बैंकहरुले बढाए नाफा

बैंकहरुले बढाए नाफा

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

काठमाडौं । लगानीयोग्य रकम (तरलता)को अभाव हुँदाहुँदै पनि बैंकहरुले नाफा बढाएका छन्। तरलताको असर बैंकको नाफामा खासै नपरेको उनीहरुको तेस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ।

बैंकहरुले चालु आर्थिक वर्षको चैत मसान्तसम्मको वित्तीय विवरण धमाधम सार्वजनिक गरिरहेका छन्। उनीहरुले सार्वजनिक गरेको वित्तीय विवरणमा नाफा बढेको देखिएको छ। सोमबारसम्म सात वाणिज्य बैंकले चालु वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन। तीमध्ये नेपाल बैंकको नाफामात्र घटेको छ। अन्य बाँकी ६ बैंकको नाफा बढेको छ।

चैत मसान्तसम्म एभरेस्ट बैंकले दुई अर्ब २१ करोड रुपैयाँ नाफा कमाएको छ। पोहोरभन्दा यस वर्षको नौ महिनामा यसले ३४ करोड रुपैयाँले नाफा बढाएको छ। गत वर्ष एभरेस्ट बैंकले सो अवधिमा एक अर्ब ८७ करोड रुपैयाँ नाफा कमाएको थियो।

नेपाल एसबिआई बैंकले गत वर्षको तुलनामा यस वर्ष २३ करोड रुपैयाँले नाफा बढाएको छ। चालु आर्थिक वर्षको नौ महिनामा एसबिआई बैंकले पनि एक अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा एक अर्ब ३७ करोड नाफा कमाएको थियो। आजको नागरिक दैनिकमा खबर छ ।