शिक्षकहरूको साङ्गठनिक विकास र विभाजनको क्रम : इतिहासको एक साक्षीको प्रमाण

फर्केलान् र ती दिनहरू

शिक्षकहरूको साङ्गठनिक विकास र विभाजनको क्रम : इतिहासको एक साक्षीको प्रमाण

हरिविनोद अधिकारी  |  साहित्य  |  जेठ २९, २०७८

पुराना यादहरूको सँगालो भए पनि साप्ताहिक रुपमा लेखिएकोले र विद्युतीय पत्रिकाको स्तम्भकारले लेख्ने स्तम्भको रुपमा लेखिएकाले पुराना सम्झना, वर्तमानका घटना र आफ्नो दार्शनिक उल्झन अनि विश्वास-अविश्वासका कुराहरू राखिरहेको छु । कतिपय कुराहरू यसरी भोलि लेखिन्छ भनेर सायद सोचिएन र तिथि मिति अनि नाम थर बिर्सन पनि लागियो किनभने त्यो त मानवीय कमजोरी नै हो ।

मनोवैज्ञानिकहरूले पत्ता लगाएका कुराहरूमा विश्वास गर्ने हो अहिलेसम्म हाम्रो मस्तिष्कको देब्रेपट्टिको पाटोको पनि करिब २० प्रतिशत भागले मात्र काम गरेको छ रे र दाहिनेपट्टिको भागको ५ प्रतिशत पनि प्रयोग गर्न सकिएको छैन रे ! यो तथ्याङ्क कति मिथ्याङ्क होला या कसले पनि यसको गणना गर्न सक्छ र ? अनुमानका आधारमा र केही वैज्ञानिक खोजीका तथ्य र तर्कका आधारमा भनिएको हुनसक्छ ।

कतिको नाम सम्झन सकिन्छ तर अनुहार बिर्सिएको हुन्छ अनि मिति गायब हुन्छ । अनि कतिको नाम सम्झन सकिँदैन तर मिति सम्झन त सकिन्छ तर नामले पुष्टि गर्न नसकेपछि त्यो पानीमा लौरोले हिर्काएजस्तो मात्र हुने रहेछ । जस्तो कि हजारौँ साथी भए, हजारौँ विद्यार्थीहरूलाई पढाइयो तर सबैको नाम आउँदैन तर केही विद्यार्थीहरू र साथीहरूको बानी र व्यवहारले स्मरणीय भएका छन् र पनि मितिले धोका दिन्छ र अनुमानका भरमा लेख्नुपर्छ । त्यो मिल्न पनि सक्छ र नमिलेको चाहिँ पक्कै हुनसक्छ ।

मलाई अहिले पनि कतिपय विद्यार्थीहरूको हस्तलेखन याद छ, नाम पनि याद छ तर कुन सालको एसएलसी हो भनेर खुट्टाउन मुस्किल हुन्छ । एक पटक दर्शन रौनियार भन्ने मेरो विद्यार्थीले संयुक्त राज्य अमेरिकाको वासिङ्टन राज्यको सियाटल सहरको कुनै क्षेत्रबाट डेमोक्रेटिक पार्टीका तर्फबाट सङ्घीय संसद्को तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभको प्राइमरीमा निर्वाचन प्रतिस्पर्धा गर्न थालेपछि नेपालमा त्यसको तरङ्ग आयो र उनले नेपालमा आएर त्यसको जानकारी पनि दिए जहाँ म पनि उपस्थित थिएँ

उनले मेरो परिचय आफ्नो गुरुको रुपमा दिए । अनि मसँग नेपालका पत्रकारहरूले सोध्न थाले कि ऊ विद्यालयमा कस्तो विद्यार्थी थियो, कुन सालमा एसएलसी दिएको हो र कहाँ बस्थ्यो ? अनि मैले तत्कालै सम्झेर भनेको थिएँ, उनी २०४० सालमा एसएलसी दिने समूहका विद्यार्थी हुन्, उनले प्रथम श्रेणीमा विशिष्टीकृत अङ्क ल्याएर उत्तीर्ण गरेका हुन् र काठमाडौँको मखनमा रौनियार कोलोनीमा बस्थे भनेँ । र उनकी दिदीले पनि ल्याब स्कुलमा नै पढेकी थिइन्  सायद नाम सङ्गीता हो र मनोरमा गुरुआमा भन्थे सायद दर्शनको मातालाई जो पद्मकन्या क्याम्पसमा सङ्गीतकी प्राध्यापक हुनुहुन्थ्यो र हाम्रा अभिभावक दिवस र सांस्कृतिक कार्यक्रममा सङ्गीताको कार्यक्रमलाई सङ्गीतको संयोजन गरिदिनु हुन्थ्यो र अरु कार्यक्रममा पनि सङ्गीतको सम्पादन गरिदिनु हुन्थ्यो ।

म २००७(२०६४सालमा) सियाटल जाँदा गुरुआमालाई भेटेँ, त्यहीँ दर्शनलाई भेटेँ र दर्शनका परिवारका अरु सदस्यहरूलाई भेटेँ एउटा कार्यक्रममा, सायद ज्योत्सना राणाजीको घरमा हो, तिहारको उपलक्ष्यमा नेपालीहरूलाई बोलाएर भेटघाटको कार्यक्रम राखिएको थियो । म बहिनी जगदम्बा, ज्वाईँसाहेब कोविद दाहाल, भान्जी आर्या र भानिज आश्विनसँग गएको थिएँ । वास्तवमा मेरालागि अमेरिकामा बसेको नेपाली समाजमा बारेमा केही जानकारी राख्ने विचार पनि पूरा भएको थियो तर त्यहाँ दर्शनलाई भेटिएला भन्ने कतै पनि लागेको थिएन ।

मालेका नेताहरू बारम्बार जाने र शिक्षकहरूको सङ्गठनलाई विभाजन गर्नु हुँदैन भन्ने गरेकाले किसुनजी र गिरिजबाबुहरुले कूटनीतिक भाषामा आफूहरूले कुनै हस्तक्षेप नगर्ने र बहुदलमा विभिन्न पेसागत सङ्गठन खोल्न भने आफूहरूले रोक्न नसक्ने बताउने गर्नु भएको  थियो । सायद त्यसैलाई भनिएको होला, किसुनजी र गिरिजाबाबुको नयाँ नेपाल शिक्षक सङ्घ खोल्नका लागि समर्थन थिएन । वास्तवमा हामीलाई पनि के थाहा थियो भने कुनै ठुलो रुखको आडमा नबसी राष्ट्रव्यापी सङ्गठन खोल्न सकिँदैन अझ प्रजातन्त्रवादी सङ्गठन खोल्नका लागि नेपाली काँग्रेसको समर्थन आवश्यक र अपरिहार्य हुन्थ्यो । 

बरु सुन्न त सुनेको थिएँ सचिन रौनियारबाट कुनै बेला भेट्दा कि दर्शन अमेरिका पढ्न गएको छ । त्यत्ति हो । विद्यार्थी मिहिनेत थिए, अनुशासित थिए र पढ्नमा लगनशील थिए । पहिले मैले गुरुआमालाई देखेँ र सोधेँ- गुरुआमा, दर्शन कता छ त अचेल किनभने म चकित परेको थिएँ सियाटलमा पनि मैले चिनेका मानिसहरू भेटिए । अनि उहाँले दर्शनलाई बोलाएर ल्याउनु भयो र उसको गुरुसँग भेटाउनु भयो । कति नरम, कति अनुशासित अनि कति गुणग्राही थिए दर्शन,  त्यो भिडमा पनि उनले आफ्नो गुरुलाई जुन आदर गरे, अनि मैले सम्झिएँ हामी शिक्षकहरूको सबैभन्दा ठुलो कमाइ नै त्यही निःस्वार्थ आदर र सम्मान हो ।

हामीले दिएका ज्ञानहरू जीवनमा कति उनीहरूले लिए र कति समाजलाई बाँडे भन्ने कुराको समग्रमा मात्र मूल्याङ्कन हुनसक्छ उसले बिताएको जीवन र समाजप्रतिको कर्तव्य पालनका कारणले । विषयहरू त कक्षाका पढाउने हो पाठ्यक्रमले दिएको निर्देशनअनुसार तर जीवनका बारेमा त एउटै पाठ्यक्रम पनि बन्न सक्दैन र प्रत्येक विद्यार्थी प्रत्येक उसको जीवनको एउटा भोगार्थी हो । हाम्रो काम सचेत बनाउने हो । 

जब हामीले काठमाडौँ शिक्षा क्याम्पस खोल्न थाल्यौँ हाम्रो एउटा अवधारणा के थियो भने यो शिक्षक शिक्षाका लागि खोलिएको क्याम्पस हो, यहाँ शिक्षाका बारेमा नयाँ नयाँ कुराहरू सिकाउन सकियोस् । अरु केही नभए पनि अन्तरक्रियात्मक शिक्षण गर्न सकियोस् जहाँ घोकन्ते विद्याभन्दा जीवनलाई व्याख्या गर्ने र जीवनलाई मार्गदर्शन गर्न सक्ने शिक्षार्थी तयार गर्न सकियोस् । त्यसमा हामी कति सफल भयौँ भन्दा पनि त्यो परिपाटी एकल तरिकाले सफल नहुने रहेछ किनभने एकातिर त्यो क्याम्पसमा तोकिएको पाठ्य भार समाप्त गरेर त्रिभुवन विश्वविद्यालयले लिने परीक्षामा उत्तीर्ण हुनु छ र आफूलाई जसरी हुन्छ रोजगारी प्राप्त गर्न सक्षम गराउनु छ ।

हुन त शिक्षक शिक्षा लिएकाहरू मूलतः शिक्षक नै भए या शिक्षा सेवाको विभिन्न क्षेत्रमा लागे र आफ्ना आफ्ना क्षेत्रमा काम गरिरहेका होलान् । अर्थात् नयाँ नयाँ काम गर्नका लागि लगनशीलताको आवश्यकता हुने गर्छ र आफ्ना आफ्ना दैनिक कार्य गरेर फुर्सदका समयमा क्याम्पसमा आएर शिक्षा प्रदान गर्नु पनि एउटा लगनशीलता हो तर सीमित समयको लगनशीलता र प्रयासमा गरिएका कामहरुको परिणाम पनि आंशिकरुपमा मात्र सफल हुन सकेको होला भन्ने अनुमान गर्न सकिन्छ र पनि त्यो क्याम्पसबाट दीक्षित स्नातकहरू जब जब शिक्षाका विभिन्न क्षेत्रमा भेटिन्छन् , खुसीले गद् गद् होइन्छ ।

विद्यालयका विद्यार्थीहरूको त झन् के कुरा भयो र ? किनभने हामीहरू उनीहरूको बालापन र किशोरावस्थाका पथप्रदर्शक नै भयौँ । हामीले काँचो माटोलाई आकार दियौँ र त्यो आकारलाई समाजमा पठायौँ किनभने उनीहरूले त्यही विद्यालयमा नै समाजलाई चिने, समाजको विविधतालाई पहिचान गरे अनि कसरी समाजमा आफूलाई चिनाउने भन्ने कुराको प्रयोगशाला नै विद्यालयलाई बनाए । उनीहरूले थाहा पाए, समाजमा नामको के महत्त्व हुन्छ, थरको के महत्त्व हुन्छ र धर्मको के महत्त्व हुन्छ । तर विद्यालयमा तटस्थताको सिद्धान्त सिकायौँ, समाज विभाजनका कारणहरू देखायौँ मौनताका साथ अनि सबैलाई बराबरीको मान्यता दिएर त्यसलाई यसरी पनि जीवनमा प्रयोग गर्न सकिन्छ भने सिकायौँ ।

आफ्ना विषयहरू र आफ्ना पूर्वाग्रहहरुमात्र सिकाएनौँ, बरु समाजका पूर्वाग्रहहरूसँग समन्वयात्मक तरिकाले परिवर्तन कसरी ल्याउन सकिन्छ भनेर विद्यार्थीहरूका बिचमा प्रयोग गरेर देखायौँ । कति सफल भयौँ , कति सफल भएनौँ , त्यसको मानक तयार गर्न सकिएको छैन तर समाज जसरी परिवर्तनको दिशामा गइरहेको छ र समाज जसरी समन्वयको बाटोमा  तीव्र गतिमा बगिरहेको छ, समाजका ती सक्रिय मानवीय पक्षहरू जसरी आफूलाई समानता र सामाजिक न्यायका दिशामा सक्रिय गराइरहेका छन् , त्यसले लाग्छ शिक्षाका गरेको मानवीय श्रमले अब परिणाम दिन थालेको छ । 

जातको के अर्थ हुन्छ, अनि त्यसको विभाजनले समाजलाई कसरी विष घोल्छ ? हामीले त्यो देखाइ रहनु परेन तर त्यसको परिणामले आज पनि विकसित देशहरूसमेत प्रताडित छन् र हामी कम्तीमा पनि अहिले समन्वयात्मक र सहिष्णु समाजको पक्षमा छौँ तर यस्तो सहिष्णुता पनि होइन जसले पूर्वाग्रहलाई अरु मलजल गरोस् र प्रताडित बारम्बार प्रताडना भोगिरहोस् । 

मैले कुनै बेला भनेँ नि, आत्माश्लाघा कुनै हत्याभन्दा पनि पाप हो । यो कुरा महाभारतमा भनिएको रहेछ । महायुद्धकै समयमा अर्जुनले अभिमन्युका हत्याराहरू मार्ने कुरामा सायद प्रण गरे- मेरो गाण्डीव धनुषको कसम, म दुई दिनभित्रै कौरवका सेनालाई सखाप पार्छु र अभिमन्युको हत्यारालाई सिद्ध्याउँछु । तर भनेजस्तो त भएन अनि युधिष्ठिरले व्यङ्ग्य गर्दै भनेछन्- धिक्कार छ तिम्रो गाण्डीवको धाकलाई, खोइ त केही पनि हुन सकेन त ? अनि गाण्डीवको अपमान जसले गर्छ, त्यसको हत्या गर्ने कसम खाएका अर्जुनले तत्कालै युधिष्ठिरलाई मार्ने कसम खाए । कुरो त कता पुग्यो कता । अब समस्या त के भयो भने मुख्य युद्धकर्ता युधिष्ठिरको पो अर्जुनबाट सुरक्षा गर्नु पर्ने बेला आयो पाण्डव सेनाको । कुनै कारणले युधिष्ठिरलाई पनि बचाउनु थियो अनि अर्जुनको प्रणलाई पनि सम्मान गर्नु पर्ने अवस्था थियो ।अब अर्जुनलाई आफ्ना पुराना बचनहरूले पोल्न थाल्यो किनभने गाण्डीवप्रतिको सम्मान नभए गाण्डीवको क्षमतामा ह्रास आउने या अग्निलाई नै फिर्ता  दिनु पर्ने थियो । नत्र अर्जुन आफैँ आत्महत्याको बाटो रोज्न बाध्य हुन्थे ।

श्रीकृष्णले नयाँ धार्मिक, नैतिक, न्यायिक तथा सामाजिक उपाय खोजेर सुझाए- आत्मश्लाघाको बाटो । अर्थात् आत्मप्रशंसाको बाटो । धार्मिक, नैतिक , न्यायिक तथा सामाजिक पाटोमा जहाँ पनि आत्मप्रशंसा राम्रो मानिँदैन । कुनै कुराको यथार्थ वर्णन गर्दा निर्वाह गरिएको भूमिकाको वर्णन र आत्मप्रशंसा फरक हो  किनभने जसले जे गरेको हुन्छ, त्यसको सामाजिक तथा व्यक्तिगत स्मृति राखिन्छ, राखिएको हुन्छ । अर्थात् महाभारतकालीन न्यायमा अनावश्यकरुपमा आत्मप्रशंसा गर्नु भनेको कसैको हत्या गरेसरह दण्डित हुन्थ्यो । आत्मश्लाघाले ब्रह्महत्याको पापसमेत लाग्थ्यो ।

अनि युधिष्ठिरलाई मार्ने भनेको त राजहत्या, बन्धु हत्या समेत लाग्ने हुन्थ्यो अर्जुनलाई किनभने चिताएपछि पापको बीजारोपण हुन्छ, भनेपछि पापको अङ्कुरण हुन्छ अनि गरेपछि पाप नै लाग्छ भन्ने महाभारतकालीन न्यायमा अब अर्जुनलाई कस्तो दण्ड दिने भन्ने बहस सुरु भयो पाण्डव सेनाभित्र । एउटा महारथीले राजालाई , सेनाको सर्वोच्च कमान्डरलाई मार्छु भनेर सार्वजनिक रुपमा  प्रण गरेर युधिष्ठिरको खोजी गर्ने अर्जुनलाई या त युधिष्ठिरलाई मार्न दिनु पथ्र्यो या त अर्जुनलाई मारेर राजाप्रति बोलेको र हत्याका लागि लागेका अर्जुनप्रति  राज्यको न्याय ठहरिन्थ्यो । बेला थियो युद्धको निर्णायक कालखण्ड । खासगरी पाण्डव पक्ष  आहत हुँदै थियो र कौरव पक्ष शक्ति सञ्चयतिर लागेको बेला थियो । अनि त्यही बेलामा कि त युधिष्ठिर नरहने भए, कि त अर्जुन नरहने अवस्था थियो ।

अर्जुनका डरले युधिष्ठिर लुक्नु पर्ने अवस्था थियो किनभने अर्जुनको प्रणका अघिल्तिर र युद्धकलाका अघिल्तिर इन्द्र र महादेवसमेत हारेको अवस्था थियो र विभिन्न अमूल्य , अमोघ अस्त्र र शस्त्र पाएर सुरक्षित हुने वरदान पाएर उनी महायुद्धमा होमिएका थिए र पाण्डव पक्षका मुख्य महारथी उनै थिए जबकि सेनापति त पाञ्चाल युवराज धृष्टद्युम्न थिए र पनि । अनि बिचको बाटो के निकालियो भने अर्जुनले आत्मश्लाघा गर्ने वा आत्मप्रशंसा गर्ने जसले गर्दा बन्धु हत्याको , ब्रह्महत्याको , राज हत्याको जे जे पाप लाग्ने हो लाग्छ , त्यही  दण्ड अर्जुनलाई दिने र युधिष्ठिरले पनि आवेगमा आएर गाण्डीवको अपमान गरेकोमा क्षमा माग्ने । यसरी अर्जुनले आफ्नो प्रशंसा गरेर राज हत्याको पाप सम्मिलन गराए अनि दण्डबाट  जोगिएका थिए । त्यस्तै आफ्नो बारेमा लेख्दा, लेख्न बस्दा वा भन्न थाल्दा कतिपय कुराहरूले आत्मप्रशंसा जस्तै देखिनु स्वाभाविकै हो किनभने सबै सम्झनाका प्रमाणहरू हुँदैनन् । सबै प्रमाणहरूका परिणामहरू पनि स्वाभाविक हुँदैनन् ।

मान अपमान प्रताडनाको साक्षी आफू मात्र होइन्छ किनभने दाउरा चिर्दाको पीडा दाउरालाई मात्र हुन्छ, खुकुरीको मार अचानोलाई मात्र थाहा हुन्छ, त्यसको साक्षी पनि कोही हुँदैन र दुखेको चित्तको मापन पनि हुँदैन र त्यसको पीडा जब जब सम्झन थालिन्छ , झन् झन् ताजा भएर आउँछ । लामो समयले समेत बिसेक बनाउन सक्दैन । तर मेरो यादहरूमा म नै  साक्षी हुँ र म नै प्रमाण हुँ ।

कतिपय कुराहरूको प्रभाव अझै हुन्छ र समयले त्यसको परिणाम दिइरहेको हुन्छ जस्तै कि नेपाल शिक्षक सङ्घमा म कहाँ छु भन्दा पनि म हिजो स्थापनाकालमा थिएँ तर सङ्घ छ, त्यही नै प्रमाण हो र आजसम्म नेपालका शिक्षकहरूका लागि केही गरिरहेछ सायद त्यही नै परिणाम हो । नेपालको शिक्षा क्षेत्रमा सक्रियताका साथ आफ्नो पहिचान बनाइरहेको छ,  त्यही नै परिणाम हो किनभने कोही पनि स्थायीरुपमा न त नेतृत्वमा रहन सक्छ, न त पुरानो अवधारणामा संस्था सधैँ जीवित रहन सक्छ । मानिसको जीवनमा पनि परिवर्तन, परिवर्तनपछिको जीवनको स्वरूपमा आउने बदलाव अनि बदलावलाई कति स्वीकृति कति अस्वीकृति भन्ने व्यवहारमा देखिन्छ ।

आजभन्दा सात दशक अघिको नेपाली समाजमा अहिले जुन परिवर्तन देखिएको छ, त्यसको कारण कति त विज्ञान तथा प्रविधिमा आएको विकास क्रम पनि हो, कति त व्यावहारिक नभएर परिवर्तन हुन थालेको हो र कति त समयले माग भनेर अन्तर्राष्ट्रिय देखासिकी पनि गरिएको हो । समाज या देश आत्म निर्भर हुन सक्दैन र परनिर्भर भएर पनि बाँच्न सक्दैन । अन्तरनिर्भरता नै समाजको मुख्य सजीवताको आधार हो । सजीव समाज मात्र टिक्न सक्छ जहाँ पहिचान हुन्छ, भाषा हुन्छ, मौलिक संस्कार हुन्छ अनि आफूलाई सम्मान गर्ने व्यवहारलाई प्राथमिकता दिइएको हुन्छ । 

लेख्नेक्रममा जब मैले नेपाल शिक्षक सङ्घको स्थापनाका केही स्मृति लेखेँ, मलाई नेपालको शिक्षक आन्दोलनप्रति शोध गर्ने एक जना युवा शिक्षाविद् तथा अनुसन्धाता राजकुमार बरालले सोधे -के गिरिजाबाबु , किसुनजी र गणेशमानजीहरू प्रजातन्त्रवादीहरूको मात्र शिक्षक सङ्घ खोल्ने कुरामा सहमत हुनुहुन्थेन ?  अर्थात् नेपाल शिक्षक सङ्घको स्थापनाप्रति सन्तुष्ट हुनुहुन्थेन ? यसको अब मैले दिने जबाफ भनेको विषयगत र मनोगत हुनेछ किनभने अब ती महान् प्रजातन्त्रवादी नेताहरू अब हुनुहुन्न र मैले साधिकार भन्न पनि सक्दिन ।

तर यसबारेमा नजिकैबाट ती सम्माननीय नेताहरूलाई चिनेको र शिक्षकहरूका लागि सङ्गठनमा पहिलेदेखि नै काम गरेको एउटा शिक्षक तथा पत्रकारका रुपमा मैले जे थाहा पाएको थिएँ , त्यो मात्र भन्न र लेख्न सक्छु । बरु मलाई खुसी केमा लाग्यो भने मेरो यो स्तम्भका लेखिएका कुराका बारेमा सोधेर फेरि स्पष्ट गर्नका लागि जिज्ञासा राख्ने राजकुमार बराल(व्यक्तिगतरुपमा उनी मेरा भान्दाजुका छोरा भतिज र अनुशासित विद्यार्थी पनि हुन् ) लाई धन्यवाद दिँदै थाहा पाएका कुरा लेख्छु ।

वास्तवमा जनमत सङ्ग्रहको घोषणाभन्दा (२०३६सालभन्दा पहिले ) नेपाली काँग्रेस प्रतिबन्धित मात्र होइन कि त्यो दलमा लाग्नेले जेल बस्नु पर्थ्यो , कुनै पनि बेला पक्राउ पर्नु पर्थ्यो, अनि सरकारसँग नेपाली काँग्रेसप्रति आस्था राख्ने, नेपाल विद्यार्थी सङ्घप्रति आस्था राख्नेहरूको विवरण पक्कै थियो । तत्कालीन भूमिगत नेकपा मालेले भने आफ्ना जनवर्गीय सङ्गठनहरूको भूमिगतरुपमा राम्रै सञ्चालन गरेको थियो । ती कति पेसागतरुपमा सक्रिय थिए, कति राजनीतिक रुपमा सक्रिय थिए तर थिए भूमिगतरुपमा । खुला वातावरणमा उनीहरू काम गर्थे होलान् तर थिए भूमिगत अनुशासनमा । तर त्यही भूमिगत सङ्गठनलाई खुला वातावरणमा चलाउन जनवर्गीय सङ्गठनका लागि शिक्षकहरूको सङ्गठन सुचारु गरिएको थियो  जसमा हामी पनि पेसागतरुपमा जानेर नजानेर सङ्गठित भएका थियौँ ।

आवश्यकता पनि थियो पेसागतरुपमा एकत्रित हुने अनि हामी सीमितरुपमा पहिचान भएका प्रजातन्त्रवादी शिक्षकहरूले आफ्ना साथीहरू खोज्यौँ र समावेशीरुपमा सहभागी हुने निर्णय गरेका थियौँ किनभने हाम्रो  उपस्थितिले चाहिँ संगठनको दर्तामा एकातिर समस्या देखिन्थ्यो तर भित्रीरुपमा चाहिँ हामी पनि तत्कालीन मालेको जनवर्गीय संगठनको सहयोगीभन्दा अरु हुन सक्ने अवस्था थिएन । चितवनमा देवेन्द्रप्रसाद उपाध्याय, नेपालगन्जमा युवराज शर्मा, काठमाडौँमा हरिहर रिसाल, म, विष्णु अधिकारी, रामबहादुर रोका, पद्मराज भुसाल, अम्बिका बस्नेत, गौरी जोशी राणा, सिन्धुलीमा केशवप्रसाद भट्टराई देखिएर लागेका थियौँ र केन्द्रीय नेतृत्वमा हामी काठमाडौँका शिक्षकहरू नदेखिए पनि देवेन्द्र दाइ, केशवजीहरू आफ्ना आफ्ना जिल्लाहरूबाट केन्द्रमा प्रतिनिधित्व गर्नुहुन्थ्यो र जिल्लामा पनि सङ्गठन गर्नुहुन्थ्यो ।

एक प्रकारले जनवर्गीय सङ्गठनका साथीहरूलाई समावेशी छ भन्ने पनि थियो भने हामी पनि त्यहाँ बसेर सङ्गठन गर्दै थियौँ । काठमाडौँ जिल्लालाई मूल प्रवाहमा ल्याउनका लागि शिक्षाविद् तथा प्रधानाध्यापक निडर प्रजातन्त्रवादी नेता जनकनाथ प्याकुर्‍याललाई नेपाल राष्ट्रिय शिक्षक सङ्गठनमा दोस्रो अध्यक्ष बनाइयो जुनबेलासम्ममा समाजमा सङ्गठन गर्नका लागि धेरै सुलभ पनि भएको थियो । वास्तवमा नेपाली काँग्रेसको सल्लाहमा नै हामीले जनक दाइलाई निर्विरोध अध्यक्ष बनाउन सकेका हौँ तर नेपाली काँग्रेसका नेताहरू भने राजनीतिक रूप दिनु हुँदैन भने मौन बस्नुभएको थियो ।

त्यसका लागि खट्ने पात्रहरू हामी नै थियौँ किनभने जनक दाइलाई अध्यक्ष बनाउने तरिकाले समावेशी केन्द्रीय प्रतिनिधित्व भएका थिए प्रत्येक जिल्लामा । गाह्रोचाहिँ के  थियो भने कम्युनिस्टहरूका धेरै भँगालाहरूलाई पद दिँदा  दिँदा हामी अल्पमतमा पर्थ्यौँ जबकि पछि थाहा भयो हामी त धेरै जिल्लामा बहुमतमा रहेछौँ । अनि हामी त्यो बेलादेखि नै कसरी एउटा मजबुत तर प्रजातन्त्रवादीहरूको मात्र शिक्षक  सङ्गठन बनाउने भनेर लागेकै थियौँ । जनकदाइ यता संगठनको अध्यक्ष हुनुहुन्थ्यो तर निर्णयहरूमा मालेको भित्री निर्देशनअनुसार काम हुन्थ्यो भन्ने कुरामा कुनै द्विविधा थिएन ।

हामी पनि छिद्र खोज्दै थियौँ । यसमा नेपाली काँग्रेसका नेताहरूको प्रत्यक्ष संलग्नता हुन्थेन तर हामी सल्लाह भने पक्कै लिन्थ्यौँ । स्वयं बिपी जीवित हुँदा पनि शिक्षकहरूको आफ्नै सङ्गठन खोल्ने कि भन्दा उहाँले आफू पेसागत काममा हस्तक्षेप त नगर्ने तर सजगताका साथ प्रजातन्त्रका पक्षमा शिक्षकहरूको जुन लगानी छ समाजमा, त्यसको निरन्तरताका लागि सङ्घर्ष गरिरहनु पेसामा बसेरै र जनतालाई प्रजातन्त्रका पक्षमा सुसूचित गरिरहनु भन्नु हुन्थ्यो । उहाँ जीवित हुँदा पनि पूर्वाञ्चलबाट राजेन्द्र विरही, काठमाडौँबाट हरिहर रिसाल, जनकनाथ प्याकुर्‍याल, चितवनबाट देवेन्द्रप्रसाद उपाध्याय, पश्चिमाञ्चलबाट शङ्कर पाण्डे, सुदूर पश्चिमाञ्चल र मध्यपश्चिमाञ्लबाट युवराज शर्माको एउटा कोर समूह बनाउने भन्ने पनि भएको थियो ।

सम्भवतः जनक दाइको निधन भएकाले देवेन्द्र दाइलाई  नै अध्यक्ष बनाएर हामीले नेपाल शिक्षक  सङ्घ बनाएका हौँ ।  त्यसमा गिरिजा बाबुको सक्रिय समर्थन थियो, किसानजीको यस कारणले प्रत्यक्ष संलग्नता देखिँदैनथ्यो किनभने उहाँ पार्टीको सभापति अनि पछि प्रधानमन्त्रीसमेत भएपछि देखिने गरी बोल्नुहुन्नथ्यो, अनि गिरिजाबाबु पनि के देखाउन चाहनु हुन्थ्यो भने यो सङ्गठन विशुद्ध शिक्षकहरूको मात्र हो, प्रजातन्त्रवादीहरूको सङ्गठन भएकाले त्यसमा नेपाली काँग्रेसको समर्थन हुन्छ नै ।खासगरी रामचन्द्र पौडेल, चिरञ्जीवी वाग्ले, शेरबहादुर देउवा, प्रकाशमान सिंह, बलबहादुर केसीहरूको सहयोग र समर्थन नभएको भए त्यो सङ्गठन खुल्ने पनि थिएन र नेपाली काँग्रेसका प्रजातन्त्रप्रतिका आदर्शहरूलाई नै हामीले नेपाल शिक्षक  सङ्घका आदर्श राख्ने हैसियत पनि हुने थिएन ।

सामान्यतः गणेशमानजीसँग हामी त्यस्ता कुराहरूमा खासै अन्तरक्रिया गर्दैन थियौँ तर पार्टीको माथिल्लो तहले भने पक्कै सल्लाह गर्थ्यो नै । तर मालेका नेताहरू बारम्बार जाने र शिक्षकहरूको सङ्गठनलाई विभाजन गर्नु हुँदैन भन्ने गरेकाले किसुनजी र गिरिजबाबुहरुले कूटनीतिक भाषामा आफूहरूले कुनै हस्तक्षेप नगर्ने र बहुदलमा विभिन्न पेसागत सङ्गठन खोल्न भने आफूहरूले रोक्न नसक्ने बताउने गर्नु भएको  थियो । सायद त्यसैलाई भनिएको होला, किसुनजी र गिरिजाबाबुको नयाँ नेपाल शिक्षक सङ्घ खोल्नका लागि समर्थन थिएन । वास्तवमा हामीलाई पनि के थाहा थियो भने कुनै ठुलो रुखको आडमा नबसी राष्ट्रव्यापी सङ्गठन खोल्न सकिँदैन अझ प्रजातन्त्रवादी सङ्गठन खोल्नका लागि नेपाली काँग्रेसको समर्थन आवश्यक र अपरिहार्य हुन्थ्यो । 

जहाँसम्म नेपाल राष्ट्रिय माध्यमिक शिक्षक सङ्घ र नेपाल राष्ट्रिय प्राथमिक शिक्षक सङ्घको स्थापनाको कुरा हो, त्यो त नेपाल राष्ट्रिय शिक्षक संगठनको केन्द्रीय समितिको बैठकले नेपाल सरकार(तत्कालीन श्री ५को सरकार)सँग वार्ता गरी शिक्षकहरूका समस्या हल गर्न पठाएको हो कार्यवाहक अध्यक्ष विमल कोइराला, मोहननारायण श्रेष्ठ, घनश्याम पौडेल आदिको नेतृत्वमा वार्ता टोली । त्यो बेला बडो सङ्क्रमणको थियो किनभने अध्यक्ष जनक दाइको निधन भएको थियो, महासचिव देवी ओझाजी जेलमा हुनुहुन्थ्यो ।

त्यही बेलामा बहुमत केन्द्रीय सदस्यहरूले पठाएको त्यो वार्ता टोलीले तयार गरेको विधान र सहमतिमा ती सङ्घहरू गठन भएका थिए जसमा हाम्रा साथीहरू, सङ्गठनका साथीहरू जता मन लाग्छ उतै  सङ्गठित हुन सक्थे । यी कोही पनि प्रत्यक्ष नेपाली काँग्रेससँग सम्बन्धित थिएनन् र सङ्गठनका सुरुवाती दिनदेखि नै नेराशिसंका नेताहरू थिए । उनीहरू पनि मालेको कार्यकर्ता कति दिन हुने भनेर हामीसँग गुनासो गर्थे । पछि वामपन्थीहरु मात्र, अझ माले समर्थकहरुमात्र सङ्गठनमा रहे जो आजसम्म पनि यथावत् छ र नेपाल शिक्षक  सङ्घको सम्बन्ध कहिले पनि संगठनसँग नराम्रो रहेन । हामीले शिक्षा मन्त्रालयसँग गरेको सहमतिअनुसार गठन भएको निजी विद्यालयका वारेको समितिमा तत्कालीन पूर्व अध्यक्ष देवी ओझाजी सहभागी भएर सङ्घ र सङ्गठनका बिचमा सम्बन्धलाई सौहार्द बनाउनु भएको थियो २०४७को साउनमै । 

मलाई लाग्छ, नेपालका शिक्षकहरूको साङ्गठनिक विकास क्रमको सकारात्मक पक्षलाई अनुसन्धान जरुरी छ र इतिहासमा भएका नकारात्मक पक्षलाई बिर्सेर अब एक्काइसौँ शताब्दीको शैक्षिक अवस्थालाई कसरी व्यावहारिक बनाउने भन्ने मुख्य प्रश्न अगाडि आएको छ ।