बाटो

बाटो

जुनू राना  |  साहित्य  |  जेठ २८, २०७८

म छुटेँ वा अलग भएँ कि 
आफ्नै प्राणसँग 
म आएको बाटोले 
मलाई नै छोडेर गयो 
हेर्दाहेर्दै उसले भुइँ छोड्यो ।

हराउँदै गयो बाटो
बादलको घुम्टोभित्र कतै लुक्यो ।
मैले भुइँबाट हेरिरहेँ
लाचार विवश
र आफैँलाई दाजेँ आफूलाई 
पखेटा काटिएको पन्छीसँग !

ए बाटो !
यो मेरो अन्तिम इच्छा 
मलाई तिमीसँगै जानु छ 
धर्ती छोड्नु छ 
बादलको घुम्टोभित्रको यात्रामा 
र पुग्नु छ 
मलाई क्षितिजपारिको देशमा ।

– हालः हङकङ