शरीरको त्यो रसायन, जसको कार्यप्रणाली अझै पत्ता लागेको छैन

शरीरको त्यो रसायन, जसको कार्यप्रणाली अझै पत्ता लागेको छैन

डा. स्कन्द शुक्ला  |  ज्ञानविज्ञान  |  बैशाख १७, २०७६

सन् १९८० सम्म हामीलाई मानव शरीरभित्र एन्डोकैनाबिनायान्ड रसायन हुन्छ भन्ने जानकारी थिएन । एन्डोकैनाबिनायन्ड त्यो रसायन हो, जुन हाम्रो शरीरभरी आफ्नो रिसेप्टरमार्फत् फैलिएको हुन्छ । तर, यसको कार्य प्रणालीबारे अहिलेसम्म मेडिकल साइन्सलाई खासै जानकारी छैन ।

सन् १९६४ मा आएर हामीलाई थाहा भयो, कि गाँजामा एउटा रसायन डेल्टा नौ टेट्राहाइड्रोकैनाबिनाल (टिएचसी) पाइन्छ । गाँजामा रहेको यस रसायनले मानिसमा मनोसक्रिय भाव उत्पन्न गराउँछ ।

८० को दशकपछि मेडिकल साइन्सलाई ‘सिबी १’ अथवा ‘सिबी २’ एन्डोकैनाबिनायड रिसेप्टरबारे थाहा भयो । त्यसपछि यो पनि ज्ञात भयो कि यी रिसेप्टर शरीरभित्र कुन–कुन  एन्डोकैनाबिनायडसँग जोडिएका हुन्छन् ।

‘सिबी १’लाई हामीले संस्कृतको ‘आनन्द’ शब्दको आधारमा ‘आनन्दामाइड’ नाम दियौं ।

गाँजा प्रकृतिमा पछि उत्पादन भए पनि त्यसमा रहेको एन्डोकैनाबिनायड मानव शरीरमा पहिले नै उत्पन्न भएको थियो । यो मानिसमा मात्र होइन, अन्य जीव, रुख  बिरुवामा मात्रै नभएर ढुसीसम्ममा पनि पाइन्छ ।

एन्डोकैनाबिनायड तन्त्र सम्भवतः शरीरको सबैभन्दा पुरानो तन्त्र हो, जसको बारेमा हामीलाई कमै मात्र थाहा छ । शरीरमा कतिपय यस्ता एन्डोकैनाबिनायड रिसेप्टर पनि छन्, जुनसँग कुनै पनि एन्डोकैनाबिनायड जोडिँदैनन् । ती उचित परिस्थिति पाएर स्वतः सक्रिय हुन्छन् र कोशिकामा परिवर्तन ल्याउने क्षमता राख्छन् । यी रसायन र यिनका रिसेप्टरले खाने रुचि तथा तृप्ति, पाचनतन्त्रमा रस प्रवाह तथा आन्द्राको गति प्रत्येक प्रक्रियामा महत्वपूर्ण योगदान रहन्छ ।

एन्डोकैनाबिनायडको महत्व यसरी बुझ्नुस् ।

कल्पना गर्नुस्– हजारौं वर्ष पहिला तपाईं र म कुनै जंगलबाट जाँदैछौं । त्यहाँ हामीले केही खानेकुरा देख्यौं र हामीले त्यो ग्रहण गर्यौं । मानौ यो खानेकुरा कुनै जनावर थियो, जुनबाट हामीलाई फ्याट प्राप्त भयो । अब यो ग्रहण गर्नासाथ शरीरको एन्डोकैनाबिनायड तन्त्र सक्रिय भयो । यसले उद्घोष गर्यो– भरपूर खाऊ र शरीरमा फ्याट संग्रह गर । अगाडि भोजन पाइन्छ कि पाइँदैन, थाहा छैन । अगाडिको भोजनको लागि शरीरमा जति बढी फ्याट संकलित हुन्छ, उति नै धेरै मात्रामा एन्डोकैनाबिनायड तन्त्र सक्रिय हुँदै जान्छ । यही नै तन्त्र आज पनि त्यसरी नै काम गरिरहेको छ, जब तपाईं हामी म्याकडोनाल्डमा बसेर एकपछि अर्को बर्गर खान्छौं ।

तर, अहिले भोजनको अभाव छैन । हामीलाई सधैं खाना प्राप्त नै भइरहेको छ । तर, यो कुरा एन्डोकैनाबिनायड तन्त्रलाई थाहा छैन । उसले शरीरभित्र फ्याट पुग्नासाथ सक्रियता देखाउँछ र हामीभित्र फ्याट संग्रह गर्न थाल्छ ।

एन्डोकैनाबिनायड तन्त्रसँग शरीरका अन्य तन्त्र पनि साझेदारी गर्छन् । र, मोटोपना थपिँदै जान्छ । यति मात्र होइन, एन्डोकैनाबिनायड तन्त्रको भूमिका डायबिटिजलगायत अन्य रोगमा पनि हुन्छ । हामीलाई थाहै छ, यी सबै जानकारी औषधि बनाउने फर्मास्युटिकल उद्योगलाई विदितै छ । र, उसले यस दिशामा कार्य गरिरहेको छ । तर, कुरा त्यही आएर अड्किन्छ । जुन कुरा सर्वत्र उपलब्ध हुन्छ, त्यसलाई नियन्त्रणमा लिन सर्वाधिक दुष्कर हुन जान्छ ।