यसपटक मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान

यसपटक मनसुनमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान

लोकसंवाद संवाददाता  |  समाज  |  जेठ २७, २०७८

काठमाडौ । नेपालमा यसपालि मनसुनका बेला बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । यो वर्ष गत वर्षभन्दा बढी पानी पर्ने अनुमान गरिएको छ । त्यसैले यसपालिको मनसुनमा झन् चुनौतीपूर्ण रहने अनुमान मौसमविद्ले गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने आकलन सार्वजनिक गरिसकेको छ। उक्त चेतावनीसँगै आमनागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउनुहुन्छ ।

यसपटक विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएको छ । डढेलोले पहाड नांगो पारिसकेकाले जोखिम क्षेत्रबाहेक पनि थप पहिरो खस्ने सम्भावना रहेको उहाँ बताउनुहुन्छ । त्यसलाई केन्द्रित गरेरै पूर्वतयारी र प्रतिकार्य याजना अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

विगतको तथ्यांक विश्लेषणका आधारमा प्राधिकरणले यसपालि मनसुनमा १८ लाखभन्दा बढी मानिस प्रभावित हुने अनुमान गरेको छ। प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिस्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिनुभयो ।

गत वर्ष १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो। सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपदबाट झण्डै ४ सय मानिसको मृत्यु भएको थियो। एक हजार एक सयभन्दा बढी परिवार प्रत्यक्ष प्रभावित भएका थिए।

यसपालि बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना ०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्बद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्वतयारी थालिएको छ।