सडक विभागले गर्यो एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी

सडक विभागले गर्यो एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी

लोकसंवाद संवाददाता  |  समाचार  |  जेठ ३१, २०७८

काठमाडौ । सडक विभागले एक सय ९५ ठाउँमा हेभी इक्युपमेन्ट तयारी अवस्थामा राखेको छ । राजमार्ग अवरुद्ध भएमा अवरुद्ध सडक तत्काल खुलाउन केही घण्टाभित्रै सञ्चालन गरिसक्ने गरी तयारी गरिएको हो । कोरोना विरुद्धको खोप, औषधि, अक्सिजनलगायतका स्वास्थ्य सामग्री आउने सडकलाई लामो समय अवरुद्ध हुन नदिने गरी तयारी गरिएको विभागको भनाइ छ ।

 यस वर्ष गएको वर्षभन्दा धेरै वर्षा हुनसक्ने जल तथा मौसम विज्ञान विभागले अनुमान गरेको कारण सडकमा बढी क्षति पुग्नसक्ने अनुमान गरिएको विभागका उपमहानिर्देशक शिवप्रसाद नेपालले जानकारी दिनुभयो । यतिले पुगेन भने निजी क्षेत्रसँग भएका मेसिनहरु पनि प्रयोग गर्न सक्ने गरी सम्बन्धित सडक डिभिजन कार्यालय तथा योजना कार्यालयहरुलाई भनिसकिएको छ ।

गएको वर्ष मनसुनको समयमा सडक नै भासिएर लामो समय अवरुद्ध बनेको अरनिको राजमार्ग यस वर्ष लामो समय अवरुद्ध हुने अवस्था नआओस् भनेर तयारी भइरहेको उपमहानिर्देशक नेपालले बताउनुभयो । सामान्य पहिरो तुरुन्त सफा गर्न सकिने भए पनि सडक नै भासिँदा वा ठूलो पहिरो जाँदा तत्काल अवरोध हटाउन समस्या आउने गरेको छ ।

सडक विभागले पहिरो र बाढीको जोखिम भएका सडकको पहिचान गरी त्यसका आधारमा तयारी अघि बढाएको छ । देशभरमा डिभिजन सडक कार्यालय र हेभी इक्युपमेन्ट कार्यालयमार्फत उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिएको बताईएको छ ।