संसारलाई लपेट्न छोड्ने हो ? यसको हल्ला सुरु भएको छ १८महिना त भयो संसारमा । धन्न खोपको आविष्कार गर्न वैज्ञानिकहरू सफल भएका छन् तर कोरोनाका लहरहरूलाई नियन्त्रण गर्न भने अझै सकिरहेका छैनन् । 

बहिनी रश्मिसँगका पुराना यादहरू धेरै छन् किनभने हामी झन्डै दुई दशकसम्म एउटै विद्यालयमा सेवा गरेर बस्यौँ । उनले मलाई गर्ने सम्मान र मायाले हामी दाजु बहिनीको सम्बन्धमा एउटा सैद्धान्तिक, पारिवारिक तथा पेसागत मान्यताले अझ बढी नै कसिलो बनाएको थियो । अडानयुक्त , परिवर्तनका लागि सधैँ नेतृत्व गर्न तयार मेरी बहिनी अब यो संसारमा छैनन् भन्ने विश्वास नै लाग्दैन । पुरानो ल्याब स्कुल भन्ने एउटा मेसेन्जर बनाएको रहेछ, त्यसमा एक दिन यो बिचमा कुरा भएको थियो तर कोरोना कहरपछि भेटेर कुरा गर्ने है दाजु भन्थिन् , मेरालागि ती कुरा गर्ने दिनहरू आएनन् ।  ज्वाइँ साहेब, भान्जा भान्जीहरूप्रति समवेदना बाहेक के पो गर्न सकियो र ? प्यारी बहिनीलाई श्रद्धाञ्जली भन्ने पर्ने भयो । बहिनीलाई मेरा यिनै शब्दद्वारा श्रद्धा सुमन चढाउँछु । तिमी जस्ती कर्मशील, समाजसेवी शिक्षकको स्वर्गमा बास होस् भन्ने कामना गर्नु बाहेक हामीसँग के पो बाँकी रह्यो र ?  फेरि फेरि यस्तो श्रद्धाञ्जली दिनु नपरोस् , कुनै पनि मानिसको मृत्यु नहोस् भन्यो झनझन समयले त्यही क्षणमा उभ्याउँछ र शोकाकुल परिवारहरूसँग एकाकार हुनु परेको हुन्छ । क्रमशः