नन्दा चन्दको स्वरोजगारीको कथा: यसरी भए बीसवटादेखि पाँच हजार कुखुरा !

नन्दा चन्दको स्वरोजगारीको कथा: यसरी भए बीसवटादेखि पाँच हजार कुखुरा !

लोकसंवाद संवाददाता  |  कारोबार  |  जेठ २८, २०७८

 म नन्दा चन्द । वर्ष ४२ । पुर्नवास नगरपालिका १ अंशुवर्मावस्ती कञ्चनपुर । चन्दा कृषि फर्म ।

मेरो घर कञ्चनपुर जिल्लाको दक्षिणी क्षेत्र भारतीय सीमाबाट ३ किलोमिटर उत्तरमा पर्दछ । यहाँ मेरो आफ्नै ६ कट्ठा जमिन छ र त्यसैमा बसोबास गरिरहेको छु । मेरा चार जना छोरी र २ छोरा छन् । 

आफूसँग रहेको रहेको ६ कट्ठा जमिनमा श्रीमान् श्रीमती मिलेर   जसोतसो गुजारा चलाउँदै आएका थियौँ । जब मेरो कान्छो छोरो जन्मियो, तब मेरो श्रीमानले अर्की श्रीमती बिहे गरेर भारततर्फ लाग्नु भयो । तब ६ जना छोराछोरीको पालन–पोषण शिक्षा–दीक्षाको सम्पूर्ण दायित्व मेरो काँधमा आयो । 

 सुरुमा त म र छोराछोरीको बिचल्लीमा नै पर्‍यौँ । तर विचलित भएर हुँदैन भनेर सम्हाल्न तर्फ लागेँ । खेतीपाती बाहेक घरमा २० वटा जति पनि कुखुरा चाहिँ पालेको थिए । पहिले देखिनै म गाउँकै जगदिया कृषि बहुउद्देश्यीय सहकारी संस्था अन्तर्गतको समूहमा आबद्ध थिए । समूहमा पटक पटकका छलफलमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सुलभ कर्जा दिने गरेको विषयमा जानकारी थियो । मैले अब कर्जा नै लिएर भए पनि केही न केही गर्ने आँट गरेँ । 

समूहमा गएर आफूले कुखुरा पालन व्यवसाय गर्ने निर्णय गरेको र त्यसको लागि कर्जा उपलब्ध गराउन माग गरेँ । समूहले भनेपछि जगदिया कृषि बहुउद्देश्यीय सहकारी संस्थाले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सुलभ कर्जा अन्तर्गत एक लाख पचास हजार कर्जा उपलब्ध गराउने निर्णय गर्‍यो । सोही  रकम लिई  कुखुरा पालन व्यवसायको चन्दा कृषि फर्म शुरुवात गरेँ ।

कर्जा पाउनसाथ कुखुरा पाल्नको लागि खोर बनाइ सात सय चल्ला हाले । यसबाट मलाई  निकै राम्रो आम्दानी भयो । कतिसम्म भयो भने आफू र छोराछोरी मिलेर दश कट्ठा जमिन बन्दकीमा लिएर राम्रो तरकारी खेती गरी राम्रो आय आर्जन सफल भयौ ।  अहिले बन्धकी छोडेर आफ्नै जमिन एउटा खोरको पहिलो तलामा १५ सय र दोस्रो सय १५ सय गरी ३ हजार र २ वटा एक एक तले खोरामा ७,७ सय गरी १४ सय कुखुरा पालेकी छ । अहिले ४४ सय कुखुरा हुर्किरहेका छन् । कहिले काहीँ यो सङ्ख्या पाँच हजारसम्म पुग्छ । किनभने चन्दा कृषि फर्मसँग अहिले पाँच हजार कुखुरा पाल्ने मात्र क्षमता छ । 

यसको अलावा मुख्य त कुखुरा पालन व्यवसाय नै हो छु । यसको अलावा बुङ्गुर र तरकारी खेती पनि गरिरहेको छु । 

यही व्यवसायबाट परिवारको पालन–पोषण शिक्षा–दीक्षाको आवश्यकता पूर्ति भइरहेको छ । दुई छोरीलाई कक्षा १२ सम्मको अध्ययन गराई विवाह गरिसकेको छु । अन्य ४ जना छोराछोरी पढी रहेका छन् ।

 मुख्य त कुखुरा, बुङ्गुर र तरकारी खेती सबै गरी करिब १३ लाख कमाइ हुने गरेको छ । घर खर्च कटाए पनि ५देखि ६ लाखसम्म बचत हुने गरेको छ । यही आम्दानीबाट नै २ वटी छोरीको बिहा गर्न सफल भएकी छु । नियमित होइन कहिले काहीँ ज्यालादारीमा मानिस समेत राख्ने गरेको छु । नत्र आफूलाई छोरीले नै सघाउने गरेका छन् ।