विश्वचर्चित यी पुस्तक

विश्वचर्चित यी पुस्तक

लोकसंवाद संवाददाता  |  लोकरञ्जन  |  बैशाख १७, २०७६

विश्वभर दैनिक थुप्रै पुस्तक प्रकाशित हुन्छन् । तीमध्ये केहीले मात्रै चर्चा बटुल्छन् ।

विश्वमा चर्चा बटुलेका केही पुस्तक यसप्रकार छन् ।

सबैभन्दा महँगो पुस्तक

१५ औं शताब्दिमा लियोनार्डाे द भिन्चीद्वारा लेखिएको ‘कोडेक्स लेस्टर’ सबैभन्दा महँगो पुस्तक रहेको छ । सन् १९९४ मा भएको लिलामीमा महान पेन्टर तथा वैज्ञानिक भिन्चीद्वारा लेखिएको यो पुस्तक ३.०८ करोड डलरमा बिक्री भएको थियो । यो नै आजसम्मको सबैभन्दा बढी मूल्य बिक्री भएको पुस्तक हो । यस पुस्तकलाई विल गेट्सले किनेका थिए ।

सबैभन्दा पुरानो प्रिन्टेड पुस्तक

जर्मनीमा गुटेनवर्गको बाइबल छापिनुभन्दा ६ सय वर्षअघि चीनमा पुस्तक छपाइको अर्काे विधि रहेको थियो । सन् ८६८ मा चीनमा छापिएको ‘डाइमण्ड सूत्रा’ पुस्तकलाई नै विश्वको सबैभन्दा पुरानो ‘प्रिन्टेड’ पुस्तकको श्रेय प्राप्त छ । यस पुस्तकमा बुद्ध र उनका शिष्यको संवाद संकलित रहेका छन् ।

सबैभन्दा सानो पुस्तक

यो पुस्तक यति सानो छ कि हतपति तपाईंलाई देख्न पनि गाह्रो हुन्छ । यसको आकार ०.७४×०.७५ मिलिमिटर मात्रै छ । यस जापानी पुस्तक ‘शिकी नो कुसाबाना’लाई संसारको सबैभन्दा सानो पुस्तक मानिन्छ । २२ पानाको यस पुस्तकमा फूलका आकृति र फूलबारे वर्णन गरिएको छ ।

सबैभन्दा बढी पढिएको पुस्तक

सबैभन्दा बढी पढिएको पुस्तकमा धार्मिक पुस्तक नै आउँछ । क्रिस्चियन धर्मको मूल ग्रन्थ बाइबल नै संसारका सबैभन्दा बढी पढिएको पुस्तक हो । साथै संसारमा सबैभन्दा बढी छापिएको पुस्तक पनि बाइबल नै हो । वल्र्ड बाइबल सोसाइटीका अनुसार प्रत्येक वर्ष दुई करोड नयाँ बाइबल छापिन्छन् । संसारभरी बाइबलका पाँच अरबभन्दा बढी प्रति छन् । यो पुस्तक २५ सयभन्दा बढी भाषामा अनुवाद भइसकेको छ ।

सबैभन्दा बढी पढिएको उपन्यास

मिगेल दे सेरवान्तेसको पुस्तक ‘द हिस्ट्री अफ द वैलरस एण्ड विटी नाइट–एरान्ट डान–किकसट अफ द माञ्चा’ विश्वमा सबैभन्दा बढी पढिएको उपन्यास हो । चार सय वर्षअघि लेखिएको यस उपन्यासको ५० करोडभन्दा प्रति छापिएका छन् । स्मरण रहोस्, चर्चित उपन्यास ‘ह्यारी पोर्टर’ सिरिजका सबै उपन्यास अहिलेसम्म ४० करोड मात्रै छापिएका छन् ।

सबैभन्दा मोटो पुस्तक

अगाथा क्रिस्टीको ‘मिस मारपेल कलेक्सन’ सबैभन्दा मोटो पुस्तकको अग्रपंक्तिमा आउँछ । चार हजार ३२ पृष्ठको यो पुस्तकको तौल आठ किलोग्राम छ । यस उपन्यासमा एउटा वृद्ध मानिसको हत्या, चोरी र अन्य अपराधका ३२ ओटा प्रसंग रहेका छन् ।

सबैभन्दा गूढ पुस्तक

विगत पाँच सय वर्षदेखि वैज्ञानिकहरू यस पुस्तकको रहस्य बुझ्न प्रयासरत छन् । १५ औँ शताब्दीमा लेखिएको ‘वायनिस मेन्युस्क्रिप्ट’ कुन भाषामा लेखिएको अहिलेसम्म ज्ञात हुन सकेको छैन । यस पुस्तकमा कयौं चित्र छन् । अनेकौं फूल र महिलाका चित्र पनि छन् । साथै पुस्तकमा पाइपलाइनको नेटवर्क पनि रहेको छ ।

सबैभन्दा बढी पुस्तक लेख्ने लेखक

यो रेकर्ड साइन्टोलोजीका संस्थापक एल रान हबर्डको नाममा छ । गिनिज बुक अफ वल्र्ड रेकर्डस्का अनुसार उनका नामबाट १०८४ पुस्तक प्रकाशित भइसकेका छन् । सबैभन्दा बढी अडियो बुक्सको रकेर्ड पनि उनकै नाममा छ ।