मूल्य बढाउन उद्योगहरूद्वारा पारासिटामोलको कृत्रिम अभाव :एक रुपैयाँको पारासिटामोलको मूल्य तीन रुपैयाँ

मूल्य बढाउन उद्योगहरूद्वारा पारासिटामोलको कृत्रिम अभाव  :एक रुपैयाँको पारासिटामोलको मूल्य तीन रुपैयाँ

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३१, २०७८

काठमाडौं । दुई गुणा मूल्यवृद्धि गराउन दबाब दिने उद्देश्यसहित औषधि उत्पादक कम्पनीहरूले योजनाबद्ध रूपमा बजारमा पारासिटामोलको कृत्रिम अभाव सिर्जना गरेका छन् । कच्चा पदार्थको मूल्य वृद्धि भएको भन्दै महामारीका वेला उनीहरूले एक रुपैयाँ पर्ने पारासिटामोलको मूल्य तीन रुपैयाँ पु¥याउन औषधि व्यवस्था विभागलाई दबाब दिएका छन् ।

कोरोना संक्रमितका लागि अत्यावश्यक मानिएको पारासिटामोल केही दिनदेखि बजारमा अभाव छ । उद्योगीहरूले कृत्रिम अभाव सिर्जना गरी सरकारलाई मूल्यवृद्धि गर्न बाध्य बनाउने रणनीति अपनाएका छन् । ‘औषधि उत्पादक कम्पनीहरूले महामारीको मौका छोपेर मूल्य बढाउन लबिङ गरिरहेका छन् । यो न्यायोचित छैन,’ औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले भन्नुभयो, ‘०६४ मा पारासिटामोलको मूल्य एक रुपैयाँ निर्धारण गरिएको थियो । त्यसयता मूल्यमा समायोजन भएको छैन । यही मौकामा उद्योगीहरूले यस्तो रणनीति अवलम्बन गरेका हुन् ।’

अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य बढेकाले पनि उद्योगीहरूलाई बल पुगेको केसीले बताए । ‘तर, औषधि व्यवस्था विभाग पारासिटामोलको मूल्य बढाउने पक्षमा छैन,’ उहाँले भन्नभयोु बजारमा पारासिटामोलको अभाव नै नभएको केसीको दाबी छ ।

‘बजारमा जसरी औषधि छैन भन्ने कुराहरू बाहिर आएको छ, त्यस्तो अवस्था भने होइन । दुईवटा पसलमा नभेटिएको पारासिटामोल तेस्रो पसलमा भेटिएको छ । कोरोनाकालभन्दा अगाडि पारासिटामोलको वार्षिक खपत साढे पाँच करोड ट्याबलेट भए पनि अहिले दोब्बरले उत्पादन भएको छ । त्यहीअनुसारको माग छ,’ केसीको भनाइ छ ।  यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।