कोरोनाका कारण एक महिनामै ३ हजार ७९० को मृत्यु

कोरोनाका कारण एक महिनामै ३ हजार ७९० को मृत्यु
corona death Nepal

लोकसंवाद संवाददाता  |  समाचार  |  असार १, २०७८

काठमाण्डौं ।  नेपालमा कोरोना महामारी सुरु भएयता सवै भन्दा बढी मानविय क्षति ०७८ को जेठ महिनामा भएको छ । जेठ महिनामा मात्र कोरोनाका कारण तीन हजार सात सय ९० ले ज्यान गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका तथ्यांक अनुसार हाल सम्म नेपालमा आठ हजार चार सय ६५ को मृत्यु हुँदा जेठ महिनामा ज्यान गुमाउनेको संख्या तीन हजार सात सय ९० रहोके छ ।

जेठ महिनामा मात्र एक लाख ७० हजार आठ सय ६३ जनामा कोरोना संक्रमण संक्रमण भएको थियो । हालसम्म ६ लाख १० हजार पाँच सय २१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये करिब ३३ प्रतिशत काठमाडौं वासी रहेका छन् । काठमाडौंमा मात्रै एक लाख ९९ हजार दुई सय ७४ जनामा संक्रमण पुष्टि भइसकेको छ ।

नेपालमा वैशाखको अन्तिम साताबाट तीव्र गतिमा बढ्दै गएको कोरोना संक्रमण जेठको पहिलो साता नेपालमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको थियो । वैशाख महिनामा एक लाख ५८ हजार ६ सय ७४ कोरोना संक्रमण हुँदा एक हजार ६ सय ११ को मृत्यु भएको थियो । नेपालमा जेठ ५ मा सर्वाधिक दुई सय ४६ जनाको कोरोनाका कारण ज्यान गएको थियो । सो अवधिमा संक्रमणदर ४६ प्रतिशतसम्म पुगेको थियो भने मृत्युदर पनि बढेको थियो ।

हाल संक्रमणदर घट्दै गई २० प्रतिशतको हाराहारीमा झरेको छ । मन्त्रालयको सोमबारको तथ्यांकअनुसार १४ हजार आठ सय १९ को परीक्षण गरिएकोमा दुई हजार नौ सय १८ मा संक्रमण पुष्टि भएको छ, जुन १९.६९ प्रतिशत हो ।

सरकारले १६ वैशाखदेखि लगाएको निषेधाज्ञा संक्रमणदर घट्न थालेपछि मंगलबारदेखि केही खुकुलो बनाउने निर्णय गरेको छ। तर, संक्रमण घटे पनि संक्रमणदर अझै २० प्रतिशत भएकाले त्यो जोखिम अझै रहेको छ । निषेधाज्ञालाई कडा बनाउँदा काठमाण्डौं उपत्यकाबाट बाहिरीनेको संख्या बढे संगै दुर्गममा कोरोना संक्रमण ह्वात्तै बढेको थियो । काठमाण्डौं उपत्यकामा निषेधाज्ञालाई केही खुकुलो बनाउना साथ गाउँबाट फर्कनेहरुको संख्याबढ्दै जाँदा उपत्यकामा पुनः जोखिम बढ्न सक्ने संभाना रहेको चिकित्सकहरू बताउँछन् ।