अनित्यमा नित्यको दर्शन

अनित्यमा नित्यको दर्शन

बाबुहरि ज्ञवाली  |  जीवनदर्शन  |  बैशाख १७, २०७६

परमात्म तत्व सबै ठाउँमा व्याप्त छ । त्यहाँ समयको कुनै सीमा छैन ।  ऊ सबै प्राणीमा छ, सम्पूर्ण वस्तुमा छ, सम्पूर्ण घट्नामा छ, सम्पूर्ण परिस्थितिमा छ । ऊ सबैमा एक रुपले समान तरीकाले जस्ताको त्यस्तै परिपूर्ण छ । वेदमा भनिएको छ –
स ओत: प्रोतश्च विभु : प्रजासु (यजु ३२/८)

परमात्मा सम्पूर्ण प्रजाहरुमा व्याप्त छ । जब मनुष्यले परमेश्वरको सर्वव्यापकताको अनुभव गर्दछ, उसबाट निन्दित कार्य हुन सक्दैनन, किन कि उसले आफूले गरेका कार्यहरु आफ्नो हृदयमा वसेका ईश्वरले साक्षी रुपले देखिरहेको विश्वास गर्दछ ।  त्यस्तै वेदमा अन्यत्र पनि ईश्वरको सर्वव्यापकता बारे उल्लेख छ  ।

एषोहदेवः प्रदिशोऽनु सर्वः (युज.३२/४)

यो ईश्वरतत्व सबै दिशालाई व्याप्त गरेर रहेको छ । 

यस्तो सर्वव्यापक परमेश्वरको दर्शन कसरी गर्न सकिन्छ, यो त्यति सजिलो छैन ।

हामी यस संसरमा जे देखिरहेका छौ, त्यसमा कुनै सत्यता छैन, किनकी यो संसारमा एकछिन पनि स्थिरता छैन । जुन कुरा स्थिर छैन त्यसको दृश्य पनि वास्तविक हुँदैन । जस्तै– बलेको आगोको अगुल्टोलाई हातमा लिएर जोडसँग घुमायो भने त्यहाँ आगोको चक्र घुमिरहेको देखिन्छ, वास्तवमा त्यहाँ चक्र हुँदैन । त्यस्तै यो संसार वास्तविक नहुँदा नहुँदै पनि वास्तविक जस्तो देखिन्छ । एक परमात्म तत्व मात्र अस्तित्वको रुपमा नित्य छ, अरु सबै अनित्य हुन ।  

आज हामी हाम्रो वरिपरि जे जस्ता जीवहरु देखिरहेका छौ । ती पहिले थिएनन, पछि पनि रहिरहने छैनन् । परन्तु परमेश्वर सृष्टिभन्दा पहिला पनि हुनुहुन्थ्यो, प्रलयपछि पनि रहिरहनुहुनेछ । अतः उहाँ मात्रै वर्तमान हो । संसारको जुन अस्तित्व छ त्यो उही परमात्माको सत्यताले गर्दा  नै हो । मानिसले असत्यमा जुन सत्य देखिरहेछ, त्यो उसको अज्ञानताका कारणले हो । यदि अज्ञान रहेन भने उसले संसारमा व्याप्त ईश्वरलाई अभेद ज्ञानले देख्छ । गीतामा भनिएको छ –

वासुदेवःसर्वम् (७/१९) 

अर्थात यो सारा ब्रह्माण्ड वासुदेवमय छ ।

बलेको आगोको अगुल्टोलाई हातमा लिएर जोडसँग घुमायो भने त्यहाँ आगोको चक्र घुमिरहेको देखिन्छ, वास्तवमा त्यहाँ चक्र हुँदैन । त्यस्तै यो संसार वास्तविक नहुँदा नहुँदै पनि वास्तविक जस्तो देखिन्छ । एक परमात्म तत्व मात्र अस्तित्वको रुपमा नित्य छ, अरु सबै अनित्य हुन ।

जवसम्म मनुष्यमा ‘म’ ‘मेरो’ भन्ने भावना रहन्छ तबसम्म ऊ संसारिक माया मोहको बन्धनबाट मुक्त हुन सक्दैन । जस्ले ‘वासुदेव, सर्वम्’ भन्ने विश्वास राख्दछ । उसको लागि जान्ने, भन्ने र अनुभव गर्ने अरु कोही रहँदैन, केवल वासदेव नै रहन्छ जुन अनादि कालदेखि जस्ताको त्यस्तै छ । यस्तो अनुभव गर्नुलाई नै ज्ञानी मनुष्यले आफ्नो जन्मको सफलता मान्दछन् ।
‘अस्ति’को अनुभव नगरेर ‘नास्ति’मा अल्झनु पशुबुद्धि हो । यस पशुतालाई त्याग गर्नु पर्दछ । श्रीमद्भागवतमा भनिएको छ –

पशु बुद्धिमिमां जहि । (१२/५/२) 

पशु बुद्धिलाई त्याग गर ।

भगवानले भन्नुभएको छ –जसले नाशवान प्राणीहरुमा नाश नहुने परमात्मालाई देख्छ, त्यसको दर्शन यथार्थ हो, परन्तु जसले नष्ट हुने वस्तुलाई देख्दछ । नष्ट नहुनेलाई देख्दैन त्यसता व्यक्तिलाईआत्मघाती भनिन्छ । महाभारतमा पुनः भनिएको छ – 

योऽन्यथा सन्तमात्मान मन्यथा प्रतिपद्यते ।
किं तेन न कृतं पापं चौरेणात्मापहारिणा ।।

(महा. उ. ४२/३७)

जसले आत्मलाई अविनाशी हुँदाहुँदै पनि विनाशी ठान्दछ, त्यस्तो आत्मघाती चोरले कुन पाप गरेन ? जसले यो नाशवान संसारलाई नदेखेर जताततै समान रुपले परिपूर्ण परमात्मतत्वलाई देख्दछ, त्यो आत्मघाती हुनसक्दैन अर्थात उसले आफै‌ंले आफुलाई मार्दैन, त्यसैले उसले परम गति प्राप्त गर्दछ । परन्तु जस्ले सर्वव्यापी नित्य परमेश्वरलाई नदेखेर यो अनित्य संसारलाई मात्र देख्दछ त्यस्तो व्यक्ति आत्मघाती हो । 

इशोपनिषदमा पनि – ये केच आत्महनो जनाः भनेर त्यस्तै व्यत्तिलाई भनिएको छ । यसको अभिप्राय ईश्वरको सर्वव्यापकतालाई जसले स्वीकार गर्दैन उसले आफूभित्र परमात्माको अस्तित्व छ भन्ने कुरा थाहा  पाउँदैन । देख्ने, सुन्ने साक्षी कोही छैन भन्ने कुरा ठानेर ऊ जे जस्ता जघन्य अपराधहरु गर्न पनि डर मान्दैन । त्यस्तो अज्ञानीलाई यहाँ आत्मघाती भनिएको छ । 

भगवान् श्री कृष्णले श्रीमद्भागवतमा उद्धवलाई उपदेश दिंदै भन्नु भएको छ – यो मनुष्य शरीर समस्त शुभ फलकोे परिणाम हो । यो अत्यन्त दुर्लभ भएर पनि सजिलै प्राप्त भएको छ । यस संसार सागर तर्नका लागि यो एक सुदृढ डुँगा हो ।  मेरो स्मरण गर्नाले मात्र पनि म यसलाई अनुकूल वायुको रुपमा लक्ष्यतिर बढाइदिन्छु । यति सुविधा हुँदाहुँदै पनि जसले यस शरीरद्धारा संसार सागर पार गर्र्ने उपाय गर्दैन उसले आफ्नै हातले आफैलाई हनन गरिरहेको हुन्छ  । 

यो संसार ऐनामा देखिने अनुहार तथा स्वप्नमा देखिएको दृश्य जस्तै अवास्तविक छ । यसलाई संसार नसम्झेर परमात्मा मान्ने हो भने त्यहाँ ‘अस्ति’ रुपले ईश्वरको दर्शन हुन्छ । तत्काल दृष्टिगोचरमा नआएपनि दृढताका साथ लागिपरेमा अवश्य दर्शन मिल्ने छ ।

 अतः यदि हामीले परम गति प्राप्त गर्नुछ भने बारम्बार जन्म मृत्युको चक्करमा परेर दुःख भोग्नु भन्दा सर्वव्यापक, सर्वनियन्ता परमेश्वरको शरणमा परेर आफ्नो उद्धार आफैं गरौं  र आफूलाई पतन हुनबाट जोगाऔं । यसैबाट अन्तिम नित्य परमेश्वरको दर्शन प्राप्त हुनेछ ।