ओखलढुङ्गाको  पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना

ओखलढुङ्गाको  पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २६, २०७८

ओखलढुङ्गा । सुनुवार समुदायको लोक संस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धनका लागि ओखलढुङ्गाको पोकलीमा सुनुवार सङ्ग्रहालय स्थापना गरिएको छ । 

सुनुवार सेवा समाजले जिल्लाको लिखु गाउँपालिका—९ पोकलीको वाच्पुमा घर निर्माण गरेर सो सङ्ग्रहालय स्थापना गरेको हो । सङ्ग्रहालय भवन निर्माणका लागि दाताहरुबाट तीन लाख, लिखु गाउँपालिका—९ बाट तीन लाख र सङ्घीय सांसद यज्ञराज सुनुवारको सांसद विकास कोषबाट ५ लाख सहयोग प्राप्त भएको समाजका अध्यक्ष देवकुमार रुपाचाले बताउनुभयो । उहाँले सुनुवार समुदायको मौलिक संस्कृतिको संरक्षण र पोकलीमा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले समाजले आफ्नै सुविधा सम्पन्न भवन बनाएर सङ्ग्रहालय स्थापना गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो । 

उक्त भवनमा सुनुवार समुदायको मौलिक संस्कृति झल्काउने भेषभूषा, सुनुवारी बाजा र सुनुवार संस्कृतिका ऐतिहासिक एवम् धार्मिक महत्वका सामग्री राखिने समाजका सल्लाहकार पशुपति सुनुवारले बताउनुभयो । “हाम्रो समाजको आफ्नै छुट्टै भवन थिएन, हाम्रो मौलिक संस्कृति झल्काउने सामग्री राख्न तथा भेला र बैठक गर्न समस्या थियो”, उहाँले भन्नुभयो, “भवन निर्माण भएपछि अब पोकली घुम्न आएका पर्यटकलाई सुनुवार समुदायको मौलिक संस्कृतिबारे जानकारी दिन सहज भएको छ ।” सनुवार समुदायकोे जातिय पहिचान स्थापना गर्न र सुनुवारी भाषा एंव संस्कृतिसँग सम्बन्ध जोडिएका पोकलीमा पर्यटन प्रवद्र्धन गर्ने गरी सङ्ग्रहालयको अवधारणा ल्याइएको उहाँको भनाइ छ । 

सुनुवार संस्कृतिको संरक्षण, प्रचारप्रसार र पोकलीको पर्यटन प्रर्वद्धनमा सङ्ग्रहालयले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास समाजको छ । दुई कोठे सो भवनकोे रङ्गरोगन र शौचालय बनाउने काम सम्पन्न भएको छ । पछि त्यसमाथि तल्ला थपिने लक्ष्य छ । सुनुवार समुदायको बाहुल्यता रहेका लिखु—९ पोकलीमा वर्षेनी सयौँको सङ्ख्यामा ‘पोकली झरना’ घुम्न आउने पर्यटक सुनुवार समुदायको मौलिक संस्कृति हेर्न लोभिने गर्दछन् । पोकली झरना अवलोकन गर्न आउने पर्यटकले सुनुवार समुदायको मौलिक संस्कृतिबारे जानकारी लिन चाहने भएकाले वडाको सम्पदाको रुपमा रहने हुँदा सो भवन निर्माणमा वडा कार्यालयले सहयोग गरेको लिखु—९ का वडाध्यक्ष सुकवीर तामाङले बताउनुभयो ।  

मुलुककै दोस्रो अग्लो झरनाका रुपमा मानिने जिल्लाको पोकली झरनाको नाम सुनुवार भाषासँग जोडिएको मानिन्छ । किंवदन्ती अनुसार परापूर्वकालमा कुनै नवआगन्तुक पोकली झरना अवलोकनमा आइपुगेको र त्यहाँ एक जना सुनुवार समुदायकी महिलाले सिस्नु टिप्दै गर्दा यो झरनाको नाम के हो भनेर पर्यटकले सोध्दा ती महिलाले सिस्नु के को लागि टिपेको भन्ने प्रश्न होला भनेर ‘पो कलि’ भन्ने जवाफ दिएको र सोही समय देखि उक्त झरनाको नाम पोकली रहन गएको भन्ने मान्यता छ । 

सुनुवार भाषामा पो भनेको सुँगुर र कलि भनेको लाई भन्ने बुझिन्छ ।