ललितानिवास प्रकरण : नेकपामा बदनामीको चिन्ता

ललितानिवास प्रकरण : नेकपामा बदनामीको चिन्ता

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नीति तथा कार्यक्रम तथा बजेटको विषयमा छलफल गर्न सोमबार बोलाएको सचिवालयको अनौपचारिक बैठकमा नेकपाका नेताहरूले ललितानिवास जग्गा प्रकरणमा पार्टीको बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका छन्। बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बसेको बैठकमा नेकपाका सचिवालय सदस्यहरूले सरकारले ल्याउन लागेको बजेटसँगै ललितनिवासको जग्गा प्रकरणबारे पनि आआफ्ना धारणा राखेका थिए। बैठकमा सहभागी सदस्यहरूले महासचिव नै सो प्रकरणमा मुछिएपछि पार्टीकै बदनाम भएको भन्दै चिन्ता व्यक्त गरेका हुन्।

सुरुमा पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले ललितानिवासको जग्गा फिर्ता गर्ने सरकारको कदम स्वागतयोग्य भएको उल्लेख गर्दै त्यसमा कसकसबाट त्रुटि भएको हो, त्यसलाई मिहीन ढंगले केलाउनुपर्नेमा जोड दिए। ‘कसकसका पालामा कुन आधारमा कसले के विषय उठान गरे र सरकारी कर्मचारीलाई समेत प्रभावमा पारेर केके निर्णय भएका थिए, त्यसबारे पार्टीकै तर्फबाट मिहीन ढंगले केलाउनुपर्छ,’ नेपालको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, ‘सरकारले राम्रो काम गरेको हुँदाहुँदै पार्टी कसरी बदनाम भयो, त्यसबारे पनि पार्टीभित्र छलफल चल्नुपर्छ।’ उनले मुख्य सचिवलाई त्यस समयमा भएका मन्त्रिपरिषद् बैठकका सबै निर्णय हेर्न लगाउनुपर्ने र त्यसमा भएका त्रुटि केलाउनुपर्ने बताएका थिए। आजको नागरिक दैनिकमा खबर छ ।