थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी

थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २४, २०७८

मकवानपुर । स्थानीय परम्परागत उत्पादनलाई प्रवद्र्धन गरी स्वरोजगार वृद्धि गर्न मकवानपुरको थाहा नगरपालिकामा ‘कोसेली घर’ सञ्चालनको तयारी गरिएको छ । कोसेली घरका लागि पूर्वाधार निर्माण भइसकेको र अब कोरोना भाइरसको महामारी कम हुने बित्तिकै थप तयारी गरेर सञ्चालनमा ल्याइने नगरप्रमुख लवशेर विष्टले बताउनुभयो ।

नगरपालिकाले नगरको स्थानीय सीप र उत्पादन प्रवद्र्धन गर्न आफ्नै पहलमा कोसेली घर निर्माण गरेको हो । वडा नं ४ नयाँगाउँमा निर्मित रुपचन्द्र विष्ट स्मृति भवनमा प्रदेश सरकार समेतको सहयोगमा कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाले जनाएको छ ।

स्थानीयस्तरमा घरेलु तथा साना उद्यमीले उत्पादन गरेका विभिन्न वस्तुलाई बजारमा उपलब्ध गराउने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याउन लागिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिलाल पुरीले बताउनुभयो । उहाँका अनुसार कोसेली घरमा नगरपालिकाका स्थानीय घरेलु तथा साना उद्यमीले उत्पादन गरेका सेरामिक्स सामग्री, बाँसबाट बनेका सामग्री, क्रिष्टलका गहना, हातले बुनेका स्वेटर, झोलालगायत विभिन्न सामग्री, ‘गिफ्ट’का सामग्री र घरेलु उत्पादित विभिन्न खाद्य सामग्री राखिनेछ । 

त्यसैगरी कोसेली घरमा नगरको परिचय झल्काउने मौलिक काष्ठकला, नेपाली कागजका हस्तकला, घरबुना कपडाका पुतली, खेलौना, टोपी, टाइचिन चिउरा बिक्री वितरणका लागि राखिनेछन् । धातु तथा ढलौटका कलाकृति, चित्रकला, खुकुरी, मुकुन्डो, माटोबाट बनेका क्युरियो सामग्रीसमेत कोसेली घरमा राखिनेछन् ।