सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्रीलाई पनि आमन्त्रण

सभामुख सापकोटाको आह्वानमा सर्वदलीय बैठक बस्दै, प्रधानमन्त्रीलाई पनि आमन्त्रण

लोकसंवाद संवाददाता  |  लोकसंवाद  |  जेठ २८, २०७८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाको आह्वानमा शुक्रबार प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरूको बैठक बस्दैछ । प्रतिनिधि सभा विघटनपछि पूर्व सभामुख एव‌ कानुन व्यवसायीसँग चरणवद्ध छलफलमा जुट्नुभएको सभामुख सापकोटोले पूर्वप्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको हो ।

दिउँसो २ बजे संसद भवनमा रहेको ल्होत्से हलमा बोलाइएको बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दल, प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरूलाई आमन्त्रण गरिएको सभामुखको सचिवालयले जनाएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले ८ जेठमा दोस्रोपटक प्रतिनिधिसभा विघटन भएपछि सभामुख सापकोटाले पहिलोपटक दलका प्रतिनिधिहरूसँग छलफल गर्न लाग्नुभएको हो । अहिले प्रतिनिधिसभामा एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, जनमोर्चा, नेमकिपा र राप्रपाको उपस्थिति छ ।

८ जेठमा सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरी कार्तिक २६ र मङ्सिर ३ गतेको लागि चुनावको मिति तय गरेपछि सापकोटाले आगामी कदमको बारेमा परामर्श लिन यस अघि पूर्वसभामुखहरु, कानुन व्यवसायी एवं राजनीतिक दलका नेताहरुसँग छुट्टाछुट्टै भेट गर्नुभएको थियो ।