मुख्यमन्त्री गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

मुख्यमन्त्री गुरुङ पदमुक्त, पाएनन् विश्वासको मत

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ २७, २०७८

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत प्राप्त गर्न सकेनन् । आज भएको मतदानमा उनको पक्षमा २७ र विपक्षमा ३० मत खसेको छ ।

गण्डकी प्रदेशमा जम्मा ६० सांसद छन् । मतदानमा ५८ जना सांसद उपस्थित थिए भने दीपक मनाङे अनुपस्थित थिए । राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा तटस्थ रहे । नेपाली कांग्रेसका १५ जना, नेकपा माओवादी केन्द्रका ११ जना, जनता समाजवादी पार्टीका २ जना र राष्ट्रिय जनमोर्चाका सांसदहरू पियारी थापा र खिमबिक्रम शाहीले भने विपक्षमा मतदान गरेका छन् ।

यससँगै गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । अब संविधानको धारा १६८(५) अनुसार नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ ।

प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा २९ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मत मागेका थिए ।