बैङ्किङ कसुर

बैङ्किङ कसुर

सुरेश याक्सो  |  साहित्य  |  जेठ २८, २०७८

जब–जब म निजी बैँक छिर्थें, त्यहाँका सुन्दर दृश्यले मनै उसै–उसै लोभ्याउँथ्यो । चिल्ला भुँइ । सफा भित्ताहरू । महँगा सोफा । एयर कन्डिसन । अत्याधुनिक मेसिनहरूको प्रयोग । आकर्षक कोट, पाइन्ट र साडीमा सजिएका स्मार्ट कर्मचारीहरू । फटाफट काम गरिरहेका । मुस्कानसहितको सेवा प्रवाह गरिरहेका । लाग्थ्यो–म विदेशको कुनै सपिङ मलमा छु । अनि कल्पना गर्थेँ- ‘यस्तो ठाउँमा काम गर्न पाए कति भाग्यमानी हुन्थेँ हुँला ।'

व्यवस्थापन विषय लिएर स्नातक पढ्न थालेखि नै बैँकमा जागिर खाने रहर उधुम लाग्न लाग्न थालेको थियो । आकर्षक तलब पाइने । स्मार्ट भएर बस्नुपर्ने । बैँकमा जागिर पाए त !  बैँकमा जागिर खाने एक सूत्रीय रहर वैशाखे चिउला पालिएझैँ पाउलिन थालेको थियो । तर कसरी खाने बैँकमा जागिर ? चिनेजानेको कोही छैन । सोर्सफोर्स लगाउने कुनै माध्यम छैन । कहिलेकाहीँ त सम्झेर ल्याउँदा मन त्यसै–त्यसै ओइलाउन खोज्थ्यो । तर जसरी पनि खानै थियो बैँकमा जागिर ।  कसरी खाने होला बैँकमा जागिर ? राति सपनासमेत बैँकको जागिरमै केन्द्रित हुन थालेको थियो । बैँकमा जागिर पाइने उपायहरूको खोजीमा मन डुल्न थालेको थियो । नभन्दै एक दिन पत्रिकामा नबिल बैँकमा कर्मचारी आवश्यकताको विज्ञापन देखेर म फुरुङ्ग भयो । खुसीले भुइँमा खुट्टै टेकिएन भन्दा नि हुन्छ । टुप्पी कसेर पढेर परीक्षा दिएँ ।  व्यग्र भएर प्रतीक्षा गर्दागर्दै एक दिन नतिजा आयो । म पास भएछु । अर्थात् मैले बैँकमा जागिर पाउने भएँ । मेरो सपना पूरा हुने भयो । मेरो खुसीको त्यो पल शब्दमा व्यक्त गर्नै सक्दिनँ । मानौँ, मैले ठुलै युद्ध जितेँ । नियुक्तिपत्र बुझेको दिन रातभर खुसीले निदाउनै सकिनँ ।

अफिसको पहिलो दिन ।  ढोकाबाट छिर्दा नै सबै कुरा आकर्षक देखिएका थिए । कोठाहरू मिलाएर सजाइएका लाग्यो–अब यही नै मेरो दुनियाँ हो ।  यही नै मेरो भविष्य हो । सही ठाउँमा आएँ भनेर भित्रभित्रै मन औधि रमाएको थियो । म फुरुङ्ग भएको थिएँ ।

केहीबेरपछि म्यानेजरले टेलरहेड मिसलाई सबैसँग परिचय गराउन भने । ती मिसको नाम नलिना रहेछ । परिचयपछि मेरो काम रिसेप्सनबाट सुरु भयो । फोनमा कसरी बोल्ने ? ग्राहकसँग कसरी कुरा गर्ने ? नयाँ खाता खोल्दा फर्म कसरी भर्ने ? खाताका प्रकारहरू । ब्याज । नयाँ स्किम, प्रोमोसनहरूबारे थाहा पाएँ । कम्प्युटरमा कसरी काम गर्ने ? चेक कसरी प्रिन्ट गर्ने ? कति प्रिन्ट गर्ने ? लगायतका विभिन्न टेक्निकल कुरा र नियमहरू सिकेँ । खासमा म क्यासियर पदमा नियुक्त भएको थिएँ । तथापि  रिसेप्सनको काम पनि जानिराख्दा आफ्नो काममा थप सहयोग हुँदो रहेछ ।

अर्को दिनबाट भित्र टेलरको काम सिक्न थाथेँ टेलरमा डिपोजिट गरिएका नोटहरूको ड्गुर हुन्थ्यो । ती एकै खालका नोटलाई सयओटाको एउटा बन्डल बनाई संस्थाको नाम भएको ट्याग लगाएर स्टिच हान्नु पदृथ्यो । त्यति धेरै नोटको थुप्रो जीवनमा कहिल्यै देखेको थिइनँ । सुरुसुरुमा नोट गन्दै गर्दा अगाडिको नोटको थुप्रो देखेर मुसुमुसु हाँस उठ्थ्यो । सानो डब्बाभित्र भिजेको कपडा छुँदै नोट गन्नु पर्दथ्यो । नोटमा भएको धुलो हातको बुढी औँला र चोर औँलामा मयल भएर टाँसिन्थ्यो । पहिले नोट गन्दा बुढीऔँलाले जिब्रोको थुक लाउँदै गन्ने बानी थियो । घरिघरि झुक्किएर त्यसै गर्थें । धन्न साथीहरू आआफ्नै काममा व्यस्त हुन्थे र देख्दैन थिए । नत्र मलाई जिस्क्याउँथे । गार्ड दाई आएर ओपन प्लेटलाई फर्काएर क्लोज प्लेट मतिर फर्केपछि दैनिकी सुरु हुन्थ्यो । 

क्यासियरको काम जोखिमपूर्ण हुन्छ नै । एकदम चनाखो हुनुपर्ने । दिनमा आलस्य र अल्छी लाग्न सक्छ भनेर म जहिल्यै नुहाउने गर्थें । जाडोमा पुरै शरीर नुहाउन नसके पनि टाउको अनिवार्य धुन्थेँ काममा स्फूर्ति नभए गल्ती हुने सम्भावना रहन्छ । सानोभन्दा सानो गल्तीले ठुलो घटना घट्न सक्छ । कहिलेकाहीँ दिमागले कामै गर्दैन । दश हजारलाई झुक्किएर एक लाख देखिन्छ । पचासहजारको बन्डल दिँदा झुक्किएर एक लाखको बन्डल दिन सक्ने सम्भावना हुन्छ । यस्ता घटनाहरू बैँकमा अक्सर घटिरहन्छन् । संस्थाको बदनाम हुन्छ भनेर अधिकांश केसहरू भित्रभित्रै मिलाइन्छ । कति ग्राहक त जानीजानी झुक्काएर पैसा लाने नियतले पनि आएका हुन्छन् । गल्ती गरेर हर्जाना भर्नु परे घरखेत राखेर भए पनि तिर्नुपर्छ भनेर हामीलाई जिम्मेवार बनाइएको हुन्थ्यो । त्यसअर्थमा पनि चनाखो बन्नु पर्ने हुन्छ ।

एक दिन । खाजा खान जान लागेको थिएँ,  फोनको घन्टी बज्यो । ग्राहकहरूको लाइन कम थियो । उठाएँ । मैले ‘हेल्लो’ भन्न नपाउँदै उताबाट ‘खाजा खानु भो ?’ 

अगाडि रिसेप्सनबाट प्रमिला मिसले सोध्नुभयो । मैले, ‘छैन, किन मिस ?’ भनेर सोधेँ । ‘एक्कै छिन् धैर्य गर्नु है त’ भनेर मिसले फोन राख्नुभयो ।

दुई जनालाई भुक्तानी गरेपछि, ‘सर ! खाजा खानु भयो’ मुसुक्क हाँस्दै सन्ध्याले सोधिन् । सोधेको होइन बोलाएको होला । चेकमा पेइडको छाप र सही गर्दै, ‘हजुर’ भनेर टाउको हल्लाएँ। लजाएँ क्यार, नखाए पनि यस्सै हजुर भनिदिएछु । 

सन्ध्या मार्केटिङ एजेन्सी काम गर्थिन् । दिनमा दुईतीन पटकसम्म चेक लिएर आउने काम पर्‍थ्यो । जहिल्यै मुसुक्क हाँसेर बोल्थिन् । चेक थमाउँदै भन्थिन्‘सर ! खाजा खानु भो ।’ रिसेप्सनबाट प्रमिला मिसले याद गरिरहनु भएको रहेछ । उनी आउने बित्तिकै फोन घुमाइहाल्नु हुन्थ्यो । जिस्काउन थालेपछि झन् बढी याद गरिँदोरहेछ । 

साधारण थिइन् उनी । धेरै राम्री पनि होइन । बिचमा सिउँदो फारेर कपाललाई रबरबेन्डले पछाडि टिपिक्क कसेर खुला छाड्थिन् । नाक लामो पनि होइन, ठिक्कको । पूरापुर फोटोजेनिक फेस । शरीर इनर्जीले भरिएर मुस्कुराइरहन सक्ने, बोलिरहन सक्ने । म भने कम बोल्ने । सायद यही नमिल्दो सम्बन्धले नै मैले अलि बढी याद गरेको हो कि ? मेरो लागि त उनी सय प्रतिशत ठिक थिइन् । के थाहा म उनको लागि सयप्रतिशत ठिक नहुन पनि सक्छु !

मबाट  सन्ध्यालाई थोरै छुट हुन्थ्यो । चेकमा अलिअलि केरमेट हुँदा पनि । सही अलिअलि तलमाथि हुँदा पनि । सायद यो कुरा चेक धेरैतिर कुदाउने उनलाई थाहा हुनुपर्छ । कसरी हुन्छ खाली हात नफर्काउन परे हुन्थ्यो जस्तो लाग्थ्यो मलाई । 

अपराधमा हाम्रो कुनै संलग्नता थिएन । दोषीले हाम्रो नाम लिने कुरा पनि भएन । फसाउन चाहेको भए हामीलाई अप्ठेरो पार्न भने सक्थ्यो । जेल जाने, जागीर जाने लगायत हामी बदनाम् हुन सक्थ्यौँ तर उनीहरूले आफ्नो अपराध स्वीकार गरिसकेको हुनाले प्रहरीले सोधपुछ खासै गरेन । चेकको भुक्तानी हामी दुई जनाले गरे पनि एक जना उपस्थित भए हुने भयो ।

साधारणतया हामीले चेकमा पाँच कुरामा ध्यान दिनु पर्दथ्यो । चेकमा लेखिएको मिति । आजको मिति वा एक महिनाअघिसम्मको भुक्तानी हुने मिति ।नाम । संस्थाको हो भने छाप हुनुपर्ने । रुपैयाँ लेख्दा अक्षर र अङ्कमा लेखिएको मिलेको र नमिलेको हेर्ने । सही । कम्प्युटरमा रेकर्ड गरिएको सहीसँग चेकमा भएको सही मिलेको र नमिलेको दाँज्ने । र, चेकको पछाडि सही गराएर मात्र भुक्तानी गर्ने । 

एकदिन सन्ध्याले ल्याएको चेकमा अङ्कमा रहेको रु. ५ हजारलाई काटेर रु ५० हजार बनाइएको रहेछ । त्यहाँ कुनै सही गरिएको थिएन । अक्षरमा भने पचास हजार नै लेखिएको थियो । मतलब खातावालाले सही गर्न मात्र भुलेछ भन्ने नै हो । तर यो भुक्तानी गर्न  खतरा हुन सक्थ्यो । काटेको ठाउँमा सही छैन रहेछ भनेर उनलाई जानकारी गराएँ । चेक लिएर घोत्लिइन् । मुहार न्यास्रो बनाउँदै नाक खुम्च्याइन् । सायद उनलाई पहिल्यै लागेको थियो यो चेकको भुक्तानी हुँदैन भनेर । बिस्तारै भनिन्, ‘शङ्का त लाग्दै थियो । ठिकै छ न म पछि आउँछु’ भनेर बाहिर जान लागिन् । 

हिँड्नै लागेकी उनलाई, ‘एकैछिन है’ भनेर खातावालाको स्टेटमेन्ट खोलेँ । त्यहाँ भएको मोबाइल फोन नम्बरमा डायल गरेँ । चेकमा अङ्क काटेको ठाउँमा सही नभएको जानकारी गराएँ । ऊ हतारमा थियो जस्तो लाग्थ्यो ।।  अरु बोलेको आवाज पनि सुनिन्थ्यो । ‘ला ! सर, मलाई दशा लागेछ ।  अब भुँडे साउले मार्ने पर्‍यो ।  सर, त्यो कसै गरी पेमेन्ट गर्न मिल्दैन ?’ भनेर आत्तिँदै सोध्यो ।

‘ठिकै छ । भरै आएर साइन् गर्नू है त’ भनेर  चेकको भुक्तानी गरिदिएँ ।

सन्ध्या एकदमै हर्षित भइन् । मुहार एकाएक उज्यालियो । फनक्क घुमेर नाचुम्ला झैँ गरिन् । सानो सहयोगले उनी यति धेरै खुसी हुन्छिन् जस्तो लागेको थिएन । पाएको पचास हजारको बन्डल झोलामा राख्दै भनिन्, ‘तपाईंलाई एक्दमै धन्यवाद । मैले त आसैमारेको । ओहो ! काँदेखि जाममा पर्दै आको । कुनै दिन तपाईंको पनि काम लाग्न पाएँ धन्य हुनेछु’ भन्दै बाहिर निस्किन् । 

बैँकमा खालखालका ग्राहक आउने गर्छन् । ‘कस्टुमर इज अल्वेज राइट’, ‘कस्टुमर इज गड’ भनेर तालिम दिइएको हुन्छ । ग्राहक जति नै गलत भए पनि उनीहरूसँग हाँसेरै बोल्नुपर्ने । कोही ग्राहक दस रुपैयाँ मिलेन भने झगडा गर्छन् भने कोही दुई चार हजार वास्ता नगर्ने पनि भेटिन्छन् । बैँकमा काम नगरुञ्जेल मान्छेहरूसँग खासै पैसा छैन होला भन्ने लाग्थ्यो तर काम गर्न थालेपछि पो थाहा भयो, ओहो ! मान्छेहरूसँग कति धेरै पैसा ? जम्मा भएका रकम देखेर अचम्म पर्थेँ ।

एक दिन शुक्रबार । बेलुकी ६ बज्न लागेको थियो । शुक्रबार सधैँभन्दा अलि चाँडो अर्थात् ३ बजे नै बन्द हुन्छ । ५ बजेदेखि फेरि ६ बजेसम्म सन्ध्याकालीन सेवा खोलिएको थियो । डिपोजिट भने ७ बजेसम्मका लागि खुला थियो । त्यत्तिकैमा एकजना ग्राहक अफिस नै थर्किने गरी ठुलो आवाजमा कराउँदै, ‘तपाईंहरूको के ताल हो ? सिग्नेचर नमिली चेकको पेमेन्ट गरिदिने’ भन्दै अफिस भित्र छिर्‍यो । उसले त्यसो भन्ने बित्तिकै मनमा चिसो पस्यो । छेऊमा शिव थियो । ऊ पनि डरायो ।

साथीले आत्तिँदै, ‘के भयो सर’ भनेर सोध्यो ।

‘तपाईंहरले सिग्नेचर नमिली दोवटा चेकको पेमेन्ट गरिदिनु भएछ । अलि रामरोसँग हेर्नुपर्दैन’ भन्दै तात्तिँदै बोल्यो ।

ग्राहकको नाम सोधेँ राजेशकुमार अग्रवाल रहेछ । हामी मारवाडी भनेर चिन्थ्यौँ । मान्छे देखेको थिइनँ तर चेक आई नै रहन्थ्यो । कम्प्युटरमा नाम टाइप गरेँ बचत खाता र मुद्धती खाता दुबै खोलेको रहेछ । बचत खातामा क्लिक गरेपछि उसको स्टेटमेन्ट हेरेँ । खातामा थुप्रै रकम अझै जम्मा थियो ।

दुई दिनअघि बुधबार तीन लाख ७५ हजार निकालिएको रहेछ । अर्को चेक दिउँसो फेरि चार लाख २५ हजार झिकिएछ । जम्मा आठ लाख दुई पटकमा निकालिएको देखियो । चेकको मितिअनुसार फाइल गरेर राखिएको हुन्थ्यो । मिति हेरेर चेक खोज्न थालेँ साथी शिव र म भित्रभित्रै डराएका थियौँ फाइल खोज्दै गर्दा साथीको हात लगलग कामेको प्रस्ट देखिन्थ्यो । मलाई पनि होस उड्लाझैँ भयो । सम्हालिँदै चेक खोज्न थालेँ।

पुरानो चेक फाइल गरेर राखिसकिएको थियो । दिउँसो लगेको चेकको फाइल गर्न बाँकी थियो । दुइटै चेक निकालेर हेर्‍यौँ । पहिले निकालिएको चेकको पछाडि बुझिलिनेको बाइक लाइसेन्सको फोटोकपी स्टिच गरेर राखिएको थियो । नाम सानुकाजी रहेछ । त्यो चेकको पेमेन्ट मैले नै गरेको रहेछु । दोस्रो चेकमा नाम र फोन नम्बर मात्र लेखिएको थियो । चेकमा लेखिएको सही हेर्दा नलिना मिसले दिएको देखियो ।

साथी शिवले भुक्तानी नगरेको देखिएपछि ऊ अलि ढुक्क भयो । सम्हालिँदै चेकमा गरेको सही र कम्प्युटरमा भएको सही दाँज्यौँ । उस्तै देखियो । मारवाडीलाई सोही कुरा भन्यौँ। ऊ सही मिल्दै मिलेन भनेर अड्डी कस्यो । केहीबेरपछि दोषीहरू पक्राउ परिसक्यो भनेपछि राहतको महसुस भयो । उसलाई भोलि आएर म्यानेजरसँग कुरा गर्नुस् भनेर पठायौँ ।
‘सर नआत्तिनुस् मान्छे समातिसकेको छ’ भन्दै शिवले मलाई ढाडस दियो । तर पनि मन कहाँ मान्थ्यो र ! 

मास्टर प्लान बनाएर पैसा झिकिएको रहेछ । झिक्ने मारवाडीकै  स्टाफ सानुकाजी रहेछ । उसले दुबइको भिसा लागेपछि जागीर छाडेको रहेछ ।  छाड्नुअघि चेकबुकको बिचबाट दुइटा चेक निकालेछ । चेकसँगै अर्धकट्टि पनि निकाल्यो । त्यसो गर्दा चेक  हराएको थाहा पाउन गाह्रो हुन्छ । प्राथमिक कक्षामा पढ्ने विद्यार्थीले लेखेजस्तो गरी चेकमा दुई पटक राजेश–राजेश भनेर सही गरेको हुन्थ्यो । सही चोर्न खासै गाह्रो थिएन । त्यसमाथि सानुकाजीले पटक–पटक चेक लिएर आउँथ्यो । शनिबार दुबइको उडान रहेछ । बुधबार ऊ आफैँ आयो । बिहीबार सार्वजनिक बिदा थियो । शुक्रबार एकजना महिलालाई पठाएछ रकम निकाल्नलाई । यदि ऊ शुक्रबार पक्राऊ नपरी शनिबार उडेको भए हामी र संस्थालाई अप्ठेरो पर्ने निश्चित थियो ।

शुक्रबार बिहान पैसा झिकेपछि ती महिलालाई डर लागेछ क्यार ! सानुकाजीले केही रकम दिन्छु भनेर प्रलोभन देखाएको पनि हुनसक्छ ।  चेक पछाडि महिलाको नाम र फोन नम्बर लेखिएको थियो । सायद त्यो दिन लोड सेडिङ भएको हुनुपर्छ । अक्सर लोडसेडिङमा नाम र फोन नम्बर लेख्न लगाएर भुक्तानी गर्‍यौँ । हामीसँग सीसीटीभी पनि भएकोले ती महिला ढिलो चाँडो पक्राउ पर्ने निश्चित नै थियो ।

ती महिलालाई लाग्यो होला मुख्य योजनाकार सानुकाजी त भोलि दुबइ गइहाल्छ । फस्ने मै हुँ । जेसुकै होस् भनेर प्रहरीलाई फोन गरेको हुनुपर्छ । घटनाबारे प्रहरीले नै मारवाडीलाई जानकारी गराएछ । त्यसपछि सानुकाजीको घरमा छापा मारिएछ । जम्मा आठ लाख झिकेकोमा दुई लाख मात्र बरामद भएछ । चार लाख अर्को बैँकको ऋण तिरेछ । बाँकी दुई लाख खर्च गरिसके छ ।

प्रहरीले दुवै जनालाई पक्राऊ गर्‍यो । सानुकाजीले सबै फिर्ता गर्छु तर महिलालाई छोडिदिनु भनेर अनुनय गरेपछि कागज गराएर महिलालाई छाडिएछ । दिउँसो त्यत्रो घटना हुँदासमेत हामीलाई कुनै जानकारी थिएन । दोषी पक्राऊ परेपछि मारवाडी बेलुका हाम्रो अफिसमा सही मिलेन भन्दै आएको रहेछ ।

आइतबार बिहान ११ बजेतिर कालिमाटी प्रहरी चौकीबाट फोन आयो । म काममा व्यस्त थिएँ । एकछिन प्रहरी चौकी आउनु पर्‍यो भनेर गरेको रहेछ । चौकी अफिस नजिकै छ । साथी शिवलाई काम सबै जिम्मा लाएर निस्केँ। जीवनमा कहिल्यै प्रहरी चौकी जानु परेको थिएन । गल्ती नगरे पनि केही पो हुने हो कि भनेर मनमा डर पसिरह्यो । प्रहरी हवल्दारले रिपोर्ट तयार गर्दैरहेछ । मलाई एकछिन कुर्न भने ।

प्रहरी निरीक्षक पनि नजिकै थिए । उनी आफ्नै काम व्यस्त भए पनि म आउनुको कारण हवल्दारलाई सोधे । उसले ‘त्यै माडेको पैसा झिकेको  केसमा आउनु भा’हो ? चेक चोरेर उहाँहरूकै बैँकबाट पैसा झिकेछ’ भनेर सुनायो ।

निरीक्षक छक्क पर्दै ‘ओहो ! चेक हरायो भने त बर्बाद पो हुने रैछ । बैँकलाई पनि पूरा विश्वास गर्न नहुने रहेछ’ भन्दै उनीहरू कुरान गर्न थाले । चेक चोर्दैमा 'विथ ड्र' गर्न काँ सजिलो छ र (मनमनै भनेँ)

एकछिन पछि हवल्दारले ‘तपाईंले पैसा झिक्नेहरूलाई चिन्नु हुन्छ ?’ भनेर सोध्यो ।

मैले, ‘देखेँ भने चाहिँ  चिन्छु होला’ भनेर सिधा उत्तर दिएँ ।
‘तपाईंहरूको मिलोमतो त छैन नि’ भनेर शङ्कालु पारामा सोध्यो । मैले निर्धक्क ’छैन’ भनेँ।

अपराधमा हाम्रो कुनै संलग्नता थिएन । दोषीले हाम्रो नाम लिने कुरा पनि भएन । फसाउन चाहेको भए हामीलाई अप्ठेरो पार्न भने सक्थ्यो । जेल जाने, जागीर जाने लगायत हामी बदनाम् हुन सक्थ्यौँ तर उनीहरूले आफ्नो अपराध स्वीकार गरिसकेको हुनाले प्रहरीले सोधपुछ खासै गरेन । चेकको भुक्तानी हामी दुई जनाले गरे पनि एक जना उपस्थित भए हुने भयो । झण्डै ३ घण्टा जति लाग्यो रिपोर्ट तयार गर्न ।

पर्खिँदै गर्दा एकजना प्रहरी जवानले चोर समातेर ल्यायो । चोर होचो, दुब्लो र अनुहार कालो थियो । लगाएको लुगाको स्टाइल हेर्दा गाँजा तान्ने भित्ती जस्तो देखिन्थ्यो । हवल्दारले चिन्दोरहेछ ।

‘ओहो चोरज्यू, धेरै दिनपछि पो पाल्नु भो त । माया मार्नु भयो होला पो भनेको । फेरि कसको के चोर्नु भो हँ ?’ ठट्यौली पारामा हवल्दारले सोध्यो ।

प्रहरी जवानले तनक्क हुँदै भन्यो 'साब एस्ले पान पसलेको मोबाइल चोरेर अर्कोलाई एक हजारमा बेचेछ ।’

प्रहरी निरीक्षकले 'चोरेको हो कि होइन’ भनेर सोधे ।

‘होइन साब’ भन्दै आफूलाई सम्हाल्दै ठाडो मुन्टो पार्दै चोर बोल्यो ।

उसलाई उठबस् गर्न भनियो । प्रहरी जवान अर्को कोठामा छिरेर मुठ्ठीभरको दुई हात जति लामो कालो पाइप बोकेर फर्कियो । उठबस् गर्दै गरेको चोरको तिघ्रा, फिला र चाकमा पाइप बर्साउन थाल्यो । निकै बेरसम्म चोरले होइन भन्यो । पाइप अन्धाधुन्द बर्सिरह्यो । उसको केही जोड चलेन । अन्त्यमा सबै कुरा ओकल्न बाध्य भयो । त्यसपछि जवानलाई लगेर थुन्न भनियो ।

त्यो गोरु चुटाइ देखेर छक्क परेँ । आश्चर्य मानेको देखेर होला हवल्दारले मतिर हेर्दै भन्यो ’के गर्ने सर चोरलाई कबुल गराउने योभन्दा अरु उपाए नै छैन । तरिकै यै हो ।’

पटके चोर रहेछ । त्यही भएर हवल्दारले राम्ररी चिन्दोरहेछ । 'इन्स्पेक्टर साब अब हेर्नु है एल्लाई उकास्न यस्को बुढी आउँछे । मोटी न मोटी ढोकाबाटै नछिर्ने छ’ भन्दै प्रहरी निरीक्षकलाई सुनायो । निकैबेरपछि चार–पाँच ठाउँमा सही गर्न लगाएर मलाई जान भनियो । निस्कँदै गर्दा अर्को ब्लकको जेलभित्र फलामको डन्डी छेऊमा बसेर चोरले चाउमिन मगाएर खाँदैरहेछ । त्यो दश्स्य देखेर फिस्स हाँस उठ्यो । मनमनै लाग्यो चोर त पटके नै रहेछ बा ।

हप्ता दश दिनपछि पुलिस चौकीबाट फेरि फोन आयो । पाटन अवस्थित अदालत जानुपर्ने भयो । १ बजे पुगिसक्नु पर्ने भनियो । पाटनको साझा पेट्रोल पम्पको अघिल्तिरबाट छिर्नुपर्ने रहेछ । १० मिनेट जति हिँडेपछि रिसेप्सनमा गएर आफू आउनुको कारण बताएँ । कोठा नम्बर १८ मा जानु भनियो ।  खोज्दैखोज्दै  पुगेँ अलिक चाँडो पुगेकोछु ।  बहस हुँदै रहेछ । बाहिर भित्तामा सूचना टाँसिएको थियो । त्यहाँ विभिन्न विषयका मुद्दाहरूको सुनुवाइको समय तालिका थियो । सरसर्ती हेरेँ । अन्तिमको दोस्रोमा बैँकिङ कसुर भनी लेखिएको थियो । ठिक तल वादी र प्रतिवादीको नाम पढेपछि त्यही कोठा रहेछ भनेर बाहिर राखिएको बेन्चमा पालो कुरेर बसेँ।

केहीबेरपछि एकजना वकिल आएर ’तपाईं नयाँ हो’ भनेर सोध्यो ।

मैले 'हो’ भनेर मुन्टो हल्लाएँ ।

'कति वर्ष जति भो सुरु गर्नु भा को’ भनेर सोध्यो ।

म अलमलमा परेँ । अरु नै सोध्न खोजेको हो कि जस्तो लाग्यो र भनेँ  'हैन के पो भन्नु भो ।’

'तपाईं वकिल होइन र ?’ उसले अचम्म मान्दै भन्यो ।

म हाँस्दै 'ए होइन नि । याँ सानो काम परेर आको’ भनेँ ।

'कोट देखेर वकिल पो होला भनेर सोधेको । सरी है’ भन्दै ऊ त्यहाँबाट गयो ।

म अफिस पोसाकमा थिएँ । सुट गाढा निलो भएकोले टाढाबाट कालो देखिन्थ्यो । कलिलो उमेरमै कालो कोट लगाएको देखेर होला सायद वकिल भनेर झुक्किएको ।

सोचेको थिएँ अदालत फिल्ममा जस्तो ठुलो हुन्छ । थुप्रै दर्शक हुन्छ । कठघरामा राखेर प्रश्नहरू सोधिनेछन् । तर त्यहाँ पुग्दा बिल्कुल फरक पाएँ । कुचुक्क परेको सानो कोठा १५–२० जना दर्शक अट्ने बेन्च ।

मुस्किलले एकजना अट्ने दुइटा कठघरा ।

रिपरि घेरिएको अग्लो टेबलभित्रको कुर्सीमा न्यायाधीश बसेका थिए । त्यहाँ सरकारी वकिल रसहयोग गर्ने  कर्मचारी थिए । अभियोग लागेको व्यक्ति धरौटीमा छुटिसकेको रहेछ । समय अवधिभर ऊ आउँछ कि भनेर पर्खियौँ तर आएन । बहसभएन ।

सरकारी वकिलले जहाँ भन्यो त्यहीँ–त्यहीँ सही गरेर जानु भनियो । त्यस घटनाले धेरै दिनसम्म मानसिक तनाब दिएको थियो । वकिललाई अब फेरि आउनु पर्छ कि पर्दैन भनेर सोधेँ। अब पर्दैन ढुक्क भएर जानुस् भन्यो । त्यहाँबाट निस्केपछि ठुलो झन्झटबाट मुक्त भएको जस्तो भयो । साँच्चै भन्नुपर्दा धेरै दिनपछि जेलबाट निस्के जस्तो भयो ।

अफिस आएर सिधै खाजा खान गएँ । एकछिन  फ्रेस भएर दुइटा चेक थन्क्याउनमा लागेँ । मलाई हैरान बनाएको चेकलाई एकछिन हेरेँ । पछाडि सानुकाजीको लाइसेन्सको फोटो कपी । त्यसपछि मनमनै तँलाई बाइबाइ भन्दै पुरानै फाइलमा सिरियल मिलाएर राखेँ ।

नलिना मिसले दिएको अर्को चेक पनि हेरेँ । पछाडि फर्काएँ । चेकको पछाडि नाम र फोन नम्बर लेखिएको थियो । नाम अङ्ग्रेजीमा सन्ध्या लेखिएको रहेछ । म झसङ्ग भएँ । कतै उनी उही सन्ध्या त होइनन् ? मेरो आफ्नै चेकको टेन्सनले यतातिर ध्यानै गएको रहेन छ । फोटोकपी बेगरको यो नामले मात्र कसरी चिन्नु ? न फोन नम्बर नै मागेको थिएँ । न पुरानो चेक पल्टाउन नै सक्छु । एउटा कौतुहलताबिच चेकलाई पुरानै फाइलमा मिसाएँ । 

ग्राहकले चेकमा गरेको सही हेर्ने बित्तिकै ठिक छ छैन भनेर अघि थाहा पाउँथेँ । हामीलाई चालिस सेकेन्ड जति समय लगाएर सही हेर्नुपर्छ भनेर तालिम दिइएको थियो । तर ग्राहकको भीड र उनीहरूले गरेको हतारोले व्यवहारमा लागू गर्न एकदम कठिन हुन्थ्यो । उक्त घटनापछि भने ग्राहकहरूले जति हतार गरे पनि समय लगाएर सही ठिक भए नभएको राम्ररी जाँचेर मात्र भुक्तानी गर्न थालेँ ।

केही दिनपछि फेरि राजेशकुमार अग्रवालको चेक आयो । सरसर्ति हेरेँ । पहिलाको सही र अहिले चेकमा गरेको सही फिटिक्कै मिलेन । कम्पुटरमा हेरेँ । सही परिवर्तन गरेको रहेछ । चेकमा गरेको सही र कम्प्युटरको सही मेल खायो । उक्त घटनापछि चेकमा राजेशकी श्रीमतीले सही गर्न थालेकी रहेछे । श्रीमतीको सही चोर्न भने एकदम गाह्रो थियो । त्यो देखेर म पनि ढुक्क भएँ । अबदेखि राजेश अग्रवालको खाताबाट पैसा झिकिने खतरा टर्ने भयो र आफू पनि तनाबमुक्त हुने भइयो भने सन्तोषको श्वास फेरेँ ।  

धनकुटा । हालः हङकङ