मझेनीघाटमा अठचालिस वर्ष पहिलेको वास र 'पारि पाखा पहिरो गयो वारि बगेँ म....' गीतको रचना गर्भ

'पारि पाखा पहिरो गयो वारि बगेँ म 
तिम्रो वास खोला पारि वारि रहेँ म' 

यस गीतका सङ्गीतकार भानुभक्त ढकाल हुनुहुन्छ भने गायक पूर्ण राई  ।  दुवै स्रष्टालाई सम्मान गर्न चाहन्छु । तर यो अवस्थासम्म हालसम्म मैले भने दुवै जनालाई चिनेको छैन । यो गीत सम्भव मैले साठीको दशकमा रेडियो नेपालबाट बजेको सुनेको थिएँ । कान्तिपुर एफएममा हेम सुबेदीले गीत कविता सम्बन्धी अन्तर्वार्तामा प्रस्तुत गर्दा लाइब्रेरीबाट झिकेका थिए ।  यो गीत तपाईँको रहेछ भनेपछि  मैले सुनेको थिएँ । गीतको गायन र सङ्गीत सुन्दर भएको रहेछ ।

यो गीतको रचना काल २०३९ साल भएको हुनुपर्छ । मधुपर्कमा २०४१ सालमा यो गीत छापिएको थियो । यो गीत गाउँछु भनेर हरि भाइले लागेको भने सम्झना छ मलाई । त्यसपछि  मलाई थाहा थिएन यो गीतको सन्दर्भ ।  एकैपल्ट रेडियोबाट बजेको सुने ।

यो गीतको पृष्ठभूमि मेरो जीवनको प्रारम्भकलासँग जोडिएको छ । मनमा लेखिएका  कुरा मरिगए नमेटिने रहेछ । जब कि यो कुरा करिब पचास वर्ष अगाडिको हो ।

२०२८ सालमा एसएलसी माघमा दिएपछि २०२९ साल वैशाखमा आइए पढ्न खोटाङबाट  झापा झरेँ ।  मेरो कान्छा बाबै (काका) झापामा बस्नु हुन्थ्यो । मेरो आठ भाइ बाबै मध्ये उहाँ ठुलो कान्छा  हुनुहुन्थ्यो । असल र खाइलाग्दो ज्यानको हुनुहुन्थ्यो उहाँ । उहाँले मेरो अध्ययनमा कुनै कमी गर्नु भएन । काकाप्रति अगाध प्रेम समर्पण गर्न चाहन्छु ।

वैशाख ३ गते थियो । मेरो उमेर ठिक सोह्रको वरिपरिमा थियो । यो बाटो एक पल्ट मेरो बाबै अन्तरेसँग एक वर्ष अगाडि हिँडेको थिएँ । बाटोको कठिनाइ कस्तो थियो भन्ने मलाई थाहा थियो ।  म घरबाट हिँडेको दिन मूलडाँडा, कपासे भन्ज्याङ, हानिरङ,धिन्ताङ्ग,पसलभञ्ज्याङ,खैरांग, धारा पानी, सिम्ले हुँदै ,साँझमा मझेनीघाट पुगेको थिएँ । सानो फुच्चे काँधमा सुर्काउने झोला बोकेर बादलको लुकामारीमा हराउँथेँ ।  मूलडाडा, कपासेमा चराका डरलाग्दा आवाज सुन्दा मन डरले हल्लेको थियो । धारा पानीमा सात भाइ अल्लारे युवाहरू धरान लोकल ब्रिटिस गल्लामा हिँडेका भेटेँ । उनीहरूको रवाफ बेग्लै थियो । बेजोडले गीत गाउँदै हिँड्दा वरिपरि अरूले बाटो छोड्थे । मैले भने पछाइरहेको थिएँ । उनीहरूको पछि लागे कतै अभरमा साथ पाउने आस थियो मसँग । साना साना खोलाहरू पनि  भल बगेर कोका हालसँग उर्लिरहे थिए ।

हामी मझेनीघाट पुग्दा झपक्क साँझ परिसकेको थियो ।  वारिपट्टि सानो छाप्रोमा हाम्रो वास भयो ।अल्लारे युवाहरूले मलाई हामी तिमीलाई तार छौँ भनेकोले एक प्रकार ढुक्क थिएँ म । तर अरुण नदीको उर्लँदो आवाज,  खोलाको डर लाग्दो आवेग देख्दा कहालिएर  मन रुन खोज्थ्यौँ । पहिलो हिँडाई घर सम्झेर झन् निराश  थिए अर्थात् मन थाम्ने आधार नै थिएन । गल्लामा हिँडेका दाइहरूले विभिन्न मासु, अचार, चाम्रे मलाई पनि खान दिए । उनीहरूको चाम्रे र कुखुराको मासु थोरै खाएँ । मलाई घरबाट आमाले लगाई दिनुभएको चाम्रे भात र भालेको मासु अचार झिकेर खाएँ । खाइन्जेल आमाले भनेको कुरा सम्झिरहेँ-‘जहाँ भोक लाग्छ झिकेर खानु' खानेकुरा चाहिँ खाई सके तर आमाले सिलाएको टपरी त्यही फालेर हिँड्न सकिनँ । मायाले गर्दा अलग्ग झोलामा राखेँ । अँध्यारो छाप्रोमा कसरी खायौँ थाहा छैन । मानौँ  कि हामी एक जङ्गली युगमा थियौँ ।

रातभरि पानी थामिएन। यता भुइँमा सुताई भयो । गल्लामा हिँडेका उत्साही युवाहरूको गीतको रोनकले सुताइको पर्वाहै भएन । अरुण झन् उर्लेको आवाजले मेरो छाती हल्लिरहे थियो । घरीघरी युवाहरूको गीतको आवाजले भल उर्लेको नदीको आवाज पनि शान्त त हुन्थ्यो । भोलिपल्ट बिहान उनीहरूले मलाई कोकाहा खोला तारेका थिए । अहिले सम्झन्छु । उनीहरू ब्रिटिस गल्ला भर्तीमा लागे कि लागेनन् होला ?

वास्तवमा यो गीतको आधार यहीँ थियो । त्यो समयले मलाई घरीघरी बितेको याद भने गराइरहन्छ । आमाको अनुहार देखाउँछ । जीवनले भोगेको याद नमेटिने रहेछ । सानोमा हिँडेको त्यो भयानक बाटोले अहिले भने रोमाञ्चित बनाउँछ । बाटोमा चरा अनौठो पाराले कराउँदा डराउँदै हिँडेको सम्झँदा आनन्द आउँछ ।

भाग्यवश धरान पुगेको बिहान रिजल्ट भयो । डिपोट स्कुलमा गोरखापत्र आएको रहेछ । म पास भएको देखेर  डिपोट सरहरूले मलाई हेरेर विश्वास गरेन । मेरो सानो उमेर भएर होला । म भित्र कुनै खुसीको प्रतिक्रिया नै थिएन ।

झापामा पुगेपछि मेरो जीवनको पाइलाहरू अनायास बद्लिए । बाबैले भद्रपुर बजारमा दुई गाडा सनपाट बिक्री गरेर सेतो टेर्लिङको सट, निलो जिनको बेलिबटम् पेन्ट अनि सिलगढीबाट छालाको पोइन्टेड जुत्ता लगाई दिए पछि मेरो मेची कलेजको हिँडाइ नै बद्लियो । खोटाङ स्कुल पढ्दै गर्दादेखि सट पेन्ट लगाउँथेँ । तर मेरा गाउँबाट गएका साथीहरू खोटाङ स्कुलमा लाजले राती लगाउँथे । कलेज जाने भनेपछि मेरो माहौल त्यसै फेरिएको थियो । सबै नयाँ मित्रहरूलाई सम्पन्न दख्थें ।

घरबाट कलेज जान्थेँ । जाने साथीहरू (अहिलेका प्रख्यात कविहरू कृष्ण प्रधान उनी राष्ट्र बैङ्कका डेपुटी गभर्नर भएर निवृत्त हुनुहुन्छ, विष्णुबिभु घिमिरे प्राध्यापक तथा उपकुलपति ,ने प्रा प्र बाट निवृत्त)  थिए । हामी बिहान घोडा चढेर एक घण्टाको मेची कलेज  जान्थ्यौँ । त्यो बेला मेचीमा दुई कलेज मात्र थिए । साथीहरू मेरो जीवनको महत्त्वपूर्ण मित्रहरू हुनुहुन्छ ।  अहिले पनि २०२९ सालबाट सामीप्यमा नै  छौँ ।

कलेज अध्ययन गर्दै गर्दा झापा जिल्लामा कम्युनिस्ट भयानक चर्चामा आयो । गरामुनीमा हो वा कता हो । धर्मदत्त ढकालको हत्या, दुवागडीमा हत्या भएको सुन्यौँ । केपी ओली समातिए, बिरेन राजबंसीहरुको सरकारबाट हत्या भएको सुनियो । वर्षा प्रारम्भ भएपछि तीन महिना निन्दा खोलाको डरले  भद्रपुर बजारस्थित एक काठको टुंगघरमा डेरा लिएका थियौँ । भाडा थियो, एक महिनाको दस रुपियाँ । म भात पकाउन पारा अलिक नजान्ने भएकोले म पानी भर्थेँ । कृष्ण दाल मिठो पकाउँथे । आलुको मिठो अचार विष्णुविभु बनाउँथे । राजनीति बिचार कताकता भिन्न भएपछि उनीहरू डेरा सरे । म त्यही बसेँ । पछि अरु तीन भाइ कलेजका साथीहरू मसँग थपिए ।

त्यो घरमा कम्युनिस्ट रेड बुकहरू प्रशस्त थिए । एउटा 'सुस्ता' भन्ने पत्रिका भेटेँ । छापिएको थियो-भारतीय नक्सलाइट नेता मुजुम्दारको भनाइ– 'कमरेड हुनलाई हात रगतले मुछिएको हुनु पर्छ ।'  त्यो पढेर मेरो शरीर थरर काँपेको अहिले सम्झन्छु । धेरै पुस्तक अध्ययन गर्ने अवसर त्यहाँ पाएँ । पछि थाहा भयो । त्यो घर राधाकृष्ण र चन्द्र प्रकाश मैनालीको घर पो रहेछ । जब एक साँझ रसियन जिपमा केही प्रहरी आएर हामीलाई लिएर गए ।

ज्यान गयो होला भनेको थिए धन्न बाचेँ । भोलिपल्ट ठुलो ज्यानको सेतो दौरा सुरुवाल लगाएका छिरिङ तेन्जिङ अञ्चलाधीशले मलाई प्रश्न गरे –तेरो नाम के हो ? कहाँ बस्छस् ? घर कहाँ हो ? ए तेरो खोटाङको राष्ट्रिय पञ्चायत माननीय को हो ? मैले भने–डिल्ली सेर राई मैले चिनेको भने थिएन ।  उसको घरदेखि कता तेरो घर  ? उनको अनुहार अचानक बद्लिएको देखेँ । मैले भने-त्यही तल । मैले लख काटेँ कि डिल्ली सेर भने पछि  केही नगर्ला जस्तो छ । त्यस्तै भयो । मलाई जा भने । तर मसँग गएका साथीहरू झापाका भएका कारण शान्ति सुरक्षा अन्तर्गत तीन महिने पुर्जीमा छोडिए । काठमाडौँमा पछि छिरिङसङ राजनीतिक पार्टी एकै भएको कारण भेट भयो । यी बितेका वृत्तान्त सुनाएँ । हाँस्नु भयो । थाहा पाए, डिल्ली सेर राई उनको मित पनि रहेछन् ।

हामी कलेज धाउँदा खेतमा धान् झुलेको हुन्थ्यो । गल्गले भारतमा रेल कुदेको आवाज आउँदा कुदेर हेरौँ जस्तो हुन्थ्यो । कृष्ण,विष्णुसँग अलिक टाढा भयौँ जति बेला हाम्रो विद्यार्थी राजनीति सुरु भयो । साथीहरू प्रजातान्त्रिक धारमा भए । म  प्रगतिशील धारमा देखा परेँ । फेरि काठमाडौँमा भेट भएपछि हामी मित्रवत् भयौँ र छौँ । हामीलाई राजनीतिक धारले विभक्त बनाएको छैन । अहिले भेट हुँदा उस्तै हुन्छौँ हामी । 

मेची कलेजमा पढाई सकिन साथ लोकसेवामा स्थायी प्रावि शिक्षकमा पास गरेँ । अहिलेको काँकडभिट्टा नगरपालिकाको नक्कलबन्दा स्थित स्कुलमा दुई वर्ष काम गरे । एकान्त ठाउँ उराठ लाग्दो थियो  काँकडभिट्टा, नकलबन्दा  बोडर भएको कारण चार बजेपछि कोही मान्छे सुरक्षाको कारण प्राय हिंडदैनथे । स्यालको कि भैँसी चोरको रझाईँ प्रारम्भ हुन्थ्यो । भन्सारमा एक सब-इन्स्पेक्टर हाकिम थिए । प्रिय शिक्षक साथीहरू थिए– दिलीप अधिकारी, तुलसा, भुवन, पुष्पराज गड्तौला । तर मैले जागिर छोडेर काठमाडौँको सपनामा हिँडेपछि प्रिय साथीहरूलाई आजतक भेट हुन सकेको छैन । आशा छ कुनै दिन भेट होला कि ! 

यसरी विभिन्न जीवनको मोडमा बाटो खोज्दै काठमाडौँ छिरेपछि यो सहरमा लगातार बस्दै आएको छु । गाउँबाट झापा झरे,सहर पसेँ अझ ठुलो आकाश खोज्न कता जान्छु थाहा छैन । अथवा यहीँ मेरो कसरी अन्त्य हुन्छ थाहा छैन ।महत्त्वाकाङ्क्षी छु । समयले अझ कस्तो सङ्घर्षतर्फ धकेल्छ । थाहा छैन । जीवन त एउटा बाँच्ने यात्रा न रहेछ ।

काठमाडौँले मलाई बोक्न सक्ने उपहार दियो । त्यो सफलता मेरो गाउँमा सम्भव थिएन । २०३६ सालमा जनमत सङ्ग्रह भयो । जुल्फिकर अलि भुट्टोको कारणले । म भक्तपुर नगर विकास समितिमा नासु थिएँ । नगदेशमा सहायक मतदान अधिकृत भएर खटिएको थिएँ । केही हूल आएर आतङ्क गरेपछि हामी भागेका थियौँ ।  अन्तिममा डराउँदै दुई घण्टा समय थपेर निर्वाचन सकेका थियौँ ।  देशमा यो एक ऐतिहासिक निर्वाचन थियो । पञ्चायतको  पक्षमा चौबीस लाख र बहुदलको पक्षमा बिस लाख मत परेको थियो ।  यो घटना पनि जीवनमा नबिर्सने याद छ । गणेशमान र बिपीले राजालाई प्रजातन्त्रमा जित हार हुन्छ । तर राजाले सूर्य बहादुरलाई प्रधानमन्त्री बनाएर हामीलाई हराए। तर यो अबको समयमा ठिक उल्टो हुन्छ भनेर टुँडिखेलमा भाषण गरेका थिए । वास्तवमा त्यस्तै भयो ।

समयले मान्छेलाई अनेक मौका दिन्छ । माओवादीको जनयुद्ध क्रान्तिले देशको सामाजिक संरचना बद्लियो । निक्कै त्रास र आस उत्पन्न गरायो । म घर धनी थिएँ । उनीहरू डेरामा बस्थे जनयुद्धका टप एक नेता कमरेड सिपी गजुरेलका परिवारहरू । उनका परिवारहरूलाई सरकारले केही गरे,दुवै पक्षबाट मेरो ज्यान जान सक्थ्यो । उनीहरू मेरोमा बसेको मेरा एक प्रहरी नातेदारलाई थाहा रहेछ । यो रिपोर्टिङ नगर्नु होला भनेँ  । 

काठमाडौँमा घर धनीहरूलाई भाडामा बस्नेको नागरिकतासहित तीन पुस्ते पेस गर्नु भन्ने खबर आयो । म डरले थरर काँपेको थिएँ । झन् चेन्नईमा उनी समातिए पछि निकै असामान्य जस्तो भएको थिएँ । २०६३ को संविधान सभाको चुनाव सकेर पनि देशको राजनीतिक क्रान्ति कुन मोडतर्फ जान्छ अनिश्चित थियो । तसर्थ मैले उनका परिवारहरू मेरोमा बसेका छन् भन्न हिच्किच्याई रहन्थेँ  । मलाई सिपी गजुरेल दाइले केन्द्रमा सम्बन्ध स्थापित गराउनु भएको थियो । पछि मैले मेरो जिल्लाका माओवादी कमरेडहरूसँग भेट गर्ने आशय राखेपछि भेट गराउनु भयो । एक गौरवशाली पार्टीको सदस्य हुनु भनेको गौरवको बात हो । जसको क्रान्तिले परम्परावादी चिन्तनमा केही आंशिक परिवर्तन ल्यायो ।

मलाई खोटाङ प्रशासनबाट खबर आयो । तपाईँको चिप्रिङ घरमा माओवादीको सेल्टर छ रे ! दोहोरो फायेरिङमा घटना घट्ला कि मलाई डर लाग्यो । आमा त्यही समयमा सिकिस्त बिरामी हुनु भयो । बहिनी घर गएर आमा बुबालाई हेलिबाट काठमाडौँ ल्याइन । त्यसपछि आमा भने फर्केर घर जानु भएन  ।

पहिलो संविधान सभाको चुनावमा एक महिना अगाडि घर गएँ । क्याम्पस एक महिना बन्द थियो । मलाई थामखर्क एयरपोर्टमा साथीहरूले  भोट कसको पक्षमा  होला ? भनेर जिज्ञासा राख्दा–जसको नाराले संविधान सभाको चुनाव हुँदै छ । उसैले जित्ने अधिकार राख्ला मात्र भनेको थिएँ । समय कसरी  बद्लन्छ भन्न सकिन्न रहेछ । यो बखत हाम्रो देशको साँचो हामीसँग छैन । पराधीन बाँचेका छौँ । गणतन्त्र समावेशी, समानुपातिक, धर्मनिरपेक्ष जस्ता मौलिक कुराका विरोधीहरू अहिले त्यो राजनीतिक क्रान्तिको मिठो फल चाखेर अहिले सत्ता सञ्चालन गर्दै छ । मधेस, आदिवासी, दलितको राष्ट्रिय मुद्दा थाती छन् । समानुपातिकमा छिरेर उनीहरू नै प्रशासन र राजनीतिक शक्तिमा आसीन छन् । वर्तमान राष्ट्रपति समानुपातिक सिटबाट आएकी होइन र ?  प्रा.चैतन्य मिश्र भन्छन् –भावनात्मक एकीकरण बाँकी देखिन्छ । पृथ्वीनारायणले भौगोलिक रुपमा मात्र गरे । 

वास्तवमा कुनै पनि देशमा शक्तिशालीले शक्तिहीन देशमा लुट्ने काम गर्थे । त्यस्तै गोरखा दरबारको तल्लो चौतारामा लुटेर ल्याएको समान बोक्न माथि दरबारबाट जान्थे । लुट्दा लुट्दै पछि पृथ्वी नारायण शाहलाई राजनीतिक आकाङ्क्षा थपिएको देखिन्छ भनेर त्यही चौतारामा बस्ने एक वृद्ध श्रेष्ठ थरका व्यक्तिले मलाई बताएका थिए । उनी हाम्रो चिसापानीमा कृषि विकास बैङ्क खोल्न जानु भएको पनि रहेछ ।  

यो गीतको कथा प्रारम्भ भएको विन्दुबाट निक्कै टाढा आज पुगिसके । यो लेखिरहँदा देशमा राजनीतिक खैलाबैला चर्किरहेछ ।

फेरि विश्वासको मत सरकारले प्राप्त गर्न असमर्थ भए पनि प्रधानमन्त्रीमा केपी नियुक्त भएका छन् । १८ पल्ट सरकार हेरफेर गरेका छन् । स्थिर सरकार यही हो भन्छन् । असंवैधानिक सरकार सबैले भन्छन् । विदेशी इसारामा चलेको छ भन्छन् पार्टीहरूले । हामीले देख्दा पनि कानुन छैन । सबै पार्टीहरू फुटाउन सफल भएका छन् । माओवादी पार्टीलाई र एमाले फेरि पुरानो स्थानमा धकेलेका छन् । ओली जीले आफू प्रधानमन्त्री बन्न प्रचण्डलाई राम्रो प्रयोग गरे । अलिक हुस्सु खालका प्रचण्ड रहेछन् । राती विदेशी जासुसले केपीलाई भेटेपछि यो उपद्रो गरेका हुन् । यसमा कुनै दल तथा राजनीतिक विश्लेषकहरूको भिन्न भनाइ छैन । अझ केपीको 'हेजोमोनिज्म'ले के हुने हो भन्न सकिन्न । अङ्ग्रेजीमा भनाइ छ– 'ignorance is wish'.

नेपाली कम्युनिस्टहरूको मार्क्सवाद भनेको पुँजीवादी,नोकर शाही दलहरूको जमातलाई प्रयोग गरेर सम्पन्न बन्ने देखियो । उनीलाई पहिचान विरोधी भएको आफ्नै पार्टीको महान् आरोप छ । उनले भनेका पनि थिए टिभीमा के को पहिचान ? यस्तै अवस्थामा कार्ल मार्क्सले १८८२ मा फ्रान्सको युवा सङ्गठनमा भनेका थिए 'म मार्क्सवाद होइन ,केवल मार्क्स हुँ ' ।

प्रगतिशील विचारको नजिक छु । मेरो बाजे काँग्रेसको एक योद्धा भएर राणा विरोधी भएको कारण उदयपुर जेलमा थुनिनु भएको थियो । जेलबाट मुक्त भएको केही समयपछि २००७ सालमा बित्नु भएको  थियो । अरु भन्दा काँग्रेस पार्टीमा अलिक नस्लीय चिन्तन हाबी भएका करण मभित्र पछिल्लो समय त्यो पार्टीमा आकर्षण बढेन ।

सानो उमेरदेखि त्यो अत्यास लाग्दो भिर पहराको बाटो हिँडेर जीवनको यात्रा प्रारम्भ गरेको थिएँ धेरै हिँडिसकेँ लाग्छ अब हिँड्नु पर्दैन । अहिले जीवनको एक जुवा घामको साँझमा रोकिएको छु । मेरो हत्केलाबाट समय चुहिँदै छ । लाग्छ मेरो यात्रा सकिएको छ । जीवनमा धेरै खुसी प्राप्त गरे । कवि, प्राध्यापक भएँ । अझ केही राम्रा काम समाजमा गरौँ जस्तो भइरहेछु । समय थोरै छ । एक प्रकार हतारमा छु । प्रख्यात चिकित्सक सन्दुक रुइतले आफ्नो पुस्तकमा लेखेका छन्–'नि सर्त प्रेम भन्दा  बलशाली चिज जीवनमा केही छैन ।  प्रेमले मानिसलाई ठुलो आन्तरिक शक्ति पैदा गर्छ । अचाक्ली भौतिक सम्पत्तिबाट जोगिन पर्छ । जाने बेला लाने भनेको समाजप्रतिको सच्चरित्र र सत्कर्म मात्र हो' । 

कोसिस हो गर्न सकिन्छ । दोस्रो कोरोनाले बन्द भएको समयमा यो पुस्तक पडेँ । यस्तै फुर्सतको समयमा म गीत लेख्छु । मन परेको कुरा लेख्छु । जति बेला जीवनमा भोगेका रमाइला अतीतहरू बल्झेर अनायास दुख्छ । मनको सागरबाट एक अनौठो लहर उठेर मलाई डुबाउँछ । गोवामा अरबियन सागरको निलो पानी उर्ले जस्तो । यस्तै लहर उर्लेको साँझ मैले यो गीत अठचालिस वर्ष पहिले लेखेको थिएँ । सम्झन्छु अहिले पनि अरुण,कोकाहा नदीहरू उसरी नै बग्दा हुन्- अनेक यात्रीहरू त्यसरी नै सुन्दरी किरात युवतीको हातले छानेको 'वासिम' छनुवा पिएर भौँतारिँदै दूर यात्रा गर्दा हुन् !

यो मेरो गीत सुन्न इच्छुक मित्र जनहरूले युट्युबमा यहाँ क्लिक गरेर सुन्न सक्नु हुनेछ । धन्यवाद । 
 


प्रा. डा‍. विष्णु राई कवि तथा मानव शास्त्री हुनुहुन्छ ।