ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीन मेसिन एकैसाथ बिग्रिँदा अप्रेसन नै रोकियो

ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीन मेसिन एकैसाथ बिग्रिँदा अप्रेसन नै रोकियो

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

काठमाडाैं । राष्ट्रिय ट्रमा सेन्टरमा बिरामी लठ्याउने तीनवटा उपकरण (एनेस्थेसिया मेसिन) सोमबार एकैसाथ बिग्रिएपछि ७५ प्रतिशत जटिल अप्रेसन रोकिएको छ । आइतबारसम्म सञ्चालनमा रहेका चारमध्ये तीनवटा मेसिनले अचानक सोमबार बिहानदेखि काम नगरेपछि अधिकांश अप्रेसन स्थगित गरिएको ट्रमा सेन्टरका निर्देशक डा. प्रमोद यादवले बताए । 

सेन्टरमा दैनिक २० मेजर अप्रेसन हुने गर्छन् । एउटा मेसिनबाट चार–पाँचवटा अप्रेसन मात्रै सम्भव हुन्छ । तत्काल मेसिन नबने अप्रेसनको पालोमा बसेका धेरै बिरामी प्रभावित हुनेछन् । मेसिन खरिद गरिएको कम्पनीका प्राविधिकले मर्मत गर्नुपर्ने हुन्छ । सम्बन्धित भारतीय कम्पनीले मंगलबार प्राविधिक पठाउने आश्वासन दिएको निर्देशक यादवले बताए ।

‘एनेस्थेसिया मेसिन बिग्रिएको खबर स्वास्थ्य मन्त्रालय र मेसिन खरिद गरिएको भारतस्थित कम्पनीलाई गरिसकेका छौँ,’ यादवले नयाँ पत्रिकासँग भने, ‘भारतबाट प्राविधिक टोली आएपछि मेसिनको गडबडी पहिल्याउनेछ । आशा गरौँ, छिटै मर्मत होला ।’

मेसिनमा ठूलै समस्या आएको भए मर्मत समय बढी लाग्ने र खर्चसमेत मन्त्रालयले निकासा गर्नुपर्ने हुन सक्छ । यो अवस्थामा विभिन्न प्रक्रिया अपनाउनुपर्दा मेसिन प्रयोगमा ल्याउन ढिला हुने देखिन्छ । सबै मेसिन पाँच वर्ष पुराना हुन् । निर्देशक यादवले मेसिन बनेपछि पुरानै पालोअनुसार बिरामीको अप्रेसन गरिने बताए । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।