बिहानसम्म सरसौँदो हजुर आमाको सागर यात्रा
असार १, २०७८

अघिल्लो दिनसम्म बाख्रा धपाइरहनु भएको, बारी पन्छाउन हँसिया कम्मरमा घुसारेर दौडिरहनुभएको, नातिहरूलाई गाली गरिरहनुभएको हजुर आमा भोलिपल्ट बिहान आफ्नो नित्यकर्म सकेर कसैलाई एक वचन जान्छु पनि नभनी दुई दिनको राम छायाबाट ओझेल पर्नुभयो । हामीले  निकै बेर बोलाइरह्यौँ अहँ सुन्नुभएन । हिजो अस्ति खुब बोल्नुहुन्थ्यो हामी झर्को मान्थ्यौँ  हजुरआमासँग । समय सीमाबाट बाहिर गएर मान्छेले एक अक्षर पनि बोल्न नसक्दो रहेछ । बोल्न, निल्न नसक्ने भएपछि कसको के लाग्छ र ? छाम्दा शीताङ्ग, हेर्दा निश्चल, नाडी शून्य । यस्तो अवस्थामा मान्छेले टुक्रुक्क बसेर रुनु सिवाय अरू के गर्न सक्छ ?

फलैँचामा हजुर आमालाई सुताउँदा झन्डै आँसु झर्छ कि भएको थियो त्यसैबेला घरको कसैले गाउँमा मान्छे बोलाउन पठायो म दगुरेँ । अलि बुढोपाको मान्छे चाहियो जसले हात छामेर अस्पताल लाने कि दश दान गर्ने भन्न सकोस् । तर बिहान छ बजेको समय मान्छे भेटिइहाल्ने समय हैन । आफैँ उठ्न नसक्ने बुढा के काम ? बाँकी कोही बजार  त कोही दूध डेरी जाने समय । माथ्ला घरमा बुझ्दा काका डेरीमा । फोन गरेर चाडै बोलाएँ । गाई दुन लागेका उत्तम दाइले दस चोटिमा बल्ल सुन्नुभयो । दस पन्ध्र मिनेटमा गाउँ भरी हल्ला भयो । छरछिमेकहरूले आँगन भरियो । दश दान सम्पन्न हुँदै गर्दा सहरतिरका काका, फुपूहरूलाई फोन गर्न लगाए हजुर आमासितका स्मृतिहरू आँखाबाट विस्थापित भए । आँखा नम्बर खोज्नमा अलमलिए ।

हजुर आमालाई फलैँचाबाट तुलसी मठमा सार्दासार्दै केदार ठुलाबा आइपुग्नुभयो । अवस्था हेरेर भन्नुभयो, अरू वायुले त छोडिसक्यो अब धनञ्जय वायुले छोड्न बाँकी छ । यस भनाइबाट घायल हुनै लाग्दा फुपूको फोन आयो । फुपू दिदीले उछिन्नुभयो रुनमा । अब घरमा पल्लो टोलका मानिस पनि आउन थाले । आउनेहरूले माया मार्न पनि थाले । घरैमा यश किसिमको आकस्मिक देहावसान भोगेको अनुभव थिएन मसँग । के गर्ने कसो गर्नेको उल्झनमा परिँदो रहेछ ।

कोरोनाको आतङ्क व्याप्त भएको अहिलेको समयमा मृत्युलाई व्यहोर्नु झन् सकसपूर्ण हुँदो रहेछ । प्रायः मानिसका आँखामा शङ्काको समुद्र टिलपिलाउने । अव्यक्त प्रश्नहरूको बाढी लाग्ने । दुई तीन हप्ता यता हजुर आमा ज्वरो खोकी रुघा आदिबाट ग्रस्त नभएकाले गाउँमा त त्यति समस्या भएन तर अलि परदेखि आउनेहरू निश्चिन्त हुन सकेनन् । कसैले मास्क लगाउन उर्दी जारी गरेपछि होस आयो देशमा कोरोनाको दौडा छ । यता वियोगलाई बिर्सेर उता मास्क कुन कुनामा छ भनेर दौडिनु पर्‍यो । पीडालाई विस्थापित गर्ने काम अतिरिक्त बाध्यताले गर्दा रहेछन्  ।

हाम्रो समाज, संस्कार र संस्कृतिले यस्तो पद्धतिको स्थापना गरेको छ । यसरी मान्छेलाई व्यस्त बनाइदिन्छ । के भइरहेको छ भनेर सोच्न पनि मान्छेले भ्याउँदो रहेनछ । जब सोच्ने फुर्सद पाउँछ मुख्य घटना नै गौण भइसक्दो रहेछ । मैले थाहा पाउँदा हजुर आमा बेहोस हुनुहुन्थ्यो । त्यसपछि मलाई परिस्थितिले यति व्यस्त बनाइदियो कि । उपस्थित जनसमुदायले कुन बेला मृत्युको घोषणा गर्‍यो पनि थाहा भएन ।

हिजो अस्ति बिरामी त थिएनन् नि ? रुघाखोकी त लाग्या थिएन नि ? यस्ता प्रश्न मान्छेपिछे आइरहे । हामी कोरोनाको कापेमा थिएनौँ यस्ता प्रश्नलाई सहज रूपमा लियौँ । साँच्चै कोरोनाबाटै मृत्यु भएकाहरूको घर परिवारको हालत टिठ लाग्दै हुने रहेछ । छरछिमेक आफन्तैको पनि सहयोग र सद्भाव नपाउने स्थिति बन्दो रहेछ ।

घर आँगनमा  वियोगान्त परिवेशले ढाक्दा नौ बजिसकेको थियो । उपस्थित कसैले कोरा कात्रो किन्न जानुपर्ने राय प्रकट गरे । जाने को तरु सबैले शिर निहुर्‍याएर पनि नहुने रहेछ । धार्के बजार जाने तरखरमा लागियो । बिहानदेखि नै पानी पर्दै अडिँदै पर्दै अडिँदै गरिरहेको छ । कच्ची बाटामा बाइक चलाउँदा हजुर आमालाई साथी भइने पो हो कि भनेर भाइ राजा काका र म बजार झर्‍यौँ । साधनले साथ दिए पनि समयले साथ नदिएपछि के लाग्छ र ?

बजारमा पनि कात्रो किन्न आएको भनेपछि पसले अलि हच्क्यो । कसरी मरेको ? को मरेको ? किन मरेको ? जस्ता प्रश्नको मौखिक परीक्षामा उत्तीर्ण भएपछि मात्रै पसलमा छिरायो । दस बजेपछि खाद्यान्न पसल त बन्द गर्नुपर्ने शासनमा वस्त्रालय खुल्ने कुरै भएन । वैकल्पिक द्वारबाट भए पनि कारोबार त चलाउनै पर्‍यो । अरू बेलामा भए बन्दको समयमा व्यापार गर्ने पसले भनेर गाली गरिन्थ्यो तर आज पसलेले व्यापार हैन सेवा गर्दो रहेछ भन्ने भान भयो । समयले सिकाउँछ । हजुर आमाका पाँच भाइ छोरा । तिनलाई धोती, लँगौटी, कन्दनी । सबै जोहो गर्दा नि समय त लागिहाल्यो नै ।

फर्किँदा भाइ राजा काका ओखती खान घरतिर छिर्नुभयो । म तिन वटा झोला घिच्च्याउँदै उकालो लाग्न थाले । ओर परका गाउँलेहरू दाउरा काँधमा हालेर झर्न थालिसकेका थिए । यी दाउरा हाम्री हजुर आमालाई पोल्नका लागि हुन् भनेर मेरो मन गाँठो पर्नै आँटेको थियो मान्छेहरूले मलाई उल्टै गाली गर्न थाले । एक्लै किन कात्रो किन्न गाएको । एक्लै सामान बोकेर किन आको ? दुई जना जानुपर्छ भन्ने थाहा छैन ?

एक दुई जनालाई त सम्झाउने चेष्टा पनि गरेँ तर मेरो केही लागेन । अन्त्यमा गाली गर्ने मध्येकै एउटालाई झोला बोकाएर घर पुगेँ ।

घरमा हरिया बाँस काटेर घारो बनाइँदै थियो । आउनुपर्ने र थाहा पाउने जति आइसकेका थिए । शवलाई घारोमा राखेर बाँध्नु पर्ने भयो । तर हात त्यत्तिकै लटपटिए जस्ता हुने, मन अन्यमनस्क हुने, केही नजानेजस्तो केही थाहा नपाएजस्तो हुने । जे जे भए नि गर्नुपर्ने कामबाट भाग्न पाइने त हैन रहेछ । हजुर आमाको लासलाई टनटनी घारोमा कस्दा दुख्ला जस्तो पनि लाग्दो रहेछ तर 'नहन्यते हन्यमाने शरीरे' भनेर चित्त स्थिर बनाउनु पर्दो रहेछ । एक हातमा बुर्कीको थैलो झुन्ड्याएर र  अर्को हातले सङ्ख मुखमा जोतेर आफैँ अघि लागेपछि हजुर आमाको सागर यात्रा सुरु भयो ।

गाउँ समाज आखिर सरसहयोगमै चलेको हुन्छ । कुन समयमा कसरी आफ्नो भूमिका निर्वाह गर्नुपर्छ भन्ने कुरा हरेक व्यक्ति जानकार हुन्छ । यही नै हाम्रो सामाजिक ज्ञान र मनोविज्ञान हो । घाटमा शवयात्रा आइपुग्नु पूर्व नै एका थरी गुठियारहरूले चिता तयार गरिसकेका थिए । जिन्दगीमा सुख मात्र क्षणिक हुने हैन शोक पनि क्षणिक नै हुने रहेछ । चितामा आगो लाग्यो । बिहानसम्म सरसौँदो मान्छे आँखै अगाडि खरानी भयो । हिजो सम्मका उसका लोभ, रिस, राग, तृष्णा, माया, मोह सारा खरानी भयो । एउटा जीवनको प्रेतयात्रा सुरु भयो । जन्मेदेखि आँखाअगाडि नाचेको मान्छेलाई पञ्चतत्त्वमा मिसाएर फर्किँदा परिस्थितिलाई स्वाभाविक मान्ने अवस्थामा पुगिँदो रहेछ ।

मलामीलाई खाजाको व्यवस्था किन गर्नुपरेको होला ? कसरी खालान् ? जस्ता जिज्ञासा मलाई मात्र हैन अरूलाई पनि लाग्ला नै । आजबाट त्यो जिज्ञासा पनि सकियो । बिहान चियाको गिलास समाएको मात्र हो खान भ्याइएन । त्यसपछि बेलुका पाँच बजेसम्म पानी सिवाय केही मिलेन । भोकले भुँडीका चारै भित्ता हान्न लागेका बेलामा अरू कुरा ध्यानमा नआउने रहेछन् ।

बेलुका काँडा पानी खाने चलन छ । क्रियापुत्रीको शैया, शौचालय र सुरक्षा आदिको जसोतसो व्यवस्थापन गरेर  सुतियो । बिहान उज्यालो नहुँदै फोन, आयो ल न्यौपाने बुढा त हिजो राति नै बितेछन् । दाउरा बोकेर जानुपर्ने भयो ।

अनि यत्रो पानी परिरहेको छ कसरी जाने ?

पानी कम हुने बित्तिकै लाने रे, फोन गर्नेले भन्यो । गाई दोएर । एउटा मुडा काँधमा हालेर फेरि लागेँ घाटैतिर ।

खासमा मानिसको मृत्यु हुनु नयाँ कुरो होइन । मैले माथि भोगेका वा लेखेका कुरा हर कोहीले भोगेका हुन्छन् नै । म पहिलो भोक्ता पनि होइन । हाम्रो समाज, संस्कार र संस्कृतिले यस्तो पद्धतिको स्थापना गरेको छ । यसरी मान्छेलाई व्यस्त बनाइदिन्छ । के भइरहेको छ भनेर सोच्न पनि मान्छेले भ्याउँदो रहेनछ । जब सोच्ने फुर्सद पाउँछ मुख्य घटना नै गौण भइसक्दो रहेछ । मैले थाहा पाउँदा हजुर आमा बेहोस हुनुहुन्थ्यो । त्यसपछि मलाई परिस्थितिले यति व्यस्त बनाइदियो कि । उपस्थित जनसमुदायले कुन बेला मृत्युको घोषणा गर्‍यो पनि थाहा भएन । न्यौपाने बाको मलाम गएर आयपछिको फुर्सदमा मात्र हिजो देखिको समयलाई फर्किएर हेर्न पाएँ ।


वेदमा आचार्य तथा नेपाली साहित्यमा स्नातकोत्तर अलङ्कार सामाजिक, वैदिक र साहित्यिक विषयमा लेख्न रुचाउनुहुन्छ ।