भूपू सैनिकलाई पनि आचारसंहिता

भूपू सैनिकलाई पनि आचारसंहिता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

काठमाडाैं । प्रधानसेनापति पूर्णचन्द्र थापाले सैनिक आचारसंहिता ०७६ जारी गर्दै कडाइपूर्वक लागू गर्न मातहतका सबै निकायलाई निर्देशन दिएका छन् । उनकै चाहनाअनुसार सेनाले ८ देखि १३ वैशाखसम्म आचारसंहिता सप्ताह पनि मनाएको छ । आचारसंहितामा सामाजिक सञ्जालको प्रयोग, मदिरा सेवन, लैंगिक संवेदनशीलतादेखि आर्थिक पारदर्शितामा ध्यान दिन निर्देशन दिइएको छ । 

प्रधानसेनापति थापाले शान्तिसेनामा सैनिक उच्च अधिकारीको सिफारिसमा पठाउने मिल्ने कोटा हटाएका छन् । अब ज्येष्ठताका आधारमा मात्र सैनिकले शान्ति सेनामा भाग लिन पाउनेछन् । ‘हाम्रा प्रचलित आचारसंहितामा थपघट गरेर प्रधानसेनापतिज्यूको मार्गनिर्देशन तथा यसबीचमा बनेका नियमपद्धति समेटेर आचारसंहिता ग्रन्थ तयार गरेका छौँ । यो ग्रन्थ सबैलाई वितरण गरेर कार्यान्वयन प्रारम्भ भइसकेको छ,’ सैनिक प्रवक्ता सहायकरथी विज्ञानदेव पाण्डेले नयाँ पत्रिकासँग भने, ‘बहालवालालाई मात्र होइन, आचारसंहिता भूतपूर्व सैनिकको सबै तहमा लागू भएको छ ।’ उनले हरेक नीति निर्माणअघि सेनाको तलदेखि माथिल्लो तहसम्म सुझाब लिने व्यवस्था गरिएको पनि बताए । 

उनका अनुसार बजेट पारदर्शी बनाउन सेनाले बजेट आचारसंहिता ०७६ लागू गरेको छ । बजेटसम्बन्धी आन्तरिक निर्देशिका पनि जारी भएको छ । ‘पुराना बेरुजु फस्र्योट गर्न र बेरुजु हुन नदिन उच्चस्तरीय समिति गठन भएको छ र समितिले काम थालेको छ’ सैनिक प्रवक्ता पाण्डेले भने । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।