पृथ्वीको आधा हिस्सा ओगट्ने १० देश

पृथ्वीको आधा हिस्सा ओगट्ने १० देश

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

काठमाडौं  । हामी बसेको पृथ्वी सानो छ कि ठूलो यसको निक्र्याैल पृथ्वीको आकारभन्दा पनि हाम्रो मनस्थितिले निर्धारण गर्छ । इन्टरनेटमार्फत् एक सेकेण्डभित्रै पृथ्वीको एक कुनाबाट अर्काे कुनासम्म सन्देश पुग्ने प्रविधि प्रयोगकर्ताका लागि ठूलो भन्नु हास्यास्पद नै हुन आउँछ । तर, अर्काेतिर उच्च हिमाली भेगमा बसोबास गर्ने कुनै व्यक्तिका लागि जिल्ला सदरमुकाम पुग्न दुई–तीन दिनको समय लाग्छ । उसका लागि पृथ्वी भने अपार संसार नै हो ।

पृथ्वी जे जति छ, त्यसको झण्डै ५० प्रतिशत भाग विश्वका १० देशसँग छ । बाँकी अन्य दुई सयभन्दा बढी देशसँग छ । क्षेत्रफलका हिसाबमा विश्वका ठूला देशको सूचीमा नेपाल ९७ औं स्थानमा छ ।

क्षेत्रफलका हिसावले विश्वका १० ठूला देश

अल्जिरिया

क्षेत्रफलका हिसावले विश्वका ठूला देशमध्ये दसौं नम्बरमा पर्छ, अल्जिरिया । यसको क्षेत्रफल २०.८ लाख वर्ग किलोमिटर छ ।

कजाकस्तान

क्षेत्रफलका हिसावले कजाकस्तान नवौं नम्बरमा आउँछ । यसको क्षेत्रफल २७.२ लाख वर्ग किलोमिटर छ ।

अर्जेन्टिना

२७.८ लाख वर्ग किलोमिटर भूमि रहेको अर्जेन्टिना क्षेत्रफलका हिसावमा विश्वको आठौं ठूलो देश हो ।

भारत

भारतसँग ३२.९ लाख वर्ग किलोमिटर भूमि छ । क्षेत्रफलको आधारमा यो विश्वको सातौँ ठूलो देश हो । तर, जनसंख्यामा भने यो विश्वको दोस्रो नम्बरको देश हो ।

अस्ट्रेलिया

भारतभन्दा झण्डै अढाइ गुणा ठूलो अस्ट्रेलियासँग ७६.९ लाख वर्गकिलोमिटर भूमि छ ।

ब्राजिल

विश्वको पाँचौँ ठूलो देश हो, ब्राजिल । यसको क्षेत्रफल ८५.१ लाख वर्गकिलोमिटर छ ।

चीन

९६ लखा वर्गकिलोमिटर क्षेत्रफल रहेको चीन विश्वका ठूला देशको सूचीमा चौथो नम्बरमा छ । जनसंख्यामा भने यो विश्वको एक नम्बरको देश हो ।

अमेरिका

अधिकांश कुरामा विश्वको नम्बर एक देश भए पनि अमेरिका क्षेत्रफलमा भने विश्वको तेस्रो नम्बरमा पर्छ । यसको क्षेत्रफल ९६.३ लाख वर्ग किलोमिटर छ ।

क्यानडा

क्षेत्रफलको आधारमा विश्वको दोस्रो नम्बरमा पर्छ, क्यानडा । क्यानडासँग ९९.८ लाख वर्गकिलोमिटर भूमि छ ।

रुस

विश्वको सबैभन्दा ठूलो देश रुस हो । यसको क्षेत्रफल १.७१ करोड वर्गकिलोमिटर छ ।

यी देशसँग ७३३.८ लाख वर्गकिलोमिटर भूमि छ । पृथ्वीको सतहको कूल क्षेत्रफल ५१००७२००० वर्गकिलोमिटर छ । तर, यसमा झण्डै ७०.८ प्रतिशत समुद्री क्षेत्र रहेको छ । भूमिको क्षेत्रफल २९.२ प्रतिशत मात्रै छ । भूमिको कूल क्षेत्रफल १४८९४०००० वर्ग किलोमिटर छ । बाँकीको भूमिभन्दा झण्डै अढाइ गुणा ३६११३२००० वर्ग किलोमिटर पानीको साम्राज्य छ ।