बजारमा सिटामोलसम्म पाउन सकस, संक्रमित समस्यामा पर्न सक्ने

बजारमा सिटामोलसम्म पाउन सकस, संक्रमित समस्यामा पर्न सक्ने

लोकसंवाद संवाददाता  |  स्वास्थ्य  |  जेठ २६, २०७८

काठमाडौं । जुनसुकै कारण ज्वरो आएमा पनि उपयोगी मानिने पारासिटामोल बजारमा सहज रूपमा पाइन छाडेको छ । अझ कोरोना संक्रमितका लागि त यो अति आवश्यक रहेको चिकित्सक बताउछन् । पारासिटामोल फामेर्सीमा सहजै नपाइने र अन्य फार्मेसीसमेत चहार्नुपर्ने संक्रमितका आफन्तको बाध्यता छ । यही अवस्था रहे पारासिटामोल हाहाकार हुन सक्ने सम्भावना प्रबल बनेको छ ।

नेपाल औषधि उत्पादक संघ, औषधि आयातकर्ता संघ, फार्मेसी सञ्चालक, औषधि थोक व्यवसायीले पनि ‘पारासिटामोल सहज तरिकाले नपाइने’ स्वीकारिसकेका छन् । औषधि व्यवस्था विभागको तथ्यांक अनुसार देशभर २९ हजार ५८ फार्मेसी दर्ता छन् । नेपाल औषधि थोक व्यवसायी संघ अध्यक्ष शिवराज बास्कोटा विभागले नेपाली औषधि उद्योगीलाई पारासिटामोल उत्पादनमा समयमै सहजीकरण नगर्दा अभाव भएको दाबी गर्छन् ।

‘नेपाली उद्योगलाई विश्वासमा लिएर चाँडोभन्दा चाँडो सिटामोल उत्पादनमा प्रेरित गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो ।  ‘बजारमा पारासिटामोल अभाव भएको यथार्थ हो ।’ भारतलगायत देशमा प्रतिट्याबलेट दुई रुपैयाँमा बिक्री हुँदै औषधि नेपालमा पनि मूल्य समायोजन गर्नुपर्ने उहाँको जोड छ ।  यसअघि, गत वैशाखमा संघले सरोकारवाला निकायलाई औषधिमा सहजीकरण गर्न मागसमेत गरेको थियो ।

पारासिटामोल अनावश्यक रूपमा घरमा मौज्दात राख्दा पनि अभाव देखिएको औषधि व्यवसायी औंल्याउँछन् । अन्तर्राष्ट्रिय बजारमा पारासिटामोलका लागि आवश्यक कच्चापदार्थ अभाव खड्किँदा र प्याकिङ म्याटेरियलको लागत ५० देखि सय प्रतिशतसम्म बढेको औषधि उत्पादक बताउँछन् । यो समाचार आजको राजधानी दैनिकमा छ ।