प्रा.डा.मुकेश कुमार चालिसे : विदेशले पत्याएको तर स्वदेशले नचिनेको नेपाली वैज्ञानिक

प्रा.डा.मुकेश कुमार चालिसे : विदेशले पत्याएको तर स्वदेशले नचिनेको नेपाली वैज्ञानिक

आशिष पौडेल  |  अन्तर्मन्थन  |  जेठ २९, २०७८

वन्यजन्तुको संरक्षण र संवर्द्धन गरेर त्यसलाई जनताको हितमा कसरी प्रयोग गर्न सकिन्छ भनेर वैज्ञानिक तथा व्यवहारिक आधार दिने वैज्ञानिकको नाम हो प्रा.डा. मुकेश कुमार चालिसे । उहाँले बाँदर पालन गरेर सार्स, कोरोना जस्ता भाइरसमा भ्याक्सिन बनाउन सकिने प्रस्ताव पनि सरकारलाई गर्नुभएको हो । तर, सरकारले त्यसतर्फ कुनै चासो देखाएन ।

राजनीतिमा तथा आफ्ना जिम्मेवारी प्रति सधैँ इमानदार रहनु हुने चालिसे पढाइ तथा यसबाट प्राप्त ज्ञानलाई जनताको हितमा कसरी लगाउने भन्ने विषयमा पनि उत्तिकै चिन्तित देखिनु हुन्छ ।  नेपालका वन्यजन्तुलाई जनताको आय आर्जनमा कसरी लगाउने र यसबाट अधिकतम लाभ कसरी लिने भन्ने विषयमा पनि उहाँले लेखेर, बोलेर प्रकाश पारिरहनु भएको छ । 

आफ्नो जीवनमा वैयक्तिक लाभ हानी नहेरी सधैँ आफ्नो काम र पेसाप्रति कर्तव्यनिष्ठ प्रा.डा. चालिसे साँच्चै उदाहरणीय व्यक्तित्व हुनुहुन्छ । उहाँको यस संक्षिप्त जीवनीबाट जीवनमा आइपर्ने हरेक चुनौती अनि समस्याको सामना गरेर जस्तो सुकै विषम परिस्थितिमा पनि सधैँ केही सकारात्मक काम गर्न सकिन्छ भन्ने ठुलो प्रेरणा लिन सकिन्छ ।

पारिवारिक अवस्था

उहाँको हजुरबा क्याप्टेन टिकाराम चालिसे । त्यसबेला जागिरको अवसर थोरै हुन्थ्यो । चार भञ्ज्याङ्ग भित्रका त्यसमाथि बाहुन परिवारको त झनै कम । त्यसैले उहाँको हजुरबाले घर ढाँटेर आर्मीमा जागिर खानु भएको रहेछ । निकै मेहनत गरेपछि श्री ३ महाराजको अङ्गरक्षक भएर दरबारमा बस्नु भएको रहेछ । 

उहाँको हजुरबाले भन्ने गरेको एउटा कुरा सम्झनुहुन्छ उहाँ, सकिस् भने भेगलाई नै पाल, सकिनस् भने गाउँलाई पाल किनकि आफूलाई त सबैले पाल्छ । नाम राख्ने काम गर्नुपर्छ भन्ने हजुरबाको भनाइ बुवा तथा आफूमा पनि त्यसको प्रभाव परेको उहाँको ठम्याइ छ ।

उहाँको बुवा मुकुन्द चालिसे जसको हुर्काइ, बढाई र पढाई सबै दरबारमै भयो । उहाँ ललितपुरको दक्षिणी भेगको पहिलो एसएलसी तथा पहिलो हाकिम । उहाँ कृषि अधिकृत भएर 'रिटायर्ड' हुनुभएको हो । 

जन्म तथा बाल्यकाल

उहाँको जन्म २०१३ सालमा ललितपुरको बडिखेलमा भएको हो । उहाँ सहित जम्मा तीन भाइ । उहाँ भने जेठो । त्यस बेला नेपालमा फूलमार तथा मोटरमार चुरोट पाइन्थ्यो । मोटरमारलाई फूलमार भन्दा राम्रो मानिन्थ्यो । अनि उहाँहरु फूलमार तथा मोटरमारको चुरोटको बट्टको कित्ता बनाएर खेल्नुहुन्थ्यो । दुईवटा फूलमार कित्ताको एउटा मोटरमार कित्ता आउँथ्यो । 

च्याम्पटी घुमाउने, कक फाइट, खरल्याङ खुट्टी, चिप्लेटी आदि खेल्दै बितेका हुन उहाँका बाल्यकाल । 

प्रारम्भिक शिक्षा

उहाँले अक्षर भने घरमै चिन्नुभएको हो । अङ्ग्रेजी र नेपाली उहाँलाई पाँच वर्षको उमेरमा नै धेरै आउँथ्यो । अनि उहाँलाई लगनखेलस्थित नमुना मच्छिन्द्र माविमा भर्ना गर्न लगियो । अङ्ग्रेजी तथा नेपालीमा जे मा सोधे पनि त्यसमै जवाफ दिन सक्ने देखेर त्यहाँको सरले पाँच कक्षामा भर्ना गरिदिनु भयो । 

तर, उहाँलाई हिसाब लगायत विषय भने आउँदैनथ्यो । सरले उठबस गर्न लगाउँथे । उहाँ भने रमाइलो मानेर हाँसी हाँसी उठबस गर्नुहुन्थ्यो । अनि घरमा गएर मैले आज यति पटक उठबस गरेँ भनेर गर्वका साथ भन्नुहुन्थ्यो । 

उहाँको बुवाको कृषिको अफिस लगनखेलमै थियो । एक दिन छोरो के गर्दै छ भनेर स्कुलमा हेर्न आउँदा हाँसी हाँसी उठबस गरेको देख्नुभयो । बुवालाई यसलाई मार पर्‍यो भन्ने लागेर त्यसपछि पाटनको त्रिपद्म स्कुलमा लगेर तीन कक्षामा भर्ना गरिदिनु भयो । उहाँ त्यहाँ एक वर्ष पढ्नुभयो ।

उहाँ त्यसपछि बर्दिया जानुभयो । त्यहाँ राणाको पालामा दिइएको जमिन थियो उहाँको । उहाँ बर्दियामा महाकवि देवकोटा माविमा भर्ना हुनुभयो र आठ कक्षासम्म पढ्नु भयो । उहाँको पढाइ राम्रो थियो । उहाँ दोस्रो हुनुहुन्थ्यो त्यसबेला । 

नौ कक्षा पढ्ने क्रममा एक दिन उहाँको ऐन स्रेस्ता र नागरिक शास्त्र पढ्नु भएको बुवाले देख्नुभयो । अनि बुवाले यो खरिदार, मुखिया हुने विषय हुँदैन । डाक्टर, वैज्ञानिक बन्ने विषय पढ्नुपर्छ त्यसैले अब यहाँ पढेर हुँदैन भनेर उहाँहरू सबैलाई लिएर २०२७ सालमा काठमाडौँ आउनु भयो । 

उहाँहरू चैतमा काठमाडौँ आएर ओमबहालमा डेरा लिएर बस्न थाल्नुभयो । दुई वटा कोठा थिए । भाडा भने महिनाको चालिस रुपैयाँ । बुवाले अब उहाँलाई स्कुल भर्ना गर्नुपर्‍यो भनेर आनन्दकुटी, ल्याबोरोटरी तथा विश्व निकेतन लिएर जानुभयो । तर, भर्ना कुनै स्कुलले पनि गर्न मानेनन् । 

काठमाडौँ बाहिर बाट आएको, हाफ पाइन्ट तथा चप्पल लगाएको गाउँले गाउँले जस्तो देखिएका कारण त्यसो भएको हो भन्ने उहाँको ठम्याइ छ । उहाँको घरबेटीको छोरा गणबहालस्थित नेपाल आदर्श माविमा पढ्ने रहेछन् । उहाँ त्यहाँ नौ कक्षामा भर्ना हुनुभयो र विज्ञान लिएर पढ्न थाल्नुभयो । त्यहाँ चन्द्रानन्द नेवा, हरिशंकर श्रेष्ठ सरहरुले पढाउनु हुन्थ्यो । 

पहिले आसामी भनिने बाँदरलाई उहाँले स्थानीय भाषामा भनिने पहरे बाँदर नामकरण गर्नुभयो । सिभिट क्याटको नाम नीर बिरालो, लिन साङलाई सिलु बिरालो, जुन घोडाघोडी तालमा पाइने बिटुलोङलाइ उहाँले नै पत्ता लगाउनु भएको हो जसको नाम भालु बिरालो भनेर उहाँले नै नामकरण गर्नु भएको हो । 

उहाँले पहिलो वर्ष नै विज्ञान तथा गणितमा सबैभन्दा धेरै अङ्क ल्याएर उक्त स्कुलको रेकर्ड तोड्नु भयो । त्यो अर्धवार्षिक परीक्षा थियो । वार्षिक परीक्षामा भने उहाँ प्रथम नै हुनुभयो । कक्षा दशको टेस्ट परीक्षामा उहाँ काठमाडौँ भरिमा दोस्रो हुनुभयो । उहाँलाई स्कुलले पूरा सिन्दूरे जात्रा नै गरेको थियो । उहाँको प्राप्ताङ्क छ सय एकासी थियो । त्यस बेला प्रथम हुनुभएका हालका  डा. अरुण सायमीको प्राप्ताङ्क भने छ सय एकानब्बे थियो । 

उहाँका त्यस बेलाका सहपाठीमा दुर्गालाल श्रेष्ठको छोरा अरुणलाल, पुष्करलाल श्रेष्ठ, कवि गोपाल प्रसाद रिमालका छोरा मदन रिमाल, हरिप्रसाद रिमालको छोरा अरुण रिमाल तथा ललितपुर लामाटारका माधव पौडेल आदि थिए । उहाँले २०२८/२९ सालमा एसएलसी दिनुभएको हो । उहाँले बोर्ड आउँछ भन्ने सोच्नुभएको थियो । तर, नयाँ शिक्षा र पुरानो शिक्षाको मारमा उहाँ पर्नुभयो । 

नयाँ शिक्षा लागू गर्ने नाममा पुरानो शिक्षामा पढेका उहाँहरूलाई पनि नयाँ शिक्षामा लिने जस्तो प्रश्न आयो । त्यसले यस्तो प्रश्न आउँछ भनेर गरेको तयारी भन्दा फरक पर्न गयो । जसले गर्दा उहाँ उपल्लो दोस्रो श्रेणीमा उत्तीर्ण हुनुभयो । यसले उहाँलाई भने केही निराश बनायो । 

एसएलसी पछि

एसएलसीमा आएको नम्बरले उहाँलाई विज्ञान तथा व्यवस्थापन के पढ्ने भन्ने अलमल भयो । पाटनमा व्यवस्थापनको तथा त्रिचन्द्र कलेजमा विज्ञानको प्रवेश परीक्षा दिनुभयो । नाम दुवैमा निस्कियो । पाटनमा एक नम्बरमा तथा त्रिचन्द्रमा दोस्रो नम्बरमा । दुवैमा छात्रवृत्ति पाइने । घरमा गएर उहाँले बुवालाई बताउनु भयो यो कुरो । 

बुवाले त्यसो भए विज्ञान पढ्ने भन्नुभयो । उहाँले २०३२ सालमा आइएस्सी सकाउनु भयो । करिब एक सय बिस जनामा दश जना पास भएका थिए । उहाँको सबैभन्दा अधिक प्राप्ताङ्क थियो । त्यसपछि उहाँले छात्रवृत्तिको लागि शिक्षा मन्त्रालयमा निवेदन हाल्नु भएको थियो । 

मनबोत्सु भन्ने जापानी छात्रवृत्तिमा उहाँको नाम एक नम्बरमा थियो अनि वैकल्पिकमा अर्को एक जनाको नाम थियो । उहाँलाई आइएस्सीको परीक्षा सकाएपछि छोराले राजनीति गर्ला भनेर बुवाले मधेस पठाउनु भयो । अनि यता नाम निस्किएको थाहा पाएर बुवाले तेरो नाम निस्किएको छ तु आउनु भनेर आवा गर्नुभयो । 

तर, डेढ माइल टाढा आवाले नपुर्‍याउने नियम रहेछ । उहाँको बसाइ भने करिब तीन कोष पर । अनि एक दिन शनिवारे हाट भर्न आएको बेला कृषिको हाकिमको छोरोको जापानमा डाक्टरी पढ्ने नाम निस्किएको रहेछ भन्ने हल्ला रहेछ ।

अनि उहाँले कृषिको हाकिम त बुवा नै हो भन्ने सोच्दै गर्दा एक जनाले आवा अफिस जान सल्लाह दिए । नभन्दै हो रहेछ । बुवाको तू आउनु भन्ने आवा रहेछ । उहाँ घडी बन्धकी राखेर दुई सय रुपैयाँ लिएर तीन दिन लगाएर काठमाडौँ आउनु भयो । किनकि त्यसबेला बर्दियाबाट सोझै नेपाल नआई इन्डिया भएर आउनुपर्थ्यो । 

काठमाडौँ आएर उहाँ शिक्षा मन्त्रालय गएर बुझ्नु भयो । नाम त निस्किएको हो तपाईँको तर, पन्ध्र दिन भैसकेको हुनाले म्याद गुज्रिसक्यो अनि वैकल्पिक उम्मेदवारले पाइसक्यो भन्ने जवाफ पाउनु भयो उहाँले । 

यसले उहाँलाई थप निराश बनायो । अनि कम्युनिस्टले भने जस्तो यो देशमा हामी जस्ताको केही हुँदैन रहेछ भन्ने लागेर उहाँ मधेस नै फर्कनु भयो । उहाँलाई अब पढाइमा रुचि रहेन । एक वर्ष त्यसै बित्यो । पछि बुवाले डाक्टर भनेको सामान्य स्नातक त हो, बरु वैज्ञानिक बन्नुपर्छ भन्नुभयो । उहाँलाई पनि हो भन्ने लागेर त्यसपछि फेरि काठमाडौँ आएर त्रिचन्द्रमा नै बिएस्सीमा  भर्ना हुनुभयो । 

कम्युनिस्ट तिरको झुकाव

उहाँका साथीहरू प्रणय मानन्धर अनि अरुणलाल तथा रोशनलालले त्यस बेला नै चिनियाँ गीत गाउँथे । यिनीहरूले कसरी गाए होलान् भन्ने लाग्थ्यो उहाँलाई । उहाँको बुवाले त्यस बेला चीन, रुस तथा कम्युनिस्टका बारेमा धेरै कुरा गर्नुहुन्थ्यो । अनि युरि गागरिन तथा माओत्सेतुङ जस्तो बन्नुपर्छ भनेर भन्नुहुन्थ्यो । साथीहरूको चिनियाँ गीत तथा बुवाको कुराले बेग्लै प्रभाव पारेको थियो उहाँमाथि पनि । 

उहाँको घरमा २०१८/१९ सालदेखि नै निरञ्जन गोविन्द वैद्यले सचित्र चीन तथा सोभियत भूमि भन्ने पत्रिका राति राति लेराउनु हुन्थ्यो । किन राति राति मात्र लेराएको भनेर उहाँले बुबालाई सोध्नुभयो एक दिन । सरकारले पक्डने भएर उहाँ राति राति मात्र आउनुहुन्छ । बरु तिमीहरूले पनि अरूहरूलाई नभन्नु भनेर बुवाले भन्नुहुन्थ्यो उहाँहरूलाई । 

उहाँको बुवा पनि त्यस बेला सिद्धिलाल सिंहको साथी अनि ललितपुर जिल्ला कमिटीको सचिव समेत हुनुहुँदो रहेछ । पछि भने यो सबै छोडेर जागिर खानु भएको रहेछ ।उहाँको आमा पनि केवलपुरे किसान, युद्धप्रसाद मिश्र तथा श्याम प्रसादका कविता कण्ठै भन्नुहुन्थ्यो । यी मान्छे को होलान् भन्ने एक प्रकारको जिज्ञासा थियो उहाँमा । 

उहाँ नजिकै रहेको चिनियाँ तथा रुसी लाइब्रेरीमा गएर पढ्ने पनि गर्नुहुन्थ्यो । साथै चिनियाँ तथा रुसी क्रान्तिका फिल्महरू पनि खुबै हेर्नुभयो । साथीहरूको चिनियाँ गीत, घरमा आउने कम्युनिस्टका पत्रिका अनि बुवाले गर्ने कुराले उहाँमा कम्युनिस्टप्रतिको आकर्षण बढ्यो । 

यो २०३०/३१ साल तिरको कुरा हो । त्यसबेला भारतले सिक्किम खायो । राष्ट्रिय पञ्चायतमा पनि यो कुरो खुबै उठ्यो । अनि उहाँमा रहेको कम्युनिस्ट प्रतिको आकर्षण र विद्रोही चेतनाले जुलुस गर्नुपर्छ भन्ने लाग्यो । 

उहाँहरूले जुलुसको आयोजना गर्नुभयो । त्रिचन्द्र, पद्मकन्या अनि अमृत साइन्सका सबै विद्यार्थी उत्रिए । उक्त जुलुसमा यो ऊ नभनी सबै नेपाली भन्ने हिसाबमा सहभागी भए, उहाँ भन्नुहुन्छ । साथै त्यत्रो जुलुस २०६२/६३ मा मात्र देखेको पनि बताउनुहुन्छ । 

त्यसबेला झापा विद्रोह भर्खर सुरु भएको थियो । को रहेछन् झापाली भन्ने उहाँलाई जिज्ञासा थियो । साथै राजनीति गर्ने हो नेपाल भित्र बस्नेले नै गर्ने हो बाहिर बस्नेले गर्दैनन् भन्ने पनि लाग्थ्यो उहाँलाई । 

जापानको छात्रवृत्ति नपाएको झोक, साथीहरूको चिनियाँ गीत, बुवाको कम्युनिस्ट पार्टीप्रतिको पहिलेको आबद्धता अनि कम्युनिस्ट साथीको सङ्गतले उहाँले यो बुर्जुवा शिक्षा भन्दा त सत्तै पल्टाउने राजनीति गर्नुपर्छ भनेर बिएस्सी पढ्न छोडेर राजनीति तिर लाग्नुभयो । त्यसपछि उहाँ भूमिगत भएर पश्चिम तराइतिर लाग्नुभयो । 

उहाँ पूर्णरुपले कम्युनिस्ट बनेर होमिनु भयो । २०३५ सालपछि माले गठन भयो । उहाँ पार्टीको क्षेत्रीय उपसचिवसम्म हुनुभयो पार्टीको । उहाँको घरमा त्यस बेलाका नाम चलेका सिपी मैनाली, मदन भण्डारीदेखि जीवराज आश्रितसम्म खाना खान आउँथे । एक दिन खाना खाँदै गर्दा उहाँको आमा रुनु भएछ । अनि किन रोएको आमा भनेर जीवराजले सोध्दा तपाईँहरू त यहाँ हाँस्दे खाँदै हुनुहुन्छ, मेरो छोरा कहाँ होला, के खाँदै होला भन्नु भएछ । 

जीवराजलाई यो कुराले छोयो । अनि २०३६ सालमा पार्टी गतिविधि अलि खुला भएका कारण पार्टीलाई प्रेस राख्नुपर्ने भयो । उहाँ स्थानीय पनि भएको तथा आमाको त्यो वचनले समेत उहाँलाई प्रेस राख्ने तथा ललितपुरमा पार्टी गतिविधि पनि फैलाउन पनि पार्टीले उहाँलाई बोलायो । अनि बुवाले पनि अरु पैसा नभए पनि सञ्चय कोषको पैसाले प्रेस किनिदिन्छु भन्नुभयो । 

उहाँ त्यसपछि फर्किएर प्रेस किन्ने काममा केही समय लाग्नु भयो । अनि बुवाले प्रेसको काम गर भन्दा पार्टीको काम गर्नुपर्छ भन्नुभयो । ठिक छ जे गरे पनि घरमै बसेर काम गर भन्नुभयो । त्यसपछि उहाँले पार्टीको जिम्मा लिएर ललितपुरमा पार्टीको गतिविधि विस्तार गर्नुभयो । उहाँ ललितपुरको सचिवसम्म हुनुभयो । 

विवाह

घरमै बस्ने र प्रेसको काम पनि गर्ने भएपछि अब बिहे गरेर बसे भैगो नि भनेर आमाले अरु कमरेडलाई भन्नु भएछ । अनि बिहे नै गर्ने भए बाहुनी नै गर्नुपर्छ भनेर उहाँले भन्नुभयो ।त्यसपछि माधव नेपालले पार्टी समर्थक सिन्धुलीको केटी बिहे गर्न प्रस्ताव गर्नुभयो । उहाँको दाइ सिन्धुलीको शिक्षक संगठनको अध्यक्ष हुनुहुँदो रहेछ त्यसबेला । 

उहाँको जनवादी बिहे । उहाँको बिहेमा त्यस बेला अठतीस सय छयालीस रुपैयाँ खर्च भएको रहेछ । त्यो पैसा एक जोर लुगा र एउटा औँठीमा खर्च भएको रहेछ । उहाँ भने पुरानै लुगामा जानुभएको रहेछ । बुवा, भाइ, एक जना साथी, फुपूको छोरा पुरेत र हजुरबा आदि गरेर एउटै मोटरमा कोच्चिएर उहाँहरू बानेश्वर गएर बिहे गर्नुभयो । 

उता भने आमाले ज्वाइँको खुट्टा धुन खोज्नु भएको रहेछ । तर, उहाँले मनाही गर्नुभयो अनि खुट्टाको पानी नै खान मन भए मोजा नै पठाइदिउँला भन्नुभयो । तर, आमालाई त्यो कुरा चित्त नबुझेर रुनु समेत भएछ । 

लुसुनको शतवार्षिकीमा जन्मिएको हुनाले उहाँले जेठो छोराको नाम लुसुन राख्नुभयो । हाल उहाँ जापानमा न्युरो सर्जिकल डाक्टर हुनुहुन्छ । संयोग के भने पहिले उहाँले जुन जापानी छात्रवृत्ति पाएर पनि पढ्न जान पाउनु भएको थिएन उहाँको छोरा त्यही छात्रवृत्तिमा डाक्टर पढ्नु जान पाउनु भएछ । उहाँको कान्छो छोराको नाम पावेल जुन म्याक्सिम गोर्कीको आमा उपन्यासमा कान्छो छोराको नाम रहेको छ । उहाँ भने आफ्नै काममा व्यस्त हुनुहुन्छ ।  

पुनः पढाइ 

उहाँको घरमा भाइले पनि बिए पास गर्नुभयो भने श्रीमतीले पनि बिए पास गर्नुभयो । घरमा सबैभन्दा पढ्न जान्ने भने नपढेर बसेर हुन्न भन्ने लाग्यो उहाँलाई । अनि २०४२ सालमा उहाँले बिएस्सीको ब्याक पेपर दिनुभयो र पास गर्नुभयो । अनि एमएस्सी भर्ना हुनुभयो । तर, पढाइ लामो समय छुटेका कारण उहाँलाई पढ्न निकै गाह्रो  भने भयो । 

पहिलो वर्षको परीक्षामा उहाँको फस्ट डिभिजन आयो । दोस्रो वर्ष भने उहाँले जनावरको वातावरण शास्त्र लिएर पढ्नु भयो । शून्य दशमलव पाँच नम्बरले उहाँ दोस्रो हुनुभयो ।एउटा रमाइलो कुरा उहाँले त्यस बेला एउटा विषयमा बत्तीस पानासम्म लेख्नु भएको थियो । उहाँका चार वटा डट पेन सकिए । त्यस बेला त्यसलाई रेकर्ड भनिन्थ्यो । पछि एक जनाले छत्तीस पाना लेखेको भन्ने उहाँले सुन्नुभयो ।

पिएचडी गर्न त्यति छिटै नपाइने हुनाले उहाँ जागिर खोज्नेतर्फ लाग्नुभयो । उहाँले त्यसबेला नाम चलेका सबै आइएनजिओ र अन्य संस्था धाउनु भयो । तर, सोर्स नभएका कारण कतै भएन । 

त्यसबेला डा. सुरेशराज शर्मा उच्च शिक्षा परियोजनाको प्रमुख हुनुहुन्थ्यो । शर्माले उहाँका बारेमा सुनेर उहाँलाई अफिसमा बोलाउनु भयो । र, भर्खरै स्थापना भएको भ्याली क्याम्पसमा पढाउनुस्, ल्याब पनि बनाउनुस् र अनुसन्धान पनि गर्नुस् भन्नुभयो । 

उहाँ अलमलमा पर्नुभयो । के गर्ने भन्ने विषयमा । त्यसबेला त्रिविका सरले आठ सयदेखि बाह्र सय पाउँथे तर, उहाँको भने दुई हजार थियो । घरमा यो कुरो बताएपछि गर्न सल्लाह दिनुभयो । तर, पछि सुरेशराज चालिसेले पढाएर मात्र हुँदैन भनेर इसिमोडको अफिसमा बोलाउनु भयो । त्यसले पिएचडी गर्ने माहौल तयार भयो । 

त्यसबेला प्राकृतिक विज्ञान सङ्ग्रहालयमा जर्मनीबाट आएका प्राध्यापकले बाँदरमा पिएचडी गराउने र अध्ययन गर्ने विषयमा उहाँले सुन्नुभयो । अनि उहाँ भेट्न जानुभयो । उक्त टिममा संसार प्रसिद्ध वैज्ञानिक क्रिश्चियन फोगेल पनि हुनुहुन्थ्यो । 

जर्मनीमा पिएचडीको कोर्स अलि विशेष प्रकारको रहेको हुनाले कथम कदाचित दर्ता गर्न पाइएन भने यहाँको दुःख खेर जान्छ त्यसैले नेपालमा पनि दर्ता गर भनेर भन्नुभयो उहाँहरूले । अनि उहाँले त्रिविमा पिएचडीका लागि दर्ता गर्नुभयो । र, कामका लागि चितवनको रामनगर जानुभयो । 

फिल्डमा काम गरेको आठसय घण्टा भएपछि पिएचडी दिने प्रचलन छ संसारमा तर, उहाँले भने अठार सय घण्टा काम गर्नुभयो । अर्को कुरा जङ्गलका लङ्गुर बाँदरलाई रत्याउन अरूलाई तीन महिना लाग्दो रहेछ तर, उहाँले भने पन्ध्र दिनमा नै रत्याउनु भयो । त्यसले जर्मनहरू पनि छक्क परे । अनि अर्को कुरा अहिलेसम्म पोथी बाँदरमा मात्र अध्ययन भएको रहेछ तर, उहाँले भने भाले बाँदरमा अध्ययन गर्ने तय गर्नुभयो । 

यसो नगर्न उहाँलाई अरूले सुझाए, कारण रहेछ ऋतु कालमा भाले बाँदर समूह छोडेर अन्तै जाने रहेछ । तर, संयोग उहाँको समूहमा भएको भाले बाँदर भने अन्त गएनन् । उहाँको समूहमा छब्बीस वटा बाँदर थिए । त्यसमध्ये नौ वटा पोथी तथा तीन वटा बाँदरलाई लिएर त्यसको आनीबानी, खानपिन तथा अन्य सबै व्यवहारका बारेमा अध्ययन गर्नुभयो । 

बाँदरले खाने तीन सय छयासी प्रकारका खाद्य सामग्रीको उहाँले जर्मनीमा गएर अध्ययन गर्नुभयो । त्यसमा भएका प्रोटिन, कार्बोहाइड्रेट र किन खान्छ अनि किन खाँदैनन् भन्ने जर्ज अगस्ट युनिभर्सिटीमा विस्तृत अध्ययन गर्नुभयो । जुन युनिभर्सिटीबाट चार, पाँच जनाले नोबेल पुरस्कार प्राप्त गरेका थिए । 

त्यसपछि उहाँ इण्डोनेशियाको बालीमा गएर कन्फ्रेन्समा भाषण गर्नुभयो । त्यसपछि जर्मनी जानुभयो सिनियर ड्याड फेलो भएर ।  पछि नेपाल आएर आफ्नै तथ्याङ्क छानबिन गर्नुभयो । अनि सन् १९९६ मा इन्टरनेशनल कन्जरभेसन अर्वाडका लागि अमेरिका बोलाइयो उहाँलाई । उहाँले बाह्र सय वैज्ञानिकका बिचमा भाषण गर्नुभयो । उक्त अवार्डका बारेमा अहिले लोकसेवा आयोगमा समेत पढ्नु पर्छ ।

उहाँ अमेरिकाबाट फर्केर आएपछि थाइल्यान्ड जानुभयो । त्यसपछि स्वीडेनको स्टकहोम युनिभर्सिटीमा जानुभयो । उताबाट फर्केर आएपछि मकालु वरुणमा पहरे बाँदरका बरेमा अनुसन्धान गर्नुभयो । 

त्यसपछि अफ्रिका जानुभयो । उहाँले त्यहाँ मार्था जे ग्यालेन्टे फेलो इन्टरनेशनल कन्जरभेसन अवार्ड पाउनु भयो जुन नेपालमा छ मात्र भनिएको तर कसैले अध्ययन नगरेको पहरे बाँदरका विषयमा थियो । 

उहाँले त्यसपछि त्रिविबाट पिएचडीको डिग्री लिनुभयो । अनि महेन्द्र विद्या भूषण राजा वीरेन्द्रको हातबाट लिँदा उहाँले स्याबास भनेको सम्झनुहुन्छ उहाँ । उहाँ राजाको अगाडि निहुरिएर दर्शन नगरेका कारण टेलिभिजनले उहाँको दृश्य देखाएन, उहाँ भन्नुहुन्छ । 

केही तिता मिठा

काठमाडौँ युनिभर्सिटी बाह्र वर्ष पढाए पछि त्यहाँ भएको राजनीतिक विभेदका कारण युनिभर्सिटी छोड्नु भयो । तर, सुरेशराज सरले भने त्यस विषयमा भोलि भिसी हुनुपर्ने मान्छे भनेर चित्त पनि दुखाउनु भयो । उहाँ भन्नुहुन्छ, काठमाडौँ युनिभर्सिटी प्रारम्भिक विधान उहाँले नै तयार गर्नुभएको हो । 

काठमाडौँ युनिभर्सिटी छोडेपछि युएनडिपीले मागेको रिसर्च अफिसरमा नाम निकालेर बर्दिया राष्ट्रिय निकुञ्ज जानुभयो । त्यहाँ उहाँले रेन्जर, वार्डेनलाई कसरी तालिम दिने र निकुञ्ज कस्तो बनाउने भनेर तालिम दिनुभयो । 

एक वर्ष युएनडिपीमा काम गरेपछि साथीहरूसँग मिलेर उहाँले काठमाडौँ मोडल कलेज पनि खोल्नुभयो । त्यसबेला उहाँ कलेजको प्रिन्सिपल भएर क्यान्टिनमा समेत पैसा तिरेर खानुहुन्थ्यो भने भेट्न आएका पाहुनाले खाएका चियाको पैसा समेत तिर्नुहुन्थ्यो । तर, त्यहाँ पनि नामका कम्युनिस्ट तर चरित्रका भने भ्रष्ट  साथी देखेपछि छोड्नु भयो । 

केही समय आइयुसिएनमा काम गर्नुभयो । अनि त्यस बेला त्रिविमा एक जना रिडर मागेको थियो, जसमा बाउन्न जना आवेदक थिए । ती मध्ये दश जना पिएचडी अनि अरु स्नातकोत्तर डिग्री धारी थिए । तर, उहाँको एक नम्बरमा नाम निस्कियो र रिडर हुनुभयो । रिडर भएकै बेला उहाँले पहिलो पटक मेलम्चीको प्रारम्भिक पैदल अध्ययन गर्नुभयो । जसमा याँग्री र लार्के पनि समावेश थियो । साथै चुरेको पनि प्रारम्भिक अध्ययन उहाँले नै गर्नुभएको हो ।

उहाँले थुप्रै विदेशी विश्वविद्यालयमा भिजिटिङ प्रोफेसरको रुपमा काम गर्नुभएको छ । जसमा जापानको क्योटो, चीनको कुनमिङ र डाली, भारतको मिजोरम विश्वविद्यालय रहेका छन् । उहाँ फुलब्राइट स्कलरसिपमा एक नम्बरमा नाम निकालेर अमेरिकाको वासिंगटन युनिभर्सिटी जानु भयो । 

विदेशी विश्वविद्यालयमा पढाएको, अन्तर्राष्ट्रिय जर्नलमा लेख लेखेको, आफ्नो मातहतमा पिएचडी गराएको त्यस्तो कुनै प्रोफेसर छ भने मात्र सहयोग गर्ने भनेर एक पटक विश्व बैङ्कले त्रिविलाई सहयोग गर्न सर्त राखेछ । त्यस्तो विज्ञापन गर्दा नेपालबाट उहाँको बाहेक कसैको आवेदन परेन । 

उहाँले चीन, जापान तथा अमेरिकामा पढाएको, आठ जनालाई पिएचडी गराएको तथा अन्तर्राष्ट्रिय जर्नलमा पचास भन्दा बढी लेख छापेको, नेपालमा पनि एक सय सन्ताउन्न वटा लेख छापेको, आठ वटा किताब प्रकाशन गरेको उहाँ मात्र एक्लो आवेदक पर्नु भएछ । 

तर, प्रक्रिया पूरा गर्नका लागि थाइल्यान्डबाट एक जना प्रोफेसर महिला आउनु भयो । परीक्षा पनि भयो । अनि ती महिला प्रोफेसरले तपाईँ प्रोफेसर हुनुभएन भने के हुन्छ भनेर सोध्नुभयो । उहाँले उत्तरमा एक हप्ता केही निराश होइएला त्यसपछि काम सुरु गरिन्छ केही फरक पर्दैन । अर्को कुरा मेरा कैयन शोधार्थी प्रोफेसर भइसके तर, म भने भइन भनेर केही निराश होइएला । तर, काम अझै गर्न बाँकी भएकोले काम गर्छु भन्नुभयो उहाँले । 

तर, संयोग ती महिला भने उहाँ अमेरिकाबाट फर्कँदा थाइल्यान्डमा उहाँले दिनु भएको लेक्चरबाट प्रभावित भएर पिएचडी गरेर प्रोफेसर भएकी रहिछन् । उनले त्यो कुरा त्यहाँ रहेका अर्का प्रोफेसरलाई बताएकी रहिछन् । उनले म डा.चालिसेको जाँच लिन आएकोमा नै अप्ठेरो भइरहेको छ भनेर भनिछन् । 

हाम्रो देशमा यस्तै हो भनेर अर्का प्रोफेसरले भनेछन् । त्यसपछि उहाँ बल्ल प्रोफेसर हुनु भएको रहेछ । अर्को कुरा उहाँ सेवा निवृत्त भएर पनि अहिले पेन्सन भने पाउनु हुँदो रहेनछ । त्यसको कारण पनि राजनीति भएको उहाँ बताउनु हुन्छ । पुरानो र नयाँको सेवा अवधि जोड्न मिल्दैन भनेर भनेका कारण यसो भएको रहेछ । 

उहाँले उपदान प्राप्त गर्नुभयो । तर, औषधी तथा अन्य खर्च बापत प्राप्त भएको करिब दुई तीन लाख भने विभिन्न धार्मिक तथा चौतारामा लगेर बुवा, आमा अनि हजुरबा र हजुरआमाको नाममा फलामको बेञ्ची बनाएर राखिदिनु भयो । केही विद्यार्थीलाई स्कलरसिप पनि दिनुभयो । 

उहाँ भन्नुहुन्छ, मैले जे गरेँ ठिक गरेँ, जति गरेँ इमानदारी पूर्वक गरेँ, विज्ञान भनेकै मार्क्सवाद हो तर, अहिले नक्कली विज्ञान नबुझेका मार्क्सवादी भएका कारण कम्युनिस्ट कलङ्कित भएकोमा उहाँको चित्त दुखाइ रहेछ । 

उहाँ फुलब्राइट स्कलरसिप पाएर अमेरिका जाँदा ग्रिन कार्डको अफर गरेको रहेछ । उहाँले इन्कार गरेपछि उहाँको श्रीमतीलाई फकाएर तपाईँलाई पनि यहीँ जागिर दिन्छु, छोरालाई जे भन्यो त्यही पढाइदिन्छु भनेको रहेछ । तर, त्यो सबै उहाँले इन्कार गर्नुभयो । यतिसम्म कि उहाँले फुलब्राइटबाट पाएको पैसा समेत ल्याउनु हुन्न भनेर अमेरिकाको थुप्रै ठाउँ त्यही पैसाले घुम्नु भएछ । र, उपहार किनेर बाँडेर त्यो सम्पूर्ण रकम सकाउनु भएछ । 

अर्को कुरा फुलब्राइटमा जाँदा जुन युनिभर्सिटीमा गएको हो त्यहाँ मात्र लेक्चर दिन पाइन्छ । तर, उहाँलाई अन्य सात वटा युनिभर्सिटीले लेक्चरका लागि बोलाएका रहेछन् । जो फुलब्राइटको इतिहासमा एउटा रेकर्ड भएको उहाँ बताउनुहुन्छ । 

केही उत्कृष्ट कार्य

वन्यजन्तुका हिसाबमा बाँदरमा आफूले संसारमै उत्कृष्ट अध्ययन गरेको बताउनुहुन्छ उहाँ । बाँदरका भाले र पोथीका विभिन्न महिना तथा विभिन्न ऋतुका खानपान तथा व्यवहार बारे आफूले अध्ययन गरेको र जो विश्वमा अहिलेसम्म कसैले नगरेको र अहिले त्यसलाई नै पच्छ्याइ रहेको पनि बताउनुहुन्छ उहाँ । 

उहाँ अहिले पनि अमेरिका, जापान, जर्मनी, स्वीट्जरल्याण्ड, इन्डिया, चाइना तथा थाइल्याडको विभिन्न वैज्ञानिक लेखलाई पुनरावलोकन गर्ने समितिमा हुनुहुन्छ र सदस्य पनि । नेपालकै पनि वन्यजन्तुको क्षेत्रमा उहाँले उल्लेखनीय कामहरू गर्नुभएको छ । त्यसमा कैयौँ वन्यजन्तुको उहाँले नेपाली नामकरण गर्नुभएको छ । 

पहिले आसामी भनिने बाँदरलाई उहाँले स्थानीय भाषामा भनिने पहरे बाँदर नामकरण गर्नुभयो । सिभिट क्याटको नाम नीर बिरालो, लिन साङलाई सिलु बिरालो, जुन घोडाघोडी तालमा पाइने बिटुलोङलाइ उहाँले नै पत्ता लगाउनु भएको हो जसको नाम भालु बिरालो भनेर उहाँले नै नामकरण गर्नु भएको हो । 

काठमाडौँमा पनि पहरे बाँदर छन् भनेर उहाँले थेसिस नै लेख्नु भएको छ । त्यस्तै त्रिशूलीमा अध्ययन गर्ने क्रममा बाज जस्तो चरा पत्ता लगाउनु भयो जसको नाम गोआ, शिवपुरीमा बाख्रा जस्तो देखिने घोरलको अर्को जात सेरउको फोटो नै खिचेर ल्याउनु भयो । अपीनाम्पा हिमालमा सबैभन्दा पहिले जनावरको रेकर्ड उहाँले नै गर्नुभएको हो । 

मृत्युको नजिक नजिक 

अध्ययन अनुसन्धानका क्रममा तथा राजनीति गर्दा पनि उहाँ मृत्युको धेरै नजिक पुगेर फर्कनु भएको छ । अपिनाम्पा हिमालमा उहाँको कम्मरभन्दा तल चिसोले चलेन तर पनि उहाँले काम गर्न छोड्नु भएन । 

त्यस्तै उहाँ मकालु वरुणमा भिरमा लडेर तीस चालिस फिट तल खस्नुभयो । आउन सक्ने अवस्था नहुँदा नहुँदै पनि आउनु भयो । गोसाईं कुण्डको पहाडमा हिउँ जमेर काली दहतिर खस्नुभयो, अनि मर्छु भन्ने लाग्दा लाग्दै पनि आउनु भयो । त्यस्तै उहाँ संयोगले मृत्युको मुखबाट जोगिएका अरु पनि अनौठा घटना छन् । उहाँ हिँड्ने कुरामा बार, दिशा साइत नक्षत्र केही पनि हेर्नुहुन्न । 

एक पटकको कुरा हो चितवनमा अनुसन्धानको क्रममा घर आउँदा उहाँले शनिवारको फर्कने टिकट लिनु भएको थियो भरतपुरसम्मको । शुक्रवार घरमा सबै आफन्तजनलाई बोलाइएको थियो रमाइलो भेटघाटका लागि । 

तर, आमाले तँ भोलि नजा भनेर रुँदै कहिले केही बार्ने होइन भनेर रुन थाल्नुभयो । उहाँले आमालाई के त्यसो भए शनिवार प्लेन नै चल्दैन त भन्नु भयो । तर, आमा रोएर कोठामा जाँदा उहाँलाई एकदमै खल्लो लाग्यो । र, आमालाई गएर म भोलि नजाने भएँ भन्नुभयो ।  उहाँले टिकट क्यान्सिल पनि गर्नुभयो । त्यो टिकट खोजेर भोलिपल्ट अर्को एक जना मान्छे गयो । त्यो प्लेन चुलेघोप्टेमा ठोक्किएर पाइलट समेत सबै मरे । उहाँ सम्झनु हुन्छ त्यो दिन यदि म गएको भए !

कञ्चनजङ्घामा अठतीस जनाको निधन भएको घटनामा पनि उहाँ यस्तै संयोगले जोगिनु भएको हो । वन सचिव दामोदर पराजुलीले एक पटक उहाँलाई वनस्पति र वन्यजन्तुको अध्ययन गर्न कञ्चनजङ्घा जानका लागि अनुरोध गर्नुभयो । तर, बेलुकी पख डब्लुडब्लुएफले मानेन अर्को पटक जाउँला भन्नुभयो । त्यहाँ भएको हवाई दुर्घटनामा सबै अठतीस जना मारिए । 

जोगिमाराको पहिरोमा पनि एउटा त्यस्तै घटना घट्यो । पहिरो आएर गाडी रोकियो । सबै ओर्लिए । पछि ड्राइभरले पहिरो रोकियो अब जान्छ भनेर भन्यो । तर, उहाँ बस्न मान्नु भएन बरु म दौडेर पार गर्छु भन्नु भयो । बस पछि पछि आउँदै थियो माथिबाट ठुलो ढुङ्गो खसेर बस त्रिशूलीमा खसेर पत्तै लागेन । 

सन् २०१७ मा उहाँलाई मस्तिष्क घात भयो । उहाँले आफूले पढाउने विषय पनि हुनाले मस्तिष्क घात हुँदा मस्तिष्कमा अक्सिजन पुगेन भने मान्छे मर्छ भन्ने उहाँलाई जानकारी थियो । त्यसैले उहाँले सकी नसकी जबरजस्ती घ्याँक घ्याँक गरेर सास फेर्नुभयो । त्यो कुरो उहाँको ड्राइभरले थाहा पाएर उहाँलाई अस्पताल लगियो । 

पछि उहाँ बेहोस हुनु भएछ । भोलिपल्ट अस्पतालमा उहाँ उठ्नु भयो । यसो डाक्टरले हेरे केही भएको पाएनन् । अनि पछि मात्र टिचिङ हस्पिटलको डाक्टरले त्यो मस्तिष्क घात हो भनेर भने । 

यस्तोमा बेलायतमा तेत्तीस प्रतिशत मान्छे तुरुन्तै मर्छन्, तेत्तीस प्रतिशतलाई पूरा पक्ष घात हुन्छ भने तेत्तीस प्रतिशतलाई आधा पक्ष घात हुन्छ भनेर डाक्टरले भने । तपाईँलाईँ के भएको छ भनेर डाक्टरले सोधे, उहाँले मलाइ केही भएको छैन भनेर भन्नु भयो । 

कसरी भनेर डाक्टरले भन्दा आफूले गरेको सबै उहाँले भन्नुभयो । भगवानले बचाएको हो भनेर डाक्टर पनि छक्क परे । अब उचाइमा नजानुस् भनेर डाक्टरले भने तर, दुई तीन महिनामा पनि आफूलाई केही नभएको जस्तो लागेर उहाँ पहिलो पटक सगरमाथा गएर कस्तुरी मृगको गणना गरेर आउनु भयो । गाह्रो चाहिँ केही भयो । तर, काम गरेर फर्कनु भयो । 

प्रकाशन

उहाँका नेपाली जर्नलमा एक सय पचास भन्दा बढी तथा अन्तर्राष्ट्रिय जर्नलमा उनासी वटा वैज्ञानिक लेख प्रकाशित भएको छन् । जनावरले माटो किन खान्छ भन्ने उहाँको वैज्ञानिक लेख नेचर भन्ने अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छ । उक्त लेख एक हप्तामा विश्वका सयभन्दा बढीले पत्याएको लेखमा पनि परेको थियो । 

अन्तर्राष्ट्रिय हु इज हु मा उहाँका आठ वटा किताब रहेका छन् । पहाडको उत्पत्ति तथा जनावर सम्बन्धी किताब विश्वविद्यालयमा पढाइ समेत हुन्छ । उहाँको नेपालीमा नेपालका वन्यजन्तु भाग एक देखि चार अनि दुर्लभ र विचित्रका वन्यजन्तु तथा साझा प्रकाशनबाट प्रकाशित नेपालका संरक्षित वन्यजन्तु भन्ने पुस्तक प्रकाशन भएका छन् । 

भुँडी पुराणले उहाँको जीवनी मैले छिचोलेका कुइनेटा प्रकाशन गरेको छ । 

पुरस्कार तथा सम्मान

उहाँले सन् १९९६ मा इन्टरनेशनल कन्जरभेसन अवार्ड प्राप्त गर्नुभएको थियो । त्यस्तै सन् १९९८ मा मार्था जे ग्यालेन्टे फेलो कन्जरभेसन अवार्ड । सन् १९९८ मा नेपाल सरकारको शिक्षा पुरस्कार, इन्टरनेशनल एजुकेसन एन्ड कन्जर्भेसन अवार्ड, एक्सपर्ट अफ वायोडाइभर्सिटी अफ इस्टर्न हिमालय, नास्टद्वारा विज्ञान पुरस्कार, वन मन्त्रालयद्वारा वन्यजन्तु पुरस्कार, महेन्द्र विद्या भूषण (क)

यसका साथै उहाँले आफ्नो मातहतमा आठ जनालाई पिएचडी पनि गराउनु भएको छ, जो उहाँको विषयमा उहाँ नै पहिलो भएको उहाँ बताउनु हुन्छ । 

उहाँको भन्नु

उहाँ आफ्नो जीवनका उतार चढाव देखेर अरूलाई पनि बाँच्ने आशा जागोस् । अनि कम्युनिस्ट राजनीतिदेखि पाएका दुःख हण्डर र फेरि शैक्षिक जगतमा अनुसन्धान, विदेशी विश्वविद्यालयहरूमा पठन पाठन देखि हाल रोग लागेर अप्ठेरो अवस्थामा रहँदा पनि आफ्नो जीवनबाट प्रेरणा लिएर अरूमा ऊर्जा थपियोस् भन्ने उहाँको चाहना रहेको छ ।