नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत : ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करणमा मल्ल

नेपाली प्रतिभा प्रतिष्ठान, बेलायत : ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करणमा मल्ल

लोकसंवाद संवाददाता  |  साहित्य  |  जेठ ३१, २०७८

काठमाडौँ । नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतद्वारा आयोजित ‘अभिव्यक्ति शृृङ्खला’को तेह्रौँ संस्करण शनिबार सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट सम्पन्न उक्त शृृङ्खलामा अग्रज कवि तथा गीतकार कोमलप्रसाद श्रेष्ठ मल्ल ‘निराकार’ आफ्ना सृजनाका साथ प्रस्तुत भए । कवि मल्लले दुई चरणमा गरी आफ्ना  केही कविता, मुक्तक र गीत प्रस्तुत गरेका थिए । कार्यक्रमकै बिचमा युवा गायक तथा सङ्गीतकार विसी राईले एउटा गीत गाएका थिए ।  

वि.सं. २०१६ सालमा दिपायल नगरपालिका–२, सिलगढी बजार, डोटीमा जन्मिएका कवि मल्ल हाल बेलायतको लण्डनमा बस्छन् । गीत, गजल, कविता, मुक्तक र कथा विधामा बरोबरी कलम चलाउने स्रष्टा मल्लका नौओटा कृतिहरू प्रकाशित छन् । सो अवसरमा स्रष्टा मल्ललाई उनले नेपाली साहित्यमा दिएको योगदानको कदर गर्दै  ‘अभिव्यक्ति सम्मान’ समेत अर्पण गरिएको थियो ।

कार्यक्रममा प्रतिभा प्रतिष्ठानका अध्यक्ष गणेश राईको सभापतित्व, वरिष्ठ सञ्चारकर्मी तथा बिबिसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपालीको प्रमुख आतिथ्य र नेपाल प्रज्ञा–प्रतिष्ठानका प्राज्ञ सभा सदस्य तथा कवि शशी लुमुम्बूको विशेष आतिथ्य रहेको थियो ।

प्रमुख अतिथि नेपालीले बेलायतमा नेपाली प्रतिभा प्रतिष्ठानले सञ्चालन गर्दै आएको अभिव्यक्ति श्रृङ्खला र यसका गतिविधिले सिङ्गो नेपाली भाषा, साहित्य र संस्कृतिलाई समृद्ध तुल्याएको विचार व्यक्त गरेका थिए । यसै गरी प्रतिभा प्रतिष्ठानका पूर्व अध्यक्षद्वय रक्ष राई, दीपा लिम्बू राई, पूर्व महासचिव मिजास तेम्बेका साथै वर्तमान पदाधिकारी कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा कवि, गीतकार तथा समाजसेवी भगवान् चाम्लिङ, नेपाल आदिवासी जनजाति महासंघ बेलायतका अध्यक्ष जंग सुनुवार, नेपाली साहित्य विकास परिषद्, यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह, यती नेपाली एशोसियशनका अध्यक्ष ध्रुव केसी, कोसेली सांस्कृतिक परिवारका अध्यक्ष शर्मिला सिंह,  इस्ट लण्डन नेपाली (गोर्खा) समाजका अध्यक्ष दिलकुमार इवाराम, आमचोक चौतारी समाज, युकेका अध्यक्ष सनवीर राई, नेपाली वाङ्मय प्रतिष्ठान, बेलायतका महासचिव जयालक्ष्मी राई,  नेपाली साहित्य विकास परिषद्, यूकेका निवर्तमान अध्यक्ष हरिसिंह थापा,  गीतकार टीका चाम्लिङ, कवि कविता राई, सञ्चारकर्मी देवेन्द्र सुर्केली, कवि शुक्र राई लगायतको उपस्थिति रहेको थियो ।  

कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष टंक वनेमले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने महासचिव देवेन्द्र खेरेस र सचिव नरेश नातिले सञ्चालन गरेका थिए । स्थापनाकालदेखि नै प्रतिभा प्रतिष्ठानले निमियत रूपमा हरेक वर्ष गर्दै आएको ‘अभिव्यक्ति शङ्खला’मा यसअघि चोक गुरूङ, दयाकृष्ण राई, टंक वनेम, किशोर गुरूङ, अञ्जु अञ्जली, नोर्देन तेन्जिङ भुटिया, शशी थापा सुब्बा, रक्ष राई, निर्मला परिवेश राई, डा। रूपक श्रेष्ठ, गणेश राई र जानु कम्बाङ लिम्बू  प्रस्तुत भइसकेका छन् ।