इण्डोनेशियाको राजधानी सारिने

इण्डोनेशियाको राजधानी सारिने

लोकसंवाद संवाददाता  |  समाचार  |  बैशाख १७, २०७६

इन्डोनेशिया आफ्नो राजधानी जकार्ताबाट अन्यत्र सार्ने सोचमा छ । यो घोषणा इन्डोनेशियाका योजनामन्त्रीले गरेका हुन्  ।

योजनामन्त्री बमबैंग ब्रोजेनेगोरोले राष्ट्रपति जोको विडोडोले ‘एक महत्वपूर्ण निर्णय’ मा राजधानीलाई अन्य स्थानमा सार्ने बारे कुरा गरेको जानकारी दिए ।

नयाँ राजधानी कहाँ हुनेछ, अहिलेसम्म यसबारे कुनै जानकारी दिइएको छैन ।

यद्यपी, स्थानीय मिडिया अनुसार ‘पलानकोराया’ को नाम सबैभन्दा अगाडि छ । पलानकोराया’ बोर्नियो द्वीपमा छ र सेन्ट्रल कालिमैनटनको उत्तर–पूर्वमा सय किलोमिटर टाढा छ ।

इन्डोनेशियाको  राजधानी जकार्ता संसारमा सबैभन्दा तीब्र गतिमा डुब्न लागेको शहरका रुपमा गणना हुन्छ ।

इन्डोनेशिया दलदलयुक्त जमिनको किनारमा अवस्थित छ जहाँ १३ नदिहरुले एकअर्कालाई पार गर्छन् ।

अनुसन्धानकर्ताका अनुसार यो शहरको सबैभन्दा ठूलो भाग सन् २०५० सम्म डुब्न सक्छ, भने उत्तरी जकार्ता हरेक वर्ष औसतमा १–१५ सेन्टिमिटर डुबिरहेको छ ।

आधा जकार्ता समुन्द्री सतहभन्दा मुनी छ । पिउन र नुहाउनका लागि प्रयोग गरिने जमिन मुनीको पानी निकासी नै यसको प्रमुख कारण मानिन्छ ।

योजनामन्त्री ब्रोजेनेगोरोका अनुसार राजधानी सार्ने प्रक्रियामा १० वर्ष लाग्न सक्छ । उनले भने, ‘ब्राजिल, काजकस्तान, म्यानमारले राजधानी परिवर्तन गरेका छन् भने हामी गर्न किन सक्दैनौं ।
इन्डोनेशियाका संस्थापक सुकार्णोंले पनि पलानकोरायालाई राजधानी बनाउने प्रस्ताव दिएका थिए ।

सन् १९४५ मा डचबाट स्वतन्त्रता पाएपछि इन्डोनेशियाको राजधानीलाई परिवतर्न गर्नेबारे बिचार गरिएको थियो । तर ६ राष्ट्रपतिले यस्तो गर्न सकेनन् ।