फेसबुकमा आएको अमेजोनको म्यासेज के हो ?खोल्ने कि नखोल्ने ?

फेसबुकमा आएको अमेजोनको म्यासेज के हो ?खोल्ने कि नखोल्ने ?

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७८

काठमाडौं । पछिल्लो समय फेसबुक मेसेञ्जर अथवा ह्वाट्स एपमा तपाईका कुनै साथीले तपाई एउटा मेसेजसहितको लिंक शेयर पक्कै गरेका होलान् । विश्वविख्यात डिजिटल मार्केट अमेजोनको ३० औं वार्षिकोत्सवका अवसरमा निशुल्क उपहार पाइने उक्त म्यासेजको लिंक देख्ने वित्तिकै तपाईले खुशी भएर क्लिक गरेर खोलेर पनि हेर्नुभयो होला । अझ कतिजनाले त पुरस्कार पाइने आशमा त्यसमा भनिए अनुसारको फर्म भर्नुभयो होला । त्यो फर्म भर्दा आफ्नो व्यक्तिगत विवरण पनि उल्लेख गर्नुभयो होला ।

यति गरिसकेपछि कुन दिन अमेजनको तर्फबाट उपहार आइपुग्ला भनेर दंग भएर बस्नुभएको छ भने तपाईको लागि दुखद खबर छ । तपाईले उपहार त पाउनुहुन्छ तर त्यो तपाईका लागि नसोचेको र घातक समेत हुनसक्छ । अर्थात तपाईको फेसबुक र ह्वाट्सएप एकाउन्ट ह्याक हुने वा तपाईमाथि व्यक्तिगत निगरानी हुने खतरा रहन्छ । यस्ता म्यासेज खोलेर हेरेका सयौंजनाको फेसबुक नै ब्लक वा ह्याक भएका गुनासोहरु आउन थालेका छन् ।

वास्तवमा त्यसरी पठाइएको म्यासेज वा अफर अमेजनको होइन । त्यो त डिजिटल ठगहरुको स्क्याम हो । यस्तो ठग र स्क्याम गर्नेहरुको गिरोहको चंगुलमा हजारौं व्यक्तिहरु परेको आशंका गरिएको छ । यस्ता साइबर ठगहरुको मुख्य उदेश्य तपाईको व्यक्तिगत विवरण चोरी गर्नु हो र त्यसको आडमा विभिन्न साइबर अपराधहरु गर्नु हो । त्यसैले यस्ता गिरोहको चंगुलबाट बच्नुपर्ने विज्ञहरु बताउछन् ।

प्रलोभनमा परेर आफ्नो व्यक्तिगत विवरण शेयर नगर्न विज्ञहरुको सुझाव छ । तपाईलाई पठाइएको म्यासेजमा तपाईका २० जना अरु साथीलाई पनि फरवर्ड गर्नुस् भन्ने पनि हुन्छ । तर लिंक फरवार्ड गरेर साथीलाई पनि आफू जस्तै जोखिममा पार्ने काम कदापि नगर्नुहोला ।